मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेबाट आफूमाथि पनि बाल यौन दुरूपयोग भएको भन्दै अर्की पीडित प्रहरीको सम्पर्कमा आएकी छन्।
सोमबार अर्की एक पीडित पनि प्रहरीको सम्पर्कमा आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। तर उनले जाहेरी दिइसकेकी छैनन्।
यसअघि नै पाण्डेविरूद्ध दुई जनाले जाहेरी दिइसकेका छन्। उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र अर्को बाल यौन दुरूपयोगमा जाहेरी परेको छ।
अहिले सम्पर्कमा आएको पनि बाल यौन दुरूपयोग सम्बन्धमै रहेको प्रहरीले जनाएको छ।
‘बाल यौन दुरूपयोग भयो भनेर सम्पर्कमा आएको हो। यसमा जाहेरी आइसकेको छैन,’ प्रहरी उपरीक्षक कोइरालाले भने।
पाण्डेलाई सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले उनीमाथि थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
८ वर्षअघि आफूलाई पाण्डेले बलात्कार गरेको भन्दै मिस ग्लोबल इन्टरनेसनलकी एक प्रतिस्पर्धीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्।
त्यसरी सार्वजनिक भएपछि यसबारेमा संसदमा पनि कुरा उठेको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै छानबिन गरी दोषीलाई कारबाही गर्न भनेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो।
त्यसपछि प्रहरीले कानुनविज्ञहरूसँग सल्लाह गरी पाण्डेविरूद्ध कुन मुद्दा आकर्षित गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने भन्दै छलफल गरेको थियो।
त्यसअनुसार नै प्रहरीले उनलाई शनिबार स्वयम्भूस्थित आफन्तको घरबाट पक्राउ गरेको थियो। प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाएपछि अरूले पनि पाण्डेबाट आफू पीडित भएको भन्दै खुलाएपछि प्रहरीले सम्पर्क गरेको थियो।
अहिले यस घटनाको अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गरिरहेको छ।