किसान-मजदुर संघर्ष समितिले बिहीबार माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गर्ने भएको छ।
समितिले मिटर ब्याज तथा ठगीविरूद्ध बिहीबार दिउँसो दुई बजे माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गर्ने बृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै जनाएको छ।
‘काठमाडौंमा सडक संघर्ष सुरू भएको आगामी बिहीबार एक महिना पुग्छ। सो दिन संघर्ष समितिको आह्वानमा किसान-मजदुर मार्च हुँदैछ। विभिन्न दलसँग आबद्ध किसान तथा मजदुर संगठन, अन्य पेशागत संगठन र सम्पूर्ण अधिकारकर्मीलाई यस मार्चमा उत्साहप्रद सहभागिता जनाउन संघर्ष समिति हार्दिक आह्वान गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।
सरकारले दृष्टिबन्धकलगायत अन्य तमसुक अवैध घोषणा गर्दै किसानलाई क्षतिपूर्ति दिनुपर्ने समितिको माग छ।
यस्तै, आफ्नो मागलाई पन्छाउँदै सरकारले सहसचिवको संयोजनमा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल गठन गरेता पनि उक्त कार्यदलमा पीडित पक्षको सहभागिता नभएकाले राज्यप्रति आशा गरे पनि भरोसा गरिहाल्ने आधार नभएको समितिको ठहर छ।
समितिले गिरफ्तार गरिएका मिटरब्याजी साहुहरू धरौटीमा छुट्ने सिलसिला तत्काल बन्द गर, तत्कालै सरकारले ऋणभन्दा बढी रकम तिरिसकेका किसानलाई ऋणमुक्त घोषणा गर, बन्धक बनाइएका जमिन फुकुवा गर्ने प्रतिवद्धतासहित शीघ्र काम थाल जस्ता माग राखेको छ।