आफूमाथि भएको बलात्कार प्रयासविरूद्ध मुद्दा गरेकै कारण पोखरामा एक पीडित अहिले थुनामा पुगेकी छन्।
हर्बल सामान बेच्ने कम्पनीका सञ्चालक तथा बाग्लुङको जैमिनी नगरपालिका स्थायी बासिन्दा हेमन पुनले बलात्कार प्रयास गरेपछि मुद्दामा गएकी लमजुङकी मर्स्याङ्दी(नाम परिवर्तन) अहिले थुनामा छिन्।
बलात्कार प्रयासको मुद्दाबाट आफूले उन्मुक्ति पाउने गरी बयान फेर्न पुनले आफूलाई दबाब र धम्की दिँदै आएको मर्स्याङ्दी बताउँछिन्। भनेको नमानेपछि पुनले बैंकिङ कसुरको मुद्दा लगाएर आफूलाई थुनामा पुर्याएको उनको भनाइ छ।
‘भनेको नमानेपछि अब फसिस भनेको थियो। अझै पनि धम्की आइराखेको छ। मैले मेरो हस्ताक्षर गरेर अफिसमै छोडेको चेक फिर्ता ल्याइदिन प्रहरीमा निवेदन दिँदा समेत कुनै सुनुवाइ भएन,’ उनले भनिन्, ‘पीडितलाई नै जेल हाल्न सबैतिर मिलेमतो गरेका छन्, मलाई असह्य भएको छ।’
उनी लमजुङबाट दस जोड दुई पास भइसकेपछि स्नातक पढ्नका लागि पोखरा आएकी थिइन्।
पोखरास्थित पृथ्वीनारायण क्याम्पस भर्ना भएर पढ्न थालिन्। घरको आर्थिक स्थिति कमजोर भएकाले पढ्नका लागि पैसा जुटाउन उनले जागिर खोज्न थालिन्।
२०७३ मंसिरतिर उनले हर्बलसम्बन्धी सामान बेच्ने एउटा कम्पनीमा काम पाइन्। उनको काम कम्पनीका सामग्रीको मार्केटिङ गर्ने थियो। मार्केटिङको काम गर्दागर्दै पदोन्नति भएर उनी प्रबन्धक बनिन्।
सामान लिन चाहनेले जुनसुकै बेला फोन गरेर सामान मगाउँथे। शनिबारका दिन बिदा भए पनि ग्राहकले सामान मगाए जानुपर्थ्यो।
२०७७ साउन ३१ गते त्यस्तै भयो।
उनलाई ग्राहकले फोन गरेर सामान अर्डर गरे। उनले कम्पनीका सञ्चालक समितिका सदस्य हेमन पुनलाई जानकारी गराइन्। पुनलाई जानकारी गराउनु उनको पेशागत जिम्मेवारी थियो।
पुनले सामान निकालेर ग्राहकलाई दिन स्वीकृति दिए। उनीहरूको कार्यकक्ष एउटै थियो। उनीहरू दुवै जना मिलेर कम्पनीको मार्केटिङ र व्यापारको काम गर्थे।
मर्स्याङ्दी अफिस आएको थाहा पाएपछि पुन पनि आए।
कार्यालय पुगेर मर्स्याङ्दीले बत्ती बालिन् र अर्डर अनुसारको सामान निकालिन्। सामान लिएर बाहिर निस्किन लाग्दा बेलुकीको करिब ७ बजेको थियो। अकस्मात बत्तीहरू निभे।
पुन आएर स्वीच अफ गरेका थिए।
मर्स्याङ्दीले सोधिन्- किन बत्ती अफ गरेको?
पुनले शनिबारका दिन रात पर्न लागेको हुँदा बाहिरी मान्छेले नराम्रो ठान्छन् भनेर बत्ती निभाएको जवाफ दिए। मर्स्याङ्दीले आवश्यक सामान निकालिसकेकाले बाहिर निस्कन खोजिन्। पुनले भने कुरा गर्नुछ भनेर भित्रै बस्न लगाए।
अघिल्लो दिनको बैठक, खाजा खर्च लगायतका विषयमा पुनले कुरा निकालिरहे।
यत्तिकैमा पुन आफ्नो कुर्चीबाट उठे। पछाडिबाट मर्स्याङ्दीलाई समाते। उनी फुत्किन जोडबल गरिन्।
'तिमीलाई केही हुँदैन, तिम्रो विवाह पनि भएको छैन, कसैलाई थाहा हुँदैन' भन्दै फकाउन खोजे। मर्स्याङ्दी भने पुनको कब्जाबाट फुत्किन प्रयास गरिरहिन्।
उनले निरन्तर प्रतिकार गरेपछि पुनले धम्क्याउन थाले। अपशब्द प्रयोग गरेर गाली गरे।
उनले आक्रमण गर्दा मर्स्याङ्दीले कन्चटमा कोपरिदिइन्। रन्थनिएका पुनको पञ्जाबाट मर्स्याङ्दी फुत्किइन्। त्यही मौकामा उनले टेबुलको घर्राबाट एउटा सानो घन निकालेर पुनलाई प्रहार गरिन्। पुनले घन समातेर खोस्न खोजे। उनीहरूबीच घन खोसाखोस गर्दागर्दै बाहिरको ढोकासम्म पुगे।
घन खोसेर पुन बाहिर निस्किए। बाहिरबाट ढोकाको चुकुल लगाइदिए। यो विषयलाई लिएर बाहिर कतै उजुर–बाजुर गरे उल्टो फसाइदिने धम्की पनि पुनले दिन भ्याएका थिए।
कार्यालयभित्रै भएको हल्लाखल्ला बाहिरसम्म पुगिसकेको थियो। छिमेकी र घुमुवा प्रहरी तत्काल घटनास्थल पुगेर मर्स्याङ्दीलाई थुनिएको ढोकाको चुकुल खोलिदिए।
यसरी पुनले योजनाबद्ध बलात्कार प्रयास गरेको मस्याङ्दीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
पीडक पुन पक्राउ परे। उनले प्रहरी र अदालतमा बयान गर्दा मर्स्याङ्दीले आफूसँग लाखौ रुपैयाँ लिएको बताएका छन्।
२०७७ भदौ ९ पुनले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरी निरीक्षक कृष्ण बस्यालसमक्ष दिएको बयानमा मर्स्याङ्दीले पटक-पटक गरी ५८ लाख ५० हजार रुपैयाँ लगेको उल्लेख गरेका छन्।
उनै पुनले जिल्ला अदालतमा दिएको बयानमा पटक-पटक गरी ५५ लाख रुपैयाँ जति रकम लगेको भनेका छन्। प्रहरी र अदालतको उनको बयानमा रकमको अंक फरक छ।
उनले नगद नै रकम दिएको र प्रमाण भने आफूसँग केही नरहेको बयानमा उल्लेख गरेका छन्।
उनले जे बयान दिए पनि जाहेरी, स्वास्थ्य परीक्षण, घटनास्थलको मुचुल्का लगायत प्रमाणका आधारमा जिल्ला अदालत कास्कीले बलात्कार प्रयास भएको ठहर गरेको छ।
जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले गत भदौ १० गते दिएको आदेशमा पुनलाई न्युनतम सजाय तोक्दै ३ वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ क्षतिपूर्ति दिन फैसला गरेको छ।
फैसला भैसकेपछि पुनले मर्स्याङ्दीलाई फसाउन लेनदेनको तानाबाना बुनेको पीडित पक्षको दाबी छ।
पुनको कम्पनीमा काम गर्दा आफ्नो बैंक खाताको खाली चेकमा सही गरेर आफ्नै टेबलको घर्रामा राखेकी थिइन्। यसअघि पुन र मर्स्याङ्दी दुवैले एक अर्काको चेक प्रयोग गर्ने समेत गरेको उनी बताउँछिन्।
बलात्कार प्रयास भएपछि मर्स्याङ्दी कार्यालय गएर आफ्नो सामग्री ल्याउन सकिनन्। उनले सही गरेर छाडेको खाली चेक समेत त्यहीँ छुट्यो।
त्यही चेक दुरूपयोग गरेर पुनले आफूलाई फसाएको मर्स्याङ्दी बताउँछिनन्।
बलात्कार मुद्दा लगाए बदला लिने बताएका पुनले मुद्दाको पुनरावेदनमा बयान फेरेर उन्मुक्ति दिन दबाब दिइरहेका छन्। नदिए लेनदेनमै फसाइदिने धम्की बारम्बार दिइरहेको मर्स्याङ्दी बताउँछिन्।
यस्ता धम्की सुरूदेखि नै आउन थालेका थिए। धम्की आउन थालेपछि २०७७ भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा मर्स्याङ्दीले चेक फिर्ता दिलाइमागेर उजुरी दिएकी थिइन्। उनले उजुरीमा कार्यालयको ड्रअरमा प्रभु बैंक बगर शाखा र कामना सेवा विकास बैंक चिप्लेढुङ्गा शाखामा खाता रहेको चेकबुकमा सही गरेर राखेको उल्लेख गरेकी छन्।
बलात्कार मुद्दा चलिरहँदा नै पुन पक्षले उक्त चेकबुक फेला पारेको र त्यसैका आधारमा फसाइदिने धम्की दिएको उल्लेख गरेकी छन्।
बलात्कार मुद्दामा बयान फेर्न पुनकी श्रीमती याममाया थापासहितले पटकपटक दवाब दिएको, सही गरेर राखेको चेकको दुरूपयोग गर्ने धम्की दिएको भन्दै मर्स्याङ्दीले आफ्नो चेक फिर्ता गराइदिन र चेक दुरूपयोगउपर कारबाही गर्न प्रहरीलाई अनुरोध गरेकी थिइन्।
बलात्कार मुद्दामाथि फैसला हुनुअगावै मर्स्याङ्दीले दिएको उक्त बेहोराको निवेदन उपर प्रहरीले अहिलेसम्म कुनै कारबाही गरेको छैन।
प्रहरीमा चेक दुरूपयोगको निवेदन दिएकै दिन २०७७ भदौ २५ मा उनले प्रभु बैंक र कामना सेवा बैंकमा पनि आफ्नो खाताबाट कारोबार रोक्का गर्न निवेदन दिएकी थिइन्। बैंकले पनि उनले दिएको निवेदन अनुसार खाता रोक्का गरेन।
मर्स्याङ्दीले मुद्दामा होस्टाइल गर्न नमानेपछि पुनले बैंकिङ कसूर र चेक अनादर मुद्दा दिएका छन्।
‘समयमै प्रहरी र बैंकले पीडितले दिएको निवेदन अनुसार चेक फिर्ता र बैंकिङ कारोबार रोक्का गरेको भए पीडितले थप पीडा पाउने अवस्था आउथेन,’ पीडितका एक आफन्तले भने, ‘बलात्कारजस्तो मुद्दाका पीडितलाई फसाउन प्रहरी र बैंकको पनि मिलेमतो देखियो।’
बलात्कार प्रयासको सजाय काटिरहेका पुनले मर्स्याङ्दीको नामका २ वटा चेक दुरूपयोग गरेको पीडित पक्षको आरोप छ।
उनको नाममा रहेको कामना सेवा विकास बैंकको एउटा चेकमा ४७ लाख रुपैयाँ पुनलाई भुक्तानीका लागि २०७७ साउन २९ मा काटिएको देखिएको छ।
चेक काटेको तर बैंकमा पैसा नभएको भन्दै पुन पक्षले मर्स्याङ्दीविरूद्ध बैंकिङ कसूरको जाहेरी दिए।
पुनले जिल्ला अदालतमा प्रभु बैंकको ८ लाख रुपैयाँको चेक सटही नभएको भन्दै चेक अनादरको अर्को मुद्दा जिल्ला अदालतमा पनि दिएका छन्।
दुवै अदालतको बयानमा मर्स्याङ्दीले उक्त चेकको हस्ताक्षर आफ्नो भएको तर विवरण आफूले नलेखेको बताएकी छन्।
उक्त चेकका आधारमा लागेको मुद्दामा उच्च अदालत पोखराले पुस २६ गते आदेश दिएर थुनामा पठाएको छ।
उच्च अदालत पोखराका न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र रमेशप्रसाद राजभण्डारीको संयुक्त वाणिज्य इजलासले ४७ लाख रुपैयाँ बराबरको नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेण्टी दिए तारेखमा छाड्न आदेश दिएको छ।
मर्स्याङ्दीलाई बैंकिङ कसूर र चेक अनादर मुद्दा लगाएका पुनसँग त्यतिका रकम दिएको प्रमाण छैन। त्यसको खोजी प्रहरी र अदालत दुवैले गरेका छैनन्। न त प्रहरी र बैंकमा मर्स्याङ्दीले आफ्नो चेक पुनकै अफिसमा छोडिएको भनेर दिएको निवेदन हेरेका छन्।
कमजोर आर्थिक अवस्थाको पारिवारिक पृष्ठभूमि भएकी मर्स्याङ्दीले धरौटी बुझाउन नसकेपछि अहिले थुनामा छिन्।
उनका परिवारले छुटाउन वडा कार्यालयको सिफारिसमा घर जग्गाको धितो राख्ने भन्दै वडा अध्यक्षले पठाएको मूल्यांकन पेस गरेका थिए।
तर अदालतले वडा कार्यालयको मूल्यांकन अस्वीकार गर्यो, जिल्ला मालपोतको मूल्यांकन सिफारिस माग्यो। पीडित परिवारले मालपोत जाँदा सरकारी दरभाउमा घर जग्गाको मूल्य ४७ लाख आउन नसकेको उनका परिवारका एक सदस्यले जानकारी दिए। उजुरी दिएकै भरमा मर्स्याङ्दीलाई थुनामा पठाउने आदेश मिलेमतोमा पो भएको हो कि भन्ने आशंका पीडित पक्षको छ।
यसबारे उच्च अदालत कास्कीका रजिष्टार श्रीलाल पौडेलले अदालतबाट आदेश भइसकेपछि फिर्ता गर्न नमिल्ने बताए।
‘उहाँहरू सर्वोच्च अदालत गएर आदेश रद्द गर्न सक्नुहुन्छ, यहाँबाट आदेश भइसकेपछि फिर्ता गर्न मिल्दैन,’ पौडेलले भने, ‘हामीसँग अरू विकल्प छैन।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले पनि उक्त घटनाका बारेमा आफूले बुझ्नपर्ने बताए।
‘यसबारे बुझेर मात्र भन्न सक्छु,’ उनले भने।
बलात्कार प्रयास जस्तो गम्भीर अपराध प्रमाणित भएका पुनले जेलभित्रै बसेर आफूलाई फसाउन खोजेको पीडितले बताइन्।