कोरोनाभाइरसको संक्रमण फैलन नदिन भन्दै बन्द गरिएका धेरै विद्यालय अझै पनि खुलेका छैनन्। सरकारले विद्यालयमा जम्मा गरेर नभई वैकल्पिक विधिको प्रयोग गरेर पढाइ सञ्चालन गर्न निर्देशन दिएको थियो।
सहरी क्षेत्रका अधिकांश विद्यालयहरूले अझै पनि अनलाइनमार्फत् कक्षा सञ्चालन गर्ने गरेका छन्। ग्रामीण क्षेत्रका विद्यालयले भने वैकल्पिक शिक्षाका लागि आवश्यक स्रोतको अभावमा महिनौंदेखि जोखिम मोलेर पठनपाठन सञ्चालन गर्दै आएका छन्।
एफएम रेडियो, टेलिभिजन, कम्प्युटर, अनलाइनलगायतका मध्यमबाट कक्षा सञ्चालन गर्न सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो।
ग्रामीण क्षेत्रका अधिकांश विद्यार्थी यी कुनै पनि साधनको पहुँचमा छैनन्। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको शिक्षा शाखाकाअनुसार गाउँपालिकाले ४० विद्यालयका ४ हजार ५६८ जना विद्यार्थीमा गरेको सर्वेक्षणमा इन्टरनेटमा ३.३ प्रतिशतको मात्र पहुँच रहेको देखिएको थियो।
घरमा टेलिभिजन भएका १९० जना र सूचना प्रविधिको कुनै पनि पहुँच नभएका ८९८ जना विद्यार्थी भेटिएका थिए।
उक्त सर्भेक्षणअनुसार पहाडी क्षेत्रमा अध्ययनरत बालबालिकामध्ये ४५ प्रतिशतभन्दा बढी एफएम-रेडियोको पहुँचमासमेत छैनन्। बाँकी ५५ प्रतिशत बालबालिकाका अभिभावकसँग एफएम सुन्न मिल्ने रेडियो-मोबाइल छन्।
‘रेडियोको पहुँच पनि नभएको क्षेत्रमा टेलिभिजन, कम्प्युटर र अनलाइनको पहुँच त हुने कुरै भएन,’ गाउँपालिकाको शिक्षा शाखाकी प्रमुख दुर्गादेवी खड्काले भनिन्, ‘वैकल्पिक शिक्षाको सम्भावना नभएपछि जोखिम मोलेरै भए पनि औपचारिक कक्षा नै सञ्चालन भइरहेको छ।’
विद्यार्थीमात्र नभएर विद्यालयसँग समेत वैकल्पिक कक्षा सञ्चालन गर्ने साधन छैनन्। इच्छाकामनाका अधिकांश पहाडी क्षेत्रमा विद्युत् पुगेको छैन। गाउँपालिकाको पहाडी क्षेत्रको केन्द्र मानिने हात्तीबाङस्थित राष्ट्रिय माविका प्रधानाध्यापक लोकबहादुर मगर विद्युत् पुगेका विद्यालयमा पनि कम्प्युटर, इन्टरनेटलगायत साधन नहुँदा वैकल्पिक कक्षा सञ्चालन गर्न नसकिएको बताउँछन्।
‘हाम्रो विद्यालयमा पोहोरमात्रै विद्युत् आइपुग्यो तर कम्प्युटर, इन्टरनेट छैन। नेटवर्कको समस्याका कारण सहज रूपले मोबाइल पनि चलाउन सकिँदैन,’ मगर भन्छन्, ‘विद्यालयकै यस्तो अवस्था छ भने विद्यार्थीको अवस्था त झन् नाजुक छ।’
उनले स्रोतसाधनको अभावमा वैकल्पिक कक्षा सञ्चालन गर्न नसकिएपछि गत भदौबाट औपचारिक कक्षा सञ्चालन गरिरहेको बताए।
स्रोत साधनको अभाव, विकट क्षेत्र र धेरै परबाट पढ्न आउने विद्यार्थी भएका कारण शिक्षकलाई गाउँ–गाउँमा पढाउन पठाउन पनि नसकिएको उनले बताए।
इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ। त्यहाँका विद्यालयमा ७५ प्रतिशतभन्दा बढी बालिबालिका यही समुदायका हुन्छन्। गाउँपालिकाका ५१ सामुदायिक विद्यालयमा ६ हजार २१५ जना विद्यार्थी छन्।
इच्छाकामना-२ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय(१–८) मायाटारमा यस शैक्षिक सत्रमा २११ जना विद्यार्थी भर्ना भएका छन्। उनीहरूमध्ये ७५ प्रतिशत विद्यार्थी गत साउनदेखि विद्यालय आइरहेको प्रधानाध्यापक पदमबहादुर चेपाङले बताए।
‘हामीले साउनको ८ गतेदेखि नै विद्यालय खोलेका थियौं, पछि जिल्लाले निषेधाज्ञा जारी गरेपछि करिब एक महिना बन्द गरेर असोजबाट पुनः पढाइ सुरू गर्यौं,’ प्रअ चेपाङले भने, ‘जोखिम मोलेर पढाइरहेका छौं।’
कोरोना भाइरसबाट बच्न मास्क, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने भए पनि विद्यालयले खर्च अभावका कारण यी उपाय अवलम्बन गर्न सकेका छैनन्। प्रअ चेपाङले प्रशासनिक खर्च विगतमा जस्तै रहेकाले उक्त खर्चबाट विद्यार्थीका लागि मास्क, स्यानिटाइजर किन्न नसकिएको बताए।
‘गाउँपालिकाले पत्रै लेखेर निर्देशन नदिएपनि मौखिक रूपमा पढाइ सञ्चालन गर्न भनेका कारण हामीले विद्यार्थीलाई बोलाएर पढाइरहेका छौं,’ उनले भने, ‘त्रासका बीच कक्षा चलाइए पनि अहिलेसम्म सुरक्षित छौं।’
उनकाअनुसार गरिबीका कारण खानसमेत समस्यामा रहेका अभिभावकले मास्क किनेर प्रयोग गर्न र बालबालिकालाई उपलब्ध गराउन सक्दैनन्।
यस विद्यालयमा पढ्नका लागि केही बालबालिका करिब दुई घन्टा पैदल हिँड्ने गर्छन्।
‘दुःख गरेर परबाट आउने विद्यार्थीलाई हामीले पढाउनै पर्छ, आफू र परिवारका सदस्यलाई रुघा, खोकी, ज्वरो आएको छ भने विद्यालय नआऊ भनेका छौं,’ उनले भने, ‘पढाउँदा पढाउँदै कुनै विद्यार्थीले खोक्यो भने तर्सन्छौं, लौ बर्बाद भयो भन्ने लाग्छ।’
सबै विद्यार्थीलाई विद्यालय बोलाइएपछि भौतिक दूरी कायम गर्न भने गाह्रो हुने गरेको उनले बताए।
गाउँपालिकालको शिक्षा शाखाकी प्रमुख खड्काले सुरक्षाका उपाय अपनाएर पठनपाठन सञ्चालन गर्न भनिए पनि गाउँपालिकाले अन्य सहयोग गर्न नसकेको बताइन्।
‘सरकारले विद्यार्थीको स्वास्थ्यका लागि भनेर बजेट दिएको छैन। गाउँपालिकाको शिक्षाको बजेट स्वास्थ्य सामग्रीमा खर्च गर्न मिल्ने रहेनछ,’ उनले भनिन्, ‘सबैले जसरी सकिन्छ, त्यसरी पढाइरहनुभएको छ।’
राजमार्ग क्षेत्रमा रहेका १५ वटा विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरे पनि पहाडी इलाकाका ३६ वटा विद्यालयमा सम्भव नभएको उनले बताइन्।
‘वैकल्पिक कक्षाको खर्चले अध्ययन सामग्री किनेर बाँडियो,’ उनले भनिन्, सिकाइ सहजीकरणको बजेटले स्वास्थ्य सामग्री खरिद गर्न नमिलेका कारण जोखिम मोलेर भए पनि पढाउनु पर्ने भयो।’
उनले पहाडी क्षेत्रमा कोरोना संक्रमित नभेटिएका कारण साउनदेखि नै पढाइ चलिरहेको बताइन्।
इच्छाकामना गाउँपालिकामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
अहिले यहाँ ३ जना सक्रिय संक्रमित छन्।
चितवनमा वैकल्पिक शिक्षाको प्रगति ३५ प्रतिशत
जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीकाअनुसार चितवनमा वैकल्पिक शिक्षा प्रणालीको प्रभावकारिता ३० देखि ३५ प्रतिशतसम्म देखिएको छ। कोरोना महामारीका बीच सबै क्षेत्र अस्तव्यस्त बन्दा शिक्षा क्षेत्रमा पनि ठूलो असर परेको भन्दै उनले भने, ‘हामी सन्तुष्ट त छैनौं तर हुँदै नहुनुभन्दा त यति हुनुलाई पनि ठूलो मान्नुपर्छ।’
उनले सूचना प्रविधिको पहुँच नहुँदा इच्छाकामनाका अधिकांश क्षेत्र, भरतपुर, कालिका र राप्तीका पहाडी क्षेत्रमा वैकल्पिक कक्षा सञ्चालन हुन नसकेको भए पनि सहरी इलाकामा जेठ महिनादेखि नै कक्षा चलाउन थालिएको बताए।
अनलाइन कक्षा सञ्चालन नगर्ने विद्यालयले विद्यार्थीको घर पुगेर सिकाइमा सहजीकरण गरेको उनले बताए।
सुवेदीले चितवनका सामुदायिक विद्यालयले देशमै पहिलो पटक अनलाइन कक्षाको सुरुआत गरेको दाबी गरे।
‘हामीले सुरुआत गरेपछि अन्य जिल्लाले पनि सिको गर्न थाले,’ उनले भने, ‘जिल्लाको सहरी क्षेत्रका अधिकांश विद्यालयले नियमित रूपमा अनलाइनमार्फत् सिकाइ कक्षा सञ्चालन गर्दै आएका छन्।’
सुवेदीले केही हप्ता यता भने सहरी क्षेत्रका विद्यालयले पनि कोरोना संक्रमणको अवस्थालाई ख्याल गर्दै सिफ्ट छुट्याएर औपचारिक कक्षा सञ्चालन गर्न थालेको बताए।
‘हाम्रा विद्यालयहरुमा सूचना, प्रविधिको प्रयोग कम हुन्थ्यो, लकडाउनसँगै धेरै शिक्षक यसमा घुलमिल हुनुभयो। आगामी दिनमा यसको सकरात्मक प्रभाव पर्छजस्तो लाग्छ,’ उनी भन्छन्, ‘समयअनुसार विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने पाठ सबैलाई सिकाएको छ।’
चितवनमा सामुदायिक र निजी गरी ५४८ वटा विद्यालय छन्। कक्षा १ देखि १० सम्म करिब एक लाख साठी हजार विद्यार्थी छन्।