मिथिलाक कथासभ : अध्याय २
हामीले ‘मिथिलाक कथासभ’ शृंखलाको अघिल्लो अंकमा ‘इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी’ गर्ने प्रयास गर्यौं।
राजा जनक र सीताको राज्य भनेर चिनिने जनकपुर अलि बढी कथ्य (मिथक) र केही तथ्य मिलेर बनेको सहर हो। यसको इतिहास पौराणिक कथाहरूमा बढी आधारित छ। आजभन्दा करिब तीन सय वर्षअगाडि सत्रौं वा अठारौं शताब्दीतिर रामानन्दी सम्प्रदायका व्यक्तिहरूले पौराणिक कालको मिथिला खोज्दै जाँदा अहिले जहाँ जनकपुर छ, त्यही ठाउँ प्राचीन मिथिलाको राजधानी जनकपुरधाम हो भनेका थिए।
यता मिथिला क्षेत्रमै पर्ने सिमरौनगढ भने इतिहाससँग बढी नजिक छ। रामानन्दी सम्प्रदायका व्यक्तिहरूले घना जंगलको बीचमा रहेको जनकपुर पत्ता लगाउनुभन्दा पाँच–छ सय वर्षअघि एघारौं शताब्दीमै सिमरौनगढ राजधानीका रूपमा स्थापित भइसकेको थियो। तत्कालीन तिरहुत राज्यको राजधानी सिमरौनगढ नै पौराणिक मिथिला राज्य हुनसक्ने इतिहासकारहरूको मत छ।
सिमरौनगढमा एघारौं–बाह्रौं शताब्दीतिरका दरबारका भग्नावशेष अझै छन्। तिनै भग्नावशेषमुनि प्राचीन मिथिला राज्यको इतिहास दफन हुनसक्छ। मिथिला कथा शृंखलाको यो दोस्रो अध्याय हामी त्यही सिमरौनगढबाट सुरू गर्दैछौं।
...
लुटेराहरू बिजुली चम्केजस्तो फुत्त आउँथे, सम्पत्ति लुट्थे र जादुझैं बिलाउँथे।
दिल्लीका मुस्लिम बादशाह गयासुद्दिन तुगलकलाई यस्तो जादु देखेर अचम्मसँगै हैरानी लागेको थियो।
उनी र उनको फौज भर्खरै बंगाल जितेर आफ्नो राज्यतर्फ लम्कँदै थिए। बंगालबाट जितेर वा लुटेर ल्याएको अथाह सम्पत्ति उनीहरूसँग थियो।
यो चौधौं शताब्दीतिरको कुरा हो।
बंगालबाट गंगा नदीको किनारै किनार दिल्ली फर्कंदै गरेका गयासुद्दिन तुगलक त्यति बेला जितको आनन्दमा मस्त थिए। उनको पछि पछि विजयी फौजको लामो लस्कर थियो।
त्यही लस्करले आफूसँग बोकेर ल्याएको लुटको सम्पत्ति आँखाको एक झिमिकमै हराउन थालेपछि गयासुद्दिन तुगलक विचलित भए। यो घटनाले उनको जितको आनन्द नै बिथोल्यो।
युद्धबाट विजयी भएर फर्किएका बादशाहको टोलीलाई यसरी जिस्क्याउनु कसैको निम्ति पनि अरिंगालको गोलामा हात हाल्नु बराबर थियो।
गयासुद्दिनले घटनामा संलग्न व्यक्ति वा समूह तुरून्त पत्ता लगाउन आफ्ना सुराकीहरू परिचालन गरे।
ती सुराकीले बादशाहको फौजभित्रै घुसेर लुटपाट गर्ने व्यक्तिहरू सिमरौनगढ राज्यका सेना हुन् भन्ने पत्ता लगाए। उनीहरूले बादशाह गयासुद्दिनलाई भने, ‘सिमरौनगढलाई ध्वस्त नगर्ने हो भने उनीहरूले हाम्रो बाटो छेक्न सक्छन् र हामीमाथि नै धावा बोल्न सक्छन्।’
गयासुद्दिनको आत्मविश्वास यसै पनि उत्कर्षमा थियो। उनी आफ्ना सुराकीहरूको बोली भुइँमा झर्न नपाउँदै अर्को राज्य जित्न हौसिइहाले।
हौसिन त हौसिए, तर सिमरौनगढ जित्नु गयासुद्दिनको निम्ति पनि सहज थिएन।
सबभन्दा ठूलो समस्या थियो, सिमरौनगढसम्म पुग्ने बाटो पत्ता लगाउनु।
...
के तपाईंहरूले सानोमा बाटो पत्ता लगाउने खेल खेल्नुभएको छ?
सिमरौनगढ पुग्ने बाटो ठ्याक्कै त्यस्तै देखिन्छ।
आउनुस्, एकछिन हामी पनि बाटो पत्ता लगाउने खेल खेलौं — बाटो गलत, गन्तव्य गलत!
यो बाटोमा ठुल्ठूला बलिया पर्खाल र गहिरा खाडलहरू छन्। ठुल्ठूला गेटहरू छन्, गेटमा पहरेदारहरू छन्। यहाँ एउटै मात्र यस्तो गेट छ जहाँबाट तपाईं राज्यभित्र प्रवेश गर्न सक्नुहुन्छ। निस्कने बाटो पनि त्यही मात्र हो। हेक्का होस्, झुक्किएर अरू गेटबाट छिर्नुभयो भने तपाईं सिमरौनगढको भुलभुलैयामा फसेर एकैछिनमा बन्दी बन्नुहुनेछ।
मानौं, तपाईंले गेटका पहरेदारहरूको आँखा छल्नुभयो। वा, उनीहरूसँगै अनुमति लिएर भित्र छिर्नुभयो। अब तपाईंको अगाडि ठुल्ठूला खाडलहरू आउने छन्। ती खाडल पार गर्न काठको सानो पुल तर्नुपर्छ। हडबडमा सन्तुलन बिग्रियो भने तपाईं गहिरो खाडलमा खसेर विषालु सर्प र भोका गोहीको आहार बन्नुहुनेछ। कसैगरी काठको पुल तरेर खाडल पार गर्न सफल हुनुभयो भने पनि पारि धनुषधारी पहरेदारहरूको फौज तपाईंलाई आफ्नो निशाना बनाउन पर्खिरहेको हुनेछ।
मानौं, तपाईं ती धनुषधारी पहरेदारहरूलाई पनि छलेर अगाडि बढ्नुभयो। वा, उनीहरूलाई फकाइफुलाइ अगाडि बढ्ने अनुमति लिनुभयो। अब त्यहाँबाट बढ्दै जाँदा तपाईंको अगाडि घना जंगल र जंगलको बीचमा रूखका जराझैं दसतिर फैलिएका नागबेली बाटाहरू आउने छन्। ती नागबेली बाटामध्ये गन्तव्यसम्म पुर्याउने सही बाटो पत्ता लगाउनु तपाईंको निम्ति चुनौतीपूर्ण हुनेछ। गलत बाटोमा लम्किनुभयो भने तपाईंलाई घना जंगलमा हराउन र त्यहाँ कुनै जंगली जनावरको शिकार बन्न कत्ति बेर लाग्ने छैन।
मानौं, तपाईंले ठिक बाटो पत्ता लगाउनुभयो र बिनाकुनै अड्चन जंगल पार गर्नुभयो। अब सोच्नुहोला, यति गरेपछि त म सिमरौनगढको सहर पुगिहालेँ नि! यहाँ तपाईंको अनुमान गलत ठहरिनेछ।
अनेक अड्चन नाघ्दै यहाँसम्म आइपुग्दा पनि तपाईं अझै सहरबाट टाढै हुनुहुन्छ।
सिमरौनगढ र तपाईंको बीचमा चारवटा किल्ला आउने छन्। ती चारै किल्लालाई गोलगोल घुमेका ठुल्ठूला पर्खालले जोडेको हुनेछ र चारै किल्लामा सशस्त्र फौजले चौबीसै घन्टा पहरा दिइरहेका हुनेछन्।
आँखा झिमिक्क नगरी किल्लाको रखवारी गरिरहेका सेनालाई कसरी झुक्याउने र झुक्याए पनि आफ्नो उचाइभन्दा चालीस–पचास गुना अग्लो पर्खाल कसरी नाघ्ने, यो उपाय सोच्ने जिम्मा तपाईंहरूकै।
तपाईंको उपायले काम गर्यो र आफूभन्दा चालीस–पचास गुना अग्लो पर्खाल नाघ्न सफल हुनुभयो भने तपाईं सिमरौनगढ सहरभित्र प्रवेश गर्न सफल हुनुभयो।
जसै पर्खाल नाघ्नुहुनेछ, तपाईंको आँखाअगाडि लहलह अन्नका बाला झुलिरहेका खेतीयोग्य जमिन फैलिएका हुनेछन्। सिँचाइ गर्न बनाइएका ठुल्ठूला नहर हुनेछन्। स्थानीय भाकामा गीत गुन्गुनाउँदै खेतमा काम गरिरहेका सिमरौनगढका किसानसँग तपाईंको जम्काभेट पनि हुन सक्नेछ।
एघारौं शताब्दीमा बनेको सिमरौनगढ राज्यमा तपाईंलाई स्वागत छ!
मैले तपाईंहरूलाई यसै हचुवा भरमा यो खेल खेलाएको होइन। यसका केही आधार छन्।
तेह्रौं शताब्दीमा काठमाडौं हुँदै उत्तरी भारतका केही बौद्ध तीर्थस्थल भ्रमण गरेका तिब्बती धर्मस्वामी (च्याग् लोचावा चो जे पाल) सिमरौनगढ पनि पुगेका थिए। उनको किताब ‘बायोग्राफी अफ धर्मस्वामी’ मा सिमरौनगढ सहरबारे वर्णन गर्दै लेखिएको छ, ‘यो नगर बलिया एवं चाक्ला र अग्ला पर्खालहरूले सुरक्षित छ। ती पर्खाल करिब तिब्बतका किल्ला जत्तिकै अग्ला छन्। सहरभन्दा बाहिरपट्टि राजाको दरबार छ जसलाई एघारवटा ठुल्ठूला ढोका भएको पर्खाल र एक्काइसवटा जलमग्न खाडलले घेरिएको छ। खाडलका डिलमा घना रूखहरू पंक्तिबद्ध छन्।’
गढको पूर्व, पश्चिम र दक्षिणका प्रत्येक दिशामा एक–एक र उत्तरमा दुइटा ढोका रहेको तिब्बती धर्मस्वामीले किताबमा वर्णन गरेका छन्। पूर्व, पश्चिम र दक्षिणका ढोका आफ्नै आँखाले देखे पनि उत्तरका दुई ढोका भने देख्न नपाएको उनले लेखेका छन्।
उनका अनुसार प्रत्येक ढोकामा खाडल तर्न काठका पुल थिए। गढको रक्षाका लागि प्रत्येक पुलअगाडि दस–दस जना धनुषधारी सैनिक तैनाथ थिए।
कतिपय स्थानीय व्यक्ति त्यस बेलाको सिमरौनगढलाई महाभारतको चक्रव्यूहसँग तुलना गर्छन्।
महाभारत युद्धमा कौरव सेनाका प्रधानसेनापति द्रोणाचार्यले युधिष्ठिरलाई पक्रेर पाण्डवमाथि विजय हासिल गर्न चक्रव्यूह रचना गरेका थिए। त्यही चक्रव्यूहमा फसेर अर्जुनपुत्र अभिमन्यूको ज्यान गएको थियो। अभिमन्यूलाई चक्रव्यूह तोडेर भित्र छिर्ने बाटो थाहा थियो, निस्कने बाटो भने थाहा थिएन।
सिमरौनगढ सहरको ढाँचा चक्रव्यूहजस्तै रहेको वर्णन स्थानीयको भनाइमा मात्र होइन, तिब्बती धर्मस्वामीको वृत्तान्त र अन्य ऐतिहासिक विवरणहरूमा पनि भेटिन्छ।
सन् १७९० मा भारतको पटनाबाट नेपाल उपत्यका अर्थात् भक्तपुर आएका रोमन क्याथलिक पादरी काशियानो दा माचेराताले आफूले देखेको सिमरौनगढबारे लेखेका छन्।
उनी जति बेला सिमरौनगढ आए, त्यति बेला सिमरौनगढ राज्य ध्वस्त भएको करिब चार सय वर्ष बितिसकेको थियो। जंगलको बीचोबीच यत्रतत्र छरिएका कलात्मक भवनका अवशेष देखेर आफू तीनछक खाएको पादरी काशियानोले लेखेका छन्।
ती अवशेष कुन राज्यको थियो र त्यो राज्यको विगत कस्तो थियो होला भनेर जान्ने उत्सुक्ताले पादरीलाई नेपाल उपत्यका पुग्दासम्म पनि छाडेन। उनले यहाँ आएर सोधखोज गरे, जानकारीहरू बटुले। अनि आफूले देखेको भग्नावशेष सिमरौनगढ राज्यको भएको पत्ता लगाए।
उनले लेखेका छन्, ‘त्यो ठाउँ घुमाउरो बाटो हुँदै जानुपर्छ। त्यहाँ पुग्न निकै गाह्रो छ। बाटो बिराइयो भने गन्तव्यसम्म पुग्न सकिन्न। पुगे पनि पूरा बाटो छिचोल्न करिब एक महिनै लाग्छ। त्यहाँ फेला परेका अवशेषहरू हेर्दा त्यो सहर ठूला र जटिल पर्खालले घेरिएको हुनुपर्छ। त्यहाँ भित्र छिर्न एउटा मात्रै प्रवेशद्वार छ। सही बाटो फेला पर्यो भने सहर पुग्नुभन्दा अगाडि चारवटा किल्ला पार गर्नुपर्छ। ती चारै किल्ला जोड्ने गरी गोलगोल घुमेका अग्ला पर्खालले सहरलाई घेरेको छ।’
पादरी काशियानो अगाडि लेख्छन्, ‘प्रत्येक किल्ला एकअर्कोबाट लगभग दुई कोस दुरीमा बनेको छ। बीचको पर्खाल धेरै अग्ला र चौडा छन् जहाँ सजिलै प्रवेश गर्न सकिन्न। पर्खालपछाडि नहरहरू छन्। यहाँका खेतीयोग्य जमिनमा सिँचाइको राम्रो प्रबन्ध छ। कृषि उत्पादनले यहाँका बासिन्दालाई राम्ररी खान पुग्छ।’
काशियानाले आफ्नो जिज्ञासा सुल्झाउँदै जाँदा यो सहर पहिला पराक्रमी राजाद्वारा सासित भएको पनि पत्ता लगाए। साथै, एक सामन्त (मन्त्री) ले आफूलाई होच्याएकोमा बदला लिन देश मुसलनमानको हातमा सुम्पने अठोट गरेको र मुसलमानी बादशाह गायासुद्दिन तुगलकसँग सम्झौंता गरेर देशमा आक्रमण गराएको उनले उल्लेख गरेका छन्।
‘विद्रोही सामन्तको सहयोगमा मुसलमानी बादशाह किल्ला कब्जा गरी पर्खाल फोरेर नगरभित्र प्रवेश गर्न सफल भए। गढभित्रका नागरिकहरुले हल्लाखल्ला गर्नुपुर्व नै सबैको संहार गरे। केही नागरिक शत्रुहरूले नै भत्काएको प्वालबाट भाग्न सफल भए। त्यसमध्ये राजाको एउटा छोरा नेपालतर्फ लागे जसले आफ्नो भावी सन्तानका लागि नेपाल उपत्यकामा स्थान सुरक्षित गर्न सफल भए,’ भक्तपुरका स्थानीयले उनलाई भनेको कुरा काशियानाले लेखेका छन्।
सन् १७९० मा सिमरौनगढ आइपुगेका पादरी काशियानोको यो वर्णनबाट हामी के बुझ्न सक्छौं भने सिमरौनगढ तहसनहस भएको चार सय वर्षसम्म यो सहरको भू–बनोट त्यति बिग्रिसकेको थिएन।
उनले भक्तपुरको दरबारमा सिमरौनगढको नक्सा कोरिएको ढुंगा छ भनेर उल्लेख गरेका छन्। त्यही ढुंगाबाट सिमरौनगढको नक्सा हुबहु उतारेर उनले किताबमा राखेका छन्, जसमा त्यहाँको भुलभुलैया स्वरूप देख्न सकिन्छ।
बीसौं शताब्दीको आखिरीतिर सन् १९९१–९२ मा इटालीका पुरातत्वविदहरूले सिमरौनगढको अध्ययन गर्दा यही नक्सालाई आधार बनाएका थिए र नयाँ नक्सा तयार पारेका थिए। अध्ययनपछि उनीहरूले लेखेको रिपोर्टमा यो सहरको गढलाई स्थानीय भाषामा ‘बाही’ भनिने र त्यसलाई भुलभुलैयाका रूपमा सम्झना गरिने उनीहरूले बताएका छन्।
‘यहाँको गढ छ कोससम्म फैलिएको थियो। यसको मुख्य घेरा उत्तर–दक्षिणमा साढे सात किलोमिटर र पूर्व–पश्चिममा साढे चार किलोमिटर थियो,’ रिपोर्टमा भनिएको छ।
यस्तो भुलभुलैयाजस्तो संरचना र शक्तिशाली गढ दुश्मनहरूको आक्रमणबाट बच्न मात्र नभई बाढीपहिरोबाट राज्य जोगाउन र सिँचाइमा मद्दत पुयाउन निकै योजनाबद्ध ढंगले बनाइएको इटालियन पुरातत्वविदहरूको भनाइ छ।
पुरातत्वविद् मोहनप्रसाद खनाल पनि सिमरौनगढ सहर सुव्यवस्थित र सुदृढ गढका रूपमा बनेको बताउँछन्।
‘जनश्रुतिअनुसार यो गढ छवटा माटाका चौडा र अग्ला डिल (बाही) र गहिरा खाईले बनेको थियो। यी माटाका छ बाहीहरूमा चारैतर्फ बाक्लो गरी कटबासँहरू लगाइएका थिए,’ खनालले आफ्नो किताब ‘सिमरौनगढको इतिहास’ मा लेखेका छन्, ‘यी छवटा माटाका बाहीभन्दा पछि अझ फराकिला र अग्ला इँटाहरूको पक्की बाही बनाइएको थियो जुन गहिरो र फराकिलो खाईले घेरिएको थियो।’
सहरको मूल ढोकाबाट बाहिर–भित्र गर्न काठ तथा बाँसका पुल बनाइएका थिए जुन ठुल्ठूला डोरीका सहायताले झिक्न र राख्न मिल्थ्यो, खनाल अगाडि लेख्छन्, ‘गढका भित्री र बाहिरी भागमा सिमलका ठूला रूखहरू थिए। यहाँबाट आठै प्रहर चियोचर्चो गरिन्थ्यो।’
एघारौंदेखि चौधौं शताब्दीको पूर्वार्द्धसम्म सिमरौनगढ समृद्धिको उत्कर्षमा थियो। हाल बारा जिल्लाको दक्षिण–पूर्वमा रहेको यो प्राचीन नगरको प्रसिद्धि त्यति बेला यसको सम्पन्नताका कारण टाढा–टाढासम्म फैलिएको थियो।
गोपाल वंशावलीमा उल्लेख भएअनुसार यो सहरको प्राचीन नाम सिमरावन हो। पछि यस क्षेत्रमा गढ निर्माण गरिएकाले यसलाई सिमरावन गढ भन्न थालियो। त्यही सिमरावन गढ अपभ्रंश हुँदै आजको सिमरौनगढ भयो।
स्थानीय भाषामा सिमललाई सिमर पनि भनिन्छ। यहाँको घना जंगलभित्र सिमलका रूख धेरै भएकाले पनि गढको नाम सिमरौनगढ रहेको हुनसक्ने स्थानीय भनाइ छ।
‘सिमल निकै अग्लो र मोटो जातको रूख हो। यो घरायसी कामबाहेक डुंगा लगायत वस्तुहरू बनाउने काममा पनि उपयोग हुन्छ,’ खनालले किताबमा लेखेका छन्, ‘प्राचीन विधानअनुसार गढको वरिपरि सिमलका अग्ला अग्ला रूख लगाएर चियोचर्चो गर्ने काम भएको हुँदा पछिल्ला कालमा यो गढको नाम सिमरावनगढ अर्थात् सिमरौनगढ रह्यो।’
प्राचीन मिथिला राज्यको लगभग मध्य भागमा अवस्थित सिमरौनगढलाई पौराणिक कालमा विदेह राज्यका रूपमा चिनिन्थ्यो। प्राचीन मिथिला राज्यको सीमा पूर्वमा कोशी, पश्चिममा गण्डकी (नारायणी), उत्तरमा हिमालय र दक्षिणमा गंगासम्म फैलिएको थियो।
पौराणिक कालसम्म पनि विदेह राज्यको राजधानी मिथिला थियो। पछि विदेह वा मिथिला राज्य तिरभुक्ति अर्थात् तिरहुतका नामले प्रसिद्ध भयो। विदेह वा मिथिला क्षेत्रलाई गुप्तकालका अभिलेखमा तिरभुक्तिको नामबाट सम्बोधन गरिएको पाइन्छ। त्यस बेला भुक्ति शब्दले राज्यलाई जनाउँथ्यो। एघारौं शताब्दीदेखि नै तिरहुतको राजधानी सिमरौनगढ रहेको इतिहास छ।
इतिहास हेर्ने हो भने यो सहर बनाउने श्रेय दक्षिण भारत कर्नाटकबाट आएका नान्यदेवलाई जान्छ।
दक्षिण भारतमा त्यति बेला चालुक्यवंशी राजा सोमेश्वर प्रथमको शासन थियो। सोमेश्वर प्रथम र उनका छोरा विक्रमांगले उत्तरी भारत र उत्तरपूर्वी भारतमा हमला गरेका थिए। यिनका दुई सेनापतिमध्ये विजयसेनले उत्तरपूर्वी भारतको बंगालमा नयाँ राज्य स्थापना गरे भने अर्का सेनापति नान्यदेवले उत्तरी भारतको तिरहुतमा नयाँ राज्य खडा गरे।
‘तिरहुतमा विजय हासिल गरेपछि केही कालसम्मै सेनापति नान्यदेवले चालुक्यवंशी राजा विक्रमांगको प्रतिनिधिका रूपमा महासामन्ताधिपति भएर शासन गरेका थिए,’ खनाल लेख्छन्।
‘नान्यदेवले कहिलेदेखि आफूलाई स्वतन्त्र राजाका रूपमा स्थापित गरे भन्ने यकिन छैन। तर तिरहुत विजयको केही कालपछि अर्थात् सन् १०९७ मा नान्यदेवले तिरहुतको सिमरावन नामक स्थानमा राजधानी शिलान्यास गरेर सिमरौनगढ नामक विशाल दुर्ग निर्माण गरी एउटा स्वतन्त्र राज्यको जग बसालेका थिए।’
सन् १८३५ मा बेलायतका कूटनीतिज्ञ एवं मानवशास्त्री ब्रायन हड्सनले सिमरौनगढ राज्यको उत्पत्ति र विनाशबारे श्लोकमा लेखिएको विवरण उद्धृत गरेका छन्। उनका अनुसार उक्त श्लोकमा लेखिएको छ, ‘राजा राम, नल, पुरूरवस् र अलार्काको धन इसरा पोखरीमा संरक्षण गरी राखिएको थियो। त्यसलाई एउटा नागले रक्षा गरेका थिए। नान्यदेवले उक्त नागलाई मारेर त्यहाँको धन लिए र सिमरौनगढ राज्य बनाए। उनका अन्तिम पुस्ता हरसिंहदेव नराम्रो भाग्यका कारण यो राज्यबाट शक सम्बत् १२३५ मा पहाडतिर लागे।’
सिमरौनगढका संस्थापक नान्यदेवले आफ्नो राज्य कसरी बनाएका थिए भन्नेबारे स्पष्ट अभिलेख नभए पनि ब्रायन हड्सनले उद्धृत गरेको यो श्लोकका आधारमा हामी के अनुमान गर्न सक्छौं भने यहाँ राज्य स्थापना गर्न नान्यदेवले थुप्रै धन–सम्पत्ति खर्च गरेका थिए।
उनले सिमरौनगढ राज्य बनाएपछि यहाँको समुदाय, संस्कृति र कला अपनाए र त्यसलाई अझै विस्तार गर्दै लगे। यहाँका स्थानीयले पनि उनलाई आफ्नो राजाका रूपमा स्वीकार गरे।
यसरी कर्नाटकबाट आएकाहरूले विजय प्राप्त गरी आफ्नो गढ बनाएकाले दक्षिण भारतका विक्रमादित्य उपाधिधारक राजाहरूले आफ्ना अभिलेखमा नेपाल विजयका कुरा सगर्व लेख्न सकेको खनाल बताउँछन्।
हामीले सिमरौनगढको जुन चक्रव्यूही स्वरूपबारे माथि वर्णन गर्यौं, त्यसको निर्माण नान्यदेवको शासनकालबाटै सुरू भएको थियो। उनीपछिका राजाहरूले त्यसलाई विस्तार गर्दै अझ मजबुत किल्लाको रूप दिएका थिए।
जुन समय कर्नाटवंशी नान्यदेव सिमरौनगढका राजा भए, त्यति बेला नेपाल उपत्यकामा राजा हर्षदेवको शासन थियो। उनी त्यति बलिया राजा थिएनन्। त्यही भएर उनको अधिकार क्षेत्रमा पर्ने तराई नान्यदेवले सजिलै खोसेर आफ्नो राज्यमा मिसाएको ऐतिहासिक विवरणसम्बन्धी त्रैमासिक पत्रिका ‘पूर्णिमा’ अंक ४६ को ‘नेपालको संक्षिप्त इतिहास’ मा उल्लेख छ।
‘यिनले सिमरौनगढ राजधानी वरिपरि २० माइलजति घेरामा बडो ठूलो पर्खाल र खाई बनाई गढको रूप दिए। यस गढका खण्डहर बारा जिल्लामा पाइन्छन्। हुन त त्यो गढ २० माइलजति घेरामा मात्र थियो तर राज्यको विस्तार कोशीदेखि गण्डकीसम्म र गंगादेखि उत्तरपट्टि तिरहुतका मैदानसम्म फैलिएको थियो,’ उक्त लेखमा लेखिएको छ।
सिमलै सिमलको वनभित्र बलियो र सुव्यवस्थित गढ बनाई राजधानी बसालेको १४ वर्षपछि नान्यदेवका सेनाले नेपाल उपत्यकामा आक्रमण गरेको गोपाल वंशावलीमा छ। नेपाल उपत्यकावासीहरू कर्नाटवंशी सेनालाई ‘डोय’ भनेर सम्बोधन गर्थे। त्यति बेला नान्यदेव स्वयं नेपाल आएको भने देखिन्न।
कर्नाटवंशी सेनाले आक्रमण गर्दा नेपाल उपत्यकामा शिवदेव तृतीयको शासन थियो। हर्षदेवपछि सन् १०९७ मा नेपाल उपत्यकाको राजा बनेका शिवदेव तृतीय मध्यकालका राजाहरूमध्ये प्रसिद्ध मानिन्छन्।
‘नेपाल उपत्यकामा आक्रमण गर्न गएको कर्नाटवंशी सेना राजा शिवदेवका सेनापति नरमल्लदेव पोहबाट नराम्रोसँग पराजित हुनुपर्यो। तैपनि यो युद्ध त्यति ठूलो नभएकाले गोपाल वंशावलीकारले यस घटनालाई त्यति महत्व दिएको देखिन्न,’ खनालले लेखेका छन्, ‘नान्यदेवको नेपाल उपत्यकामाथि कब्जा जमाउने यो पहिलो र अन्तिम प्रयास थियो। त्यसपछि उनी युद्धतर्फ नलागी तिरहुत राज्यलाई सुदृढ बनाउनतर्फ लागे।’
भारतको दरभंगामा भेटिएको एउटा शिलालेखमा नान्यदेवलाई ‘नृप’ भनेर सम्बोधन गरिएको छ। यसबाट नान्यदेवको राज्य त्यहाँसम्म फैलिएको अनुमान गर्न सकिन्छ।
नान्यदेवपछि उनका जेठा छोरा गंगादेव (गांगेयदेव) तिरहुतका राजा भए। उनको राजकाज कहिलेबाट सुरू भयो र उनी कहिले जन्मिए भन्ने ऐतिहासिक तथ्य उपलब्ध छैन। नान्यदेवका कान्छा छोरा अर्जुनदेव भने सन् ११३२ मा जन्मिएको विवरण गोपाल वंशावलीमा छ। त्यही समयतिर तिरहुतमा मल्लदेव नामक अर्का एक शासकको चर्चा पनि पाइन्छ।
भारतीय इतिहासकारहरूले मल्लदेव नान्यदेवकै छोरा हुन् भनेर लेखेका छन्। भारतको दरभंगामा पाइएको लक्ष्मीनारायणको मूर्तिमा पनि ‘ऊँ श्री मल्ल्देवस्य’ भनेर उनको अभिलेख अंकित छ। भारतीय इतिहासकार उपेन्द्र ठाकुरले मल्लदेवलाई ‘मिथिलाले बिर्सिएका राजा’ का रूपमा वर्णन गरेका छन्।
विस्तृत विवरण उपलब्ध नभए पनि इतिहासमा नान्यदेवपछि उनका छोरा गंगादेव (गांगेयदेव) ले राज्य सम्हालेको र त्यसपछि गंगादेवका छोरा नरसिंहदेव तिरहुतको गद्दीमा बसेको उल्लेख छ।
सन् १२२७ मा नरसिंहदेवको मृत्यु भयो। त्यसपछि उनका छोरा रामसिंहदेव तिरहुतका राजा भए। उनी नान्यदेवपछि तिरहुतका अर्का प्रभावशाली राजा हुन्। उनी राजा हुँदा तिरहुत राज्य हिन्दुहरूको आश्रयस्थल बनेको थियो। यहाँ टाढा–टाढादेखिका विद्वान आउँथे। उनीहरूलाई राजकीय सम्मान गरिन्थ्यो।
रामसिंहदेवकै समयमा तिब्बती विद्वान धर्मस्वामी पनि तिरहुत पसेका थिए। उनले सिमरौनगढबारे लेखेको वर्णन हामीले माथि उल्लेख गरिसक्यौं। यसबाट के बुझिन्छ भने राजा रामसिंहदेवको समयमा सिमरौनगढ तिरहुतको अत्यन्त बलियो राजधानीका रूपमा विकसित भइसकेको थियो।
तिब्बती धर्मस्वामीले त्यति बेला यहाँ छ लाख घर देखेको वर्णन गरेका छन्। पुरातत्वविद् खनाल भने यो संख्या तिरहुत राज्यको जनसंख्यालाई लिएर लेखिएको हुनसक्ने अनुमान गर्छन्।
‘जनसंख्यालाई धुरीका रूपमा गणना गर्ने चलन पछिसम्म चलेको देखिन्छ। जस्तै– आठ हजार गोरखा, बाह्र हजार लमजुङ र सात हजार चाँगु प्रसिद्ध थिए,’ खनालले आफ्नो किताबमा लेखेका छन्।
सन् १२३६ मा तिरहुत आएका धर्मस्वामीले तत्कालीन राजा रामसिंहदेवसँग पनि भेट्ने अवसर पाएका थिए। उनलाई राजाले नै भेट्न बोलाएको किताबमा उल्लेख छ।
धर्मस्वामीलाई राजाका मन्त्रीले भेट्ने निम्तो दिँदै भनेका रहेछन्, ‘कृपया राजदरबारमा आउनुहोला। यदि आउनुभएन भने राजाले तपाईंलाई दण्डसजाय दिनेछन्।’
राजाले उनलाई लिन डोलीसमेत पठाएका थिए।
त्यही डोलीमा चढेर राजदरबार पुगेपछि धर्मस्वामीले संस्कृत श्लोक सुनाएर राजा रामसिंहदेवको अभिनन्दन गरे। आफ्नो यस्तो अभिनन्दन सुनेर राजा निकै प्रसन्न भए र उनलाई सुन, लत्ताकपडा, औषधि, चामल र खानेकुरा उपहार दिए।
धर्मस्वामीलाई त्यति बेला राजा रामसिंहदेवले आफ्नो राज्यमा धर्मगुरू बनेर बस्न प्रस्ताव पनि गरेको ‘बायोग्राफी अफ धर्मस्वामी’ किताबमा उल्लेख छ।
धर्मस्वामीले उक्त प्रस्ताव अस्वीकार गर्दै भने, ‘म बौद्धमार्गी हुँ। तपाईं अरू नै धर्म मान्नु हुन्छ। त्यसैले म यहाँ गुरू बनेर बस्न सक्दिनँ।’
राजाले उक्त कुरा स्वीकार गरे।
धर्मस्वामी केही दिन सिमरौनगढमा बसेर आफ्नो बाटो लागे।
त्यसको आठ वर्षपछि सन् १२४४ मा राजा रामसिंहदेवले सिन्धुलीको बाटो हुँदै नेपाल उपत्यका आक्रमण गरे। त्यस बेला उनले बीस वर्षअघि नेपाल उपत्यकासँग भएको सन्धि तोडेका थिए। राजा रामसिंहदेवसँग बनेपा र पलाञ्चोकका भारदारहरूले अबउप्रान्त दुवै पक्षले एकअर्कामाथि हमला नगर्ने सन्धि गरेको गोपाल वंशावलीमा उल्लेख छ। उक्त सन्धिपछि नै रामसिंहदेवले आफूले जितिसकेको पलाञ्चोकको किल्ला नेपाल राज्यलाई फिर्ता दिएका थिए। त्यति बेला नेपाल उपत्यकामा राजा अभय मल्लको शासन थियो।
‘अभय मल्ल अलि कमजोर प्रकृतिका राजा थिए। उनी नेपालको गद्दीमा बसेदेखि नै सुख्खा, खडेरी एवं भूकम्पजस्ता दैविक प्रकोपले गर्दा जनताले भोकमरी र महामारी सामना गर्नुपरेको थियो,’ गोपाल वंशावलीमा लेखिएको छ।
सिमरौनगढले सन्धि तोडेर नेपाल उपत्यकामा आक्रमण गर्नुको एउटा कारण नेपाल उपत्यकाले सन्धिका सर्त पूरा नगरेकाले हुनसक्ने इतिहासकारहरूले उल्लेख गरेका छन्। आक्रमण बेला पनि नेपाल उपत्यकामा राजा अभय मल्लकै शासन थियो।
राजा रामसिंहदेवको सेना सिन्धुलीदेखि उत्तर पश्चिमतर्फका धेरैजसो भू–भाग कब्जा गर्दै रोशी खोलाको बाटो हुँदै नेपाल उपत्यका छिरेको थियो। तर बनेपाको खड्पुमा पुगेपछि उनीहरूले नेपाल उपत्यकाको सेनासँग हार खाए।
‘त्यहाँ पहिलेदेखि नै मोर्चा बाँधेर बसेका सामन्त अनर्घमल्लसहितका भारदारले तिरहुतेहरूलाई उक्त किल्ला कब्जा गर्नबाट रोके। घमासान युद्ध भयो। पहाडी भू–भागमा अभ्यस्त नभएकाले तिरहुतेहरूले हार बेहोरे,’ गोपाल वंशावलीमा उल्लेख छ।
यो युद्धको डेढ वर्षपछि रामसिंहदेवको सेनाले फेरि नेपाल उपत्यकामाथि हमला गर्यो।
यसपटक उनीहरू सिन्धुलीबाट नभई बागमतीको किनारै किनार उपत्यका पसेका थिए। तर यो आक्रमणमा पनि उनीहरूले हार नै बेहोरे।
यसबाट राजा रामसिंहदेवका पालामा तिरहुतेहरूले पटकपटक नेपाल उपत्यकामा आक्रमण गरेको देखिन्छ।
रामसिंहदेव ८८ वर्षको उमेरसम्म तिरहुतको गद्दीमा बसे। त्यसपछि उनका छोरा शक्तिसिंहदेव तिरहुतका राजा भए। शक्तिसिंहदेवका पालामा सन् १२९२ मा बनेको एउटा घन्टी फेला परेको छ। त्यसबाहेक उनको अर्को कुनै प्रामाणिक सामग्री फेला नपरेको पुरातत्वविद् खनाल बताउँछन्।
खनालका अनुसार शक्तिसिंहदेवको शासनकालमा पनि तिरहुतेहरूले नेपाल उपत्यकामा आक्रमण गरेका थिए। यसपालि उनीहरूले आक्रमण मात्र गरेनन्, तीन महिना उपत्यकामा रजगज गर्दै कर असुल गरी स्वदेश फर्किएका थिए।
‘आफ्नो हार स्विकारेपछि नेपालले तिरहुतेसामु सन्धि प्रस्ताव राख्यो। तिरहुतेहरूको मागअनुसार नेपालले करबापत ठूलै धनराशि तिर्नुपर्ने भयो,’ गोपाल वंशावलीमा लेखिएको छ।
शक्तिसिंहदेवपछिका अर्का प्रभावशाली तिरहुते राजा हुन् हरसिंहदेव, जसलाई कतिपयले हरिसिंहदेव भनेर पनि लेख्ने र चिन्ने गरेका छन्।
यिनको समयमा तिरहुत राज्यको इतिहासमा निकै ठूलो उथलपुथल आएको थियो, किनभने यिनको शासनकालमा तिरहुत राज्यले दिल्लीका मुस्लिम बादशाह गयासुद्दिन तुगलकको सामना गर्नुपरेको थियो।
...
यो चौधौं शताब्दीतिरको कुरा हो, जति बेला गयासुद्दिन तुगलक बंगालमाथि विजय प्राप्त गरी गंगा नदीको किनारै किनार दिल्ली फर्कंदै थिए।
बंगालबाट लुटेर ल्याएको धनसम्पत्ति आफ्नो नाकमुनिबाटै सिमरौनगढका सेनाले लुट्दै लगेको थाहा पाएपछि बादशाह गयासुद्दिन तुगलकले सिमरौनगढमाथि धावा बोल्ने योजना बनाए।
योजना त बनाए, तर सिमरौनगढ राज्य जित्नु गयासुद्दिनको निम्ति सहज थिएन।
सबभन्दा ठूलो समस्या थियो, सिमरौनगढसम्म पुग्ने बाटो पत्ता लगाउनु।
धेरै दिन भौंतारिँदा पनि गयासुद्दिनका सुराकीहरूले सिमरौनगढ पुग्ने बाटो भेट्न सकेनन्। घना बाक्लो जंगल छिचोल्नै उनीहरूलाई हम्मे हम्मे पर्यो। त्यहाँको भुलभुलैयाजस्तो संरचनामा उनीहरूले झन्डै आफू आएको बाटोधरि भुले।
एकदिन उनीहरूको भेट तिरहुते राजा हरसिंहदेवले बेइज्जत गरी निकालेका मन्त्री कामेश्वर ठाकुरसँग भयो।
बेइज्जतिको आवेगमा राजा हरसिंहदेवसँग बदला लिने ध्याउन्नमा रहेका ठाकुर दिल्लीका सेनासँग मिलिहाले। जसरी विभीषणले लंका जलाउन रामलाई साथ दिए, त्यसरी नै कामेश्वर ठाकुरले दिल्लीका मुस्लिम बादशाहलाई सिमरौनगढमाथि चढाइँ गर्ने बाटो देखाइदिए।
यो घटनाबारे अर्को कथा पनि छ।
बादशाह गयासुद्दिन तुगलक जति बेला बंगाल जितेर तिरहुतको बाटो हुँदै दिल्ली फर्कंदै थिए, उनीहरूले सिमरौनगढ राज्य पनि आक्रमण गर्न लागे भन्ने भ्रम हरसिंहदेवलाई परेछ। त्यही भ्रमका कारण उनले तुगलक सेनामाथि हमला गरे।
दिल्ली र तिरहुतबीच घमासान युद्ध भयो।
र, यही युद्धका कारण सन् १३२६ सिमरौनगढ पतनको वर्ष बन्न पुग्यो।
मुस्लिम सेनाको अगाडि हरसिंहदेवको केही जोर नचलेपछि उनी आफ्नो सेनासहित जंगल पसे। मुस्लिम सैनिकहरू हरसिंहदेवको पिछा गर्दै एउटा बलियो किल्लासम्म पुगे। उनीहरूले तीन साता लगाएर त्यो किल्लाको पर्खाल फोडे।
पर्खालको ठ्याक्कै पछाडिबाट सिमरौनगढको राजधानी सुरू हुन्थ्यो। त्यहाँ सिँचाइ निम्ति बनाइएको नहर थियो। मुस्लिम सैनिकले ती नहर पुरे र राजधानीसम्म पुगे।
दिल्लीले तिरहुतको राजधानी सिमरौनगढ तहसनहस पारूञ्जेल राजा हरसिंहदेव, उनको परिवार र केही सेना गोप्य बाटो हुँदै नेपाल उपत्यकातर्फ भागिसकेका थिए।
राजा हरसिंहदेवले सिमरौनगढ छाडेर वन पसेको मिति शक संवत् १२४५ पौषशुक्ल नवमी, आइतबार हो भन्ने मिथिलाको एउटा श्लोकमा वर्णन छ।
हरसिंहदेव जंगलको बाटो हुँदै दोलखा जाने उद्देश्यले सुरूमा तीनपाटन पुगे। उनी आफ्नो गुमेको राज्य फेरि प्राप्त गर्ने उद्देश्यले अनुकूल समयको पर्खाइमा थिए।
तीनपाटनमा बस्ने क्रममै राजा हरसिंहदेवको निधन भयो।
त्यसपछि उनकी श्रीमती देवलदेवी, छोरा जगतसिंहदेव, सेना, मन्त्री लगायत टोली देवलदेवीको माइती नेपाल उपत्यका (भक्तपुर) तर्फ लम्किए।
तिरहुत राज्य बनेदेखि नेपाल उपत्यकामाथि पटकपटक आक्रमण भएको थियो। त्यही आक्रमण रोक्न नेपाल उपत्यकाका राजाले आफ्नी राजकुमारी देवलदेवीको विवाह राजा हरसिंहदेवसँग गरिदिएका हुन सक्छन्। यही विवाहपछि तिरहुत र नेपाल उपत्यकाबीच मित्रवत् सम्बन्ध गाँसिएको थियो।
‘राजा हरसिंहदेवको मृत्युपछि उनका अन्य परिवार तथा मन्त्रीहरू दोलखा जान लाग्दा तामाकोशीको पश्चिमी किनार नजिकै पर्ने रजगाउँका माझी भारो (राजग्रामका भारदार) हरूले हरसिंहदेवका छोरा र मन्त्रीहरूलाई कैद गरी सारा सम्पत्ति लुटे,’ गोपाल वंशावलीमा लेखिएको छ।
उनीहरूसँग राज्य तहसनहस हुँदाको पीडा त थियो नै, राजा हरसिंहदेवको निधनपछि अर्को पीडा पनि थपिएको थियो। त्यसमाथि आफ्नो सम्पत्तिसमेत लुटिएपछि देवलदेवी बाध्य भएर माइतीमा शरण माग्न आइन्।
उनी काठमाडौं उपत्यकामा शरण लिन आउँदा तिरहुतेहरूका कुलदेवी तुलजा भवानीलाई पनि सँगै लिएर आएकी थिइन्। कालान्तरमा त्यही तुलजा भवानीलाई काठमाडौं उपत्यकामा तलेजु भवानीका रूपमा पुज्न थालियो।
यसरी कर्नाटवंशी राजा हरसिंहदेवको पतनसँगै करिब तीन सय वर्ष सिमरौनगढमा राज्य गरेको कर्नाट वंशको अन्त्य भयो।
र, योसँगै पौराणिक कालको विदेह वा मिथिला र ऐतिहासिक कालको तिरहुत वा सिमरौनगढको एउटा अध्याय पनि समाप्त भयो।
यो त भयो कर्नाटवंशीहरूले सिमरौनगढमा राजधानी बनाएदेखि उनीहरूको राज्य पतनसम्मको इतिहास। बिहीबार ‘मिथिलाक कथासभ’ शृंखलाको अर्को अध्यायमा हामी सिमरौनगढको अहिलेको अवस्थाबारे चर्चा गर्नेछौं।
यो पनि पढ्नुहोस्: