पोखराको पर्यटन फेवातालमा आश्रित छ। फेवातालमा आश्रित परम्परागत समुदाय जलारीलगायत अहिले पनि माछा मारेरै जिविका चलाउँछन्।
मान्छेको मात्रै होइन, माछा, चरा, किरा, फट्याङ्ग्रा लगायत वन्यजन्तुले पनि सबभन्दा मन पराउने बासस्थान पनि सिमसार नै हो।
सिमसारविद् डा. शलु अधिकारी भन्छिन्, ‘जसले पारिस्थितिकीय प्रणाली जोगाउँदै मान्छेसहित सबै प्राणीलाई सेवा मात्रै गर्छ।’
अन्य प्राणीका जस्तै मानिसका लागि पनि सबभन्दा उपयुक्त बासस्थान सिमसार आसपासमै रहेको उनी बताउँछन्।
‘विश्वका अधिकांश मानिस सिमसार आसपासमै बसेका छन्’, सिमसारमै विद्यावारिधि गरेकी डा. शलु भन्छिन्, ‘सिमसारले बाढी पहिरोको ‘टेन्सन’ रोक्छ, कार्बन सञ्चित गर्छ, मानिसका लागि सिमसारले लिने केही छैन, दिने मात्रै छ।’
पोखराको सिमसार क्षेत्रमा बढ्दै गएको अतिक्रमण देखेर उनी दिक्क छिन्।
उनले भनिन्, ‘अहिले पनि सिमसार पुरिएको पुरियै छ, यसको परिणाम धेरै टाढा जानुपर्दैन, १० वर्षमै देखिन्छ।’
व्यवसाय विस्तारका नाममा अहिले फेवाताल र यसको जलाधार क्षेत्र मिच्न होडबाजी चलेको छ, जोगाउन तीनै तहका सरकारले बेवास्ता गरेको छ।
कोरोना महामारीको दोस्रो लहर रोक्न भएको लकडाउनको मौका छोपेर खपौंदी र पामेमा ठूलो मात्रामा ढुंगा माटो लगेर पुरियो।
पोखरा महानगरले हजार ट्रिप बढी टिपरमार्फत् सिमसारमा ढुंगा माटो खन्याएपछि तत्कालका लागि सिमसार पुर्न रोक्यो, तर पुरिएका ढुङ्गा माटो निकाल्न अझै चाहेको छैन।
फेवातालको मुहानतर्फ जाने बाटो खपौंदीमा रेष्टुरेण्ट संचालन गर्न र पामेमा पार्टी प्यालेस लगायत व्यापारिक संरचना बनाउन सिमसार पुरिएका हुन्।
खपौंदी र पामेमा टिपरमार्फत हजार खेप बढी ढुङ्गा माटो लगेर खन्याएको स्थानीयले बताएका छन्। लकडाउनको मौका छोपेर रातारात व्यवसायीले सिमसार पुरेका थिए।
सिमसार पुर्न तत्कालका लागि रोके पनि यसबाट समाधान ननिस्कने सम्बन्धित वडाका अध्यक्षहरूले बताएका छन्।
पोखरा-१३ का पामेका वडा अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले सिमसार जोगाउन व्यवसायीले पुरेका ढुङ्गा माटो निकाल्न प्रस्ताव गरेका छन्। यत्तिकै छाडिदिए जुनसुकै बेला संरचना बनाउने र अरूलाई पनि सिमसार पुर्न प्रेरणा मिल्ने उनको तर्क छ।
यस्तै, पोखरा-१८ का वडा अध्यक्ष रणबहादुर थापाले पनि पुरिएका सिमसार क्षेत्रका ढुङ्गा माटो निकालेर अन्यत्र लैजानुपर्ने बताए।
यी दुबै वडा अध्यक्षले सिमसार जोगाउन आफूहरू जति लागे पनि नसकेको बताए।
‘सुरूमा ढुंगा माटो राख्ने मात्रै हो भनेर थुपारे, पछि डोजर लगाएर सम्याएछन्’, वडा अध्यक्ष पराजुलीले भने, ‘माफियाले रातारात सिमसार पुरे, हाम्रो केही लागेन।’
फेवातालको जलाधार क्षेत्र संरक्षणमा काम गरिरहेका वातावरणविद् राजु आचार्यले पनि सिमसारमा खन्याएको ढुंगा माटो निकाल्नुपर्ने बताए।
‘फेवाताल अतिक्रमण हुन नदिन र भविष्यमा अरूलाई पनि गर्न नदिन अहिले खन्याएको ढुङ्गा माटो निकाल्नुपर्छ’, आचार्यले भने, ‘सरकारमा बस्नेहरूको मनमा फेवाताल जोगाउँछु भन्ने लाग्छ भने उठाउनै पर्छ, यसले सिमसार संरक्षणको पक्षमा सन्देश पनि दिन्छ।’
यता, पोखरा महानगरले सिमसार अतिक्रमण गर्नेलाई सामान्य जरिवाना तिराएर छाड्ने गरेको छ।
पामेमा सिमसार पुर्दै गरेको देखेपछि पोखराका मेयर मानबहादुर जिसीले ४ वटा टिपरको चाबी खोसेका थिए।
उनीहरूलाई प्रतिटिपर ५० हजार जरिवाना तिराएर छाडेका थिए। यसरी सामान्य जरिवाना लिएर छाड्दा अतिक्रमणलाई झनै बल पुगेको आचार्यले बताए।
‘सिमसार अतिक्रमण गर्नेलाई जति क्षति भएको हो, कारबाही पनि त्यति नै गर्नुपर्छ’, आचार्यले भने, ‘सिमसार अतिक्रमण गर्नेलाई उचित कारबाही नभएकै कारण अतिक्रमणकारी सलबलाएका हुन्।’
सिमसार पुरिएका ढुङ्गा माटो निकाल्न पोखरा महानगरले अहिलेसम्म कुनै योजना बनाएको छैन।
अतिक्रण रोक्न गाह्रो भएको भन्दै मेयर मानबहादुर जिसीले फेवाताल थेग्नै गाह्रो भएको बताएका थिए। सिमसारमा खन्याएका ढुङ्गा माटो निकाल्ने विषयमा सम्पर्क गर्न खोज्दा जिसी सम्पर्कमा आउन चाहेनन्।
महानगरका उपमेयर मञ्जुदेवी गुरुङले सिमसार क्षेत्र पुरेर बदमासी गरेको बताइन्। सिमसारमा ढुङ्गा माटो थुपारेर डोजर लगाएको भन्दै उनले त्यसलाई निकाल्न महानगरले डोजर चलाउँदा फेरि क्षति हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताइन्।
‘सिमसार पुरेर तिनीहरूले बदमासी गरे, पुरिएका ढुङ्गा माटो कोदालोले खनेर हुँदैन’, उनले भनिन्, ‘डोजर लगाएर निकाल्न पनि त नमिल्ने होला नि!’
महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले पनि सिमसारमा खन्याएको ढुङ्गा माटो निकाल्न कुनै योजना नभएको बताए।
अतिक्रमण हटाउँदा झडप नै हुने स्थिति आउने भन्दै उनले पुरिएका ढुङ्गा माटो निकाल्न छलफल नै नभएको बताए।
प्रशासकीय अधिकृत बरालले इङ्गित गरेको झडपको अवस्था यसअघि खपौंदीस्थित फेवाताल मिचेर लगाएको पर्खाल भत्काउन खोज्दा आएको थियो।
स्थानीय व्यवसायीले फेवातालमै पर्खाल लगाएको भन्दै व्यापक आलोचना भएपछि महानगरको टोली भत्काउन गएको थियो।
व्यापक सुरक्षाकर्मी र डोजर लिएर पर्खाल भत्काउन गएको महानगरको टोली त्यत्तिकै फर्केको थियो। अहिले पनि उक्त संरचना महानगरले भत्काउन सकेको छैन। पर्खालभित्र नै फेवातालको पानी टिलपिलाइरहेको छ।
फेवाताल र सिमसार क्षेत्र संरक्षणमा कुनै कसर बाँकी नराख्ने गण्डकी सरकारका प्रवक्ता एवं सामाजिक विकास मन्त्री कुमार खड्काले बताए।
प्रदेश सरकारको क्षेत्राधिकार हेरेरमात्रै आफूहरूले काम गर्न सक्ने भन्दै उनले पोखरा महानगरसँग समन्वय गरेर फेवाताल र सिमसार क्षेत्रको संरक्षणमा जुट्ने बताए।
‘फेवाताल पोखराको ‘लाइफलाइन’ हो’, खड्काले सेतोपाटीलाई भने, ‘फेवातालको प्रकृति जोगाउन बजेट र नीतिगत रूपमै महानगरसँग समन्वय गर्न तयार छौं।’
प्रदेश सरकार निर्माण र बजेट बनाउन समय खर्च भएको भन्दै प्रवक्ता खड्काले ताल संरक्षणका विषयमा कुनै कसर बाँकी नराख्ने बताए।
सर्वोच्च अदालतको फैसला र यसअघिको सरकारले गरेका उपलब्धी अध्ययन गरेर आफूहरू अघि बढ्ने उनको भनाइ छ।
गण्डकी सरकारले सिमसार क्षेत्र संरक्षण गर्न ताल संरक्षण प्राधिकरण बनाएको छ।
प्राधिकरणका प्रमुख डा. अनुप गुरूङले पोखरा महानगर र प्रदेश सरकारसँग समन्वय गरेर सिमसारमा पुरिएका ढुङ्गा माटो निकाल्ने विषयमा निर्णय लिने बताए।
‘सिमसार पुरेको म पनि गएर हेरें, साह्रै दुखद स्थिति छ’, उनले भने, ‘पोखरा महानगरसँग समन्वय गरेर के गर्ने निर्णय गर्छौं, फेरि हामी सिमसार क्षेत्रको निरीक्षणमा जान्छौं।’
व्यवसायीले निजी जग्गा भन्दै सिमसार पुर्ने र व्यवसायिक संरचना बनाउने गरेका छन्। तर पोखराको फेवातालसहित ९ वटा ताल नै अन्तर्राष्ट्रिय महत्व बोक्ने रामसार क्षेत्रमा सूचीकृत छन्।
रामसारमा सूचीकृत सिमसारमा व्यक्तिगत जग्गाको नाममा अतिक्रमण गर्न र त्यहाँको पर्यावरण बिथोल्न नपाइने वातावरणविद् राजु आचार्य बताउँछन्।
सन् १९७१ मा इरानको रामसार सहरमा जलपंक्षी संरक्षण गर्न विश्वभरका वैज्ञानिकहरूको सम्मेलनले रामसार महासन्धी पारित गरेको थियो।
उक्त सन्धीले अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रलाई रामसार क्षेत्र घोषणा गरेको थियो। नेपाल सरकारले १९८७ मै रामसार महासन्धी अनुमोदन गरेको थियो।
‘रामसार क्षेत्रलाई व्यक्तिगत जग्गा भनेर जे मन लाग्यो त्यही गर्न मिल्दैन’, वातावरणविद् आचार्य भन्छन्, ‘सिमसार नै रहेन भने रामसार क्षेत्रबाट फेवाताल जलाधार क्षेत्र बाहिरिन सक्छ।’
पछिल्लो पटक सिमसार क्षेत्र पुर्न पोखरा व्यवसायी युवराज खतिवडा, जग्गाधनी विष्णु तिमिल्सिनालगायत लागिपरेका थिए।
उनीहरूले पोखराकै खपौंदीमा बि एण्ड बि कम्पनीले अपार्टमेन्ट र बाराही ग्रुपले रिसोर्ट बनाउँदै गर्दा निस्किएको ढुङ्गा माटो सिमसार पुर्न पठाएका थिए। बि एण्ड बि कम्पनीका संचालक विमल बस्याल हुन् भने बाराही ग्रुपका अध्यक्ष विप्लव पौडेल हुन्।
फेवाताल संरक्षणमा पैरवी गर्दै आएका वातावरणविद् राजु आचार्यले व्यवसायीका अगाडि सरकारले केही गर्न नसकेको बताए।
‘चुनावमा उनीहरूकै पैसाले चल्छन्, त्यही भएर जनप्रतिनिधिले केही गर्न सक्दैनन्’, उनले भने, ‘व्यवसायीको स्वार्थ अनुसार सरकार चल्ने भएकाले फेवाताल जलाधार क्षेत्रमा अतिक्रमण बढेको हो।’
यो पनि:
लकडाउनको मौका छोपेर पुरियो सिमसार, सरकारभन्दा भू-माफिया बलिया!