बैतडी दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्टको हत्यामा संलग्न किशोरलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले सार्वजनिक गर्दा ती किशोरको अनुहारमा नकाव लगाइएको थियो।
प्रहरीले ती किशोर नाबालक अर्थात् १८ वर्षभन्दा मुनिको हुन सक्ने ठानेर नाम पनि औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
१८ वर्षभन्दा मुनिको व्यक्तिलाई हिरासतमा राख्न पनि नपाइने कानुनी व्यवस्था छ। यस्तो व्यक्तिलाई सुधार गृहमा राखेर अनुसन्धान गर्नुपर्ने हुन्छ।
प्रहरीका अनुसार ती किशोर दोगडाकेदार गाउँपालिका-७ कै हुन्। उनी सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ पढ्छन्। प्रहरीलाई उनले आफ्नो उमेर १७ वर्ष बताएका छन्।
उनको उमेर एकिन भइनसकेकाले नाम सार्वजनिक नगरिएको बैतडी प्रहरीले जनाएको छ।
उमेर एकिन गर्न वडा कार्यालय र स्कुलमा पत्र लेखिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
‘उमेर ठ्याक्कै नखुलेको हुनाले वडा र स्कुलमा चिठी लेखेका छौं,’ उनले भने, ‘विवरण आइसकेको छैन।’
ती किशोरलाई मंगलबार साँझ प्रहरीले घरबाटै पक्राउ गरेको थियो।
किशोरले माघ २१ गते भट्टको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिए पनि किशोरले भने आफूले बलात्कार नगरेको प्रहरीलाई बताइरहेका छन्।