मनसुनले फेवातालको सिमसार क्षेत्र पानीले भरिएको छ।
सिमसारमा पलाएको घाँसले फेवातालको जलाधार क्षेत्र हरियाली देखिन्छ। पानीले भरिएको त्यही हरियाली मास्न यतिबेला ‘भू-माफिया’ले टिपरबाट ढुंगा माटो थुपारेर डोजर चलाइदिएका छन्।
सिमसार मासेर व्यवसायिक भवन बनाउन उनीहरूले लकडाउनको मौका छोपेका छन्।
पोखरा-२४ को वडा कार्यालयनजिकै महानगरकै लगानीमा फुटबल मैदान बन्दैछ।
डोजर लगाएर मैदान खार्दा निस्किएका ढुंगा माटो सिमसारमा ल्याएर खन्याइएको छ। फेवातालको स्रोत हर्पनखोला पारि बनिरहेको फुटबल मैदानको ढुंगा माटोवारि सिमसारमा खन्याएकोबारे आफूलाई केही थाहा नभएको वडा अध्यक्ष ओमप्रसाद सुवेदीले बताए।
‘फुटबल मैदानबाट निस्केको ढुंगा माटो तल लैजाने भन्दै थिए, कताकता लगे मलाई थाहा भएन’, वडा अध्यक्ष सुवेदीले भने, ‘हामीलाई एकथोक भन्छन्, अर्को थोक गर्छन्, के के गर्छन् यी माफियाहरू।’
सिमसार पुर्न यसरी महानगरकै लगानी देखिए पनि वडा अध्यक्ष सुवेदीले अनविज्ञता देखाए।
सरकारी लगानीकै आयोजनाबाट निस्केका ढुंगा माटो मात्रै होइन, निजी परियोजना बनाउँदा निस्केका ढुंगा माटो पनि सिमसार क्षेत्रमा खन्याइएको छ।
फेवातालनजिकै सेदीमा बि एण्ड बि हाउजिङ कम्पनीले १२ तले अपार्टमेन्ट बनाउँदैछ। अपार्टमेन्ट बनाउन मनसुनले गलेको डाँडा डोजरले खारिएको छ।
मनसुनकै बेला बाराही ग्रुपले खहरेको कुनामा रिसोर्ट बनाउन डोजर चलाएका छन्। बि एण्ड बि हाउजिङ कम्पनीका सञ्चालक विमल बस्याल हुन् भने बाराही ग्रुपका अध्यक्ष विप्लव पौडेल हुन्। यी दुबै कम्पनीले आफ्ना परियोजना बनाउँदा निस्केका ढुंगा माटो सिमसार क्षेत्र पुर्न प्रयोग गरेका छन्।
खहरेबाट पामे जाने बाटोमा एउटा घुम्ती आउँछ। पोखरा- १८ स्थित त्यही घुम्तीमा फेवातालको पानी भएकै ठाउँमा सिमेन्टको पर्खाल लगाएर ढुंगा माटोले पुरिएको छ। त्यो माटो बाराही ग्रुपले बनाउन लागेको रिसोर्टबाट लगिएको स्थानीयले बताएका छन्।
बि एण्ड बि हाउजिङले बनाउन लागेको अपार्टमेन्टको जग्गा खार्दा निस्केका ढुंगा माटो पोखरा वडा नं. २३ पामेमा पर्छ।
जुन ठाउँमा वडा नं. २४ को फुटबल मैदान र अपार्टमेन्ट बनाउँदा निस्केका ढुंगा माटो थुपारिएको छ।
स्थानीयका अनुसार दिनरात गरेर त्यहाँ टिपरले झण्डै एक हजार खेप ढुंगा माटो खन्याएका छन्।
पामेस्थित सिमसार पुर्न स्थानीय विष्णु तिमिल्सिना, व्यवसायी युवराज खतिवडा लगायतको संलग्नता रहेको पोखरा-२३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीले बताए।
वडा कार्यालय र महानगरबाट प्रतिबन्ध लगाउँदा आँखा छलेर उनीहरूले ढुङ्गा माटो थुपारेको उनको भनाइ छ।
फेवातालको किनारैकिनार पञ्चासे जाने मोटरबाटो अहिले कालोपत्रे हुँदैछ। फेवाताल सकिएपछि सिमसार क्षेत्र हुँदै उक्त बाटो जान्छ। वडा अध्यक्ष पराजुलीका अनुसार पहिला उनीहरूले बाटोका लागि ढुंगा माटो थुपारेका थिए।
‘पहिला बाटोका लागि ढुंगा माटो डम्पिङ गर्ने भन्यो, अर्को ठाउँमा लगेर फिलिङ गर्ने भनेर थुपार्यो’, वडा अध्यक्ष पराजुलीले सेतोपाटीलाई भने, ‘यसरी थुपारिएको ढुङ्गा माटो डोजर लगाएर सम्याएछन्।’
वडा अध्यक्ष पराजुलीका अनुसार सिमसार पुर्न नदिने आफूले गरेको पहल असफल भएको बताए।
सिमसार क्षेत्रमा परेको आफ्नो जग्गा पुर्न पाउँ भनेर सबभन्दा पहिले स्थानीय विष्णु तिमिल्सना वडा कार्यालयमा अनुमति लिन पुगेका थिए।
व्यक्तिगत जग्गा भए पनि सिमसार हो, पुर्न मिल्दैन, अनुमति छैन भनेर उनले फर्काइदिएका थिए।
वडा कार्यालयले अनुमति नदिए पनि उनीहरूले काम रोकेनन्। धमाधम सिमसारमा ढुंगा माटो थुपार्न थाले। यसका लागि दर्जन टिपरमार्फत रातारात ढुङ्गा माटो थुपारेको वडा अध्यक्ष पराजुलीले बताए।
सिमसार पुर्न नछाडेपछि वडा अध्यक्ष पराजुलीले महानगरका मेयर मानबहादुर जिसीलाई बोलाए।
मेयर जिसीले पामे पुगेर सिमसारमा कुनै गतिविधि नगर्न निर्देशन दिए। तर उनीहरूले टेरेनन्। आफ्नो धन्दा अघि बढाए।
वडा अध्यक्ष पराजुलीले फेरि मेयर जिसीलाई बोलाए। सिमसार जोगाउन यसरी ३ पटकसम्म मेयरलाई गुहारेको उनले बताए।
दुईसाता अघि मात्रै सिमसार पुर्दै गरेका ४ वटा टिपरको चाबी खोसेर मेयर जिसीले लगेका थिए।
सिमसार नपुर्न सम्बन्धित व्यक्ति र कम्पनीलाई २ पटक पत्र पठाएको पराजुलीले बताए। तर पनि सिमसार अतिक्रमण रोकिएन। निरिह स्वरमा वडा अध्यक्ष पराजुलीले भने, ‘हामीले जति प्रयास गर्दा पनि सिमसार पुर्न बारम्बार दोहोरिएको दोहोरियै छ, अहिले पनि आँखा छलेर ढुङ्गा माटो लगिराछन्।’
पामेस्थित १५ रोपनी सिमसार व्यवसायी युवराज खतिवडाले भाडामा लिएका छन्।
पानी भइरहने र दलदल भएर बस्ने भएकाले त्यसलाई पुरेर खतिवडाले पार्टी प्यालेस लगायत व्यवसायिक संरचना बनाउन खोजेका छन्। यसका लागि वडा कार्यालयमा अनुमति लिन खतिवडाले आफ्ना प्रतिनिधि पठाएका थिए। त्यतिबेला पनि सिमसारमा कुनै निजी संरचना बनाउन नपाइने भनेर पराजुलीले रित्तै फर्काइदिएका थिए।
पोखरा महानगरको नीतिमा फेवाताल वरिपरि रहेको बाटोभन्दा तलतिर कुनै पनि निजी वा सार्वजनिक संरचना बनाउन पाइँदैन।
महानगरले अनुमति दिएमा मात्रै अत्यावश्यक संरचना बनाउन पाइन्छ। अहिले पनि फेवाताल वरिपरि रहेका मोटरबाटो भन्दा तल फेवातालतर्फका संरचना अवैध छन्, किनकि, तिनीहरूले उक्त संरचना निर्माणको अनुमति पाएका छैनन्, महानगरमा दर्ता समेत छैन।
पोखरा महानगर बन्नुअघि गाउँ विकास समिति हुँदा अनुमति लिएर बनेकाबाहेक महानगर भएपछि बनेका सबै संरचना अवैध रहेको वडाअध्यक्ष पराजुलीले बताए।
‘बाटोभन्दा तल सिमसारमा घर बनाउन पाइँदैन, नक्सा पास नै हुँदैन’, पराजुलीले भने, ‘धमाधम सिमसार क्षेत्रमा पनि घर बनाइरहेका छन्, महानगरले कारबाही गर्न सकेन।’
फेवाताल संरक्षण गर्न अधिग्रहण गर्ने भनिएको जग्गाको लालपूर्जा समेत फुकुवा भएको छैन।
महानगरले कागजी रूपमा संरक्षणका लागि जग्गा रोक्कादेखि नक्सा नै नदिने नीति लिए पनि भू-माफियाका प्लटिङ परियोजना र अन्य व्यवसायिक योजना भने अहिले पनि जारी छ। जसले मनसुनकै बेला पानीमाथि ढुंगा माटो खन्याएर भवन ठड्याउन खोजिरहेका छन्।
व्यवसायीलाई सिमसार क्षेत्र पुरेर आफ्नो व्यापारिक स्वार्थ पूरा गर्न कोरोना महामारीले झन् सघाएको छ।
महामारी रोक्न गत वर्षकै लकडाउनमा पनि फेवाताल किनार र पामे क्षेत्रका सिमसारमा लगानी बढेका थिए। अहिले कोरोनाको दोस्रो लहर रोक्न भएको लकडाउनले सिमसार पुर्न टिपर र डोजर झन् बेलगाम बनेका छन्।
सिमसार क्षेत्रमा हजार टिपर ढुंगा माटो खन्याए पनि अहिलेसम्म कसैलाई कारबाही भएको छैन।
कारबाहीका नाममा चार वटा टिपरको चाबी खोस्दा तिनीहरूलाई ५० हजार रूपैयाँका दरले जरिवाना गरेको पोखराका मेयर मानबहादुर जिसीले बताए। यसरी जरिवाना मात्र लिएर कारबाही नपुग्ने वडाध्यक्ष पराजुलीले बताए।
‘सिमसारमा खन्याएका सबै ढुङ्गा माटो झिकेर अन्तै लैजानुपर्छ, नत्र जरिवाना तिरेर पनि फेरि ल्याउँछन्’, उनले भने, ‘सिमसार अतिक्रमण पूर्ण बन्द गर्न अब कडा रूपमा उत्रनुपर्छ।’
पोखरा–१८ खपौंदीका वडा अध्यक्ष रणबहादुर थापा पनि सिमसार क्षेत्र पुर्ने गिरोहसँग लड्दा आफ्नो केही नलागेको निरीहता पोख्छन्। सेदीमा बाराही ग्रुपको रिसोर्ट र बि एण्ड बि हाउजिङको अपार्टमेन्टको माटो अन्यत्र लैजाने भनेर सिमसार पुरेको उनको भनाइ छ।
यसरी दिन दुई गुणा रात चौगुणाका दरले रामसार सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार पुरिँदैछ। यसरी पुरिएका माटो अन्ततः फेवातालमा आइपुग्ने विज्ञहरू बताउँछन्।
‘सिमसार पुर्नु भनेकै फेवाताल पुर्नु हो’, फेवातालमाथि विद्यावारिधि गरेका देवेन्द्रबहादुर लामिछानेले भने, ‘सिमसारमा ढुङ्गा माटो खन्याउँदा दलदल परेको भाग तालतर्फ बग्छ, अहिले त्यहाँ खन्याइएको ढुङ्गा माटो अन्ततः तालमै आइपुग्ने हो।’
३० वर्षअघि फेवाताल नै थियो फेवाफाँट
पामेका स्थानीय ठाकुर विकलाई अहिले पनि सम्झना छ, भर्ति हुन गएर फर्कंदा पैसा सकिएपछि बाराहीघाटबाट डुङ्गा चढेर पामे पुगेका थिए। त्यतिबेला फेवाताल किनारैकिनार मोटरबाटो थिएन। पैदल बाटो पनि प्रचलनमा थिएन। फेवाताल पारिका मासिन अहिले पनि वारि लेकसाइड वा पोखरा बजार आउँदा डुङ्गामा आउँछन्, त्यसरी नै पामेतिरका मानिस पनि डुङ्गाबाटै पोखरा आउने चलन रहेको विकले बताए।
ढुङ्गा माटोले पुरिन बाँकी रहेका सिमसार क्षेत्रमा घाँस काटिरहेकी ५१ वर्षीय पार्वती सुवेदी पनि आफू पामेसम्मै डुङ्गा चढेर गएको बताइन्।
उनको पुर्खौली घर कास्कीकै रूपामा थियो, उनी पामेमा दिदीको घर आउँथिन्। अहिले उनी पनि पामेमै बस्छिन्।
ढुङ्गा माटोले पुरिएको ठाउँलाई त्यतिबेला ‘डुङ्गाघाट’ भनिएको पार्वतीले बताइन्।
उनले भनिन्, ‘यो ठाउँलाई पहिला-पहिला डुङ्गाघाट भन्थ्यो, यहाँबाट पोखरा जान डुङ्गा पाइन्थ्यो। पोखराबाट आएको डुङ्गा पनि यहीँ रोकिन्थ्यो।’
त्यतिबेला डुङ्गा नचढी पोखरा आउँदा दलदल परेको सिमसारको बाटो हिँड्नुपर्ने संरक्षणकर्मी कृष्णमणि बरालले बताए।
‘सिमसारमा बाटो हिँड्न आँठो थियो, त्यतिबेला त्यही आँठोको बाटो भएर हिँड्नुपर्थ्यो’, बरालले भने, ‘बाटो हिँड्दा हिलैहिलो हुने भएकाले डुङ्गाबाटै पामे आउजाउ गर्नुपर्थ्यो।’
फेवातालको पानी भएको अहिलेको सीमानाबाट पार्वतीले डुङ्गाघाट भनेको स्थान धेरै माथि छ।
अहिले फेवाताल खपौंदीस्थित प्याराग्लाइडिङ ल्याण्ड गर्ने चौरदेखि ड्यामसाइडसम्म छ। जबकि खपौदीदेखि पामेसम्म पार्वतीले भनेको डुङ्गाघाटसम्मको क्षेत्र अहिलेको फेवातालभन्दा दोब्बर ठूलो र फराकिलो छ।
फेवाताल विज्ञ डा. देवेन्द्रबहादुर लामिछाने पनि उक्त क्षेत्रलाई अझै फेवातालकै नाममा राख्नुपर्ने बताउँछन्।
‘सम्पूर्ण फेवाफाँट पहिला ताल थियो, अहिले सबै खोला र मानिसले पुरेका हुन्’, उनले भने, ‘सरकारले फेवाताल जोगाउने हो भने त सबै फेवाफाँट तालकै नाममा जानुपर्छ।’
सरकारले राष्ट्रिय प्राथमिकताका योजनामा पारेर ३२ साल अघिको लालपुर्जा भएका जग्गाधनीलाई उचित मुआब्जा दिएर क्रमश: सिमसार क्षेत्र तालको नाममा ल्याउनुपर्ने उनको भनाइ छ। ३२ सालपछि दर्ता भएका जग्गा भने खारेज हुनुपर्ने उनले बताए। जुन सर्वोच्च अदालतको फैसलाले समेत आदेश दिएको छ।
संविधानमा सिमसार क्षेत्र संघीय सरकार मातहत राखिएको छ। वन मन्त्रालय अन्तर्गत पर्ने सिमसार क्षेत्र संविधान जारी भएपछि कयौं मन्त्री फेरिए, अहिलेसम्म कसैले फेवातालको नाम समेत उच्चारण गरेनन्।
उनीहरूले सिमसार संरक्षण र उपयोगको अधिकार स्थानीय तह पोखरा महानगर वा प्रदेश सरकारलाई हस्तान्तरण पनि गरेनन्।
दिनरात भइरहेको फेवाताल र सिमसार क्षेत्रको अतिक्रमण रोक्न पोखरा महानगरले मात्रै नसक्ने मेयर मानबहादुर जिसीले बताएका छन्। संविधानमा सिमसार क्षेत्र संघीय सरकार उनले घुमाउरो भाषामा भने, ‘फेवाताल हामीलाई थेग्नै गाह्रो भा’छ।’