निर्माणाधीन छ लेनको गोन्द्राङ–पुलचोक सडकमा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएपछि सरकारले त्यसको छानबिन गर्न कार्यदल गठन गरेको छ ।
टिकौली जंगल नजिकै सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर आइतबार एउटा भाले गैंडाको मृत्यु भएको थियो।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक विस्तारको क्रममा खनिएको खाल्डोमा फसेर दुर्लभ एकसिंगे गैंडा मरेपछि वन तथा वातावरण मन्त्रालयले घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
मंगलबारको मन्त्रिस्तरिय निर्णयबाट १० दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय कार्यदल गठन गरिएको हो।
वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी जनाएको हो ।
कार्यदलको सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत पदमराज नेपाल रहेका छन् ।
कार्यदलले स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्नेछ । त्यस्तै, सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्था, सडक निर्माणका क्रममा को कसको कस्तो जिम्मेवारी, गैंडाको मृत्यु हुनेगरी भएको लापरबाहीको को जिम्मेवारी र कारबाही गर्नुपर्ने भए सोको राय सहितको सुझाव पेस गर्न कार्यदललाई भनिएको छ ।
यसअघि वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले बताइसकेको छ।
सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको निकुञ्जले निष्कर्ष निकालेको थियो।
गैंडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर गैंडा मरेको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको छ।
यो पनि हेर्नुहोस्