काठमाडौंमा डेंगी रोगको प्रकोप छ। अस्पतालहरूमा डेंगी लागेका बिरामी आउने क्रम ह्वात्तै बढेको छ। डेंगीबाट बच्न मानिसहरू लामखुट्टेबाट जोगिने अनेक उपाय अपनाइरहेका छन्।
तर धेरैलाई थाहा नहुन सक्छ, डेंगी फैलाउने लामखुट्टेको आनीबानी र आकारप्रकार हामीले चिन्दै आएको लामखुट्टेभन्दा फरक छ।
यो काठमाडौंको हावापानीमा अभ्यस्त हुँदै गएको 'स्मार्ट' लामखुट्टे हो जसबाट बच्न हामी आफैं पनि 'स्मार्ट' हुनुपर्छ। र, यसको निम्ति डेंगी फैलाउने लामखुट्टेको तौरतरिका बुझ्नुपर्छ।
'स्मार्ट' लामखुट्टेको 'स्मार्ट' आनीबानी
सबभन्दा पहिलो कुरा त, यी लामखुट्टे राति आउँदैनन्। दिउँसो सक्रिय हुन्छन्। त्यसैले राति सुत्दा झुल टाँगेर, धूप बालेर टोकाइबाट बचुँला भन्ने छैन।
हामी जतिखेर काममा सक्रिय हुन्छौं, यी लामखुट्टे पनि हामीसँगै आफ्नो काममा सक्रिय हुन्छन्। यो बेला लामखुट्टेको आवाज सुनिन्न। आकार यति सानो हुन्छ, झट्ट देखिँदा पनि देखिँदैन।
पहिलेका लामखुट्टे प्याट्ट मार्दा पिच्च रगत आउँथ्यो। त्यो हाम्रो शरीरबाट चुसिएको रगत हो। यी लामखुट्टे मार्दा रगत आउँदैन। कालो, फुस्रो धूलोजस्तो देखिन्छ।
हामी बस्दाबस्दै शरीरमा चिलाएजस्तो हुन्छ। हेर्दा मसिना बिबिराहरू आइसक्छन्। ती बिबिरा बिस्तारै शरीरका अरू भागमा फैलिन्छन्। केही बेर नराम्ररी चिलाउँछ। कहिलेकाहीँ बिबिरा बढेर ठूल्ठूला फोका पर्छन्। यस्तो भयो भने सम्झनुस्, तपाईं 'स्मार्ट' लामखुट्टेको टोकाइमा पर्नुभयो।
यो लामखुट्टेबारे जान्न हामीले केही समयअघि कीरा विशेषज्ञ इशान गौतमसँग कुरा गरेका थियौं। उनी स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालय, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक हुन्। उनले लामखुट्टेबारे अध्ययन–अनुसन्धान गर्दै आएका छन्।
उनका अनुसार सूर्यको प्रकाशमा बढी सक्रिय हुने यो 'एडिज' प्रजातिको लामखुट्टे हो। यसले डेंगी भाइरस ओसार्छ।
काठमाडौंमा यो प्रजातिको लामखुट्टे पहिलोपटक सन् २००९ मा पत्ता लागेको उनले बताए। त्यति बेला काठमाडौं र ललितपुरमा गरिएको एक अनुसन्धानले यहाँको हावापानीमा पनि डेंगी लामखुट्टे सक्रिय देखेर अनुसन्धानकर्ता चकित परेका थिए।
विगतमा यस्तो लामखुट्टे अत्यधिक गर्मी हुने मधेसको हावापानीमा मात्र पाइएको थियो। चितवन, तुलसीपुर, नेपालगन्ज, विराटनगर र वीरगन्जमा बढी सक्रिय थियो। अहिले यसले काठमाडौंलाई समेत आफ्नो घर बनाइसकेको छ।
कहाँ हुर्कन्छन् यी लामखुट्टे?
एडिज लामखुट्टे दुई किसिमका हुन्छन् — एडिज इजिप्टाइ र एडिज अल्बोपिक्टस।
हामीलाई टोक्ने प्रजाति 'एडिज इजिप्टाइ' हो। यसको आनीबानी नै हाम्रो लागि जोखिमपूर्ण छ। यसले हाम्रो घरभित्रै आफ्नो जीवनचक्र चलाउँछ। यो अल्बोपिक्टसभन्दा चहकिलो कालो हुन्छ।
अल्बोपिक्टस झाडी र बारीमा बढी सक्रिय रहन्छ। त्यसैले सहरी क्षेत्रमा त्यति देखिन्न। इजिप्टाइ भने हामीबीच नै हुर्कंदै जान्छ।
हामी सधैं सुन्छौं, घरवरिपरि फोहोर पानी छ भने लामखुट्टेको बिगबिगी बढ्छ। तर यो लामखुट्टेको स्वभाव फरक हुन्छ। यसलाई फोहोर होइन, सफा पानी चाहिन्छ। सफा पानीमै फुल पार्छ।
बाल्टिन, ड्रम वा कुनै सानो भाँडोमा थोरै पानी छ भने पनि त्यहाँ आफ्नो घर बनाइहाल्छ। त्यहीँ फुल पार्छ। त्यहीँ 'लार्भा' हुर्किन्छन्। मिनरल वाटर बोतलको बिर्कोमा अलिकति पानी जम्मा छ भने पनि यसको जीवनचक्र चल्छ। प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यान, गमलामुनि पानी तर्काउन राखिएका प्लेट पनि डेंगी लामखुट्टे हुर्कने सहज ठाउँ हुन्।
हामीकहाँ जताततै थोत्रा टायर फालिएका हुन्छन्। यी टायरमा पानी जम्मा भएर बस्छ। यताउता हल्लाउँदा पनि हत्तपत्त पानी खस्दैन। यही पानी लामखुट्टे हुर्कने सजिलो ठाउँ बनिदिन्छ।
घरका छतमा राखिने पानीट्यांकी पनि यस्तो लामखुट्टेको सजिलो बासस्थान हो। बिर्को खुलेको मौकामा भित्र छिरेर फुल पार्न पायो भने ह्वारह्वार्ती फैलिन्छ।
सफा पानीमा हुर्कने आनीबानीकै कारण डेंगी लामखुट्टे काठमाडौंमा फैलिएको गौतम बताउँछन्।
'काठमाडौंमा पानी अभाव छ। बाटा, बाल्टिन, ड्रममा पानी जम्मा गरेर नराखी धर छैन,' उनले भने, 'यसरी नै जम्मा गरेर राखेका पानीमा हामी डेंगी लामखुट्टे हुर्काइरहेका छौं।'
डेंगीबाट बच्ने १० उपाय
यो लामखुट्टेले दिउँसो टोक्ने हुँदा न झुलले समस्या टर्छ, न धूपले। औषधि छर्ने हो भने पनि कहाँ-कहाँ छर्ने?
यस्तो लामखुट्टे हाम्रै भान्छामा बोतलको बिर्कोदेखि गमलामुनिको प्लेटमा समेत हुर्किरहेको हुनसक्छ। कहाँ–कहाँ सफा गर्ने?
विश्वमा डेंगी लामखुट्टे नियन्त्रण भएका ठाउँको अनुभव हेर्ने हो भने कडा कानुनले मात्र काम गरेको देखिन्छ। सिंगापुर यसको उदाहरण हो।
सिंगापुरजस्तो सफासुग्घर ठाउँमा पनि केही वर्षअघि डेंगीको प्रकोप थियो। सहरका मूल सडक र रेल्वे स्टेसनहरूमा डेंगीबाट बच्न जनचेतनामूलक बोर्डहरू राखिएका थिए।
यस्ता प्रचारात्मक कार्यक्रमसँगै त्यहाँ कडा कानुन लागू गरियो। घरभित्र र वरिपरि पानी जमाएर राख्नेलाई कारबाही गर्न थालियो। कसैको घरआँगनमा कुनै बोतल, प्लास्टिक भाँडाकुँडा, टायर लगायत डेंगी लामखुट्टे सल्किन सक्ने साधन फेला परे जरिवाना तिराउन थालियो।
श्रीलंका, पाकिस्तान, भारतले पनि डेंगी महामारी रोक्ने अभियान चलाएका छन्। त्यहाँ पानी जम्मा गर्नेलाई चेतावनी र जरिवाना तिराउने गरिन्छ। कार्यान्वयन भने फितलो छ।
यो हदसम्म कानुनी कारबाही र जरिवानाको व्यवस्था नेपालमा तत्काल सम्भव छैन। अर्कातिर हामीकहाँ खानेपानी सधैं अभाव हुन्छ। अधिकांश टोलमा बढीमा साताको एकचोटि पानी आउँछ। पानी जोहो गर्न बाटा, बाल्टिन, ड्रममा जम्मा नगरी धर छैन। पछिल्लो समय आकाशेपानी जम्मा गर्ने चलन पनि बढेकै छ। डेंगी लामखुट्टे यस्तै वातावरणमा फैलिन्छ।
त्यसो भए डेंगीको जोखिम कहिल्यै हट्दैन त?
हामी १० वटा यस्ता सजिला उपाय अपनाउन सक्छौं जसले डेंगी लामखुट्टे नियन्त्रणमा सघाउ पुग्छ।
एक, तपाईंहरूले जुनसुकै भाँडामा पानी जम्मा गर्दा हावा नछिर्ने गरी टम्म बिर्को लगाउनुस्। छतको ट्यांकीमा सधैं कसिलो गरी बिर्को लगाउने बानी गर्नुस्। भूमिगत ट्यांकी छ भने पनि कहिल्यै खुला नछाड्नुस्।
दुई, बिर्को नभएको भाँडामा सकभर पानी जम्मा नगर्नुस्। गर्नैपर्ने भए हावा नछिर्ने गरी छोपेर राख्नुस्।
तीन, आफूले जम्मा गरेको पानी बढीमा दुई–तीन दिनमा प्रयोग गरिहाल्नुस्। त्योभन्दा बढी समय जम्मा गर्दा जतिसुकै सतर्क भए पनि कुनै न कुनै रूपले डेंगी लामखुट्टे छिरेर फुल पार्नसक्छ। एउटा मात्र लामखुट्टे छिरेर फुल पार्न पायो भने पनि रोग फैलाउन पर्याप्त हुन्छ।
चार, घरका भाँडाकुँडा सफासुग्घर राख्नुस्। पानी नभएका बाटा–बाल्टिन सधैं सुख्खा राख्नुस्। अलिकति पानी पनि लामखुट्टेलाई फुल पार्ने घर बन्न सक्छ। त्यसैले पानी जम्मै तर्काएर–सुकाएर घोप्ट्याउने गर्नुस्। फ्रिजको पछाडि जम्ने पानी सकेसम्म दिनकै वा कम्तीमा तेस्रो दिनसम्म फ्याँकिसक्नुस्।
पाँच, गमलामुनिको प्लेटमा पानी जम्न नदिनुस्। पानीमा राखिएका फूल-बिरूवा भए बढीमा दुई दिनमा पानी फेर्नुस्। बरन्डा वा छतमा पानी जमेको भए बडारकुँडार पारेर फ्याँक्नुस्।
छ, बाथरूम, ट्वाइलेट, भाँडा माझ्ने ठाउँ र स-साना मगमा पानी जमेको छ कि याद गर्नुहोस्। ट्वाइलेट प्रयोग गरे पनि, नगरे पनि हरेक एक-दुई घन्टामा फ्लस गर्ने बानी गर्नुस्। फ्लस गर्न पानी छैन भने कमोडलाई प्लास्टिकले टम्म कस्नु राम्रो।
सात, आकाशको पानी जम्मा गर्ने भाँडो थापेर धेरै दिन नराख्नुस्। पानी परेका बेला थाप्नुस्, चलाउनुस् र भाँडो सुकाइहाल्नुस्। यी भाँडाकुँडामा विषादी छर्नु हुँदैन।
आठ, झ्याल–ढोकामा जाली लगाउनुस्। यो जुनसुकै लामखुट्टे रोक्न काम लाग्छ।
नौ, सकेसम्म लामखुट्टेको टोकाइबाट बच्नुस्। दिउँसो सुत्दा झुल टाँगेर मात्र सुत्ने गर्नुस्।
दस, बारी वा पानी भएका ठाउँमा काम गर्न जाँदा पूरा बाहुला भएका लुगा लगाउनुस्। हातखुट्टामा लामखुट्टेले नटोक्ने मह्लम घस्नुस्।
झर्को नमान्ने हो भने यी उपाय खासै अप्ठ्यारा छैनन्। तर यो काम एक्लो घरले गरेर हुँदैन। टोल–गाउँका सबैले गर्नुपर्छ।
डेंगी कत्तिको डरलाग्दो रोग हो?
यो लामखुट्टे रोकथाम गर्न जति गाह्रो छ, डेंगी रोगबाट ज्यान जाने सम्भावना उति कम हुन्छ।
डेंगी भाइरसका चार प्रकार हुन्छन्। पहिलो प्रकार (टाइप–१) को भाइरसमा सामान्यतया ज्वरो, रूघाखोकी, टाउको दुख्ने र एकदमै धेरै जीउहात गल्छ। आँखाका गेडी फुट्लाजस्तो हुन्छ।
यस्तो अवस्थामा सामान्य पारासिटामोल र झोलिलो पदार्थ खाए त्यसै ठिक हुन्छ। धेरैले त डेंगी लागेको थाहा पनि पाउँदैनन्।
कोही–कोहीमा भने आँखा, नाक, मुखबाट रगत बग्ने लक्षण देखिन्छ। यस्तो अवस्थामा पुगेको मान्छेले राम्ररी उपचार नपाए ज्यान जान सक्छ।
एकपटक टाइप–१ भाइरसयुक्त लामखुट्टेले टोकेर कसैलाई डेंगी लाग्यो र ऊ पारासिटामोल खाएर ठिक भयो। अर्कोपटक फेरि त्यही भाइरसयुक्त लामखुट्टेले टोके उसलाई खासै फरक पर्दैन। त्यही मान्छे टाइप–२ वा अरू प्रकारका भाइरससँग संक्रमण भयो भने जोखिम बढ्छ। जटिलता बढ्छ।
डेंगी लागेपछि रगतमा प्लेटलेट्सको मात्रा घट्दै जानु चाहिँ चुनौतीपूर्ण हो। यसको निम्ति नियमित रगत परीक्षण गराउनुपर्छ। प्लेटलेट्स सामान्य छ भने अस्पताल भर्ना हुनुपर्दैन। घरै बसेर उपचार गराउन सकिन्छ। प्लेटलेट्स न्यूनतम विन्दुभन्दा निकै कम भयो भने चाहिँ अस्पताल नगई हुन्न।
अर्को महत्वपूर्ण कुरा, जीउ दुख्ने वा ज्वरो आउनेजस्ता लक्षण हराइसक्दा पनि डेंगीको असर केही समय बाँकी रहन सक्छ। प्लेटलेट्स कम भइरहनसक्छ। त्यसैले ज्वरो निको भइसकेपछि पनि प्लेटलेट्स नाप्न रगत परीक्षण गराउनैपर्छ।