नेकपा विभाजनको कलहले राजीनामा दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको ठाउँमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियुक्त भए।
कोरोना महामारीमा कमाण्ड सम्हाल्न नसकेको भनेर आलोचित मन्त्री ढकाल पर्यटन मन्त्रीका रूपमा गत शुक्रबार पहिलो पटक पोखरा आए। पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरे।
विमानस्थल पुगेर उनले आयोजनाका अधिकारीहरूसँग ब्रिफिङ लिए।
विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीसँग ब्रिफिङ लिएपछि उनले भने, ‘देश बुझ्न काठमाडौं, भैरहवा र पोखरा बुझ्नुपर्ने भएर म पोखरा आएँ, निर्देशन दिन होइन, अवलोकन गर्न आएको हुँ।’
त्यसपश्चात् मन्त्री ढकालसँग पत्रकारहरूले सोधे, ‘नयाँ विमानस्थल बनेपछि अहिले चलिरहेको पुरानो विमानस्थल के हुन्छ ? जवाफमा उनले भने, ‘मेरै भविष्य भोलि के हुन्छ थाहा छैन, विमानस्थलको भविष्य कसरी भनूँ ?’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनिया कम्पनी सिएएमसिएईले निर्माण गरिरहेको छ। चिनियाँ एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायतामा बनिरहेको यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि भारतको आकाश प्रयोग गर्नुपर्छ।
विमानस्थलको ७० प्रतिशत काम पूरा भइसक्दा समेत अहिलेसम्म भारतले एयर पर्मिट दिएको छैन, नेपाल सरकारले पनि एयर परमिटको लागि ध्यान दिएका छैन।
मन्त्री ढकाललाई पत्रकारहरूले यसै विषयमा प्रश्न गरे, ‘रुट पर्मिटको काम के भएको छ ?’ मन्त्री ढकालले यस प्रश्नमा पनि निरीह देखिए।
उनले भने, ‘पर्मिट नपाई जहाज उड्दैन होला केरे, पाएर नै त काम भएको होला नि।’
स्वास्थ्य मन्त्री हुँदा प्रश्नको उल्टोपाल्टो जवाफ दिएर आलोचित बनेका ढकाल पर्यटन मन्त्री हुँदा पनि त्यस्तै छाँट देखाए।
मन्त्रालयको काम, कर्तव्य र अधिकार एवं मन्त्रालय मातहत भइरहेका कामहरूका बारेमा जानकारी नै नलिई हिँड्ने र बोल्ने गर्दा धेरै मन्त्रीहरू ढकाल जसरी नै आलोचित हुँदै आएका छन्।
यो पनि :
पोखरा विमानस्थलमा समस्याको चाङ: बर्खाको पानी कसले काट्ने?
मन्त्री ढकाललाई अर्को प्रश्न पनि गरियो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम देखेर तपाईं सन्तुष्ट हुनुहुन्छ? विमानस्थलमै पुगेर स्थलगत निरीक्षण गरेर ब्रिफिङ लिएका मन्त्री ढकालले यसमा पनि चित्तबुझ्दो जवाफ दिएनन्।
उनले जवाफमा भने, ‘भात खाएको हो र सन्तोष हुन नहुन ? काम भइरहेकै छ, काम सम्पन्न भएपछि सन्तुष्ट हुने हो।’
मन्त्री ढकालले प्रश्नलाई हावादारी जवाफमा यसरी नै उडाइरहेका थिए। उनले जस्तोसुकै उत्तर दिए पनि प्रश्नले भने उनलाई पछ्याउन छाडेन।
अर्को प्रश्न झर्यो, विमानस्थल समयमै सकिनेमा तपाईं कतिको विश्वस्त हुनुहुन्छ ?
मन्त्री ढकालले जवाफी प्रश्न गरे, ‘तपाईं कतिको विश्वस्त हुनुहुन्छ ? कुन दिन कहिले हवाइजहाज उड्ला भनेर सोध्नुहोला, मैले कसरी भन्ने ?’
आयोजना प्रमुख मुनकर्मीसँग ब्रिफिङकै क्रममा मन्त्री ढकालले यी प्रश्नहरूका उत्तर भेटेका थिए।
उनले जवाफ दिँदा सही कुरा बोल्न मन नलागेर हो या यस्तै ‘उट्पट्याङ’ जवाफ दिन चाहेर हो, उनको जवाफमा उत्तर भेटिएन।
पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री ढकालसँग मन्त्रालय मातहतका आयोजनाका बारेमा सामान्य जिज्ञासा राख्दा समेत उनले सही जवाफ दिन आवश्यक ठानेनन्।
आयोजना प्रमुख मुनकर्मीले विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्न मन्त्री ढकालसँग आग्रह गरे। मन्त्री ढकालले समस्याको समाधान गर्न पहल गर्ने प्रतिवद्धता भने जनाए।
विमानस्थलका तीन समस्या
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अहिले ३ वटा समस्या देखिएका छन्। आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार पहिलो समस्या विमानस्थलदेखि पूर्वतर्फ रहेको डाँडा काट्न समस्या छ । विमानस्थलको काम ७० प्रतिशत सकिँदा बल्ल उक्त डाँडा काट्न वातावरणीय अध्ययन प्रतिवेदन तयार हुँदैछ।
उक्त प्रतिवेदन तयार भइसकेपछि डाँडामा रहेका रूख काट्न वन मन्त्रालयले छुट्टै अनुमति दिनुपर्छ। त्यसपछि मात्र डाँडा काट्ने काम सुरू हुने आयोजना प्रमुख मुनकर्मीले बताए।
उनका अनुसार विमानस्थल सञ्चालन गर्न उक्त डाँडा कम्तिमा ३५ मिटर काट्नुपर्छ।
विमानस्थल सञ्चालनमा दोस्रो समस्या भनेको बर्खामा आउने पानीको हो। पोखरामा पृथ्वी राजमार्गको विमानस्थल क्षेत्र, पोखरामा सिँचाइका लागि बनाइएका नहर र ढलबाट बग्ने पानी विमानस्थलमा पुग्छ। आयोजनाले यसबारे अध्ययन समिति नै बनाएर प्रतिवेदन समेत तयार गरेको छ।
विमानस्थल पोखराका अन्य जमिन भन्दा होचो स्थानमा छ। त्यसमाथि विमानस्थल पुग्ने सडक र विमानस्थलका संरचना जमिन खारेर होंचो पारिएको छ, जसले गर्दा आकाशे पानी र बर्खाको भेल बगेर विमानस्थलमा पुग्न सजिलो भएको छ।
आयोजना प्रमुख मुनकर्मीले ढल, सिँचाइ र बर्खाको भेल काट्न प्रदेश सरकारलाई अनुरोध गरेको बताए। तर अहिलेसम्म काम सुरू समेत भएको छैन।
विमानस्थलको अर्को समस्या भनेको ल्याण्डफिल्ड साइटको हो। पोखराका निजी घर र सार्वजनिक कार्यालयबाट निस्कने फोहोर विमानस्थलकै पश्चिमपट्टि रहेको ल्याण्डफिल साइटमा लगेर थुपारिन्छ।
उक्त ल्याण्डफिल्ड साइटका कारण विमानस्थल क्षेत्रमा गिद्ध लगायत चरा उड्छन्, जसले हवाइ सुरक्षालाई असर पार्ने मुनकर्मीले बताए।
ल्याण्डफिल्ड साइट अन्यत्र लैजान विमानस्थलले ३ पटकसम्म पत्र लेखेर पोखरा महानगरपालिकालाई अनुरोध गरिसकेको मुकर्मीले बताए।
पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई विमानस्थलमा बोलाएर र पत्राचार गरेर पटक पटक ल्याण्डफिल साइट सार्न आग्रह गरेको उनले बताए। तर अहिलेसम्म महानगरले ल्याण्डफिल साइट परिवर्तन गर्ने योजना समेत बनाएको छैन।
प्रदेश सरकार मातहत रहेको सिँचाइ व्यवस्थापन र पोखरा महानगरको ल्याण्डफिल साइटले परिवर्तन नभए समयमै आयोजना सकिए पनि सञ्चालनमा आउन भने सक्ने छैन। डाँडा काट्ने समस्या समाधान गर्न भने संघीय सरकारले काम गरिरहेको मुनकर्मीले बताए।
पोखरा विमानस्थल निर्माण गर्न २०३२ सालदेखि नै जग्ग अधिग्रहण थालिएको थियो। सरकारले क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने निर्णय गरेपछि थप जग्गा अधिग्रहण गरेर हाल ३ हजार ८ सय ९९ रोपनी जग्गामा विमानस्थल बन्दैछ।
चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिएएमसिई इञ्जिनियरिङले विमानस्थल निर्माणको काम २०१७ नोभेम्बर १ तारिखमा सुरू गरेको थियो। ठेक्का सम्झौता अनुसार विमानस्थल निर्माणको काम २०२१ जुलाई १० भित्र सक्नुपर्छ।
आयोजनाले सम्झौतामा उल्लेख भएको समयभन्दा ६ महिना अघि नै विमानस्थल निर्माण गरिसक्ने दाबी गरेको थियो।
कोरोना भाइरसको महामारीले चिनियाँ कामदार आउजाउ गर्न भएको समस्या र विमानस्थल निर्माणमा आवश्यक सामग्री ल्याउन समस्या भएकाले तोकिएको समयभन्दा अघि नसकिने भएको छ।
ठेक्का सम्झौतामा उल्लेख गरिएको समयभित्रै आयोजना सक्न ठेकेदार पक्ष तल्लीन भएको आयोजना प्रमुख मुनकर्मीले बताए।
अहिलेसम्म ठेकेदार पक्षले आयोजना निर्माणको म्याद थप्न कुनै प्रस्ताव नगरेको र समयमै सक्ने प्रतिबद्धता जनाएको बताए।
उनका अनुसार विमानस्थल निर्माण सकिएपछि पनि हवाई सेवा सञ्चालन गर्न भने कम्तिमा थप ६ महिना समय लाग्छ।
‘विमानस्थल चलाउन सरोकारवालासँग छलफल गरेर तयारी गर्नुपर्छ, त्यसका लागि ६ महिना समय लाग्छ’, मुनकर्मीले भने।
विमानस्थलको टर्मिनल भवन, टावर, रनवे, ह्याङ्गर, ट्याक्सीवे लगायत १४ वटा भवन निर्माण भइसकेको छ। विमानस्थल निर्माण कम्पनीलाई हालसम्म १२ अर्ब ६५ करोड रुपैया भुक्तानी गरिसकेको मुनकर्मीले बताए।
खोप लगाउन गए चिनियाँ कामदार
आयोजनामा कार्यरत चिनियाँ कामदार कोरोना भाइरसको खोप लगाउन जाने र आउने गर्दा अहिले कामदारको कमी भएको छ। अहिले आयोजनामा १५० जना चिनियाँ कामदार र १८० जना नेपाली कामदार कार्यरत छन्। आयोजनामा अझै १५० जना चिनियाँ कामदार आउन बाँकी छ ।
आयोजनामा कार्यरत चिनियाँ कामदार खोप लगाउन र अन्य कारणले चीन गएर फर्किन पाएका छैनन्। आयोजना प्रमुख मुनकर्मीका अनुसार चीन गएपछि त्यहाँको सरकारले बनाएको नियम अनुसार कामदार १४ दिन क्वारेन्टिन बस्नुपर्छ। क्वारेन्टिन बसेर बाहिर निस्केपछि उनीहरूले चिनियाँ खोप लगाउँछन्, र आयोजनामा काम गर्न फर्किएपछि पनि आयोजनाको क्वारेन्टिनमा १४ दिन बस्नुपर्छ।
‘अहिले धेरै कामदार खोप लगाउन गएका छन्’, मुनकर्मीले भने, ‘१०० जना जति कामदार खोप लगाएर फर्किसके,’ खोप लगाउन जाने, क्वारेन्टिन बस्नुपर्ने र फर्केर आउँदा फेरि क्वारेन्टिन बस्नुपर्ने भएकाले कामदारको १ महिना समय बढी खर्च हुने उनले बताए।
चिनियाँ कामदार आउनमा ढिलाइ भयो भने आयोजनाको काममा प्रभाव पर्ने जनाएको छ। जसका कारण तोकिएको समयमा विमानस्थल नबन्न सक्छ।
‘कामदार छिट्टै फर्किए भने असर पर्दैन’, मुनकर्मीले भने।