विद्यार्थी रामजी रामसहित चारै जना विद्यार्थीलाई नेसनल मेडिकल कलेजले परीक्षा फारम भर्नबाट बञ्चित गराएको छ।
एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् रामजी राम र पंकज राम, चौथो वर्षमा अध्ययनरत् रूकेशकुमार राम र प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा फारम भर्न नदिएको हो।
गैरकानुनी शुल्क माग्दै कलेजले फारम भर्न नदिएको विद्यार्थीले बताए।
चिकित्सा शिक्षा आयोगको दबाबपछि मंगलबार फारम भर्न भन्दै कलेजले चारै जनालाई बोलाएको थियो।
चारै जना विद्यार्थीलाई कलेजले होस्टल, त्रिविले तोकेको परीक्षा दस्तुर, रजिष्ट्रेसन, ल्याब, लाइब्रेरी, इन्टरनेटको पैसा मागेको छ।
रामजी रामलाई १ लाख ८५ हजार ९ सय ८३ रूपैयाँ पैसा मागेको छ। उक्त रकम होस्टल खर्च, त्रिवि परीक्षा शुल्क, रजिष्ट्रेसन, ल्याब, लाइब्रेरीलगायतको हो।
उनी होस्टल बस्दैनन्। यस्तै, पंकज रामलाई २४ हजार रूपैयाँ अतिरिक्त शुल्क मागेको छ।
रामजी र पंकज रामको परीक्षा यही साउन १० गतेदेखि हुन्छ। उनीहरूको फारम भर्ने अन्तिम मिति हिजो मंगलबार थियो।
रूकेश र प्रमोदको परीक्षा रूटिन भने सार्वजनिक भइसकेको छैन। चारै जनालाई विभिन्न शीर्षकमा शुल्क माग्दै नेसनल मेडिकल कलेजले उक्त रकम नबुझाएसम्म परीक्षा फारम भर्न नदिएको हो।
सरकारी छात्रवृत्तिमा अध्ययनरत् चारै जनाले चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) गुहारेका थिए।
कलेजले रामजी र पंकजलाई परीक्षा फारम भर्नुअघि स्पष्टीकरणसमेत सोधेको थियो।
‘हामी चारै जनालाई परीक्षा फारम भर्न दिइएको छैन, मंगलबार बोलाइएको थियो, फेरि बुधबार बिहान आउनू भनियो,’ रामजीले सेतोपाटीसँग भने, ‘जाँदा शुल्क नबुझाएसम्म फारम भर्न नदिने भनेर कलेजले अडान राख्यो।’
परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको थियो, त्यो उनले तिर्न नपर्ने शुल्क हो। त्यो पैसा भने कलेजले छोडिदिएको छ।
त्यसबाहेक होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागेको थियो।
उनले हालसम्म कलेजलाई तिर्नुपर्ने शीर्षकमा ८ लाख ६४ हजार रुपैयाँ बुझाइसकेका छन्।
रामलाई गत साल एउटा परीक्षा दिनबाट कलेजले बञ्चित गराएको थियो।
पंकजसँग वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको थियो। यो तिर्नु नपर्ने शुल्क हो।
होस्टल खर्च १५ हजार ८३४ रुपैयाँ, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको थियो।
तर, पंकजले यसअघि नै बुझाएको पैसाबाट कटौती गरी बाँकी २४ हजार रूपैयाँ मागेको रामले बताए।
रूकेशकुमारलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको थियो।
प्रमोदकुमारलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको थियो।
यसअघि कलेज सञ्चालक बसरूद्दिन अन्सारीले विद्यार्थीलाई परीक्षा फारम भर्न दिने बताएका थिए।