जसरी काठमाडौंमा जीवित देवीका रूपमा कुमारीको पूजाआजा हुन्छ, कुनै समय जीवित भगवानका रूपमा काठमाडौंमा कुमार पनि थिए।
उनको पूजाआजा साथै दसैंको समयमा नाच पनि देखाइन्थ्यो। उक्त नाचलाई नेपाल भाषामा 'कुम्हो प्याखँ' भनिन्थ्यो। यो नृत्य काठमाडौंबाट लोप भएको २६ वर्ष भयो।
झन्डै तीन दशकमा यो नाच ब्युँताउने विभिन्न प्रयास भए। असनस्थित अन्नपूर्ण मन्दिर अगाडिको डबली यो नाच प्रदर्शन गर्ने मुख्य डबली हो। काठमाडौं महानगरपालिकाले डबलीमा चल्दै आएको पसल खाली गराएपछि गत दसैंमा यो नाच ब्युँताउने कुरा अझ व्यापक भएको थियो। तर प्रदर्शन हुन सकेन।
काठमाडौंको संस्कृति र इतिहाससँग जोडिएको यति पुरानो नाच किन प्रदर्शन हुन सकिरहेको छैन? यो नाच कसरी लोप भयो?
यो जिज्ञासा हामीले काठमाडौं थायमदू (बांगेमुढा) निवासी दबलकाजी तुलाधरसँग राख्यौं।
उनले २०२२ सालमा कुमार बनेर यो नाच नाच्न सुरू गरेका थिए। त्यो बेला जम्मा सात वर्षका थिए उनी। उनले लगातार पाँच वर्षसम्म नाच प्रदर्शन गरे। नियमअनुसार यसरी नाच्ने समय पनि पाँचै वर्ष हो।
त्यसअघि दबलकाजीका बुवा दानरत्नले पनि सात वर्षका हुँदा कुमार बनेर नाचेका थिए।
यो क्रम दबलकाजीका छोरा दिवेशकाजीसम्म लम्बियो। दिवेशकाजी यो परिवारको मात्र होइन, यो नाच नाच्ने अन्तिम कुमार नै हुन्। हाल अमेरिकामा रहेका उनले त्यति बेला २०४६ सालदेखि २०५३ सालसम्म कुमार बनेर नाच प्रदर्शन गरेका थिए। नाचको अवधि जम्मा पाँच वर्षको भए पनि दिवेशकाजीले थप दुई वर्ष यो नाच देखाउन परेको थियो।
यसको कारण बताउँदै उनका बुवा दबलकाजीले भने, '२०५१ सालमा हाम्रो पालो सकिइसकेको थियो। तर पाँच वर्ष भइसक्दा पनि कुमार बन्ने अर्को बच्चा फेला नपरेकाले हामीलाई थप एक वर्ष नाच देखाउन अनुरोध गरिएको थियो।'
एक वर्ष जसोतसो दिवेशकाजीले कुमार बनेर परम्परा धाने। अर्को वर्ष नाच देखाउने समय आयो। फेरि कुमार बन्ने कुनै बच्चा फेला परेन। दिवेशकाजीलाई नै कुमार बन्न अनुरोध गरियो।
कुमार बन्दा नियम एकदम कडा हुने भएकाले दबलकाजीले छोरा दिवेशकाजीलाई घरिघरि कुमार बनाउन नसक्ने जानकारी पहिल्यै गराएका थिए। कसैगरी छोरालाई कुमार नबनाउने भनेर अडानै लिएका थिए। तर जात्रा सञ्चालनमा सहयोग पुर्याउँदै आएको पुरातत्व विभागले पत्र नै लेखेर आग्रह गरेको उनी सम्झिन्छन्।
'त्यसपछि छोरालाई कुमारका लागि तयार गरेँ,' उनले भने, 'त्यसपछिको वर्षमा भने मानिनँ।'
दिवेशकाजीको पालो सकिएपछि कुमार बन्ने अन्य बच्चा फेला परेन।
यसरी २६ वर्षअघि काठमाडौंले महत्त्वपूर्ण कुम्हो प्याखँ गुमायो।
कुम्हो प्याखँको विशेषता के भने यो नाच हरेक वर्ष दसैंको समयमा हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर अगाडि प्रदर्शन गर्नुपर्थ्यो। महिषासूर दानवमाथि विजय हासिल गरेपछि तलेजु भवानीले आफ्नो सेतो घोडामा सिँगारिएर खुसियाली मनाउँदै नगर परिक्रमा गर्छिन् भन्ने विश्वास छ।
त्यही भएकाले फूलपातीका दिन तलेजु भवानीलाई हनुमानढोका दरबार परिसरको मूलचोकमा सार्ने चलन छ। त्यस दिन तलेजु भवानी मन्दिर नजिकैको डबलीमा कुमार र ओमबहालबाट दैत्य बनेर आएका बालकले नाच प्रदर्शन गर्छन्।
कुमार बनेका बालकको हातमा धनुवाण हुन्छ। यसमार्फत उनले आकाशबाट आएको खराब कुराबाट तलेजुको रक्षा गर्छन्। दैत्यको हातमा त्रिशूल हुन्छ। उनले पातालबाट आएको खराब कुराबाट तलेजुको रक्षा गर्छन्।
कुमार बन्ने व्यक्ति तुलाधर वा कंसाकार समुदायबाट लिइन्थ्यो भने दैत्य बन्ने व्यक्ति ओमबहालका शाक्य परिवारबाट छनोट हुन्थ्यो। सातदेखि १२ वर्ष उमेर समुदायका व्रतबन्ध भइसकेका बालकहरू यो नाचमा छनोट हुन्थे।
कुम्हो प्याखँ सुरूमा भोटाहिटीस्थित नाइकेको घरको आँगनबाट सुरू हुन्थ्यो। त्यहाँ नाचिसकेपछि अन्नपूर्ण मन्दिरअगाडि नाच्नुपर्छ। त्यसपछि जनबहालमा रहेको मच्छिन्द्रनाथको मन्दिर अगाडिको डबलीमा नाच्नुपर्छ।
त्यहाँबाट आकाश भैरव, इन्द्रचोक परिक्रमा गर्दै हनुमानढोकामा तलेजु भवानी मन्दिर अगाडि नाच्नुपर्छ। अन्य ठाउँमा कुमार एक्लै नाचे पनि त्यहाँ कुमार र दैत्य एक साथ नाच्छन्।
हनुमानढोकाबाट निस्किएर काष्ठमण्डप अनि अगाडिको सिंहसतः परिक्रमा गरेर इन्द्रचोक हुँदै असनको डबलीमा नाच देखाइन्छ।
कुम्हो प्याखँ दसैंको समयमै तीन पटक देखाउनुपर्छ। तलेजु भवानी मन्दिरबाट तल झर्दा र माथि जाँदा, घटस्थापनामा र पाया निकाल्ने खड्ग जात्रामा। त्यसबाहेक १२ वर्षमा भद्रकाली र पचली भैरवको जात्रा हुन्छ। त्यो जात्रामा राजाले पचली भैरवसँग खड्ग साट्ने गतिविधि हुन्छ।
यदि कुमार बनेको समयमै उक्त जात्रा पर्यो भने कुमारले उनीहरूको अगाडि पनि नाच प्रदर्शन गर्नुपर्ने हुन्छ।
कुमार बन्ने अवधि जम्मा पाँच वर्षको हुने भएकाले सबैले यो अवसर पाउँदैनन्। २०२२ सालदेखि २०२६ सालसम्म कुमार बनेका दबलकाजीले भने त्यो अवसर पाएका थिए।
'मेरो समयमा राजा महेन्द्रले पचली भैरवसँग खड्ग साटेका थिए। त्यो बेला मैले कुमार नाच देखाउन पाएको थिएँ,' उनले भने।
जब कुमार बन्ने बालको पाँच वर्षे अवधि समाप्त हुन्छ उनलाई बाजा समूहले बाजा बजाउँदै घेर्दैघेर्दै डबलीबाट खसाल्छन्। नाचमा प्रमुख बाजा पँयता, तीन मुखे बाजा र खिँ हो। यसलाई तुलाधर समुदायले नै बजाउँछन्।
नाच आठ वटा बोलमा हुन्छ, सोहीअनुसार कुमारले नृत्य गर्छन्। त्यसमा दसैंको धुन पनि हुन्छ। अन्तिम पटक नृत्य देखाएपछि डबलीबाट खसालेका कुमार बेहोस हुन्छन्। डबलीबाट खस्दा उनलाई समात्न अनिवार्य रूपमा उनको मामा नै बस्नुपर्ने हुन्छ। त्यहाँबाट घर लगेर उनलाई होसमा ल्याई सगुन दिइन्छ।
यो नाच विभिन्न ठाउँ प्रदर्शन गर्दै आए पनि मुख्य भनेको असनको डबली हो। दसैंका बेला मात्र यहाँ नाच देखाउने भएकाले अरू बेला सराफीहरूले यहाँ पैसा साट्ने काम गर्थे। त्यो कामलाई पुरातत्व विभागले स्वीकृति पनि दिएको थियो। त्यसबापत सराफीहरूले विभागलाई वार्षिक रकम बुझाउनुपर्थ्यो। त्यही रकममा थप गरेर कुम्हो प्याखँ सञ्चालन गर्न पुरातत्वले पैसा दिन्थ्यो।
पुर्ख्यौली घर असन भई हाल टेकु बस्ने ८० वर्षीय प्रज्ञारत्न तुलाधरका अनुसार यो डबली पैसा साट्ने प्रमुख केन्द्र थियो। भारतबाट कोही मान्छे भारतीय पैसा लिएर आए वा कोही भारत जानुपर्यो भने उनीहरूले बैंक जसरी पैसा साटिदिने काम गर्थे।
'त्यस बेला त्यसरी पैसा साटिदिने चार–पाँच परिवार नै थिए। उनीहरूले पैसाको भाउ राख्थे। एक रूपैयाँ बराबर कति दिने भनेर दैनिक निर्धारण गर्थे,' उनले भने, 'दिनको जम्मा १५, २० रूपैयाँ साट्नेहरू हुन्थे। त्यति बेला पैसाको कारोबार नै धेरै हुन्थेन।'
२०२२ सालमा नेपाल राष्ट्र बैंक सञ्चालनमा आएपछि उसैले आधिकारिक रूपमा पैसाको कारोबार र साट्ने भाउ निर्क्यौल गर्यो। त्यसयता सराफीको काम विस्थापित भयो। उनीहरूले अर्कै पेसा अपनाए।
असनको डबलीमा भने मरमसला र पूजाआजाका सामग्री बिक्री हुन थाल्यो। नाचको समयमा पहिलेजस्तै यो डबली खाली गरिन्थ्यो।
कुम्हो प्याखँका लागि कुमार छनोट गर्दा पहिले तुलाधर र कंसाकार समुदायका बालकमा गोलाप्रथा हुन्थ्यो। दबलकाजीको समयमा नाचघरमा गोलाप्रथा भएको थियो। गोलाप्रथामा एउटामा 'कुमार' लेखिएको र अन्य कागज खाली हुन्थ्यो। जसले कुमार लेखेको कागज फेला पार्यो, उसैलाई बनाइन्थ्यो।
कुमार बन्ने बालक नै फेला पर्न छाडेपछि जसको परिवारले कुमार बन्न इच्छा देखाउँथे, उसैलाई बनाइन थाल्यो। झन् पछि त आग्रह गर्दा पनि कुनै परिवार तयार भएन।
कुमार बन्ने बालक फेला नपर्नुमा तीन वटा मुख्य कारण देख्छन् दबलकाजी।
पहिलो, जसरी जीवित देवी कुमारीलाई राज्य स्तरबाट सम्मान र सेवा सुविधा छ, त्यो कुमारलाई नहुनु।
दोस्रो, बालकले वर्षभर नीतिनियममा बस्नुपर्छ। बिहानै उठेर नुहाइधुवाइ गरी नित्यनाथको पूजा गर्नुपर्छ। पूजा गर्न जाँदा उसले कसैलाई छुनु हुँदैन। भोजभतेरमा जाँदा पनि गुरुजुको नजिकै बस्नुपर्छ। चोखो खानुपर्छ। कुमार बनेको अवधिभर कुनै आफन्तजनकहाँ रात बिताउनु हुँदैन। उसलाई कसैले टेक्नु वा नाघ्नु हुँदैन।
'यस्ता थुप्रै नियम छन् जसलाई पालना गर्न निकै कठिन छ। आजकलका केटाकेटी स्कुल पढ्न जाने भए। त्यसले गर्दा पनि गाह्रो हुन थाल्यो,' दबलकाजीले भने।
तेस्रो कारण अझै संवेदनशील छ।
दबलकाजीका अनुसार एकपटक कुमार बनेका बालकको निधन भएको थियो। अर्का एक बालकमा गम्भीर मानसिक समस्या देखियो। यी घटनाले पनि परिवारजनलाई सशंकित बनाएको उनी बताउँछन्।
के २६ वर्षदेखि हराइरहेका कुमार फेरि फेला पर्लान् त?
दबलकाजीलाई शंकै छ।
भन्छन्, 'हिजोआज त लाखौं रकम दिन्छु र बालकको शिक्षादीक्षा बेहोर्छुभन्दा पनि कुमार बन्ने व्यक्ति फेला पार्न मुश्किल छ। हरेक वर्ष कुम्हो प्याखँ ब्युताउँने कुरा आउँछ। तर एकपटक कुमार खोजेर नाच सञ्चालन गरौं न भनेर मात्र भएन। वर्षौंसम्म यो परम्परा धान्न गाह्रै होला।'
सबै तस्बिर सौजन्यः दबलकाजी तुलाधर