ललितपुरको एकान्तकुनाबाट विष्णुदेवी मन्दिर हुँदै नख्खु- भैंसेपाटी जाने सडक एकतर्फी बनाइएको छ।
ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई ध्यानमा राखेर साउन १० गते मंगलबारबाट बिहान ८ बजेदेखिर साँझ ८ बजेसम्म नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधनलाई निषेध गरेको छ।
यस्तै ललितपुरको भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरेको छ।
महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार बढ्दो सवारी चापका कारण एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा प्राय दुर्घटना हुने भएकाले उक्त क्षेत्र एकतर्फी गरेको जनाएको छ। सवारी जाम व्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागि सानो सडक भएकाले एकतर्फी गरिएको हो।
‘ट्राफिक विज्ञ, स्थानीयबासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार हामीले एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन भोलिदेखि आफूहरूले नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउन २५२ मिटर क्षेत्र एकतर्फी गरिएको हो,’ महानगर प्रमुख महर्जनले भने।
ललितपुर नगरप्रहरी प्रमुख सिताराम हाथेछुका अनुसार नख्खु दोबाटोबाट प्रतिमिनेट ४ वटा चार पाङ्ग्रे सवारी गुड्ने गरेका छन्। यस्तै भैंसेपाटीबाट नख्खु दोबाटोतर्फ प्रतिमिनेट ७ वटा सवारी आउने/जाने गर्छन्।
बढ्दो सवारी चाप र हुनसक्ने सम्भावित दुर्घटना रोक्न भोलिदेखि यो सडक एकतर्फी बनाइएको हाछेथुले जानकारी दिए।
महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन क्षेत्र वान वे बनाइसकेको छ।