अछामको साफेबगरमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको छ।
शनिबार बिहान साफेबगर नगरपालिका-३ हाटबजारमा बिहान पौने ४ बजेदेखि आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्स्पेक्टर जय पार्कीले जानकारी दिए।
हाटबजारमा प्रेम खड्काले सञ्चाले गरेको सुभेच्छा म:म सेन्टरबाट आगलागी सुरू भएको थियो। उक्त पसलमा बिजुलीको तार सट भई आगलागी भएपछि आसपास रहेका थप ९ वटा पसलमा पनि आगो सल्किएको इन्स्पेक्टर पार्कीले जानकारी दिए।
आगलागीबा त्यस आसपास रहेका किराना पसल, ब्युटी पार्लर, सुनचाँदी लगायतका विभिन्न व्यवसाय सञ्चालित पसलहरू जलेर नष्ट भएका छन्।
आगलागी बिहान ६ बजेपछि नियन्त्रणमा आएको इन्स्पेक्टर पार्कीले जानकारी दिए।
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू खटेका थिए।
आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेकाले क्षतिको विवरण संकलन भइरहेको इन्स्पेक्टर पार्कीले जानकारी दिए।