काठमाडौंको कुमारी घरमा रंग लगाइरहेका बेला त्यहाँका संरक्षक (चिताइदार) गौतम शाक्यले अघिल्लो वर्ष नै रोक लगाएका थिए।
दुई सय ५० वर्षको इतिहास बोकेको कुमारी घरको झ्यालमा सुनौलो रंग लगाउने कार्य उनलाई ठिक लागेन।
त्यो बेला उनको आपत्तिपछि काठमाडौं महानगरपालिकाले झ्याल सफा गरेर मात्र छाड्यो। सुनका झ्यालसँगै यहाँ कलात्मक मयूरझ्याल, आँखीझ्यालहरू पनि छन्। ती काष्ठकलामा पनि ‘ब्ल्याक जापान’ भन्ने रंग प्रयोग हुन्थ्यो। तुरून्तै नसुक्ने र च्यापच्याप भएपछि नराम्रो भयो भन्दै गौतम आफैंले विरोध जनाएका रहेछन्।
त्यही विरोधका कारण महानगरपालिकाले यसपालि ‘ब्ल्याक जापान’ को सट्टा ‘ब्ल्याक अक्साइड’ प्रयोग गरेको छ।
पहिलेभन्दा राम्रो देखिएपछि गौतमलाई यो रंग चित्त बुझेको छ। ‘परेवाहरूले बिस्टाएर फोहोर बनाइरहनुभन्दा रंग लगाएकै राम्रो। रंगको गन्धले कीराहरू पनि मर्छन्,’ गौतमले भने, ‘हेर्दा राम्रै देखिएकाले राम्रै होला भन्ठानेको छु। यसको विज्ञ नभएकाले ठिक हो कि होइन भन्ने चाहिँ थाहा भएन।’
सम्पदा अभियन्ताहरूले भने पुरातात्विक र सांस्कृतिक महत्वको विश्व सम्पदा स्थलहरूमा रासायनिक रंगको प्रयोगलाई लिएर विरोध गरेका छन्।
सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर केही दिनअघि कुमारी घरकै बाटो हिँड्दै थिए। उनले 'ब्ल्याक अक्साइड' रंग प्रयोग भइरहेको त्यही बेला देखेका हुन्। त्यो कस्तो खालको रसायन हो भन्ने उनलाई सुरूमा जानकारी थिएन। उनले यत्ति बुझेका थिए– काठलाई त्यसै छाड्ने हो, त्यसमाथि रासायनिक वस्तुको लेप लगाउने होइन। यसलाई टल्काउने नै हो भने त्यसको निम्ति परम्परागत विधि अपनाउनुपर्छ।
'मैले घर फर्केर ब्ल्याक अक्साइडबारे खोजबिन गरेँ। यो त स्टिल, धातुमा प्रयोग गर्नुपर्ने रसायन पो रहेछ। यसले त उल्टै काठ बिगार्ने रहेछ। त्यसपछि म झसंग भएँ,' तुलाधरले सेतोपाटीसँग भने, 'महानगरले यस्ता कृत्रिम रसायन प्रयोग गरेर सम्पदा क्षेत्र विनाश गर्न हुन्न। यसलाई तुरून्त रोकिनुपर्छ।'
प्रत्येक वर्ष इन्द्रजात्राको अवसर पारेर कुमारी घरमा रंगरोगन हुन्छ। कोरोना महामारीले रंगरोगनको साइत यसपटक अलि पर धकेलिएको हो।
पुरातत्वको मापदण्डले परम्परागत सम्पदामा यस्ता रासायनिक वस्तु प्रयोग गर्न रोक लगाएको छ। पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर भने आफूहरूलाई यसबारे जानकारी नभएको बताउछन्। 'हामी अनुगमन गरिरहेका छौं। सबै कुरा बुझेपछि मात्र केही भन्न सकिन्छ,' उनले भने।
हनुमानढोका क्षेत्रमा पहिले पनि इनामेल लगायत रासायनिक रंग प्रयोग हुँदै आएको छ। यहाँ रहेका सिंहको मूर्ति, काष्ठकला लगायत सामग्री बिग्रँदै जान थालेपछि हनुमानढोका संग्रहालय सुधारको क्रममा छ। संग्रहालय प्रमुख सन्दीप खनाल नगरपालिकाले कस्तो रंग प्रयोग गरेको छ भनेर सोधखोज गरिरहेको बताउँछन्।
महानगरपालिकाका रोशन शाक्यले भने अध्ययन गरेर नै यो रसायन प्रयोगमा ल्याएको बताए।
'पहिले प्रयोग गर्न खोजेको रसायनमा पेट्रोलियम पदार्थ रहेकाले आगलागीको सम्भावना थियो, यसपालि हामीले सुरक्षित रसायन प्रयोग गरेका छौं,' उनले भने।
स्थानीय सन्दीप महर्जनका अनुसार यस्ता रंग प्रयोगले काठमा पुग्नुपर्ने हावा छेकिन्छ र चाँडै खोक्रो हुन्छ। त्यसको सट्टा परम्परागत शैलीबाटै काठ संरक्षण गर्न सकिने उनी बताउँछन्।
काठमाडौंका चोक, गल्ली, मन्दिर र चैत्य घुमेर लोककथा संकलन गर्ने २२ वर्षीय सन्दीप सामाजिक सञ्जालमा ‘फ्रयांकी फ्रेन्ज’ नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्छन्, तस्बिर सेयर गर्छन्। उनले आफ्नो हजुरबुवाबाट सुनेको परम्परागत शैली बताए, 'कालो तोरीको तेलमा मेथी, जिरा, ज्वानो पड्काएर कालो हुने गरी पकाएर दल्ने चलन छ। तेलले नै काठमा चमक दिन्छ। चिल्लो हुने भएकाले बर्खा बेला पानीबाट जोगाउँछ। कीराहरूले पनि खाँदैन।'
अहिले पनि दक्षिण ललितपुरस्थित थेँचो, थैब लगायत ठाउँका मूर्ति यही विधिबाट टल्काउने गरिन्छ। जात्राहरूमा निकालिने मूर्तिमा पनि त्यसरी नै तेल लगाइन्छ।
काठमा मात्र नभई ढुंगाका मूर्तिमा पनि तेल लगाइन्छ। स्वयम्भूको अजिमा त्यसैको उदाहरण हो। त्यहाँ बिहान–बेलुकी मूर्ति सफा गरेपछि तेल लगाइन्छ। यसको निम्ति तेल चढाउन जानेहरू पनि हुन्छन्। माटोको मूर्ति र टेराकोटामा पनि तेल लगायो भने बलियो हुन्छ भन्ने विश्वास छ।
‘पहिला मान्छेलाई तेल लगाएजस्तै देवतालाई पनि तेल लगाएको भनेर हजुरबुवाले भन्नु हुन्थ्यो। मलाई भने काठलाई कीराहरूबाट जोगाउने तरिका हो जस्तो लाग्छ,’ फ्रयांकीले भने, ‘तेल लगाउने परम्पराकै रूपमा विकसित भएको हो। अहिले भने विस्तारै कम हुँदै गएको छ।’