नाबालिग बलात्कार आरोप लागेका अभिनेता पूर्णविक्रम शाह ‘पल शाह’लाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ।
पलले सफाइ पाएको फैसला तयार हुन समय लाग्ने जिल्ला अदालतका स्रेस्तेदार मिनबहादुर कुँवरले बताए।
उनले भने, ‘जिल्ला न्यायाधीश ज्यूले इजलासमा दुवैतर्फका बहस सुनेपछि पल शाहले सफाइ पाउने ठहर गर्नुभएको छ, फैसला तयार हुन समय लाग्छ।’
यो फैसलाविरूद्ध सरकारी वकिलको कार्यालय तनहुँ उच्च अदालत पोखरामा पुनरावेदन जाने भएको छ।
‘पल शाहले सफाइ पाएको मिडियाबाट थाहा पाएँ,’ तनहुँका जिल्ला न्यायाधिवक्ता गोविन्दप्रसाद उपाध्यायले सेतोपाटीलाई भने, ‘सामान्यतया अब हामी उच्च अदालतमा पुनरावेदन गर्छौं।’
जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा पीडितका पक्षबाट जिल्ला न्यायाधिवक्ता उपाध्यायले मात्र बहस गरेका थिए।
पीडित नाबालिग 'होस्टाइल' भएर अदालतमा बकपत्र गर्दा बयान फेरेकी थिइन्।
उनले गत वैशाख ४ गते तनहुँ जिल्ला अदालतमा बकपत्र गर्दा आफूमाथि बलात्कार नभएकाले पललाई रिहा गर्नुपर्ने बताएकी थिइन्।
‘पीडितले होस्टाइल भएर होइन भनेकी थिइन्, यो व्यक्तिलाई सजाय हुन हुँदैन भनेकी थिइन्,’ उपाध्यायले भने, ‘मैले राज्यका तर्फबाट यी कारणले सजाय हुनुपर्छ भनेर आज बहस गरेको थिएँ।’
जिल्ला अदालत तनहुँमा मंगलबार भएको बहसमा पीडितका तर्फबाट उपाध्यायले मात्र बहस गरेका थिए।
उनले बहसमा पीडक भनिएका पललाई सजाय हुनुपर्ने माग राख्दै शारीरिक परीक्षण, परिस्थितिजन्य प्रमाण, पीडितको उमेर लगायत अन्य कागजात पेश गरेका थिए।
‘मैले पीडकलाई सजाय हुनुपर्ने माग राखेर सर्वोच्च अदालतका विगतका नजिर र तथ्यगत प्रमाणहरू पेश गरेको थिएँ। पीडित होस्टाइल भए पनि पलले बलात्कार गरेको पुष्टि हुने आधार छन् भन्ने हो,’ उनले भने।
यता, पलका तर्फबाट भने बरिष्ठ अधिवक्ता कमलामोहन काले, कृष्णबहादुर थापा, परशुराम गिरी, अधिवक्ता भानुभक्त सुवेदी र माधव घिमिरेले बहस गरेका थिए।
पल शाहका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता काफ्लेले घटना भएको भनिएको दिन अलग-अलग कोठामा सुतेको, भोलिपल्ट सँगसँगै ढोरबाराही मन्दिर दर्शन गर्न गएको, एउटै गाडीमा काठमाडौं फर्केको लगायतका कारण देखाउँदै बलात्कार हुन नसक्ने जिकिर गरेका थिए।
घटनामा साक्षी बसेका १८ जनाले पनि बलात्कार नभएको भनेको र पीडित भनिएकी नाबालिगले पनि अदालतमा बकपत्र गर्दा बलात्कार नभएको बताएकाले पलले सफाइ पाउनुपर्ने काफ्लेले जिकिर गरेका थिए।
नाबालिगले २०७८ वैशाख १४ गते तनहुँमा आफूमाथि पल शाहले बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा गत फागुन ११ गते जाहेरी दिएकी थिइन्।
यस्तै, सुटिङमा जाँदा नवलपुरमा पनि बलात्कार गरेको भन्दै पीडितले फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन्।
नवलपुर जिल्ला अदालतले पनि पललाई सफाइ दिने फैसला गरिसकेको छ।
नवलपुरका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पललाई बलात्कार अभियोगबाट सफाइ दिँदै बाल यौन दुर्व्यवहारको आरोपमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवाना फैसला भएको थियो।
अदालतले पीडित नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत आदेश भएको थियो।
उक्त फैसलाविरूद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्। पुनरावेदनमा चलिरहेको उक्त मुद्दा किनारा नलाग्दासम्म पल कारागारमै रहने अदालतले जनाएको छ।