हराएको भनिएकी दैलेखको आठविस नगरपालिका-३ निमायल गाउँकी रजनी बडुवालको शव पनि भेटिएको छ।
मंगलबार बिहान साढे ११ बजे ७ वर्षीया रजनीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए।
उनको शव पनि अछामको तुर्माखाँद गाउँपालिका-३ असाराघाट नजिक कर्णाली नदीको किनारामा भेटिएको हो। उक्त शव उनकी आमा, दिदीहरू र भाइको शव भेटिएको स्थानभन्दा करिब ८ किलोमिटर तल भेटिएको डिएसपी श्रेष्ठले जानकारी दिए।
‘शव देखेपछि त्यहीँका स्थानीयले खबर गर्नुभएको थियो, हाम्रो प्रहरी टोली गएर निकालेको हो,’ उनले भने, ‘शवको पहिचान भइसकेको छ, पोष्टमार्टम गर्न जिल्ला अस्पताल अछाममा पठाइएको छ।’
उनी फागुन २३ गतेदेखि हराएकी थिइन्।
फागुन २४ गते बेलुका रजनीका दुई दिदीहरू १४ वर्षकी कल्पना बडुवाल र ११ वर्षकी सरिताको शव भेटिएको थियो।
त्यसको भोलिपल्ट उनका ९ वर्षका दाइ ललित बडुवाल र आमा सुकी बडुवालको शव भेटिएको थियो। भेटिएका शवको २५ गते अन्तिम संस्कार गरिएको छ।
दैलेखमा भएको यो घटना रहस्यमय बनेको छ। स्थानीयले भने सुकीका श्रीमान मानसिंह बडुवालले मदिरा सेवन गरी हिंसा गर्ने गरेको कारण सुकीले छोराछोरीसहित नदीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने शंका गरेका छन्।
यी पनि:
दैलेख घटना: आइतबार ३ बजे नै स्कुलबाट बिदा मागेर गएकी थिइन् कल्पना, भोलिपल्ट बहिनीसँगै भेटिइन् मृत
कल्पनाकी साथी भन्छिन्- खबर सुनेपछि आफू कहाँ छु भन्ने पनि थाहा नभएजस्तो भयो