मिथिलाक कथासभ : अध्याय ३
‘तपाईंलाई थाहा छ, अहिले तपाईं जुन घरमा बसिरहनुभएको छ, त्यो एघारौं शताब्दीको हो?’
सिमरौनगढका स्थानीय रन्जित कुशवाहाले यसो भन्दा मेरा आँखा आश्चर्यले खुलेका खुल्यै भए। त्यो आश्चर्यमा अविश्वास पनि मिसिएको थियो।
‘एघारौं शताब्दी!’ मैले भनेँ, ‘त्यो भनेको त आजभन्दा हजार वर्ष पुरानो भयो?’
‘हो, हजार वर्ष पुरानो,’ रन्जित कुशवाहाले भने, ‘लगभग त्यही समयतिरको, जब सिमरौनगढमा कर्नाटवंशको राज्य सुरू भएको थियो।’
मलाई उनको कुरा पत्याउन झनै मुश्किल भयो।
माटोको गारो, भित्तामा केही मिथिला बुट्टा कुँदिएको अनि इँटाका टायलले छाना छाएको घर त मैले तराईमा पहिले पनि देखेकै थिएँ। केही वर्षअघि सप्तरी जाँदा त्यस्तै एउटा घरमा एक रात बसेकी पनि थिएँ। त्यसैले यस्ता घरले तराईको सभ्यता झल्काउँछ भन्ने मलाई थाहा छ। तर, कसैले पनि आफ्नो घरलाई एघारौं शताब्दीको भनेको मैले कहिल्यै सुनेकी थिइनँ।
रन्जित कुशवाहाले अर्को आश्चर्यको कुरा पनि गरे, ‘यो घर बनेको मेरो हजुरबुवाको पालामा हो!’
के भन्छन् यिनी!
हजुरबुवाको पालामा भनेको त बढीमा सय वर्षभन्दा पुरानो कुरा भएन!
अनि कसरी मिल्यो त हिसाब?
...
लेखक–दार्शनिक खलिल जिब्रानले भनेका छन्, ‘यात्रा गर्नुस् र कसैलाई नभन्नुस्। सच्चा प्रेम गर्नुस् र कसैलाई नभन्नुस्। खुसी जीवन बाँच्नुस् र कसैलाई नभन्नुस्। मान्छेहरूले सुन्दर कुरा देखिसहन्नन्।’
खलिल जिब्रान सधैं सही हुँदैनन्।
कम्तिमा मेरो जनकपुर यात्राको कुरा गर्ने हो भने उनको भनाइ सोह्रै आना गलत ठहरियो।
हामीले मिथिला सभ्यताका कथाहरू खोजेर शृंखलाबद्ध प्रकाशन गर्ने निधो गरेपछि म आजभन्दा दस महिनाअघि वैशाखमा जनकपुर पुगेकी थिएँ। मिथिला भन्नेबित्तिकै धेरैले सम्झने जनकपुर नै हो।
जनकपुर जाँदा मैले ‘जनकपुर, आई एम कमिङ!’ भनेर डायरी नै लेखेँ र सबैलाई आफ्नो यात्रा र खोजका बारेमा पूर्वजानकारी दिएँ। तर, खलिल जिब्रानले भनेजस्तो मान्छेले मेरो ‘सुन्दर’ यात्रा बिगार्न खोजेनन्। बरू डायरी पढेर धेरैले मलाई खोज्दै आए र मिथिलाका थुप्रै कथासँग मेरो साक्षात्कार गराए। मेरो ‘सुन्दर’ यात्रालाई झनै सुन्दर बनाइदिए।
प्रिय जिब्रान, सायद तिमीले जिन्दगीमा असल मान्छे कम भेट्यौ कि!
मान्छेहरू तिमीले सोचेभन्दा धेरै सहृदयी र सहयोगी हुन्छन् है!
डायरी पढेर मलाई आफैं सम्पर्क गरेर भेट्न आएका थुप्रै सहृदयी र सहयोगीमध्ये रोशनकुमार झा एक हुन्।
उनले डायरी प्रकाशित भएकै दिन फेसबुक म्यासेन्जरमा मसँग सम्पर्क गरेका थिए। आफ्नो मोबाइल नम्बरसमेत पठाउँदै उनले लेखेका थिए, ‘म नेपाल मण्डल (काठमाडौं उपत्यका) र तिरहुत/मिथिलाबारे करिब सात वर्षदेखि अध्ययन गर्दैछु। म तपाईंलाई केही सहयोग गर्न सक्छु कि?’
उनले म्यासेज पठाउँदा म जनकपुरमा थिएँ। त्यसैले केही घन्टापछि मात्र मैले उनको म्यासेज देखेँ। त्यसबीच उनी त मलाई खोज्दै सेतोपाटी अफिस नै पुगिसकेछन्।
उनीसँग मेरो फोनमा कुराकानी भयो। आफूले सात वर्षदेखि अध्ययन गरिरहेको विषयमा हामीले कथा शृंखला सुरू गर्न लागेको थाहा पाउँदा उनी भावुक सुनिए।
जनकपुरबाट फर्किएपछि मैले रोशनकुमार झालाई भेटेँ। उनले कथा शृंखलाको निम्ति शुभकामना दिँदै भने, ‘यदि साँच्चिकै मिथिला खोज्न चाहनुहुन्छ भने तपाईं सिमरौनगढ जानुपर्छ।’
जनकपुरमा मिथिला सभ्यताका विभिन्न विज्ञहरूसँग कुरा गर्दा पनि धेरैले विभिन्न प्रसंगमा सिमरौनगढको नाम लिएका थिए। रोशनकुमारले पनि त्यही भनेपछि मैले जनकपुरमा पूरा हुन नसकेको मिथिलाको कडी जोड्न सिमरौनगढ जाने निधो गरेँ। सबभन्दा खुसीको कुरा त, मेरो यो यात्रामा रोशनकुमार झा स्वयं सहयात्री बन्न राजी भए।
मैले धेरै–थोरै मिथिला जनकपुरमा बुझेर आइसकेकी थिएँ, त्यसलाई थप विस्तृत बनाउन बाराको सिमरौनगढ पुगेँ।
सिमरौनगढ यात्राको विस्तार लगाउनुअघि म तपाईंहरूलाई रोशनकुमार झाबारे बताउँछु है।
सर्वोच्च अदालतमा अधिकृतका रूपमा कार्यरत झा आफ्नो पुस्ता तिरहुतकालीन भएको बताउँछन्। तिरहुतका अन्तिम राजा हरसिंहदेवको समयमा पञ्जीकरणको काम उनका जिजुबुवाहरूले गर्ने गरेको उनको दाबी छ।
‘पञ्जी व्यवस्थामा सबै जातजातिको मूल पत्ता लगाइन्छ। त्यसमा हाम्रो जिजुबुवा रामदेव झाको पनि नाम छ,’ उनले भने, ‘हामी सिमरौनगढबाटै नेपाल उपत्यका गएको विवरण पनि त्यसमा छ तर कहिले गएको उल्लेख छैन। जिजुबुवाको नामबाहेक उहाँ कहिले जानुभयो केही पनि छैन। तर हरसिंहदेवको समयमै गएको हुनुपर्छ, किनभने उनको शासनकालमै राज्य तहसनहस भएकाले त्यसपछि त जाने कुरा भएन।’
उनको कुरा मान्ने हो भने सन् १३२६ मा दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणमा सिमरौनगढ ध्वस्त भएपछि भागेका राजा, भारदार र त्यहाँका जनताको भीडमा एउटा नाम रामदेव झाको पनि थियो कि! के बेर!
सिमरौनगढबाट नेपाल उपत्यका आएपछि आफ्नो पुर्खा भक्तपुरमा बसेको रोशन बताउँछन्।
उनले मलाई आफ्नो पुर्खाबारे एउटा रोचक किस्सा सुनाए —
‘एकपटक तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा आफ्नो मनपर्ने घोडामा तराई क्षेत्र घुम्दै थिए। बाटोमा उनको घोडा बिरामी भएछ। त्यसलाई निको पार्ने काबिल तान्त्रिक को हुन सक्छ भनेर छलफल गर्दा भक्तपुरमा बस्ने झा थरका एक जना व्यक्तिको नाम आएछ। ती झा थरका व्यक्ति अरू कोही होइन, हाम्रै पुर्खा थिए रे!
‘राणाका भारदारहरू उहाँलाई खोज्दै घरमै पुगेछन्। हाम्रा जिजुबुवाले ‘म तान्त्रिक होइन’ भन्दाभन्दै उहाँको कुरा सुनिएनछ। त्यसपछि जिजुबुवाले भारदारहरूका हातमा एउटा फूल थमाइदिनुभएछ र त्यो फूल घोडालाई चढाए केही दिनमै घोडा तङ्ग्रिन्छ भन्नुभएछ।
‘नभन्दै जिजुबुवाले भनेजस्तै फूल चढाएपछि घोडा केही दिनमै बुरूकबुरूक उफ्रन थालेछ। त्यसरी आफ्नो मनपर्ने घोडा निको बनाएकाले मेरो जिजुबुवालाई जंगबहादुर राणाले अदालतको हाकिम बनाइदिएछन्।’
उनले अर्को किस्सा पनि सुनाए, 'मेरा जिजुबुवाहरू नेपाल मण्डल आएपछि यहाँको मल्ल राजाले भक्तपुरमा थुप्रै जग्गा-जमिन दिएका थिए रे!'
यो किस्सा सुनेपछि मैले सोधेँ, ‘उसो भए त भक्तपुरमा तपाईंहरूको प्रशस्त जग्गा–जमिन होला नि?’
‘कहाँ हुनु!’ उनले भने, ‘पछि रणबहादुर शाह राजाका पालामा उनकी मनपर्ने श्रीमती कान्तीवती झा बिरामी पर्दा निको पार्न नसकेर सबै जग्गा–जमिन खोसियो रे!’
रोशनले थोरै हाँसो र थोरै दिक्दारी मिश्रित लवजमा भने, ‘हाम्रो पुर्खाले सरकारबाट पाएको जग्गा–जमिन सरकारकै कारण गुमायो।’
कथा–किम्बदन्ती राजा–महाराजाको मात्र हुनुपर्छ भन्ने कहाँ छ र! रोशन झाजस्ता आमव्यक्तिले पनि आफ्नो पुर्खाको किम्बदन्ती गर्वसाथ संगालेर राखेको हुनसक्छ। तपाईंहरूलाई सुन्दा अपत्यारिलो लाग्यो होला, तर किम्बदन्ती भनेको अपत्यारिलो नै हुन्छ — राजा, महाराजाको जस्तै।
रोशन यो लगायत यस्ता थुप्रै कथाका आधारमा आज पनि आफ्नो पुर्खाप्रति गर्व गर्छन् र आफ्नो पुर्खालाई राजा हरसिंहदेवसँग जोड्छन्।
‘तपाईंको पुर्खा उतिबेलै भक्तपुर आइसकेको थियो भने तपाईं अहिले वीरगन्ज कसरी पुग्नुभयो?’ मैले रोशनलाई सोधेँ।
जवाफमा उनले भने, ‘हाम्रो पुर्खा पहिले सिमरौनगढबाट भक्तपुर आयो, पछि कुनै समयकालमा कामकाज खोज्दै वीरगन्ज पुग्यो।’
झा जन्मे–हुर्के–बढेको पनि वीरगन्जमै हो। उनी नौ वर्षअघि कानुन पढ्न पहिलोपटक काठमाडौं आएका थिए।
पहिलोपटक आएको भए पनि यहाँ बस्दै जाँदा उनलाई काठमाडौं र आफ्नो ठाउँबीच धेरै समानता महसुस हुन थालेछ।
‘यहाँका कलाकृति हेर्दा मलाई यस्तो त पहिले पनि देखेको छु भन्ने लाग्थ्यो। यहाँ मैले आफूजस्तै झा, मिश्र थरका थुप्रै मान्छे भेटेँ। सुरूमा उनीहरू पनि मजस्तै वीरगन्ज वा जनकपुरबाट आएका होलान् भन्ठान्थेँ। तर जब उनीहरू पुस्तौं पुस्तादेखि काठमाडौंमै बसिरहेको थाहा पाएँ, म छक्क परेँ। अझ उनीहरूले फरर यहाँको नेवार भाषा बोलेको सुन्दा म तीनछक खान्थेँ। काठमाडौंका यी झा, मिश्रहरूलाई देखेर म निकै जिज्ञासु भएँ र त्यही जिज्ञासा मैले आफ्नो बुवा, हजुरबुवाहरूसमक्ष राखेँ,’ रोशनले भने।
यसरी आफ्नो परिवारका अग्रजहरूसँग काठमाडौंका झा, मिश्रबारे कुराकानी गर्दै जाँदा रोशन पहिलोपटक आफ्नो पुर्खाको इतिहाससँग परिचित भए।
‘मेरो हजुरबुवा शास्त्रीय खालको हुनुहुन्थ्यो। वनारसमा पढ्नुभएको थियो। उहाँ सबै ग्रन्थ डिकोड गर्न सक्नुहुन्थ्यो,’ उनले भने, ‘म उहाँलाई धेरै कुरा सोधिरहेको हुन्थेँ। उहाँ आफैंले नेपाल मण्डल र तिरहुतको सम्बन्धबारे किताब निकाल्छु भन्ने इच्छा राख्नुभएको थियो। उहाँले आफ्नो समयमा त्यो किताब पूरा गर्न सक्नुभएन, अनि मलाई त्यो काम पूरा गर्न भन्नुभयो।’
रोशनले अगाडि भने, ‘मैले हजुरबुवाको त्यही इच्छाअनुसार सात–आठ वर्ष लगाएर यसमा काम गरेको छु।’
किताब लेख्ने क्रममा आफ्ना दाजुभाइ र आफन्तसँग कयौं दिन घन्टौं घन्टा कुराकानी गरेर पुर्खाका स्मरण र काठमाडौं–तिरहुत सम्बन्धका अनेक आयाम खोजी गरेको उनी बताउँछन्। काठमाडौं र तिरहुत क्षेत्रका विभिन्न सम्पदा स्थल र राष्ट्रिय अभिलेखालयमा घन्टौं समय बिताएको पनि उनको भनाइ छ।
‘मेरो घरमै अध्ययनका लागि थुप्रै ग्रन्थ थिए,’ उनले भने, ‘त्यसले पनि मलाई तिरहुतबारे बुझ्न र काठमाडौंसँगको सम्बन्ध पहिल्याउन निकै मद्दत गर्यो।’
अनेक स्रोतबाट विस्तृत अध्ययन गरेर रोशनले आफ्नो प्रकाशोन्मुख किताब ‘नेपाल मण्डल र तिरहुतबीचको सम्बन्ध’ को पाण्डुलिपि तयार पारेका छन्। मलाई भेट्दा उनी हरेकचोटि त्यो पाण्डुलिपि बोकेर आउँथे र जुन विषय उठ्छ, त्यसबारे आफूले लेखेको अध्याय पढेर सुनाउँथे।
ए–फो कागजमा कम्प्युटर प्रिन्ट गरेर अगाडि–पछाडि दुवैतर्फ प्लास्टिक कभर राखिएको उक्त पाण्डुलिपि उनले सिमरौनगढ यात्रामा पनि लिएर आएका थिए।
यो त भयो सिमरौनगढका मेरा सहयात्री तथा गाइड रोशन झाको कुरा, अब यात्रातिर लागौं।
हजार वर्ष पुरानो इतिहास बोकेको सिमरौनगढ राज्य कस्तो होला? यो राज्यलाई दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकले तहसनहस गरेपछि सिमरौनगढको रूप कस्तो भयो होला? सिमरौनगढ छाडेर हिँडेका राजा हरसिंहदेवपछि यहाँ क–कसले शासन गरे होलान्? यो सहर पुगेर अहिलेसम्म कतिले अध्ययन गरे होलान्?
यस्ता अनेकन जिज्ञासा बोकेर सिमरौनगढ पुग्नुअघि नै मैले यो ठाउँबारे जान्न थुप्रै अध्ययन सामग्री संकलन गर्न थालिसकेकी थिएँ।
ती सामग्री अध्ययनबाट मैले के थाहा पाएँ भने, कर्नाटवंशी राजा हरसिंहदेवका पालामा दिल्लीका मुसलमानहरूले आक्रमण गरेर तिरहुत राज्य जितेपछि मुसलमानहरूले यहाँ राज्य बसाएनछन्। बरू यहाँका राजदरबार, किल्ला र घर–मन्दिरहरूमा विनाशलीला मच्चाएर उनीहरू आफ्नै राज्य दिल्ली फर्किएछन्।
सिमरौनगढमै बसेर शासन नगरे पनि यो ठाउँको आधिपत्य दिल्लीका मुसलमानहरूकै हातमा रहेको इतिहास छ।
मैले यो कथा शृंखलाको अघिल्लो अंक ‘सिमरौनगढको भुलभुलैया दरबार’ मा कसरी सिमरौनगढकै मन्त्री कामेश्वर ठाकुरले यो राज्य तहसनहस पार्न मुस्लिम बादशाह गयासुद्दिन तुगलकको टोलीलाई सहायता पुर्याएका थिए भनेर बताएको थिएँ। उनै कामेश्वर ठाकुरलाई यो राज्य सुम्पिएर दिल्लीका बादशाह आफ्नो राज्य फर्किएको इतिहासकारहरूले लेखेका छन्। त्यसयता कामेश्वरले दिल्लीका मुसलमान शासकहरूकै निर्देशन र नियन्त्रणमा यो राज्य सञ्चालन गरेको इतिहासकारहरूको भनाइ छ।
रिकार्डो गिरवानीले आफ्नो अनुसन्धानपत्र ‘अ फ्र्यागमेन्टरी इन्सक्रिप्सन अफ सिमरौनगढ’ मा यो सहर तहसनहस भएपछिको इतिहासबारे लेखेका छन्, ‘तिरहुतमा कर्नाट राज्य तहसनहस भएको ३० वर्षपछि सन् १३५३ मा नयाँ ब्राह्मण राज्यले कर्नाटलाई प्रतिस्थापन गर्यो। तिनलाई दिल्लीका तत्कालीन शासक फिरूज साह तुगलकले त्यहाँ आफ्नो प्रतिनिधिका रूपमा राखेका थिए, जसलाई ओइनवार वंश भनेर चिन्न थालियो। त्यही समय तिरहुतमा प्रसिद्ध विद्वान कवि विद्यापतिको उदय भएको थियो।’
केही इतिहासकारले भने तिरहुतमा ओइनवार वंशको स्थापना कामेश्वर ठाकुरकै समयमा भएको बताएका छन्। गयासुद्दिन तुगलकले कामेश्वर ठाकुरको मद्दतमा तिरहुत ‘फ़तह’ गरेपछि उनैलाई आफ्नो प्रतिनिधि नियुक्त गरेर गएकाले कामेश्वर ठाकुर नै ओइनवार वंशका पहिलो शासक हुन् भन्ने ती इतिहासकारको मत छ। भारतीय इतिहासकार उपेन्द्र ठाकुरले त यो वंशलाई ‘ठाकुर वंश’ भनेर पनि सम्बोधन गरेका छन्। उनले आफ्नो किताब ‘हिस्ट्री अफ मिथिला’ मा यो वंशबारे विस्तृतमा वर्णन गरेका छन्।
ओइनवार वंशले सन् १५२६ सम्म तिरहुतमा शासन गरेको भए पनि उनीहरूले सिमरौनगढ समृद्ध पार्न कुनै उल्लेखनीय भूमिका निर्वाह गरेको देखिन्न। यो यस कारण पनि हुनसक्छ, किनभने उनीहरूको समयमा तिरहुत राज्य स्वतन्त्र थिएन। शासनको कमान दिल्लीका मुसलमान राजाहरूको हातमा थियो।
ओइनवार वंशको शासन सकिएपछि भने तिरहुतको राजकाज कसले सम्हाल्यो भन्नेबारे इतिहास मौन छ। यसबारे कुनै कुरा खुल्न नसकेको उपेन्द्र ठाकुरले लेखेका छन्।
हुनसक्छ, सोह्रौं शताब्दीमा ओइनवार वंशको विनाशपछि नै सिमरौनगढका पुराना अवशेष घना जंगलभित्र विलुप्त भए!
तिरहुत राज्य सिमरौनगढमा मात्र सीमित थिएन। यो पूर्वमा कोशी, पश्चिममा गण्डकी (नारायणी), उत्तरमा हिमालय र दक्षिणमा गंगासम्म फैलिएको थियो। त्यसैले ओइनवार वंशपछिका शासकले सिमरौनगढ छाडेर अन्य ठाउँलाई आफ्नो राजधानी बनाएका हुन सक्छन्। यहाँ भने केही आदिवासी मात्र बसोबास गरिरहेको र बिस्तारै यो ठाउँ ठूलो राज्यको राजधानी थियो भन्ने नै मान्छेहरूको स्मृतिबाट हराएको पनि हुनसक्छ!
इतिहासकारहरूले नै खुट्टयाउन नसकेको विषयमा हामी धेरै नअलमलिऊँ र कर्नाटवंशको शासनकालमा सिमरौनगढ कस्तो थियो भन्नेबारेमै थप कुरा गरौं।
त्यति बेलाको सिमरौनगढको कुरा गर्दा तिब्बती विद्वान धर्मस्वामीको ‘बायोग्राफी अफ धर्मस्वामी’ एक महत्वपूर्ण किताब हो। उनले यो राज्यमा के–कसरी सुरक्षा व्यवस्था गरिएको थियो र के–कस्ता संरचना निर्माण भएका थिए भनेर आफ्नो किताबमार्फत् त्यस समयको विस्तृत झलक दिएका छन्।
त्यो मात्र होइन, सन् १७९० मा भारतको पटनाबाट नेपाल उपत्यका अर्थात् भक्तपुर आएका रोमन क्याथलिक पादरी काशियानो दा माचेराताले पनि आफूले देखेको सिमरौनगढबारे लेखेका छन्। उनको लेख राज्य तहसनहस भएर भग्नावशेषमा परिणत भएको सिमरौनगढ कस्तो थियो भन्ने बुझ्न महत्वपूर्ण दस्तावेज हो।
सिमरौनगढ राज्य ध्वस्त भएको करिब चार सय वर्षपछि पादरी काशियानोले यहाँका भग्नावशेष देखेका थिए। उनको विवरणबाट राज्य ध्वस्त भएको चार सय वर्षसम्म पनि सिमरौनगढ सहरको भू–बनोट त्यति बिग्रिएको थिएन भन्ने थाहा पाउन सकिन्छ।
काशियानो र धर्मस्वामीले दुई अलग–अलग कालखण्डमा देखेको सिमरौनगढ कस्तो थियो भन्नेबारे तपाईंहरूले हाम्रो अघिल्लो अध्याय ‘सिमरौनढको भुलभुलैया दरबार’ मा विस्तृतमा पढ्न सक्नुहुन्छ।
काशियानो आएको करिब ५० वर्षपछि अर्थात् सन् १८३५ मा बेलायतका कूटनीतिज्ञ एवं मानवशास्त्री ब्रायन हड्सनले यहाँका भग्नावशेषमाथि खोज गरेर त्यसबारे ‘जर्नल अफ द एसियाटिक सोसाइटी’ मा रिपोर्ट लेखेका थिए। त्यसमा उनले आफूले सिमरौनगढमा छोटो भ्रमण गरेको उल्लेख गरेका छन्। छोटो भ्रमण भए पनि त्यो धर्मस्वामी र पादरी काशियानोपछि सिमरौनगढमाथि लेखिएको उल्लेखनीय वृत्तान्त हो।
उक्त भ्रमणमा हड्सनले यहाँका पर्खाल, खाई, रानीवास मन्दिर वरपरका संरचना र मूर्तिहरूबारे अध्ययन गरेका थिए। त्यहाँबाट फर्कंदै गर्दा उनको भेट भगवानपुरका एक विद्वान ब्राह्मणसँग भएको थियो। ती ब्राहमणले ब्रायन हड्सनलाई अप्रिल–मे महिनातिर वनजंगल रूखा–सुखा भएर वरपर खुला देखिने भएकाले यो सहर अझै राम्ररी चित्रण गर्न सकिने बताएका थिए।
आफ्नो छोटो भ्रमण र ब्राह्मण विद्वानसँगको कुराकानीपछि हड्सनले यो सहर समानान्तर चतुर्भुज आकारमा बसेको उल्लेख गरेका छन्।
‘यो गढ बाहिरी र भित्री पर्खालले घेरिएको छ। बाहिरी पर्खाल नपोलेका इँटाले बनेको छ भने भित्री पर्खालमा पोलेका इँटा फेला परेका छन्। बाहिरी पर्खाल सात कोस र भित्री पर्खाल पाँच कोस लामो छ,’ उनले लेखेका छन्, ‘पूर्वी क्षेत्रमा पर्खालबाहिर छ–सातवटा र पश्चिममा तीन–चारवटा चिसा खाई अझै भेट्न सकिन्छ।’
कंकाली मन्दिर नजिकैको इसरा पोखरीलाई हड्सनले त्यो समयमा पनि राम्रो अवस्थामा रहेको बताएका छन्। उनले उक्त पोखरीको नापनक्सा पनि गरेका थिए, जसअनुसार पोखरीको लम्बाइ ३३३ पेस (खुट्टाको पाइलाको नाप) र चौडाइ २१० पेस छ।
‘यो पोखरीको डिल राम्ररी पोलेका इँटाले बनेका छन् जुन निकै ठूला छन्। वरिपरिका ५०–६० मिटर क्षेत्रफल पनि त्यस्तै इँटाले बनेको छ। यसबाट के थाहा हुन्छ भने यो सहरका मार्गहरू बडो सावधानीपूर्वक र महँगो संरचनाले बनेका थिए,’ उनले लेखेका छन्।
इसरा पोखरी वरिपरि दरबारका अवशेष, किल्ला, देवीको मन्दिर र मन्दिरमा सुन्दर ढंगले कुँदिएका ढुंगाका विशिष्ट संरचना र तेलीय इँटाहरू हड्सनले देखेका थिए। उनले यहाँका ढुंगाका केही संरचना पनि नापेका थिए, जुन प्रायः पाँच फिट लामो र साढे एक फिट चौडा थिए। यी ढुंगा कम्तिमा २५ माइल टाढाबाट ल्याएको हुनसक्ने उनको अनुमान छ।
‘करिब २० वटा मूर्ति यहाँको भग्नावशेषबाट निकालिएको थियो जुन ढुंगाबाट बनेका छन्। ती मूर्तिमा देखिने कालिगढी निकै मिहिन र विशिष्ट छ। मैले तिनीहरूलाई एकपटक मात्र देख्न पाएको थिएँ। तर मलाई यति थाहा छ, तिनले पौराणिक ब्राह्मणवाद चित्रण गर्छन्,’ हड्सनले आफ्नो रिपोर्टमा लेखेका छन्।
हड्सनले यहाँ चार–पाँचवटा इनार पनि देखेका थिए। ती इनार काठमाडौं उपत्यकामा जस्तै जमिनबाट तीन फिट माथि उठाएर बनाइएका थिए। सहरको प्रवेशद्वार मानिने कोतवाली किल्ला उत्तरी भागमा र इसरा पोखरी तीन–चार माइल उत्तर–पश्चिम कुनामा रहेको उनी बताउँछन्।
उक्त लेखमा हड्सनले सिमरौनगढ राज्यको उत्पत्ति र विनाशबारे श्लोकमा लेखिएको विवरण पनि उल्लेख गरेका छन्।
श्लोकमा भनिएको छ, ‘राजा राम, नल, पुरूरवस् र अलार्काको धन इसरा पोखरीमा संरक्षण गरी राखिएको थियो। त्यसलाई एउटा नागले रक्षा गरेका थिए। नान्यदेवले उक्त नागलाई मारेर त्यहाँको धन लिए र सिमरौनगढ राज्य बनाए। उनका अन्तिम पुस्ता हरसिंहदेव नराम्रो भाग्यका कारण यो राज्यबाट शक सम्बत् १२३५ मा पहाडतिर लागे।’
यो श्लोकबाट हामी के बुझ्न सक्छौं भने सिमरौनगढ राज्य नान्यदेव वंश सकिएसँगै भग्नावशेषमा परिणत भएको थियो। यो राज्य कोशीदेखि गण्डकी र गंगादेखि तराईसम्म फैलिएको हड्सन पनि बताउँछन्।
‘त्यो समय सहर एकदम सुन्दर थियो, तर अहिले श्रापले ग्रसित सहरजस्तो भएको छ,’ हड्सनले लेखेका छन्।
हड्सनपछि ज–जसले सिमरौनगढको पुरातात्विक अध्ययन–अनुसन्धान गरे, तिनले हड्सनकै रिपोर्टमा टेकेर अध्ययन गरेका छन्। सन् १९९० दशक (१९९१–१९९३) मा इटालियन टोलीले गरेको उत्खनन सिमरौनगढमा गरिएको पहिलो उत्खनन हो।
दुई चरणमा गरिएको उक्त उत्खननमा इटालियन अन्वेषकहरूले रानीवास मन्दिर परिसर र त्यहाँ भेटिएका माटाका सामग्री, सिमरौनगढका गढ (पर्खाल) र खाईहरूको अध्ययन गरेका थिए। उनीहरूले स्थानीय खेतीपाती र इँटा चोरी गरेर निजी काममा प्रयोग गरिँदा धेरै संरचना तहसनहस भएको बताएका छन्।
‘यो गढको सबभन्दा मुख्य विशेषता यहाँको भित्री पर्खाल हो जुन छ–सात मिटर अग्लो छ। तर पर्खालमा भएका पोलेका इँटा लगभग सबै चोरेर लगिसकिएको छ। त्यही भएर हामीले अध्ययन क्रममा इँटाका टुक्राटाक्री मात्र फेला पार्न सक्यौं,’ इटालियन टोलीले आफ्नो रिपोर्टमा लेखेको छ।
उनीहरूको अध्ययनअनुसार यो गढ अनियमित आयाताकारको छ। यसको पश्चिमी र पूर्वी भागमा दुईवटा समानान्तर प्राकृतिक तटबन्धन निर्माण गरिएका छन् भने पश्चिमी भागमा सुख्खा र घुमाउरो नदी छ। झरीको मौसममा यहाँका धेरैजसो खोलाको पानी गाउँलेहरूले सिँचाइका लागि प्रयोग गर्छन्। गढको दक्षिणी भागमा भारतीय सीमा छ।
‘अहिले धेरैजसो गाउँले घर बनाउने वा कृषिमा लागेका छन्। यसले यहाँका धेरै संरचना बिग्रिसकेका छन्। तर अझै पनि माटाका केही पर्खाल बाँकी छन्। साना खाडलहरू अझै भेटिन्छन्। यी संरचना हेर्दा यो सहरलाई किन भुलभुलैयासँग तुलना गरियो भन्ने प्रस्ट हुन्छ,’ उनीहरूले रिपोर्टमा लेखेका छन्, ‘सहरको भुलभुलैया स्वरूप आफैंमा एउटा बलियो सुरक्षा डिजाइन थियो। यसले सहरलाई बाढीपहिरोबाट पनि जोगाउँथ्यो। कृषिका लागि पनि उपयोगी थियो। यसले राज्यको बलियो शक्तिलाई संकेत गर्छ।’
राम्रो हावापानी भएकै कारण यो सहरलाई त्यस समयको राजधानी बनाइएको हुनुपर्ने उनीहरूले अनुमान गरेका छन्।
उनीहरूले आफ्नो अनुसन्धान क्रममा केही खाई वा खाडल पनि भेटेका थिए। त्यसलाई बचाइराख्न तिनमा निरन्तर पानी हाल्नुपर्ने आवश्यकता उनीहरूले औंल्याएका छन्।
‘गढको किल्ला जुन खाईले घेरिएको छ, तिनको अन्य खाई र पोखरीसँग सम्बन्ध हुनसक्छ। कर्नाटवंशको समयमा सम्पूर्ण सहरमा यस्ता पर्खाल, खाई, नहर र पोखरीहरू बनेका हुनसक्छन्। त्यसको वरिपरि प्रशस्त रूख र खेत हुनसक्छ,’ उनीहरूले रिपोर्टमा लेखेका छन्, ‘यो गढ धर्मस्वामीले यहाँ आउँदा वर्णन गरेजस्तै देखिन्छ।’
रानीवास क्षेत्रमा प्रारम्भिक अध्ययन गर्दा उनीहरूले त्यहाँको माटाका ढिस्कामा थुप्रै माटाका भाँडा भेटेका थिए। कति भाँडा त उत्खनन क्रममा भत्किएका पनि थिए। त्यस उत्खननबाट सिमरौनगढ क्षेत्र माटोको काममा एकदम धनी रहेको उनीहरूले उल्लेख गरेका छन्।
इटालियन टोलीले उत्खनन गरेयता सिमरौनगढमा फेरि अर्को उत्खनन भएको छैन। सन् २०२० तिर बेलायतको डुरहाम विश्वविद्यालयले अन्तिमपटक गरेको ग्राउन्ड पेनिट्रेटिङ राडर (जिपिआर) र म्याग्नेटोमिटर सर्भे महत्वपूर्ण छन्। मान्छेको शरीरमा एक्स–रे गरेजस्तै यो सर्भेले जमिनमुनि महत्वपूर्ण संरचना छन् कि छैनन् भनेर पत्ता लगाउन सक्छ।
डुरहाम विश्वविद्यालयका पुरातत्वविदहरूले सिमरौनगढका बगैंचा, इसरा पोखरी, नगरपालिकाको चउर र रानीवास क्षेत्र अध्ययन गरेका थिए। इटालियन टोलीको उत्खनन र डुरहाम विश्वविद्यालयको सर्भेका रिपोर्ट र अनुभवलाई म आफ्नो सिमरौनगढ भ्रमण अनुभवसँगै विस्तारमा जोड्दै लगुँला है!
...
महान् दार्शनिक एरिस्टोटलले भनेका छन्, ‘सुरू गर्नु भनेको आधा सक्नु हो।’ तर म त सुरूआतको पनि निकै सुरूमा छु। मैले सिमरौनगढलाई अक्षर र चित्रमा मात्र देखेको थिएँ, यथार्थमा देख्ने चरण त बल्ल सुरू हुँदैछ।
बाराको सिमरा विमानस्थलमा म र मेरा सहयात्री रोशनकुमार झा बिहान ८ बजेतिरै पुगिसकेका थियौं। त्यहाँबाट हामी कलैया, बरियापुरस्थित गढीमाई मन्दिर हुँदै सिमरौनगढतपर्फ लाग्यौं।
कलैयादेखि सिमरौनगढको दुरी करिब २२ किलोमिटर छ। हामीले कलैयामा समातेको ट्याम्पोमा केही यात्रु पहिल्यै थिए। उनीहरूलाई पहिला गढीमाई मन्दिर पुर्याएर हामीलाई सिमरौनगढ पुर्याउने ट्याम्पो चालकले बताए।
गढीमाईलाई तराई क्षेत्रको ठूलो शक्तिपिठ मानिन्छ। कलैया जिल्लाबाट करिब आठ किलोमिटर पूर्व पर्ने गढीमाईमा हरेक पाँच वर्षमा मेला लाग्छ। मेलामा हजारौं पशु बलि दिइन्छ, जसको विरोध पनि हुँदै आएको छ।
गढीमाई घुमेर फर्कनै लाग्दा बाटोमा हाम्रो ट्याम्पो बिग्रियो। त्यहाँबाट हामीले बस समात्यौं। सुरूमा ट्याम्पो समात्नु हामीलाई फाइदै भयो, तराईको एउटा महत्वपूर्ण शक्तिपिठ घुम्ने अवसर मिल्यो। नभए सिमरौनगढ पुग्न गढीमाई गइरहनुपर्दैन।
मध्यकालीन तिरहुत राज्यको राजधानी सिमरौनगढ पुग्नै लाग्दा बाटाका छेउछाउ ठुल्ठूला नहरहरू देखिए। के यी संरचना कर्नाटवंशी राजाहरूकै पालामा बनेका हुन्? के मेले पढे–सुनेका माटाका, इँटाका, रूखका गढ (बाही), खाईका घेराहरू अझै सिमरौनगढमा देखिएलान्?
यस्ता अनेकन प्रश्नको उत्तर साँच्दै म सिमरौनगढ पुगेँ।
बसबाट ओर्लिएपछि सिमरौनगढको कंकाली मन्दिर परिसर पुग्न दस मिनेटजति हिँड्नुपर्ने रहेछ। हिँड्दै गर्दा मैले समाजशास्त्र अध्येता एवं तराई मधेस राष्ट्रिय परिषदका संयोजक भरत साहलाई फोन गरेँ। साहले चार वर्षअघि मार्टिन चौतारीमा आयोजित एक छलफल कार्यक्रममा सिमरौनगढबारे प्रस्तुति दिएका थिए।
त्यस बेला उनले पुरातात्विक महत्वको यस सहरमा धमाधम माछापोखरी खन्न थालेपछि यहाँका पुराना संरचना कसरी ध्वस्त हुँदै गएका छन् भनेर बताएका थिए। माछापोखरी खन्ने क्रममा एक्स्काभेटरका दाँतले कोपरेर महत्वपूर्ण मूर्ति र शिलालेखहरू टुक्राटुक्रा अवस्थामा भेटिन थालेकोमा उनको चिन्ता थियो।
उनले भनेका थिए, ‘कर्नाटवंशीय राजा लखेटिएर काठमाडौं उपत्यका आएपछिको आठ सय वर्षसम्म पनि सिमरौनगढ खासै बिथोलिएको थिएन। तर बितेका आठ महिनामा त्यो स्थानको पुरातात्विक महत्व ध्वस्त पार्ने गरी पोखरी खन्ने काम भएको छ।’
भरत साहले केही महिनाअघि मात्र सिमरौनगढको जमिन खन्न नदिन र यो सहरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पुरातत्व विभाग र अन्य सरोकारवाला निकायहरूलाई पत्र लेखेका छन्।
सिमरौनगढ पुगेर साहलाई फोन गर्दा उनी वीरगन्जमा रहेछन्। उनले हामीलाई त्यहाँका स्थानीय रन्जित कुशवाहाको फोन नम्बर म्यासेज गरे। रन्जित कुशवाहाले नै हामीलाई सिमरौनगढ भ्रमणमा सहजीकरण गरिदिने उनले बताए।
त्यो बेला रन्जित आफ्नो पोखरी हेर्न इटवाल गएका रहेछन्। उनी नआइपुगुञ्जेल हामीले कंकाली मन्दिर परिसर घुम्यौं। त्यतिञ्जेल मसँगै आएका रोशन झाले मलाई यहाँका मन्दिर परिसरका संरचनाबारे जानकारी दिन थाले।
रोशनका अनुसार कंकाली मन्दिर सिमरौनगढ क्षेत्रकै प्रमुख देवस्थल हो। रामनवमीमा ठूलो मेला लाग्ने यो मन्दिरलाई ठूला शक्तिपिठमध्ये एक मानिन्छ। तर यहाँ काली देवीका अन्य मान्दिरमा जस्तो बलि दिइन्न। शिखर शैलीमा बनेको यो मन्दिरको अहिलेको स्वरूप राणा शासकहरूले बनाउन लगाएका हुन्। कालो ढुंगाले बनेको मन्दिरको कालीको मूर्ति भने बाह्रौं शताब्दीतिरको हो।
‘मुसलमानी आक्रमणमा सिमरौनगढ जति तहसनहस भएको छ, राणाले यसलाई झनै बिगारेका छन्,’ झा भन्छन्।
राणाहरूले यो मन्दिर शिखर शैलीमा बनाउनुअघि मन्साराम बाबाले सन् १८१६ मा सानो आकारको मन्दिर बनाएर कंकाली नाम दिएका थिए। उनै मन्साराम बाबाको गुम्बज आकारको समाधि स्थल मन्दिरअगाडि देख्न सकिन्छ।
यो ठाउँमा करिब ३० वर्षअघिसम्म मुसलमानी शैलीका संरचनाहरू बनेका थिएनन्। जब सिमरौनगढमाथि मुसलमानहरूको आक्रमण भयो, त्यति बेला उनीहरू यहाँको सम्पत्ति लुटेर आफ्नै ठाउँ फर्किएका थिए। त्यसैले यहाँ मुसलमानी ढाँचाले कहिल्यै प्रवेश पएन। त्योभन्दा अगाडि कर्नाटवंशी राजाहरूले शासन गर्दा पनि हिन्दु शैलीलाई नै प्राथमिकता दिएर कलाकृतिहरू बनाएका थिए।
भारतीय कलाकृति एवं संस्कृतिका विद्वान हेनरिच जिम्मरका अनुसार सिमरौनगढमा पाइने कलाकृतिको प्रकृति गुप्तकालीन सम्पदाको रूपान्तरित ढाँचा हो। तिनमा भारतीय प्रभाव देखिन्छ। गुप्तकालीन सम्पदाको उल्लेखनीय परिमार्जन बंगाल पाला–सेन वंशमा भएको देखिन्छ। उनीहरूले त्यसलाई एकदम सुन्दर र भव्य शैली दिएका थिए। त्यही पाला–सेन वंशबाट प्रभावित कलाकृतिहरू सिमरौनगढमा पाइन्छन्। तर पछिल्लो समय सिमरौनगढमा मुसलमानी गुम्बज आकारका संरचना बन्ने क्रम बढेको छ। सन् १९९० दशकमा इटालीको पुरातत्व टोली सिमरौनगढ आउँदा अहिले बनेका नयाँ संरचनाले उत्खननमा समस्या पुर्याएको उनीहरूले रिपोर्टमा लेखेका छन्।
‘कंकाली मन्दिर हालै पुनर्निर्माण भएकाले यसले पाला–सेनको भग्नावशेष ढाकेको छ,’ उनीहरूले भनेका छन्।
मन्दिरनजिक पिपलको ठूलो रूखको छत्रछायामा ढुंगाका मूर्ति, शिवलिंगका टुक्राटाक्री लगायत विभिन्न संरचना छरिएर रहेका छन्। कर्नाटकालीन समयकै झलक दिने ती पुरातात्विक महत्वका कलाकृतिमा स्थानीयहरूले अबिर रंगाएर पूजा गरेका छन्।
पुरातात्विक संरचनाको बेहालप्रति दुःख प्रकट गर्दै रोशन झाले भने, ‘यी सायद दरबार वा मन्दिरका अवशेष हुनुपर्छ। यी सम्पदा हामीसँग बचेका इतिहासका अवशेष हुन्। यस्ता पुरातात्विक सम्पदा छुन त पाइन्न, यहाँ पूरै अबिर लाएर बिरूप पारिएको छ।’
ती कलाकृति यति खुला र बेपरवाह छाडिएका छन्, लाग्छ चोरी भए पनि स्थानीयलाई खासै चिन्ता हुने छैन। यसअघि पनि यस्ता धेरै सम्पदा चोरी भइसकेका छन्, जसको कुनै लेखाजोखा छैन।
पुरातत्व विभागले २०५४ सालतिर मन्दिरनजिकै एउटा भवन बनाएर यहाँ भेटिएका सग्ला मूर्तिहरू संरक्षण गरेर राखेको छ। दर्जनौं मूर्ति रहेको उक्त भवनमा नारायणका मूर्ति बढी छन्। तर ती मूर्तिको हेरचाह गर्न विभागले कुनै सरोकारवाला खटाएको छैन।
कंकाली मन्दिरकै छेउ इसरा पोखरी छ। बाह्रौं शताब्दीमा राजा शिवसिंहले आफ्नी रानी वा छोरी ईश्वरासिंहको सम्झनामा यो पोखरी निर्माण गराएको झा बताउँछन्। कंकाली मन्दिरनजिकै भएकाले यसलाई कतिले ‘कंकालिनी पोखरी’ पनि भनेर चिन्छन्। यही पोखरीको नामबाट नजिकैको बजारलाई इसरा बजार भनिन्छ।
इसरा पोखरीसँगै जोडिएको अर्को जनश्रुति पनि छ।
इसरा भन्ने नान्यदेवकी प्यारी सुसारे थिइन् रे। उनको भूतसँग दोस्ती थियो। उनै भूतको सहायताले नान्यदेवले रातारात पोखरी खनेको, किल्लाहरू बनाएको र अलौकिक शक्तिमार्फत् गढ निर्माण गरेको भनिन्छ।
त्यो जनश्रुतिलाई श्लोकमा पनि बदलिएको छ, जसलाई ब्रायन हड्सनले आफ्नो लेखमा संकलन गरेका छन्। उक्त श्लोकले भन्छ, ‘राजा राम, नल, पुरूरवस् र अलार्काको धन इसरा पोखरीमा संरक्षण गरी राखिएको थियो। त्यसलाई एउटा नागले रक्षा गरेका थिए। नान्यदेवले उक्त नागलाई मारेर त्यहाँको धन लिए र सिमरौनगढ राज्य बनाए।’
नान्यदेवले कसरी यति ठूलो राज्य निर्माण गरे भन्ने रहस्यका रूपमा रहेकाले पनि मान्छेहरूले यसलाई कथा वा जनश्रुतिमा ढालेका हुन सक्छन्!
ब्रायन हड्सन आउँदासम्म यो पोखरी ठिकठाक अवस्थामै थियो। उनीपछि सन् १९५८ मा ओरेगन विश्वविद्यालयका थोमस ओ बालिंगर आउँदा पनि यो पोखरी उस्तै अवस्थामा रहेको उनले बताएका थिए। उनले हड्सनकै रिपोर्टमाथि ‘सिमरौनगढ रिभिजिटेड’ भनेर आफ्नो रिपोर्ट लेखेका छन्।
थोमस ओ बालिंगरले हड्सनले देखेका कुरा पुष्टि गर्दै उक्त रिपोर्ट लेख्नुको उद्देश्य नयाँ विद्वानहरूलाई यो सहरप्रति ध्यानाकर्षण गराउनु थियो। उनले आफ्नो रिपोर्टमा सिमरौनगढका केही महत्वपूर्ण मूर्ति र कलाकृतिको फोटो अभिलेख पनि राखेका थिए।
इटालियन टोलीका अनुसार हड्सनले सिमरौनगढ भ्रमण गरेपछि यहाँका धेरै मूर्ति नेपालबाहिरका संग्रहालयमा प्रदर्शनीका लागि लगिएका थिए। त्यसले पुरातात्विक सम्पदा संरक्षणमा नेपाललाई ठूलो क्षति पुग्यो। बालिंगरको भ्रमणपछि खेतीपातीका कारण पनि यो ठाउँमा झनै क्षति पुगेको पाइन्छ।
बालिंगरले आफ्नो रिपोर्टमा इसरा पोखरीबारे भनेका छन्, ‘यो पोखरी हड्सनले नापनक्सा गरेजस्तै अवस्थामा छ। तर हड्सन आएयता पोखरीको डिलका इँटाहरू मर्मतसम्भार नहुँदा पोखरीमा खसेका छन्।’
हामी पुग्दा पोखरीको किनारमा एउटा कलात्मक ढुंगाको स्तम्भ बेवारिसे छाडिएको थियो। त्यो सायद दरबारको कुनै हिस्सा थियो वा कुनै किल्लाको। त्यसको संरक्षणमा कसैलाई चासो थिएन। दुई वर्षअघि प्रदेश सरकारको बजेटबाट यो पोखरी संरक्षणका नाममा कंक्रिट प्रयोग गरेर आधुनिकीकरणको प्रयास पनि भएको रहेछ। त्यस बेला विरोध जनाउनेमा सिमरौनगढका रन्जित कुशवाहा पनि थिए।
आफ्नो पोखरी हेर्न इटवाल गएका रन्जित कुशवाहाले फर्केर हामीलाई भेट्नेबित्तिकै सबभन्दा पहिला इसरा पोखरी पुनर्निर्माणकै कुरा झिके र भने, ‘उनीहरूले कंक्रिट प्रयोग गरेर दक्षिणको भित्ता खडा गरेका थिए। पूरै एक्स्काभेटर लगाएर पोखरी तहसनहस गर्ने प्रयास भएको थियो। तर हामीले पुरानै शैलीमा, पहिलेजस्तै ठूला इँटा राखेर पोखरी निर्माण गर्न पहल गरेका थियौं। उनीहरू बजेट सकिएपछि खै कता गए कता!’
रन्जित कुशवाहा सिमरौनगढ बचाउ अभियानका एक अग्रसर अभियन्ता हुन्। सिमरौनगढमा कहीँकतै पुराना सम्पदा बिगार्ने काम होस्, उनी संरक्षण गर्न पुगिहाल्छन्। पुरातत्व टोलीले उत्खनन गरेको थाहा पाए चासो देखाइहाल्छन्। उनीहरूको अध्ययन–अनुसन्धानमा सहजीकरणको काम पनि गर्छन्। त्यही भएर पछिल्लो समय सिमरौनगढमा के–कस्ता विनाश भए र के–कति उपलब्धिमूलक काम भए भन्ने उनलाई सबै थाहा छ।
रन्जितको मनमा सिमरौनगढप्रति अगाध प्रेम छ। त्योसँगै यो सहरको ऐतिहासिक वैभव फर्काउन केही गर्न नसकेकोमा आक्रोश पनि छ। त्यो आक्रोश र प्रेमको इतिहास करिब एक दशक पुरानो मात्र हो। नभए उनी पनि सिमरौनगढका अरू धेरै शिक्षित युवाजस्तै रोजगारका लागि काठमाडौं गएका थिए। चौध वर्ष काठमाडौंमै बसेर एउटा गैरसरकारी संस्थामा काम गरे।
काठमाडौं बस्दै गर्दा उनले पुरातात्विक सम्पदाको महत्वबारे सुन्न–बुझ्न थाले। काठमाडौंमा सम्पदा बचाउने अभियन्ताहरू सक्रिय देख्दा उनलाई महसुस हुन्थ्यो, ‘ओहो! यस्तो सम्पदा त मेरो सिमरौनगढमा अथाह छ!’
त्यही चेतले सन् २०१३ मा उनलाई आफ्नै गाउँ सिमरौनगढ फर्कायो।
अहिले उनी सिमरौनगढ बचाउने अभियानमा छन्। सँगसँगै, आफ्नो गुजाराका लागि पोखरीमा माछापालन गर्छन्। सुजल कम्पनीमा चोकोफन चक्लेटको बिक्रेताका रूपमा पनि काम गर्छन्।
र, फुर्सतको समय हामीजस्तै जिज्ञासुहरू भेटिए भने तिनलाई सिमरौनगढ घुमाउने गाइड पनि बनिदिन्छन्।
‘तपाईंहरूको कुनै सवारीसाधन छैन?’ कालो मोटरसाइकल हुइक्याउँदै आएका रन्जितले भने, ‘यसरी हिँड्दै सिमरौनगढ घुम्न त निकै समय लाग्छ।’
हामीसँग सवारीसाधन हुने कुरै भएन।
त्यसैले रन्जितले म र रोशन झा दुवैलाई आफ्नै मोटरसाइकलमा बस्न भने।
पुरातत्वले त नहेरेको यो ठाउँमा ट्राफिक प्रहरी त नहोलान् नि!
हामी मोटरसाइकलमा ट्रिपल–लोड कंकाली मन्दिरबाट अगाडि बढ्यौं। मन्दिर अगाडिबाटै कालोपत्रे बाटो सक्किँदो रहेछ। त्यहाँबाट हामी तीन जना कच्ची बाटैबाटो अर्को गन्तव्यतिर लाग्यौं।
हामी खेतीयोग्य जग्गाको बीचोबीच सिरसिर हावा खाँदै बाइकमा हुइँकियौं।
रन्जितले अमरपुर गाउँको एउटा खेतको डिलमा लगेर बाइक रोके।
यो ठाउँ कंकाली मन्दिरबाट पाँच–छ सय मिटर मात्र टाढा छ। खेतको माटोमा डढेका चामलहरू नांगै आँखाले पनि प्रशस्तै देखिन्थे। बाटोमा हिँडिरहेकी एक किसान महिलासँग रन्जितले खेत खन्ने औजार मागे। औजार हातमा लिएर उनी ढुंगामा बुट्टा कुँदेजस्तो मिहिन ढंगले खेतको डिल खन्न थाले।
त्यहाँ माटोको ढिक्कामा डढेको चामल मिसिएर आयो।
त्यो डढेको चामल देखाउँदै रन्जितले भने, ‘यो दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकले सिमरौनगढ आक्रमण गर्दाताकाको चामल हो। यहाँ सायद पहिला चामलको भण्डार थियो। तुगलकको आक्रमणमा डढेर खरानी भयो। त्यही भएर अहिले पनि जुनसुकै डिल खन्दा डढेको चामल भेटिन्छ। यहाँ चामल भेटिनुले पहिले दरबारियाहरूले एकै ठाउँमा नभई विभिन्न ठाउँमा आफ्नो अन्न भण्डार र सम्पत्तिहरू राखेका थिए भन्ने अनुमान गर्न सकिन्छ।’
रन्जितका अनुसार यस्ता चामल पाइने धेरै जग्गा अहिले निजी स्वामित्वमा गइसके। जुन ठाउँमा हामीले चामल भेट्यौं, त्यही डिल मात्र बचेको बताउँदै उनले भने, ‘पहिले यो सबै गुठीको जग्गा थियो, महेन्द्र राजाका पालातिर सबै बेच्यो। पहिले त सिमरौनगढमा तीन फिटभन्दा मुनि खन्न पनि नपाइने नियम थियो। अहिले त जसले पनि, जति पनि खन्छ। यो चामल पनि इतिहासको एउटा महत्वपूर्ण हिस्सा हो। यस्तो महत्वपूर्ण कुरा त तारबार लगाएर राख्नुपर्ने होइन र! यसरी सबैले खन्न थालेपछि त सक्किइहाल्छ नि!’
यस्ता अनेकन प्रश्न र जिज्ञासा छन् रन्जितसँग, जसको जवाफ दिनुपर्ने पुरातत्व विभाग लगायत सरोकारवाला निकाय कसैलाई मतलब छैन। झन् डढेका चामल त मान्छेले खन्दा खन्दा इतिहासबाटै नामेट हुने अवस्थामा पुगिसके।
त्यहाँबाट अगाडि बढ्दै हामी रानीवासतर्फ लाग्यौं। त्यहाँ एउटा मन्दिर छ जसलाई रानीवास मन्दिर वा रामजानकी मन्दिर भनिन्छ।
यही ठाउँमा कर्नाटवंशी राजा शिवसिंहले बाह्रौं शताब्दीमा दरबार बनाएको मानिन्छ। पछि १९३५ सालमा जंगबहादुर राणाका छोरा जीतजंगले यहाँ मन्दिर बनाए।
रानीवास मन्दिर छिर्ने काठको ढोका निकै कलात्मक र पुरानो समयको झलक दिने खालको छ। ढोकाबाट प्रवेश गर्दै गर्दा रोशन झाले हामीलाई मन्दिरतर्फ देखाउँदै भने, ‘खासमा यो दरबार हो, रानीवास त पछि राखिएको नाम हो। जंगबहादुर राणाकी श्रीमतीलाई यहाँ मन्दिर बनाउने ठूलो इच्छा रहेछ। जंगबहादुरको निधनपछि उनका छोरा जीतजंगले दरबारको अवशेष हटाएर त्यसैमाथि नयाँ मन्दिर बनाए। त्यही बेलादेखि यो दरबार रानीवास मन्दिरमा खुम्चियो। खासमा यो तिरहुत दरबार हो।’
इतिहासकार विजयकुमार पाण्डेयले भोजपुरी भाषामा लेखेको ‘सिम्रौनगढ के इतिहास’ किताबअनुसार जंगबहादुर राणा तराई क्षेत्रमा शिकार खेल्न आएका थिए। रौतहटको पत्थरघटा भन्ने ठाउँमा उनको मृत्यु भयो। रानी हिरण्यकुमारी उनीसँगै सती गइन्।
‘सती जाने बेला रानी हिरण्यकुमारीले सिमरौनगढमा मन्दिर बनाउने इच्छा छोरासामु राखेकी थिइन्। यो कुरा मन्दिरको घन्टामा पनि लेखिएको छ,’ उनको किताबमा उल्लेख छ।
रानीवास मन्दिरभित्र राम, सीता र लक्ष्मणका मूर्ति छन्। त्यसको ठ्याक्कै अगाडि जंगबहादुरको परिवार हात जोडेर प्रार्थना गरिरहेको मूर्ति पनि छ।
मन्दिरको माथिल्लो संरचनामा राम–जानकी मन्दिर भए पनि सिँढीतिरका जग वरपर तिरहुतकालीन ढुंगाका कलाकृति र तोरणहरू बुट्टाजसरी राखिएका छन्। मन्दिर वरपर पनि काला ढुंगामा कुँदिएका यस्ता तिरहुतकालीन सम्पदा छरपस्ट देखिन्छन्।
मन्दिरको कलात्मक तोरणबाट बाह्रौं शताब्दीतिरको सिमरौनगढको वास्तुकला अनुमान गर्न सकिने इतिहास अध्येता शिवराज श्रेष्ठ (मल्ल) बताउँछन्।
‘हिमाञ्चल–गढवाल–कुमाउँका शक सूर्य मन्दिरमा देखिने छातायुक्त शिखर शैलीको प्रभाव यहाँका मन्दिरमा परेको हुनसक्छ। मन्दिरको शिखर प्रतिमाको बुट्टा तोरणमा भएकाले यस्तो अनुमान गर्न सकिन्छ,’ पुरातत्व विभागले निकाल्ने ‘प्राचीन नेपाल’ नामक पत्रिकामा शिवराज श्रेष्ठले लेखेका छन्।
सन् २०२० मा बेलायतको डुरहाम विश्वविद्यालयको टोलीले पुरातत्व विभागसँग सहकार्य गरी रानीवास मन्दिर क्षेत्रमा जिपिआर सर्भे गरेको थियो। उक्त सर्भे क्रममा रन्जित कुशवाहा पनि सँगै हिँडेका थिए।
‘यो मन्दिर निकै रहस्यमयी छ। यसलाई भत्काउनुपर्यो भने के यहाँका स्थानीयले अनुमति देलान्?’ डुरहाम टोलीले त्यस बेला भनेको कुरा रन्जितले हामीलाई सुनाए।
सन् १९९० दशकमा सिमरौनगढ आएको इटालियन टोलीले पनि रानीवास क्षेत्रको अध्ययन र उत्खननपछि रिपोर्टमा लेखेको छ, ‘यो मन्दिर कर्नाटकालीन संरचनामाथि नै बनाइएको छ। राणा शासकहरूले तत्कालीन समयमा यहाँ राम–जानकी मन्दिर बनाउनुले सिमरौनगढमा राजनीतिक र सामाजिक पक्षको प्रभाव प्रस्टिन्छ।’
उनीहरूले रानीवास क्षेत्रको उत्तरी र उत्तरपूर्वी भाग खेत र दर्जनौं इनारले भरिएको देखेका थिए। ती इनारले पहिलेको बसोबास क्षेत्रको स्थान र विस्तार संकेत गर्ने उनीहरू बताउँछन्। हामीले राम–जानकी मन्दिर र रानीवास परिसरमा पनि पुरानो समयको झल्को दिने इनारहरू देख्यौं।
मन्दिरभन्दा पछाडितिर दरबारकै हिस्साजस्तो देखिने सग्ला भवनहरू छन्। ती भवन संरक्षण अभावमा जीर्ण हुँदै गएका छन्। यसलाई स्थानीयले गौशाला भन्दा रहेछन्। दरबारभित्र खुला आँगन छ। त्यसनजिकैको एउटा पोखरीलाई ‘चरधोई पोखरी’ भनिन्छ। यसको अर्थ ‘चामल धुने पोखरी’ हो।
पछिल्लो समय सौन्दर्यीकरणका नाममा यो पोखरीमा पनि कंक्रिट प्रयोग भएको रन्जितले हामीलाई सुनाए।
अलि पर आँपको बगैंचा छ। त्यो बगैंचा गुठीको नाममा छ। गुठीले पाँच–छ वर्षका लागि ठेक्का दिएको त्यहाँ काम गर्नेहरूले बताए। आँपको बगैंचा नियालिरहँदा रन्जितले भने, ‘यो बगैंचा पनि निकै रहस्यमयी छ।’
यसपटक पनि उनी डुरहाम विश्वविद्यालय टोलीका पुरातत्वविदहरूले भनेको कुरा आफ्नो शब्दमा हामीलाई सुनाउँदै थिए।
‘कस्तो रहस्यमयी?’ मैले सोधेँ।
‘तपाईंहरूलाई थाहा छ, अहिले तपाईं जुन बगैंचामा उभिइरहनुभएको छ, त्यो एघारौं शताब्दीको हो,’ रन्जितले झनै रहस्य थपिदिए, ‘यो बगैंचामुनि विशाल संरचना छ। त्यो सायद दरबारको हिस्सा हुनुपर्छ।’
उनले विस्तारमा भने, ‘इटालियन टोलीले सन् १९९० दशकमा यहाँ उत्खनन गर्दा नै दरबारका अवशेष फेला परेका थिए। पछि के कारणले हो, उत्खनन अगाडि बढ्न सकेन। उत्खनन रोकिएपछि उनीहरूले त्यो संरचना नबिग्रियोस् भनेर आफूले उत्खनन गरेकै माटोले त्यो संरचना पुरिदिए। पछि यहाँ आँपको बगैंचा बनाइयो।’
मन्दिरमुनि अर्को संरचना! बगैंचामुनि दरबार!
यस्तो लाग्दै थियो, सायद हामीले हिँडेका हरेक पाइलामुनि केही न केही महत्वपूर्ण संरचना छन्, जुन अदृश्य छन् र उत्खननको पर्खाइमा छन्।
डुरहामले सर्भेपछि मन्दिर र बगैंचा क्षेत्रलाई अतिजोखिमपूर्ण क्षेत्र भनेर आफ्नो रिपोर्टमा लेखेको छ।
मैले काठमाडौं आइसकेपछि त्यति बेला पुरातत्व विभागबाट डुरहामकै टोलीसँग खटिएका पुरातत्वविद् देवेन्द्रनाथ तिवारीलाई फोन सम्पर्क गरेको थिएँ। उनले सिमरौनगढको भौतिक सर्वेक्षण भइसकेपछि त्यसको रिपोर्टका आधारमा थप उत्खनन गर्नुपर्ने तर पैसा अभावमा त्यो काम हुन नसकेको बताए।
‘उनीहरूले रिपोर्ट बुझाएपछि हामीले उत्खनन गर्नुपर्ने हो। तर पुरातत्वमा पैसा र जनशक्ति दुवैको अभाव छ,’ उनले भने, ‘त्यहाँको नगरपालिकाले पहल गर्ने हो भने यो काम सम्भव छ।’
रानीवास क्षेत्रमा सन् १९९० दशकमा सिमरौनगढको पहिलो उत्खनन हुँदा भेटिएका तथा स्थानीय बासिन्दाले पोखरी वा घर निर्माण गर्दा भेटिएका केही सामग्री पुरातत्व विभागमा राखिएको उनले जानकारी दिए। त्यस्ता कति सामग्री काठमाडौंको छाउनी संग्रहालयमा छन् भने कति त विदेशसमेत पुगिसके। ती सबै सामग्री सिमरौनगढ नै फर्काएर एउटा संग्रहालय बनाएर राख्न पाए निकै उत्तम हुने तिवारीको सुझाव छ।
रानीवास क्षेत्र घुमेपछि र सिमरौनगढका केही रोचक किस्सा सुनेपछि रन्जितले हामीलाई सलेमपुरस्थित आफ्नो घर लगे।
सिमरौनगढमा होमस्टे छैन। होटल, लज त परको कुरा! यहाँ आउँदा कहाँ बस्ने त? सिमरौनगढ अध्ययनमा आएका धेरैजसो रन्जितकै घरमा बस्दा रहेछन्। कति अन्य स्थानीयका घरमा।
यहाँ बस्ने राम्रो सुविधा नहुनु नै पर्यटनमा सबभन्दा ठूलो समस्या भएको रन्जित बताउँछन्। त्यही भएर राम्रो होमस्टे वा होटल खोल्नु रन्जितको भविष्यको योजना हो।
आफ्नो घर लगेपछि उनले हामीलाई फेरि रहस्यमयी ढंगले भने, ‘तपाईं अहिले जुन घरमा बस्दै हुनुहुन्छ, त्यो एघारौं शताब्दीको हो।’
‘एघारौं शताब्दी!’ मैले भनेँ, ‘त्यो भनेको त आजभन्दा हजार वर्ष पुरानो भयो?’
‘हो, हजार वर्ष पुरानो,’ रन्जित कुशवाहाले भने, ‘लगभग त्यही समयतिरको, जब सिमरौनगढमा कर्नाटवंशको राज्य सुरू भएको थियो।’
के यो घरमुनि पनि रानीवासमा जस्तै महत्वपूर्ण संरचना होला?
मैले जिज्ञासा राख्नुअगावै उनले भने, ‘तर यो घर बनेको मेरो हजुरबुवाको पालामा हो।’
के भन्छन् यिनी!
हजुरबुवाको पालामा भनेको त बढीमा सय वर्षभन्दा पुरानो कुरा भएन! अनि कसरी मिल्यो त हिसाब?
रन्जितले रहस्यको गाँठो फुकाए।
उनका हजुरबुवाले यो घर बनाउनुअघि अगाडिको खाली जग्गा खनेका रहेछन्। त्यहाँ प्रशस्तै ठूला आकारका पोलेका तेलीय इँटा फेला परेछन्। त्यसपछि उनले त्यही इँटा प्रयोग गरेर यो घर बनाएछन्।
‘इटालियन टोलीले यस्ता पोलेका तेलीय इँटा एघारौं शताब्दीतिरका हुन् भनेर प्रमाणित नै गरेको छ। अनि भएन त मेरो घर एघारौं शताब्दी पुरानो?’ यति भनेर रन्जित हाँस्न थाले।
हामी पनि उनीसँगै हाँस्यौं।
उनले अगाडि भने, ‘यहाँ जति पनि घर बनेका छन्, प्रायः त्यसरी नै बनेका छन्। जहाँ खन्यो, त्यहाँ यस्ता पुराना इँटा, मूर्ति वा महत्वपूर्ण वस्तु फेला परिहाल्छन्।’
उनले कोतवालमा आफ्नो माछापोखरी खन्दा पनि माटाका भाँडा र माटाका खेलौना फेला परेको बताए।
त्यसपछि उनी आफ्नो घरभित्र गए र साना केटाकेटीले खेल्ने घोडा आकारको खेलौना र खेलौना आकारकै साना भाँडाकुँडा र बत्ती बाल्ने दियो लिएर आए।
ती सबै सामान हाम्रासामु राख्दै रन्जितले भने, ‘कतिले पोखरी खन्दा मूर्ति भेटेका छन्। कतिले त सुनचाँदी पनि भेटेका छन्। हामीले चाहिँ यस्ता सामान भेट्यौं। यहाँ जहाँ खने पनि केही न केही अवश्य भेटिन्छ।’
‘सुनचाँदी चाहिँ कता भेटिन्छ हँ! हामी पनि सब काम छाडेर यहीँ सुनचाँदी खोज्ने काम गर्नुपर्लाजस्तो छ,’ हामीले जिस्कँदै भन्यौं।
रन्जितले हाँस्दै भने, ‘कहाँ के भेटिन्छ त कसैलाई थाहा हुन्न। तर सबैतिर केही न केही छ।’
सुनचाँदीका सामग्री भेटिएकै कारण यहाँ केही ठाउँको नाम मोतिसार, खजानी लगायत रहेको उनी बताउँछन्।
केही बेर आराम गरेर हामी फेरि अर्को ठाउँ हेर्न हिँड्यौं। यति धेरै ठाउँ घुमेर, सिमरौनगढबारे यति धेरै जानेर पनि हामीसँग अझै धेरै जान्ने–हेर्ने हुटहुटी थियो।
हामी रन्जितको घरनजिकै हरिहरपुरमा रहेको एउटा संरचना हेर्न गयौं, जसलाई दरबारको ढुंगाको बाकस भनेर चिनिन्छ। रूखै रूख छिचोलेर, खेतको बाटो हुँदै हामी बाकस भएको ठाउँसम्म पुग्यौं। त्यहाँ पुग्दा पहिलो झलकमै एउटा कलात्मक स्तम्भ देखिन्छ, जसलाई कंक्रिटले बनेको थुम्कोजस्तो संरचनामाथि ठड्याएर राखिएको छ। यसलाई स्थानीयहरू ‘सनुखिया स्तम्भ’ भन्दा रहेछन्। रहस्यमयी बाकस अर्थात् सन्दुकनजिकै स्तम्भ भएकाले स्थानीय भाषामा ‘सनुखिया’ भनिएको रन्जितले बताए।
स्तम्भनजिकै गहिरो भागमा ‘सिमरौनगढका राजाको ढुंगाको बाकस’ भनेर चिनिने आकृति छ। बाकसकै आकारमा देखिने उक्त कलाकृति दरबारको गेट वा अवशेष हुनपर्ने कतिपय इतिहासकारको आकलन छ।
रोशन झाले यसबारे बताउँदै भने, ‘यो बाकस बाहिर निकाल्न खोज्दा जति माथि तान्दै गयो, त्यति भाँसिदै गएको थियो भनेर भनिन्छ। त्यहाँबाट धेरै भँगेराहरू निस्किएको जनश्रुति छ।’
यही ठाउँबाट राजा हरसिंहदेव आफ्नो राज्य छाडेर भागेको र यही ठाउँमा कर्नाटवंशी राजाहरूका इष्टदेव तुलजा भवानीको मूल मन्दिर रहेको भनाइ छ। राज्य छाडेर भाग्दा उनीहरूले यहीँबाट तुलजा भवानीको कलश निकालेर लगेको रन्जित कुशवाहा बताउँछन्। त्यही भएर पनि यो ठाउँ तत्कालीन दरबार क्षेत्र हुनुपर्ने उनको अनुमान छ।
डुरहाम विश्वविद्यालयको अध्ययन टोलीले गरेको भौगोलिक सर्भेले भने यहाँ ऐतिहासिक कुरा फेला नपरेको र पुरातात्विक सम्भावना नभएको देखाएको छ। त्यसैले उनीहरूले यो ठाउँलाई खतराको सूचीमा राखेका छैनन्।
त्यहाँबाट हामी हरिहरपुरको वडा नम्बर ४ मा एउटा निजी पोखरी खन्दा भेटिएको भगवान विष्णुको मूर्ति हेर्न गयौं। यो मूर्ति सात फिट लामो र चार फिट चौडा छ। त्यसलाई माटोको थुप्रोमा घोप्टाएर राखिएको छ। त्यसरी घोप्टाएर मूर्तिलाई क्षति हुनबाट बचाएको रन्जित बताउँछन्। अहिले त्यसैको आडमा कंक्रिटको मन्दिर बन्दैछ। बनिसकेपछि विष्णुको मूर्ति त्यही मन्दिरमा राखिनेछ।
‘यति पुरानो मूर्ति कंक्रिटको मन्दिरमा?’
हाम्रो प्रश्नमा रन्जितले भने, ‘के गर्नु यस्तै छ। यतातिर सबै कंक्रिटको आतंक छ। जे भए पनि मन्दिर बनेपछि यसरी भुइँमा फालेर राख्नुपर्दैन, अलि सुरक्षित हुन्छ होला।’
साँझ परिसकेको थियो। हामीले एकैदिन धेरै ठाउँ घुमिसकेका थियौं। अर्को दिन रन्जितले हामीलाई सिमरौनगढको पुरानो गढ मानिने इटवाल घुमाउन लग्ने भए। त्यहाँ जानुअघि उनले हामीलाई महुवाही भन्ने ठाउँको एउटा घरमा लगे। यहाँ जुन–जुन ठाउँमा ‘वाही’ वा ‘बाही’ शब्द जोडिएर आउँछ, त्यो ठाउँमा पहिले माटोको घेरा थियो भनेर बुझ्दा हुन्छ। यस्तो घेरा पहिले सुरक्षा वा गढका रूपमा प्रयोग हुन्थ्यो।
महुवाहीको उक्त घरमा कालो ढुंगामा कलात्मक बुट्टा कुँदिएको कृष्णको मूर्ति रहेछ। भगवान श्रीकृष्ण कमलको फूलमाथि मुरली बजाइरहेका छन् र दायाँबायाँ चार गोपिनीहरू छन्। कृष्णको मूर्ति ठूलो आकारको छ भने गोपिनीहरू साना छन्। वरिपरि अन्य विभिन्न कलात्मक भगवान र आकृतिहरू छन्।
कृष्णको मूर्ति महुवाहीका ती घरधनीले आफ्नो निजी पोखरी खन्दा भेटेका रहेछन्। त्यसलाई उनले आफ्नो निजी घरमा निजी भगवान बनाएर राखेका छन्।
उनको घरबाट निस्कँदै गर्दा रन्जितले हामीलाई भने, ‘तपाईंहरूलाई थाहा छ, यो मूर्ति त पहिला गुपचुप बेचेर सीमा बाहिर पठाउन लागिएको थियो। हामीले मूर्ति भेटिएको समाचार छपायौं। अनि खोजबिन हुने डरले उनीहरूले रातारात मूर्ति फिर्ता ल्याए।’
एउटा मूर्ति त रन्जित लगायत स्थानीयको सतर्कतामा जोगियो, अरू कति मूर्ति गुपचुप सिमरौनगढबाट हराए होलान्! कति रातारात सीमा कटाइए होलान्!
महुवाहीबाट इटवाल जाँदै गर्दा रन्जितले हामीलाई विभिन्न खेतका डिल देखाउँदै त्यहाँ ‘बाही’ भएको संकेत गरे। कति बाही खेतीपाती गर्न भत्काएर समथर बनाइएको रहेछ। हामीले त्यहाँ रूखका घेराहरू पनि देख्यौं।
अगाडि बढ्दै जाँदा हामी एउटा नहरमा पुग्यौं, जुन सिमरौनगढ प्रवेश गर्दा देखिएजस्तै ठूलो थियो। यो नहर भने पुरानो होइन रहेछ। २०४६–४७ सालतिर सिँचाइका लागि बनाइएको गण्डक नहर रहेछ। हामीले हेर्न चाहेको कर्नाटकालीन नहर भने इटवालमै भेटिने रन्जितले बताए।
इटवाल भारतको सीमानजिकै छ। त्यहाँ ‘सतुवाही’ नामक ठाउँ पनि रहेछ।
इटवालमा दुईवटा गढ छन् — एउटा भारतको सीमातिर, अर्को सिमरौनगढको सीमातिर। भारतीय सीमातिरको गढमा अझै पनि युद्धमा प्रयोग भएका गोलाहरू भेटिने रन्जितले बताए। यताको गढ भने पहिला मुख्य गढका रूपमा प्रयोग हुन्थ्यो। जंगलै जंगलको बीचोबीच रहेको यो गढ इँटा र माटोले बनेको थियो।
हामीले त्यहाँ इँटाका टुक्राटाक्री मात्र देख्यौं। सायद इटालीबाट आएको टोलीले भनेझैं ती इँटा मान्छेले आफ्नो घर बनाउँदा चोरेर लगेको हुनुपर्छ। कति त समयक्रममा भत्कियो पनि होला!
यो ठाउँलाई इटवाल भन्नुको पनि कारण छ। कतिपय स्थानीय पहिले मन्दिर र घरहरू बनाउन चाहिने इँटा यही ठाउँमा बन्ने भएकाले यसको नाम इटवाल रहेको विश्वास गर्छन्।
‘पहिले इटवालको सबै जग्गा गुठीको थियो। अहिले सबै निजीकरण भइसक्यो। सबै बदमासी राणाहरूको समयमा भएको हो,’ रन्जितले आक्रोश पोख्दै भने।
इटवालको सीमानजिकै हामीले प्राचीन नहर देख्यौं। जमुनी र अरूवा नदीको पानी त्यही नहरबाट भारत पठाइने रन्जितले बताए। उनका अनुसार कर्नाटवंशी राजाहरूले यही ठाउँबाट दरभंगा, पटनाको लालकिल्ला लगायत क्षेत्र पनि चलाउने गर्थे।
तिरहुत प्रवेश गर्ने पुरानो प्रवेशद्वार भने कोतवालमा छ। यो ठाउँ सिमरौनगढबाट करिब पाँच किलोमिटर उत्तरमा पर्छ। यहीँबाट कर्नाटवंशीहरू तिरहुत प्रवेश गरेको र राज्य तहसनहस भएपछि यहीँबाट नेपाल मण्डलतिर भागेको भनाइ छ।
इटवालबाट फर्कंदै गर्दा हामी सीमानजिकैको झरोखर पोखरी पुग्यौं। त्यो पोखरी वरिपरि कंक्रिट संरचना निर्माण हुँदै थिए। नजिकै नगरपालिकाले एउटा भवन बनाएको रहेछ, जुन निजी घरजस्तो देखिन्छ। सिमरौनगढका पूर्वमेयरले उक्त भवनअगाडि आफ्नै बुवाको शालिक बनाएको रन्जितले बताए।
‘यहाँका सरोकारवाला निकायलाई पुराना सम्पदा जोगाऊँ भन्ने चेत नै छैन,’ उनले भने, ‘भएको बजेट पनि निजी स्वार्थमा प्रयोग गरिरहेका छन्।’
हालैको स्थानीय चुनावपछि सिमरौनगढको नयाँ मेयरका रूपमा किशोरी साह कलवार आएका छन्। पहिलेका मेयरले सिमरौनगढ संरक्षणमा खासै चासो नदेखाए पनि नयाँ मेयरबाट आफूहरू आशावादी भएको रन्जित बताउँछन्।
सिमरौनगढबाट फर्किने बेला हामीले नयाँ मेयरलाई पनि भेट्यौं।
उनले हामीलाई सिमरौनगढमा विकास हुन नसक्नुको प्रमुख कारण सरकारी निकाय नै भएको बताए।
‘गुठीका नाममा २८८ बिघा जग्गा–जमिन छ। उनीहरूले यहाँ खेती गर्न टेन्डर गर्छन्। वर्षमा तीन–चार करोड आम्दानी हुन्छ। तर यहाँको संरक्षणमा एक पैसा खर्च गर्दैनन्,’ मेयर किशोरी साह कलवारले भने, ‘सिमरौनगढमा पर्यटन बोर्ड पनि छ तर त्यसको कार्यालय वीरगन्जमा छ। त्यहाँको मान्छे यहाँ कहिले आउँछ, अत्तोपत्तो हुँदैन।’
उनले हामीलाई अबका दुई वर्षमा सिमरौनगढमा धेरै परिवर्तन हुने आशा देखाए। यो सहर कसरी व्यवस्थित गर्ने भनेर आफूसँग ‘भिजन’ भएको पनि बताए।
‘म सिमरौनगढमा होमस्टे र होटलहरू खोल्न पहल गर्छु। सूचना केन्द्र र संग्रहालय बनाउन, यो ठाउँलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न र यो सहरलाई पर्यटकीय स्थल बनाउन पहल गर्छु। पुराना सम्पदा संरक्षणमा काम गर्छु। यसका लागि बजेट निकासा गर्न केन्द्रदेखि प्रदेशसम्म धाउँछु,’ उनले भने।
छुट्टिने बेला उनले फेरि दोहोर्याए, ‘तपाईं दुई वर्षपछि सिमरौनगढ आउनुभयो भने धेरै फरक पाउनुहुनेछ।’
थाहा छैन, उनले भनेको दुई वर्ष कति तन्किएला!
थाहा छैन, उनले आफ्नो कार्यकालमा के कति काम गर्लान्, कति फरक पार्लान्!
तर रन्जित कुशवाहा र सिमरौनगढवासीहरूले विश्वासका साथ चुनेका जनप्रतिनिधि हुन् उनी। यो विश्वास सिमरौनगढ विनाशको कारण बनेका तत्कालीन मन्त्री कामेश्वर ठाकुरले आफ्ना कर्नाटवंशीय राजा हरसिंहदेवलाई दिएको धोकाजसरी नटुटोस्!
...
सिमरौनगढ जाँदादेखि फर्कंदासम्म मसँगै रहेका रोशनकुमार झा घरिघरि मलाई भनिरहन्थे, ‘यदि तपाईं साँच्चै मिथिला खोज्न चाहनुहुन्छ भने त्यो तिरहुत वा सिमरौनगढमा छ।’
उनी अर्को कुरा पनि भनिरहन्थे, ‘मिथिला खोज्ने अर्को ठाउँ काठमाडौं उपत्यका हो।’
सिमरौनगढ त हामीले घुम्यौं, अब पालो काठमाडौंमा मिथिला खोज्ने।
आइतबार ‘मिथिलाक कथासभ’ शृंखलाको चौथो अध्यायमा हामी मिथिला र काठमाडौं उपत्यकाको सम्बन्धबारे चर्चा गर्नेछौं।
यी पनि पढ्नुहोस्: