मिथिलाक कथासभ : अध्याय ५
‘मिथिलाक कथासभ’ शृंखलाको तेस्रो अध्याय ‘मैले देखेको सिमरौनगढ’ प्रकाशित भएको दोस्रो दिन बिहान मेरो म्यासेन्जरमा एउटा लामो सन्देश आयो।
जेसन वैद्यका नाममा आएको उक्त सन्देशमा उनले मेरो लेख पूरै पढेको बताएका थिए र सँगसँगै लेखेका थिए, ‘म, मेरो पूर्वज सिमरौनगढका राजा हरसिंहदेवको सोह्रौं पुस्ता हुँ। बारा जिल्लाको सिमरौनगढबाट मेरो एक पुर्खा हरसिंहदेवसँगै भक्तपुर आएको थियो। हरसिंहदेवले आफ्ना एक सन्तानलाई आयुर्वेदशास्त्र पढ्न पठाएर जनताको सेवा गर्नू भन्ने हुकुम भएको थियो।’
हरसिंहदेवको पालादेखि अहिलेसम्मका पुस्ताको विवरण पनि जेसनको सन्देशमा समावेश थियो। आफ्ना पुर्खाले वैद्य पेसामा लागेर के–कस्ता काम गरे भन्ने जानकारी दिँदै जेसनले लेखेका थिए, ‘मेरो बुवा ८० वर्ष पुग्नुभयो। उहाँले तपाईंसँग भेट्ने रहर गर्नुभएको छ।’
मलाई पनि यो सन्देश पढेपछि हरसिंहदेवका पुस्तासँग भेटेर वैद्य इतिहास जान्ने रहर जाग्यो।
मैले जेसनले दिएको नम्बरमा फोन गरेँ र त्यसै दिन शुक्रबार ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा रहेको उनको घर पुगेँ।
जेसन काममा गइसकेका रहेछन्। उनका बुवा जयदेव र जयदेवकी श्रीमती सविता घरमै थिए। दुवैले आँखामा कालो चस्मा लगाएका थिए। उमेरले ८० कटिसकेकाले मलाई जयदेवसँग कुराकानी गर्न समस्या पर्ला कि भन्ने डर थियो। तर उनी त हट्टाकट्टा र फुर्तिला देखिन्थे।
हामीलाई भेट्नेबित्तिकै जयदेवले आफूहरूले चस्मा लगाउनुको कारण खोल्दै भने, ‘घरमा बस्दा पनि यी बूढाबूढीले हिरोहिरोनी जसरी किन चस्मा लगाइरहेका होलान् भनेर सोच्नुभयो होला। खासमा हामी दुवै जनाको आइतबार आँखाको अपरेसन छ। त्यही भएर घाम र धुलोबाट आँखा जोगाउन चस्मा लगाएर बसेको।’
मलाई उनीहरूको आँखाको समस्याबारे जेसनले फोनमै जानकारी दिइसकेका थिए। त्यसैले उनीहरूले चस्मा किन लगाए भनेर जान्नुभन्दा उनीहरूको परिवार सिमरौनगढ र राजा हरसिंहदेवसँग कसरी जोडिएको छ भनेर जान्ने हुटहुटी मलाई ज्यादा थियो।
मैले ढिला नगरी जयदेवलाई उनको पुस्ताको इतिहासतर्फ केन्द्रित गराएँ।
जयदेवसँग हामी उनको घरबाहिर आँगनमा बसेर कुराकानी गरिरहेका थियौं। मैले परिवारको इतिहास सोध्नेबित्तिकै उनी आफू बसेको कुर्सीबाट उठेर घरभित्र पसे। अनि ठूलो नेपाली कागजमा प्रिन्ट गरिएको आफ्नो वंशावली बोकेर ल्याए। सँगसँगै आफू र आफ्नो परिवारको वृत्तान्त समेटिएको किताब ‘सबैको जय होस्’ पनि लिएर आए।
किताब र वंशावली अगाडि राख्दै उनले हाम्रो ध्यान वंशावलीमा उल्लिखित हरसिंहदेवका छोरा राजकुमार गोविन्दानन्द देव लेखिएको भागमा केन्द्रित गराए।
मैले गोपाल वंशावली र इतिहासका अन्य किताबमा हरसिंहदेवको छोराका रूपमा जगतसिंहको नाम पढेकी थिएँ। त्यसबारे यही शृंखलाको अघिल्लो लेखमा उल्लेख पनि गरेकी थिएँ। हरसिंहदेवका अर्का छोरा राजकुमार गोविन्दानन्द देवका बारेमा भने म पहिलोपटक सुन्दै थिएँ।
मैले जयदेवको कुरामा अविश्वास राख्दै सोधेँ, ‘यो वंशावलीको प्रमाण के हो त?’
उनले त्यही वंशावलीको दायाँतर्फ ‘नेपाल सम्बत ७६९ मा अंकित प्रताप मल्लको नारायणहिति शिलालेखअनुसार’ भनेर लेखिएको अंश देखाए। उक्त शिलालेखमा हरसिंहदेवका बुवाको नाम भुपालसिंह लेखिएको छ। यो शिलालेखबारे मैले पुरातत्वविद् मोहनप्रसाद खनालको किताब ‘सिमरौनगढको इतिहास’ मा पनि पढेकी थिएँ।
खनालले हरसिंहदेवका बुवा भुपालसिंह होइन, शक्तिसिंह हुन् भन्ने उल्लेख गर्दै आफ्नो किताबमा लेखेका छन्, ‘प्रताप मल्लबाहेक अन्य राजाहरूले लेखाएका वंशावलीमा नान्यदेवको पाँचौं पुस्तामा शक्तिसिंह र छैठौं पुस्तामा हरसिंहदेवको नाम नै देखिन्छ। तसर्थ, नान्यदेवपछि छैठौं पुस्ताका राजा हरसिंहदेवका बुवाको नाम भुपालसिंह नभएर शक्तिसिंह नै हुनुपर्छ।’
तर प्रताप मल्लले शिलालेखमा लेखाएको वंशावलीमा हरसिंहदेवको बुवाको नाम गलत हुँदैमा जयदेवले मलाई देखाएको वंशावली नै गलत हो भन्न मिल्दैन। उनले मलाई जुन वंशावली देखाए, त्यसमा हरसिंहदेवपछिका सोह्रौं पुस्ता अर्थात् जयदेव, उनका छोराहरू र नातिनीसम्मको सूची छ।
प्रताप मल्लको शिलालेखमा उल्लिखित विवरणमा थप अनुसन्धान गरेर यो वंशावाली तयार पारिएको जयदेवले बताए।
उनका अनुसार प्रताप मल्लको शिलालेखमा हरसिंहदेवसम्मको मात्र विवरण थियो। त्यसपछिका पुस्ताको विवरण आफ्ना पूर्वजहरूसँग सोधखोज गर्दै र विभिन्न अभिलेख हेर्दै इतिहासकार तुलसीराम वैद्यले संकलन गरेका हुन्। तुलसीराम जयदेवका दाई (काकाको छोरा) हुन्।
इतिहास अध्येता तथा लेखक तुलसीराम वैद्य लामो समय त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग प्रमुख थिए। उनको आधुनिक नेपालको इतिहास, पृथ्वीनारायण शाह–द फाउन्डर अफ मोर्डन नेपाल, एड्भान्स हिस्ट्री अफ नेपाल लगायत दर्जनभन्दा बढी किताब प्रकाशित छन्।
हामीले जयदेवलाई भेटेपछि तुलसीरामलाई पनि भेट्ने सोचेका थियौं। तर ८५ वर्ष पुगिसकेका उनी कान कम सुन्छन्। उमेर र शारीरिक अस्वस्थताका कारण हामीले उनलाई भेट्न सकेनौं। उनले ए–फो साइज पेपरमा प्रिन्ट गरेर जयदेवलाई दिएको अप्रकाशित किताब ‘वैद्य परिवारको ऐतिहासिक विवेचना’ मैले पढ्न पाएँ।
जयदेवले फेरि मेरो ध्यान आफ्नो वंशावलीको दायाँतर्फ ताने, जहाँ हरसिंहदेवका छोरा गोविन्दानन्द देवबारे लेखिएको थियो, ‘राजा हरसिंहदेवले नेपाल सम्बत ४४४ (विक्रम सम्बत १३८१/सन् १३२४) मा आयुर्वेदशास्त्र पढाई लोकको आपतदेखि उद्धार गर्नुपर्छ भनी देव चिकित्सक गराई भक्तपुरमा यथास्थितिले बसाएका थिए।’
तुलसीराम वैद्यले आफ्नो अप्रकाशित किताब ‘वैद्य परिवारको ऐतिहासिक विवेचना’ मा राजा हरसिंहदेवका छोरा राजकुमार गोविन्दानन्द आफूहरूको पूर्वज भएको उल्लेख गरेका छन्। त्यसबाहेक अन्य कुनै विवरण उनले दिएका छैनन्। यसबारे थप खोज–अनुसन्धान हुन बाँकी रहेको उनको भनाइ छ।
‘राजा हरसिंहदेव र गोविन्दानन्दबीच के सम्बन्ध थियो? उनीहरू बाबुछोरा नै थिए कि काका–भतिज थिए भनेर यकिन भन्न सकिएको छैन। तथापि, गोविन्दानन्द राजपरिवारका एक सदस्य नै हुनुपर्छ,’ उनले लेखेका छन्, ‘वैद्य परिवार सूर्यवंशी हुनु, शाक्त धर्ममा ज्यादा लाग्नु, आफ्नो दैनिक सन्ध्या क्रिया र गायत्री मन्त्रमा पनि शाक्त धर्मको झलक देखिनु र पारिवारिक परम्पराका आधारमा यो परिवारको सम्बन्ध कर्नाटवंशी राजपरिवारसँग भएको आभास हुन्छ।’
यति हुँदाहुँदै तत्कालीन ऐतिहासिक दस्तावेजमा हरसिंहदेवको छोराका रूपमा जगतसिंहको नाम मात्र उल्लेख हुनुले अर्का छोरा गोविन्दानन्दका सन्तान आयुर्वेदशास्त्र पढेर नेपाल उपत्यका फर्केपछि उनीहरूले सर्वसाधारण जनतासरह जीवनयापन गरेको हुनसक्ने तुलसीराम अनुमान गर्छन्।
संस्कृतिका अध्येता डेनियल राइटले छपाएको वंशावलीअनुसार हरसिंहदेव सिमरौनगढबाट भागेर नेपाल उपत्यकातर्फ आउँदा सात थरका मानिस उनीसँगै आएका थिए। त्यसमा ब्राह्मण, भंडेल, आचार्य, जोशी, वैद्य, रजक र खड्गी थरका मानिस थिए। राजा जयस्थिति मल्लले नेपाल उपत्यकामा सामाजिक सुधारको थिति बसालेपछि वैद्यसहित यी सबै थरलाई उनीहरूको पुर्ख्यौली पेसासँगै सुरक्षित गरिएको तुलसीराम बताउँछन्।
‘जयस्थिति मल्लले सामाजिक सुधारको सिलसिलामा व्यावसायिक जाति प्रथालाई मर्यादित रूपमा स्थायित्व दिएका थिए। त्यसले गर्दा सिमरौनगढबाट आएका वैद्य परिवार आफ्नो पेसामा अझ बढी लगनशील र सुरक्षित भए। उनीहरू करिब सात सय वर्षसम्म यही पेसामा सक्रिय रूपले लाग्न सके,’ उनले किताबमा लेखेका छन्।
तुलसीरामका अनुसार गोविन्दानन्द भक्तपुर आएपछिका पाँच पुस्तासम्म कुनै ऐतिहासिक प्रमाण फेला परेको छैन। छैठौं पुस्ता ब्रह्मानन्द वैद्यको भने भक्तपुरस्थित सुकुलढोकाको आगमघरमा तत्कालीन ऐतिहासिक प्रमाण प्राप्त भएको छ।
‘विक्रम सम्बत १७६९ मा ब्रह्मानन्दका नाममा मानसिंहले इष्ट देवीलाई कलश आकारको घडा चढाएको अभिलेख छ,’ तुलसीरामले किताबमा लेखेका छन्, ‘यसबाट वंशावलीमा मात्र उल्लेख भएका ब्रह्मानन्द वैद्यको ऐतिहासिकता प्राप्त हुन्छ। मानसिंह उनका छोरा हुनुपर्छ। उनले बुवाको मृत्युपछि उनका नाममा कलश आकारको घडा चढाएको हुनुपर्छ।’
गोविन्दानन्ददेखि ब्रह्मानन्द वैद्यसम्म जम्मा सात जनाको नाम देखिएकाले वंशवृक्षमा केही पुस्ताको नाम लेख्न भुलेको तुलसीराम अनुमान गर्छन्।
‘वैद्य परिवारको वंशवृक्ष हेर्दा राजा हरसिंहदेवकी रानी देवलदेवीको निधन सन् १३६६ मा भएदेखि मेरो पुस्तासम्म १६ पुस्ता देखिएको छ। इतिहासमा राजाहरूको शासन अवधिको हिसाब गर्दा साधारणतया एक जना राजालाई २५ वर्ष राख्ने चलन छ। यस हिसाबले मेरो पुस्तासम्म २६ पुस्ता हुनुपर्ने हो,’ तुलसीरामले किताबमा लेखेका छन्, ‘नेपालको इतिहास केलाएर हेर्ने हो भने सन् १४८२ देखि १७६९ सम्म अर्थात् करिब तीन सय वर्षमा काठमाडौंमा १६ र भक्तपुरमा ९ जना राजाले शासन गरेका थिए। यस हिसाबले एक राजालाई २५ वर्ष नै भनेर यकिन गर्न गाह्रो हुन्छ।’
‘वैद्य परिवारमा गोविन्दानन्ददेखि ऐतिहासिक तथ्य फेला परेका ब्रह्मानन्दसम्म सात पुस्ता देखिनुमा वंशावलीमा आठ–दस पुस्ताको नाम लेख्न भुलेको वा यस परिवारका सदस्यहरू धेरै वर्ष बाँचेको हुनुपर्छ। यी दुवै सम्भावना केलाएर हेर्दा पहिलो सम्भावना नै सत्य भएजस्तो देखिन्छ।’
वैद्य खलकको स्पष्ट अभिलेख फेला परेको चक्रपाणि र दण्डपाणिको समयतिरबाट हो। वद्य वंशावलीअनुसार उनीहरू गोविन्दानन्दपछिका दसौं पुस्ता हुन्। त्यति बेला जंगबहादुर राणा नेपालका प्रधानमन्त्री थिए। उनी सन् १८४६ को कोतपर्व र भण्डारखाल पर्वपछि प्रधानमन्त्री बनेका थिए। आफ्नो कार्यकालमा जंगबहादुरले काठमाडौं उपत्यकाका तीन निपुण वैद्यलाई सरकारी वैद्यका रूपमा नियुक्त गरेका थिए। तीमध्ये भक्तपुर सुकुलढोकामा रहेका दुई दाजुभाइ चक्रपाणि र दण्डपाणिमध्ये चक्रपाणिलाई प्रमुख राजवैद्यमा नियुक्त गरिएको थियो।
‘मालपोत विभाग लगत फाँट अनुसन्धान शाखामा रहेको सन् १८६२ को सरकारी कागजअनुसार जंगबहादुरले भक्तपुरका चक्रपाणि, काठमाडौंका कुलानन्द वैद्य र ललितपुरका भाजुवीरलाई राजवैद्यमा नियुक्त गरेका थिए। तिनीहरूमा प्रमुख राजवैद्य चक्रपाणि थिए,’ तुलसीरामले लेखेका छन्, ‘उनलाई वार्षिक तलब ९ सय रूपैयाँ र वैद्यखानामा औषधि बनाउन, जडिबुटी किन्न वार्षिक २६ सय रूपैयाँ र ५० रूपैयाँ थप भत्ता दिइएको थियो।’
पद्मजंगले लेखेको किताब ‘लाइफ अफ जंगबहादुर’ का अनुसार सन् १८५० मा जंगबहादुर राणा बेलायत र फ्रान्स जाँदा आफ्नो टोलीमा राजवैद्य चक्रपाणिलाई पनि लगेका थिए। उनले उक्त यात्रामा चक्रपाणिसहित एक जना कलाकार भाजुमान र चार जना खाना पकाउने मान्छे पनि लगेको किताबमा उल्लेख छ।
तुलसीरामका अनुसार भक्तपुरबाट आएपछि चक्रपाणि र उनका भाइ दण्डपाणि काठमाडौं जमलगुठी (जमगुठी) मा बसेका थिए। कालान्तरमा चक्रपाणिका सन्तान महाबौद्धमा र दण्डपाणिका सन्तान जमलगुठी, कमलाक्षी र त्रिपुरेश्वरमा बसे। उनीहरूको परिवार पछि विस्तार भई विभिन्न ठाउँ बस्न थाले।
चक्रपाणि र दण्डपाणिको परिवार काठमाडौं बस्न थालिसकेपछि दण्डपाणिकी श्रीमती विद्यालक्ष्मी वैद्यले १९२७ सालमा भक्तपुरको सुकुलढोकामा रहेको परम्परागत शैलीको चारतले घर र त्यस परिसरमा रहेका नारायण, श्रीकृष्ण आदि देउताको नित्यपूजा, भजन, आरती लगायत धार्मिक काम गर्ने जिम्मा निजी गुठीकै रूपमा घरको भुइँतलामा बसेका अमात्य र श्रेष्ठहरूलाई दिएकी थिइन्।
त्यस्तै नारायण र श्रीकृष्णको नित्यपूजा चलाउने राजोपाध्याय ब्राह्मणलाई घरको भुइँतलाभन्दा माथिको भाग दिएकी थिइन्। उनले दैनिक पूजाका लागि एक रोपनी जग्गा पनि गुठीमा राखेको पूजाकोठामा रहेको कागजपत्रमा उल्लेख छ।
वैद्य परिवारका पछिल्ला पुस्ताले पनि यो घर मर्मत गर्न र सरसामग्री किन्न सहयोग गरेका छन्। जयदेवका अनुसार भक्तपुरसँग उनीहरूको परिवारको नाता अझै टुटेको छैन।
‘हाम्रो वंशको पुरानो घर, आँगम, देउता अझै सुकुलढोकामा छन्। हनुमन्ते खोलाछेउ भिसिंख्यमा हाम्रो कुलदेउता मन्दिर छ। त्यहाँको देवाली घरमा देवाली पूजा र अन्य पूजा अझै हुन्छ,’ जयदेवले भने, ‘भिसिंख्यमा हाम्रो कुलदेउता हुनु र हामीले बोलीचालीको भाषाका रूपमा नेपाल भाषा बोल्नुले हामी सिमरौनगढबाट नेपाल उपत्यका आएपछि यहीँको संस्कृतिमा घुलमिल भएर नेवार भएको हुनुपर्छ।’
जंगबहादुर राणाको समयकै कुरा गर्दा प्रमुख राजवैद्य भएयता चक्रपाणिले काठमाडौंको गुह्येश्वरी मन्दिरमा सुनको मोलम्बा रहेका तीनतले छाना र त्यसमाथि चारवटा नाग राखेका थिए। त्यसमुनिको अभिलेखमा उल्लेख भएअनुसार यो काम १९३७ सालमा सुरू भई १९४१ सालमा पूरा भएको थियो। चक्रपाणिले १९४४ सालमा पर्सा जिल्लाको कुहुनिया गाउँमा विन्दवासिनी भगवतीको ढलोटको मूर्ति पनि स्थापना गरेका थिए।
चक्रपाणिका भाइ दण्डपाणिले पनि गुह्येश्वरी मन्दिरका चार कुनामा चारवटा ढलोटका ध्वजा र उत्तरतिर स्तम्भमाथि त्रिशूल राखेको शिलालेखमा छ। उक्त शिलालेखअनुसार उनले त्यहाँ पूजा गर्न पाँच रोपनी जग्गा पनि छुट्टयाएका थिए जुन अहिलेको नापीअनुसार १२ रोपनी हुन्छ।
चक्रपाणि र दण्डपाणिका पुस्ता जंगबहादुरका पालादेखि लामो समयसम्म काठमाडौंका शासकहरूका राजवैद्य भए। चक्रपाणिको निधनपछि उनका माहिला भतिजा (दण्डपाणिका छोरा) रामदास राजवैद्य भए। रामदासले आफ्नो कार्यकालमा १९५२ सालमा त्रिपुरेश्वरको वैद्य चोकमा धन्वन्तरी मन्दिर बनाएका थिए। १९७० सालमा यो मन्दिर पुनर्निर्माण हुँदा मन्दिर वरिपरि पालन गर्नुपर्ने नियम र आफ्ना पाँच छोराले गर्नुपर्ने कार्यसहितको शिलापत्र फेला परेको थियो।
तुलसीरामका अनुसार राणा प्रधानमन्त्रीहरू वीरशमशेर र चन्द्रशमशेरले राजवैद्य रामदासका तीन छोरा जेठा रत्नदास, माहिला दामोदरदास र साहिँला सुधापाललाई क्रमिक रूपमा एलोपेथी, आयुर्वेद र होमियोप्याथी पढ्न भारत पठाएका थिए।
त्यसैअनुरूप रामदासका जेठा छोरा रत्नदास नेपालको पहिलो एलोपेथिक डाक्टर बने। उनी डाक्टर भएको कुरा १९५९ साउन २० गते सोमबार प्रकाशित गोरखापत्रको सम्पादकीयमा छापिएको छ, जसमा उनको प्रशंसा पनि गरिएको छ।
उक्त सम्पादकीयको भाव यस्तो छ, ‘हाम्रो नेपालको बासिन्दा पनि डाक्टर हुनु एकदम खुसीको कुरा हो। अब हामीले विदेशी मान्छेलाई बोलाउन पर्दैन। यदि यसरी नै नेपालीहरू डाक्टर बन्दै गए भने विदेशीलाई राख्दा हुने खर्च कम हुन्छ। यहीँका मानिस हुँदा ज्यादा काम पनि हुने र राजाप्रजा सबैलाई फाइदा हुन्छ।’
रामदास वैद्यका जेठा छोरा डाक्टर भएपछि उनका माहिला छोरा दामोदरदास राजवैद्य भएका थिए। पछि यो पद दामोदरदासका माहिला छोरा गोविन्ददास वैद्यले पाए, जो अन्तिम राजवैद्य हुन्। भीमशमशेरको समयबाहेक वैद्य परिवारले सय वर्षभन्दा बढी समय राजवैद्यका रूपमा काम गरेको इतिहास छ।
‘भीमशमशेरले चन्द्रशमशेरसँग नजिक भएका धेरैजसो माथिल्ला पदाधिकारीमध्ये कसैलाई देश निकाला, कसैको पद खोस्ने आदि काम गरेका थिए। त्यही कारण दामोदरदासलाई भीमशमशेरको प्रधानमन्त्रीकालमा राजवैद्यबाट अवकास दिइएको थियो,’ तुलसीरामले लेखेका छन्, ‘जुद्धशमशेर प्रधानमन्त्री भएपछि दामोदरदासलाई राजवैद्य पदमा पुनर्बहाल गरियो।’
रामदासका साहिला छोरा सुधापाल होमियोप्याथी अध्ययन गरिरहँदा अर्का एक नेपाली कृष्णदेव प्रधान पनि सोही विषय अध्ययन गर्दै थिए। त्यही भएर यी दुई जना नेपालका प्रथम होमियोप्याथी डाक्टर बने।
यसरी रामदास वैद्यका तीन छोरा चिकित्सा क्षेत्रका तीन विषयमा विशेषज्ञ भएका थिए।
‘उनका काहिला छोरा शंकरदासले पनि वैद्य भई काम गरेका थिए। उनले दोस्रो विश्वयुद्धमा अंग्रेजलाई सहयोग गर्न नेपाल सरकारले खटाएको एक पल्टनसँग वैद्य भई सहभागिता जनाएका थिए। पछि उनी सिंहदरबार वैद्यखानाका हाकिम भए,’ तुलसीदासले किताबमा लेखेका छन्, ‘कान्छा छोरा लिलाधर वैद्यले राणा दरबारमा प्रशासक भई काम गरे र पछि व्यापारमा लागे।’
वैद्य परम्परा नेपालको परम्परागत चिकित्सा हो। लामो समय यही चिकित्साका भरमा स्वास्थ्य लाभ उठाइरहेका राणाहरूले रामदासका छोरा रत्नदास एलोपेथिक डाक्टर भएयता भने आधुनिक चिकित्सामा बढी झुकाव राख्न थालेको देखिन्छ।
जति बेला रत्नदास वैद्य डाक्टर भएर फर्किएका थिए, त्यति बेला चन्द्रशमशेर राणा क्षयरोगले ग्रसित थिए। रत्नदासकै रोहवरमा उपचार लिँदै उनले त्यस समय २८ वर्षसम्म यो रोगसँग जुधे। १९६४ सालमा बेलायत भ्रमणमा जाँदा उनले आफ्ना डाक्टर रत्नदासलाई पनि साथै लगेका थिए।
रत्नदासको निधनपछि उनका तीन छोरामध्ये जेठा र माहिलाले पनि डाक्टरी विषय पढे। उनका कान्छा छोरा हुतराम वैद्य भने नेपालका पहिलो कृषि इञ्जिनियर भए। उनीहरूलाई पढ्ने अवसर पनि राणाहरूले नै मिलाइदिएका थिए।
जयदेव वैद्यका अनुसार चन्द्रशमशेरको निधन भएको चार वर्षपछि १९९० सालमा रत्नदासको निधन भयो। चन्द्रशमशेरको दीर्घसेवा गरेकाले उनका भाइ जुद्धशमशेरले रत्नदासको परिवारलाई के–कस्तो समस्या छ, के–कस्तो आवश्यकता छ भनेर खोजखबर गर्न मान्छे पठाएका थिए।
रत्नदासले अघिल्ला दुई श्रीमतीबाट छोरा नभएकाले ३८ वर्षको उमेरमा १६ वर्षकी मथुरादेवीसँग तेस्रो विवाह गरेका थिए। उनीबाट तीन छोरा र एक छोरीको जन्म भएको थियो। रत्नदासको निधनपछि मथुरादेवीलाई तीन छोरा र एक छोरीको लालनपालन जिम्मा आइलागेको थियो। त्यति बेला जेठा छोरा रघुवर १५ वर्ष, माहिला भरत १३ वर्ष र कान्छा हुतराम ११ वर्षका थिए।
जुद्धशमशेरले खटाएर पठाएका मान्छेले के–कस्तो आवश्यकता छ भनेर सोध्दा मथुरादेवीले भनिछन्, ‘मलाई अरू केही चाहिन्न। मेरा तीनवटा छोरा छन्। तिनीहरूलाई डाक्टर बनाइदेऊ।’
जुद्धशमशेरले त्यसको दुई वर्षपछि अर्थात् मथुरादेवीको जेठा छोरा रघुवरले १७ वर्ष उमेरमा आइएससी पास गरेपछि आफ्नो बाचा पूरा गरे। उनले रघुवरलाई भारतमा डाक्टरी विषय पढ्न पठाए। त्यसको चार वर्षपछि माहिला छोरा भरतले पनि जुद्धशमशेरकै सहयोगमा डाक्टरी पढ्ने अवसर पाए। उनले स्वास्थ्य सेवामा अतिलगनशील भई काम गरेकाले गोरखा दक्षिणबाहु प्रथम श्रेणीको तक्मासमेत पाएका थिए। कान्छा छोरा हुतरामले भने डाक्टरी पढ्न चासो देखाएनन्।
जुद्धशमशेरले डाक्टरी पढ्न पठाएका रत्नदासका जेठा छोरा रघुवर नै जयदेवका बुवा हुन्। त्यस हिसाबले मथुरादेवी जयदेवकी हजुरआमा हुन्।
त्यस बेला आफ्नी हजुरआमाले छोराहरूका लागि यति दूरदर्शी सोच राखेकामा उनी मथुरादेवीलाई बहादुर, आँटिली र शिक्षाप्रति चेत भएको महिलाका रूपमा प्रशंसा गर्छन्। तर मथुरादेवीलाई त्यति बेला धेरैले मूर्ख महिलाको संज्ञा दिएका रहेछन्।
‘कस्तो मूर्ख आइमाई रहेछ! महाराजले तँलाई के चाहिन्छ भनेको बेला त जग्गाजमिन र सम्पत्ति पो माग्नुपर्छ! यस्तो १०-१२ वर्षका केटाहरूलाई बाहिर पढ्न पठाएर हुन्छ?’ आफन्तहरूले त्यति बेला भनेको कुरा हजुरआमा मथुरादेवीले पछिसम्म सुनाउने गरेको जयदेवले हामीलाई बताए।
मथुरादेवीले देखाएको आँट र शिक्षाप्रतिको चेत उनका जेठा छोरा रघुवरले सायद झनै बढी बुझेका थिए। त्यही भएर उनको अन्तिम इच्छा आमा र बुवाका नाममा ‘मथुरा–रत्न छात्रवृत्ति’ स्थापना गर्ने थियो।
‘आफ्नो वंशले सात सय वर्षदेखि चिकित्सा पेसाबाट पुर्याएको मानव सेवालाई निरन्तरता दिन प्रत्येक वर्ष कम्तिमा एक जना एमबिबिएस डाक्टर उत्पादन गर्ने उहाँको इच्छा थियो। त्यसका लागि आफ्नै डिजाइन र सुपरिवेक्षणमा बनेको वीरगन्जको घर बेच्ने उहाँको स्पष्ट धारणा थियो,’ जयदेवले भने, ‘घर बिक्रीबाट आएको रकम नेपाल चिकित्सा संघको सहकार्यमा जेहेन्दार तर विपन्न र आफ्नो आयस्रोतबाट पढ्न असमर्थ छात्रछात्रालाई जाति, धर्म, लिंग आदिको भेदभाव नराखी छात्रवृत्ति दिन उहाँ चाहनुहुन्थ्यो।’
रघुवरका दुई छोरा थिए — जयदेव र श्रीदेव। उनी आफ्ना छोराहरूमध्ये एक जना भए पनि आफूजस्तै चिकित्सा पेसामा लागेको हेर्न चाहन्थे। तर दुवै फरक पेसामा लागे।
कान्छा छोरा श्रीदेव पाइलट भए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०३० जेठ २८ गते नेपाल वायुसेवा निगमको हवाईजहाज अपहरण हुँदा आफ्ना भाइ श्रीदेव वैद्य सहायक पाइलट रहेको जयदेवले बताए।
श्रीदेवले सानैदेखि पाइलट बन्ने उद्देश्य लिएका भए पनि जयदेवलाई भने डाक्टर नै बन्ने भूत सवार थियो। त्रिपुरेश्वरस्थित पुर्ख्यौली घरनजिकै त्यति बेला जयदेवका बुवा रघुवरको धन्वन्तर्यालय मेडिकल हल थियो। त्यहाँ बुवाले बिरामीहरूलाई गरेको सेवा देखेर जयदेवलाई पनि उनीजस्तै डाक्टर हुने रहर जागेको थियो। त्यही रहर पूरा गर्न उनी कहिलेकाहीँ बुवा–काका नभएका बेला बिरामीको लक्षण हेरेर औषधि दिएर पठाउँथे।
‘एकदिन एउटा बिरामी मलाई खोज्दै मेडिकल आएको रहेछ। त्यो बिरामीलाई मैले अघिल्लो दिन जाँचेर पठाएको थिएँ। मलाई देख्नेबित्तिकै नमस्कार डाक्टर साहेब भनेपछि मेरो रहस्य खुल्यो,’ जयदेवले भने, ‘पछि बुवाले मलाई गलत औषधि परेको भए के हुन्थ्यो भनेर हप्काउनुभयो। मैले ठूलो पाठ सिकेँ। त्यस दिनदेखि मैले त्यस्तो काम कहिल्यै गरिनँ। बरू मनमा डाक्टर बन्ने इच्छा झनै प्रबल बन्यो।’
डाक्टरी पढ्न जयदेव सुरूमा कलकत्ताको त्यही कलेज गएका थिए, जहाँ उनका बुवा–हजुरबुवाहरूले पढे। तर जति बेला उनी त्यहाँ पुगे, त्यस वर्षका सबै सिटमा विद्यार्थी भर्ना भइसकेका थिए। त्यहाँबाट काठमाडौं फर्किएपछि उनले कराँचीको मेडिकल कलेजमा पढ्ने सिट पाए। त्यो सिट पनि शिक्षा मन्त्रालयका कर्मचारीले अर्कैका नाममा दिएको जयदेवले बताए।
त्यसपछि उनले लन्डनको कलेजमा पढ्ने अवसर पाए। तर कलेज पुग्न दुई साता ढिला भएकाले त्यहाँ पढ्ने अवसर पनि गुमाए।
डाक्टर बन्ने चक्करमा उनको दुई वर्ष खेर गइसकेको थियो। त्यही भएर परिवार र साथीभाइको सल्लाहमा उनी टेक्सटायल इञ्जिनियरिङ पढ्न थाले। नेपाल फर्किएर त्यही क्षेत्रमा काम गरे।
‘मैले धेरै कष्ट सहेर डाक्टरी पढ्ने अठोटलाई तिलाञ्जली दिएको थिएँ। अचानक इञ्जिनियरिङतिर बहनु झन्डै बाढीको उल्टो धारमा पौडिनुजत्तिकै चुनौतीपूर्ण थियो,’ उनले भने।
आफू डाक्टर बन्न नसकेकै कारण बुवा रघुवरले डाक्टरी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन चाहेका हुन् कि भन्ने जयदेवलाई लाग्छ।
‘त्यही भएर म बुवाको अन्तिम इच्छा पूरा गर्ने दायित्व सम्झेर कार्यान्वयनमा लागेँ,’ जयदेवले भने, ‘वीरगन्ज घर बेच्नै चार वर्ष लागेको थियो। छात्रवृत्ति दीर्घकालीन बनाउन उक्त पैसामा आफ्नो थप पैसा जोडेर बुवा बितेको आठौं वार्षिकीमा मथुरा–रत्न कक्ष उद्घाटन गर्यौं र त्यहाँबाट छात्रवृत्ति दिन थाल्यौं।’
यो छात्रवृत्ति २०५५ सालदेखि सञ्चालनमा छ। अहिलेसम्म करिब ३३ जनाले छात्रवृत्ति पाइसकेका छन्।
जयदेव त डाक्टर बनेनन् नै, उनका छोराहरूले पनि डाक्टरी वा चिकित्सा पेसा अपनाएका छैनन्। ठूला छोरा जेसबिन कम्प्युटर इञ्जिनियर छन् भने कान्छा छोरा जेसन व्यापार गर्छन्। आफ्नो घरमा अहिले कोही पनि चिकित्सा पेसामा नलागेकामा जयदेवलाई त्यति गुनासो भने छैन, ‘हाम्रो घरमा नभए पनि हाम्रो वंशजमा अझै पनि धेरै जना डाक्टर छन्। अझ मथुरा–रत्न छात्रवृत्तिबाट जति पनि डाक्टर भएर निस्किएका छन्, ती सबै हाम्रै सन्तानसरह हुन्।’
उनलाई एउटै कुरामा गुनासो र थकथकी छ – आफ्नो वंशको इतिहास जोडिएको सिमरौनगढ अहिलेसम्म जान नसक्नु!
‘करिब २० वर्षअघि म बाराको गढिमाईसम्म पुगेको थिएँ। त्यहाँसम्म पुग्दा पनि मलाई सिमरौनगढ जाने हेक्का भएन,’ उनले भने, ‘यति धेरै उमेरको भइसकेँ, आफ्नो वंशको उत्पत्ति स्थल नगएकोमा थकथकी लाग्छ।’
सेतोपाटीमा प्रकाशित सिमरौनगढका कथाहरू पढेपछि त्यहाँ जाने रहर फेरि जागेको बताउँदै जयदेवले भने, ‘मैले त छोरालाई तपाईंको लेख पढ्नेबित्तिकै यसपालि त जसरी भए पनि सिमरौनगढ जाऔं भनेर भनिसकेँ।’
सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको यो कथासँगै सिमरौनगढसँग जोडिएको मिथिला सभ्यताको कथा अहिलेलाई यहीँ सकिन्छ। तर हाम्रो 'मिथिलाक कभासभ' शृंखला चाहिँ सकिएको छैन है। शृंखलाको अर्को कडीमा म तपाईंहरूलाई जनकपुर सहर लैजानेछु।
जनकपुरका कथाहरू अर्को आइतबारबाट।
यी पनि पढ्नुहोस्: