महिनावारीका कुरा
बाह्र वर्षको उमेरमा मेरो पहिलो महिनावारी भएको थियो। त्यो बेला म होस्टलमा थिएँ। होस्टलमा बिहान पाँच बजे उठ्नुपर्ने नियम थियो। सबेरै उठेर बाथरूम जाँदा मेरो शरीरबाट रगत बगेको थाहा पाएँ। रगत देख्नेबित्तिकै म निक्कै डराएँ। एकछिन त कतै घाउ भएर रगत आएको हो कि भनेर पनि सोचेँ।
साथी र मैले होस्टलमा हामीलाई हेरचाह गर्ने दिदीलाई बोलायौं। सबै कुरा उहाँलाई भनेपछि उहाँ हाँस्नुभयो। दिदीले महिनावारीको सामान्य ज्ञान दिनुभयो र अब हरेक महिना मेरो शरीरबाट रगत आउने बझाउनुभयो।
त्यो बेला म डरले कापिरहेकी थिएँ। मलाई आमाबुबासँग भेट्न मन थियो। त्यही दिन म होस्टलबाट घर गएँ।
आमालाई देख्नेबित्तिकै म झनै भावुक भएँ। जसोतसो आफूलाई भएको कुरा सुनाएँ।
‘तिमी ठूली भयौ’ आमाले भन्नुभएको यो कुरा मलाई अझै याद छ। आमाले त्यसो भनेपछि मेरो मन अलिकति हलुका भएको थियो। तर चार-पाँच दिन कोठामा लुकेर बस्नुपर्ने नियम मैले पनि पालना गर्नुपर्यो।
आमाले मलाई सूर्य, बुबा र भाइलाई हेर्न नहुने बताउनुभयो। मैले किन यसरी बार्नुपर्ने भनेर सोध्दा ‘देवताले पिरोल्छ’ भन्नुहुन्थ्यो। त्यति बेलासम्म म अलमलमा थिएँ। आमाले भन्नुभएका कुरा टार्न नसकेर सबै कुरा मानेँ।
आमाले आफ्नी साथीको घरमा मलाई लुकाउन लैजानुभयो। त्यहाँ पाँच दिन लुकेर म आफ्नै घर फर्किएँ। महिनावारीका अरू कुचलनबाट पनि टाढा रहन सकिनँ।
हरेक महिनाको चार दिन म आफ्नै घरको भान्सा र पूजा कोठा छिर्न पाउँथिनँ। पुर्खाले सुरू गरेका चलन मान्नै पर्छ भन्ने सोचमा म पनि बाँधिएकी थिएँ। प्रतिवाद गर्न खोज्दा उल्टै सबैको नराम्रो भइन्थ्यो।
महिनावारीको बेला छोइछाइ गर्न नहुने मानसिकता आमाको बढी थियो। उहाँ आफूलाई नै यी कुचलन किन अघि बढाउनुपर्ने हो भन्ने कुनै कारण थाहा छैन। बुबा भने सधैं यस्ता कुचलन मान्नु हुन्न भनेर सम्झाउन खोज्नु हुन्थ्यो।
फेरि म होस्टल बसेर पढेकाले महिनावारीका कुचलन लामो समय बार्नु परेन। होस्टलका दिदीहरूले समयमा खाना दिने, शरीर मालिस गरिदिने जस्ता सबै कुरा ख्याल गर्नु हुन्थ्यो। कक्षामा भने महिनावारीको विषय खुलेर पढाइ भएन। केटीहरू डराउने वा लजाउने गर्ने अनि केटाहरूले जिस्काउने। शिक्षकले प्रश्न गर्दा पनि हामीहरू बोल्न अघि बढेनौं। पहिलेको समय हेर्दा अहिले निकै परिवर्तन आएको छ। यदि विद्यार्थी अझै पनि महिनावारीको कुरा गर्न हिच्किचाउँछन् भने शिक्षकले खुलेर पढाउनु पर्छ।
हरेक महिना शरीरमा हुने दुखाइ र समाजले त्योबेला गर्ने फरक व्यवहारले दिक्क बनाउँछ। बजारमा प्याड किन्न जाँदा कागजमा बेरेर दिन्छन्। खाली प्याड हातमा बोक्न मलाई अप्ठ्यारो लाग्दैन। त्यसलाई लाजका रूपमा लिने मानसिकताको समर्थन गर्दिनँ।
प्रायः समय घरबाहिर बिताउने हुँदा मलाई महिनावारी धेरै वास्ता भएन। कहिलेकाहीँ छुट्टीमा घर फर्किँदा महिनावारी भयो भने बार्नुपर्ने कुरा बिर्सिन्छु र सरासर भान्सा कोठामा जान्छु। एकपटक त गाली पनि खाएँ, अनि आमाले मैले छोएका ठाउँमा पूजा गर्नुभयो।
महिनावारीकै कारण तिहारमा भाइलाई टीका लगाउन पाइँदैन। बल्लबल्ल मौका पाउँदा पनि महिनावारी वाधा बनिदिन्छ। आफू महिनावारी भएको कुरा लुकाएर मैले भाइलाई टीका लगाउन सक्थेँ होला। तर सुरूमा आमालाई सोधेँ। उहाँले सिधै टीका नलगाउन भन्नुभयो। महिनावारी भएकै कारण आफ्नो परिवारलाई छुन नपाउँदा साह्रै दुःख लाग्छ।
आफू खेलाडी भएकाले पनि होला, महिनावारी बेला व्यायाम गर्दा रगत बढी आउँछ। पेट दुख्छ अनि शरीर पनि गल्छ। खेल अगाडि अभ्यास क्रममा आफूलाई धेरै गाह्रो भयो भने आराम गर्न पाउछौं। तर खेलबीचमा महिनावारी हुँदा कसरी सम्हाल्ने कुराले पिरोल्छ।
यही डरले हामी खेलअगाडि महिनावारी पछि सार्ने औषधि खान्छौं। केही गरी महिनावारी भए मानसिक रूपमा बलियो भएर मैदानमा उत्रिन्छौं। हाम्रो ध्यान सबै खेलमा हुने भएकाले अरू चिन्ता हुँदैन। त्यो बेला शरीर अन्य समयजस्तो बलियो हुँदैन। त्यसैले खेल राम्रो नहुन पनि सक्छ। तर हाम्रो तर्फबाट पूर्ण मिहेनत गरेका हुन्छौं।
खेलाडीलाई खेल सकिएपछि शारीरिक रूपमा बढी गाह्रो हुन्छ। अझ महिला खेलाडीलाई महिनावारी भएको छ भने कोही त दौडधूपले बेहोस हुन्छन्।
केही समयअगाडि थाइल्यान्डमा हाम्रो त्यहीँको एक टिमसँग खेल थियो। त्यो बेला मेरो महिनावारी भएको थियो। म प्याड लगाएर पूर्ण तयारी गरेर मैदानमा गएकी थिएँ, तर ब्याटिङ गर्दागर्दै मलाई ज्वरो आउलाजस्तो भयो। आफ्नो ज्यान थाम्न नसकेर म त्यही ढलेँ। कोचहरूलाई भनेर म आराम गर्न खेलबाट बाहिरिएँ। चक्कर लाग्न र काम्न रोकिएको थिएन। आधा-एक घन्टा आराम गरेपछि बल्ल खेल्न सक्ने भएकी थिएँ।
खेल वा अभ्यास क्रममा महिनावारी भएर धेरै गाह्रो भयो भने कोचहरूले पनि बुझ्नुहुन्छ। त्यसैले शरीरलाई पनि ध्यानमा राखेर आफ्नो क्षमताअनुसार खेल्छौं। यस्तो बेला बढी आराम गर्छौं, पानी र फलफूल खान्छौं।
मलाई 'पिएमएस' अलिअलि मात्र हुन्छ। महिनावारी हुनु केही दिनअघि अलिअलि झिँझिने, रिस उठ्ने, बोल्न मन नलाग्ने हुन्छ। यो कुरा साथीहरूले पनि बुझिदिने हुँदा सजिलो भएको छ। केटा साथीहरूले महिनावारीबारे खुलेर सोध्नुहुन्छ र सबैले गाह्रो भएको समयमा मद्दत गर्नुहुन्छ।
यदि सबैले महिनावारीलाई सामान्य रूपमा लिने हो भने त्यसका कुचलन सामना गर्नुपर्ने स्थिति नै सिर्जना हुँदैन।
मेरो घरमा अहिले पनि महिनावारी बार्ने चलन छ। पढे-लेखेकै भए पनि मेरी आमा पुराना कुरामा विश्वास गर्नुहुन्छ। उहाँको दिमागमा महिनावारी बार्नै पर्छ भन्ने कुरा यसरी बसेको छ, त्यसलाई हटाउन सजिलो छैन।
मैले यो विषयमा आमासँग कुरा गर्दा उहाँसँग दृढ उत्तर हुँदैन। आफ्नो घरबाट बार्ने नियम हटाउँदै लाने कोशिसमा म अझै छु। बुढापाकाले त्यो बेला सरसफाइ र स्वास्थ्यको विषयसँग जोडेर महिनावारीमा टाढा बस्ने नियम बनाए होलान्। यो कुरा कति सत्य छ थाहा छैन। त्यसैले अहिलेको युवापुस्ता यसको पछि लाग्नु हुँदैन।
यस्ता कुचलन एक-दुई दिनमा हट्ने होइन। हामीले बोलिरहनुपर्छ, यसबारे जनचेतना फैलाइरहन पर्छ।
भविष्यमा मैलेजस्तो मेरा छोराछोरी वा नयाँ पुस्ताले यस्ता कुचलन सामना गर्न नपरोस् भनेर म सचेत छु।
(राष्ट्रिय महिला क्रिकेट खेलाडी इन्दु बर्मासँग सेतोपाटीका अनुषा अधिकारीले गरेको कुराकानीमा आधारित)
महिनावारीका कुरा श्रृंखलाका अन्य स्टोरीहरूः
'महिनावारी हुँदा छोरीलाई लुकाउने होइन, खुसीयाली मनाउनुपर्छ'
'महिनावारीमा अझै अप्ठ्यारो किन थप्नू, बरू अलिकति चकलेट दिनू'
मानुषी भन्छिन्ः आमाले चिठीमा पाठेघरको चित्र बनाएर महिनावारीबारे बुझाउनुभयो
शृंखला भन्छिन्- छाउगोठ भत्काउँदा पाप लाग्ने भए, त्यो पाप मै बोकुँला
सित्तैमा प्याड बाँड्ने र बनाउन सिकाउने डाक्टर
स्वस्तिमा भन्छिन्ः महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ
अभिनेत्री सुरक्षा पन्त भन्छिन्ः महिनावारीमा पूजा गर्दा केही अनर्थ भएन
श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ
केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्
साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्
माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु
करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ
ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई