महिनावारीका कुराः
मेरो पहिलो महिनावारी म कक्षा आठ पढ्दा भएको थियो। आफ्ना केटी साथीको समूहमध्ये म अन्तिममा महिनावारी भएकी थिएँ। त्यो बेला म स्कुलमै थिएँ। रगत त्यति धेरै आएको थिएन तर पेट निकै दुखेको थियो।
घर फर्किँदा मलाई शरीरमा असहजिलो मुहशुस भइरहेको थियो। आमाले मलाई टन्नै सुप हालेको काडा खान दिनुभयो। तर म भने सुपको गन्ध नै सहन सक्थिनँ। जसोतसो गरेर काडा त खाएँ, त्यसपछि भने मलाई बेस्सरी वान्ता भयो।
महिनावारीबारे आमाले मलाई अगाडि नै सचेत गराउनुभएको थियो। आफूलाई महिनावारी भएको कसरी थाहा पाउने, प्याड कसरी प्रयोग गर्ने, त्यस्तो बेला गाह्रो पनि हुनसक्ने जस्ता सामान्य ज्ञान उहाँले भनिरहनु हुन्थ्यो।
म नेवार भए पनि हाम्रो चलनअनुसार गुफा बस्नु परेन। तर पछिपछि पूजापाठबेला महिनावारी बार्नुपर्थ्यो। भान्साकोठामा पनि पालो गरेर काम गर्थ्यौं।
मेरो घरमा हजुरआमा, आमा, बुबा, बहिनी र म गरेर पाँच जना छौं। बुबाले सधैं महिला धेरै भएका घरमा पनि किन महिनावारी बार्नुपर्यो भन्नुहुन्थ्यो। उहाँ सधैं यस्ता कुचलन घरबाट हटाउन भनिरहनु हुन्थ्यो।
तर त्यो बेला हामीलाई महिनावारी बार्नु गलत कुरा हो भनेर थाहा थिएन। पूजापाठमा बस्न नपाउँदा वास्ता पनि हुन्थेन। एकचोटि दसैंमा मेरी आमाले महिनावारी भएकै कारण टीका लगाउन पाउनुभएन। उहाँको अनुहारमा देखिएको निराशा मलाई अझै याद छ। त्यसपछि बल्ल मैले महिनावारीले हाम्रो जीवनमा पार्ने प्रभावबारे बुझ्न थालेँ।
मेरो घरमाभन्दा पनि मामाघरमा महिनावारीको विषयलाई लिएर बढी कडाइ हुन्थ्यो। एकअर्कालाई छुन नपाउने, भुइँमा बस्नुपर्ने, भान्सा छिर्न नपाउने कुरा मलाई चित्त बुझिरहेको थिएन।
विस्तारै महिनावारी केबल एउटा प्राकृतिक प्रक्रिया हो भन्ने थाहा पाउँदै गएँ। यी चलन कुनै जमानामा केही कारणका लागि सुरू भएको थियो होला। तर अहिलेको समयमा पनि यसलाई अगाडि बढाइरहनु सान्दर्भिक हुँदैन।
यसबारे घरमा पटकपटक प्रश्न उठाएँ। अहिले परिवारले पनि बुझ्न थाल्नुभएको छ र महिनावारीलाई कारण बनाएर रोकतोक गर्ने चलन छैन। कहिलेकाँही परिवारले पूजापाठका बेला पर बस्न आग्रह गर्नुहुन्छ। तर म त्यो कुरा मान्दिनँ।
म धार्मिक आस्था राख्छु तर महिनावारीका कारण पूजापाठ गर्न नपाउनु कहीँबाट पनि जायज छैन। मेरो शरीरमा हुने प्राकृतिक प्रक्रिया नै मेरो गल्ती हो जस्तो लाग्दैन। यदि मेरो मन सफा छ भने महिनावारीमा मैले मठमन्दिर जान पाउनुपर्छ।
एकपटक मेरो आफन्तको घर जाँदा त्यहाँकी बहिनी महिनावारी भएकी रहिछन्। उनी महिनावारी भएकै कारण मैले उनलाई अँगालो पनि हाल्न पाइनँ। मेरैअगाडि उनी तल पिर्कामा बसेर खाना खाइरहेकी थिइन्। त्यो बेला मलाई आफ्नो परिवारभित्र परिवर्तन ल्याउन सके पनि बाहिर प्रभाव पार्न नसकेकोमा दुःख लागेको थियो।
मैले उहाँहरूलाई यसबारे सम्झाउन कोशिस नगरेको होइन। तर नयाँ पुस्ताले नै आफ्नो परिवारको कुरालाई टार्न नसकेकाले पुराना कुचलन अपनाइरहेका छन्। यदि कसैलाई परिवर्तन ल्याउनु नै छैन भने त्यसमा मैले पनि केही गर्न सक्दिनँ।
तर त्यस्तो बेला म सधैं प्रश्नहरू सोध्छु, 'यो चलन तपाईं आफ्ना छोराछोरीलाई कसरी बुझाउनु हुन्छ? आफ्नी छोरीलाई महिनावारी बेला भुइँमा बसेर खाऊ भन्न कसरी सक्नुहुन्छ?'
यसको जवाफ कसैसँग हुँदैन।
त्यसैले मैले महिनावारी बार्ने ठाउँमा जाँदै नजाने अठोट लिएकी छु। कसैले फोन गरेर सोधिहाले भने 'महिनावारी बेला म भुइँमा बस्न चाहन्नँ, म मेरो घरमै ठीक छु' भनेर सिधै प्रष्ट पार्छु।
मलाई महिनावारी हुनु एक-दुई हप्ताअगाडिदेखि नै 'पिएमएस' हुन थाल्छ। त्यसका लागि पनि मानसिक रूपमा आफूलाई सम्हाल्नु पर्छ।
(पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायतका समस्यालाई 'पिएमएस' अर्थात् 'प्रि–मेन्सट्रुअल सिन्ड्रम' भनिन्छ। पिएमएसबारे स्टोरी पढ्नुस्ः कस्तो बेला छिनमै रिसाउँछन्, छिनमै खुसी हुन्छन् महिला?)
पिएमएसले गर्दा मलाई बिनाकारण एकैछिनमा रून मन लाग्ने, झिँझिने, हाँस्न मन लाग्ने हुन्छ। कहिले त आफूलाई पनि दिक्क लाग्छ। तर, यो हामीले नियन्त्रण गर्न सक्ने कुरा होइन। हामीलाई पनि रिसाएर वा निराश भएर बस्न मन लाग्दैन। त्यसैले हाम्रो वरिपरि भएका व्यक्तिले पनि पिएमएस समस्या बुझिदिनु पर्छ, अनि मात्र यो सामान्य बन्दै जान्छ।
मेरो साथीहरूले भने महिनावारी र पिएमएसको कुरा बुझिदिनुभएकाले मलाई अलिकति भए पनि सहज हुन्छ। महिनावारीमा धेरै पेट दुख्न थाल्यो भने म औषधि खाइहाल्छु।
त्यसैले कुनै कार्यक्रमहरू छ र महिनावारीको समय नजिकिएको छ भने अलि डर लाग्छ। मिस नेपालको फाइनलमा भइदिएला भन्ने डर थियो, भएन। यसपालि नयाँ मिस नेपाललाई क्राउनिङ गर्ने बेलामा पनि त्यही डर थियो। अझ मैले पूरै सेतो लुगा लगाएकी थिएँ। स्टेजमा तत्कालै समस्या होला कि भनेर म अगाडि नै प्याड लगाएर गएँ र एकछिनपछि महिनावारी भएछ।
महिनावारी हुनु ठूलो विषय होइन। तर, यसको मतलब हामीले बालबालिकालाई यसबारे शिक्षा दिनबाट वञ्चित गर्नु हुँदैन। हरेक विद्यालयमा प्रजनन स्वास्थ्य विषय खुलेर पढाउनु पर्छ। महिनावारी र पिएमएसबारे झनै धेरै कुरा सिकाउनु पर्छ ताकि पछि गएर उनीहरूले चलिआएका कुचलन हटाउँदै लान सकून्।
मेरो बुझाइअनुसार पहिले महिलालाई घरधन्दा हेर्ने काम दिइएको हुन्थ्यो, त्यसैले महिनावारीको चार दिन शरीर कमजोर हुने भएकाले आराम गर्न छुट्टाइएको हुन सक्छ। चार दिन आराम गर्ने बहानामा आज यो कुचलन भएको हामीले देखिरहेका छौं।
अहिले बजारमा प्याडहरू पाइन्छन् र अधिकांश मानिसमा स्वास्थ्य तथा सरसफाइबारे जनचेतना पनि छ। यस्तो बेला पनि अझै सरसफाइकै विषय औंल्याएर छोइछाइ गर्न नदिने कुरा धेरै गलत हो।
भौतिक छाउपडी भत्काउने अभियान यहाँ चलिरहेको छ नै। तर यस्ता कुचलन जराबाट हटाउन मानसिक छाउपडी भत्काउन जरूरी छ। यो परिवर्तन एक–दुईको प्रयासले पक्कै सफल हुँदैन। जसरी ढुंगा फुटाउन पटकपटक हानिरहनु पर्छ, त्यसरी नै कयौं वर्षदेखिको कुचलन हटाउन यसको विरोधमा प्रश्न उठाइरहनु पर्छ।
महिनावारीले यसै पनि शरीरलाई असहजिलो बनाइरहेको हुन्छ। लगातार पाँच-सात दिन रगत आइरहनु, पेट दुखिरहनु पक्कै सजिलो हुँदैन। त्यसमाथि अनावश्यक कुरा जोडेर मन र सोचमा तनाव थप्ने काम नगरौं।
(अनुष्का श्रेष्ठसँग सेतोपाटीका अनुषा अधिकारीले गरेको कुराकानीमा आधारित)
महिनावारीका कुरा श्रृंखलाका अन्य स्टोरीहरूः
मानुषी भन्छिन्ः आमाले चिठीमा पाठेघरको चित्र बनाएर महिनावारीबारे बुझाउनुभयो
शृंखला भन्छिन्- छाउगोठ भत्काउँदा पाप लाग्ने भए, त्यो पाप मै बोकुँला
सित्तैमा प्याड बाँड्ने र बनाउन सिकाउने डाक्टर
स्वस्तिमा भन्छिन्ः महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ
अभिनेत्री सुरक्षा पन्त भन्छिन्ः महिनावारीमा पूजा गर्दा केही अनर्थ भएन
श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ
केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्
साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्
माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु
करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ
ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई