प्रायः सबैजसो कोरोना संक्रमण बन्द कोठामा फैलिने गरेको अभिलेखहरूले देखाएका छन्। यसले कोठा भित्रभन्दा बाहिर संक्रमणको सम्भावना कम भएको देखाउँछ। तै पनि कतिपय कारणहरूले बाहिर पनि खतरामुक्त भने नभएको अध्येताहरू बताउँछन्।
बाहिरफेर निस्किँदा पनि मास्क लगाउनु उचित हुने विज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार अधिकांश संक्रमण कोठाभित्र भए पनि बाहिर जोखिममुक्त छैन।
कुनै पार्टी होस् वा खेलकुद गतिविधि, यस्तो वातावरणमा मानिसहरू लामो समयसम्म नजिकै रहेर कुराकानी गर्दा वा समीपमा उभिँदा पनि भाइरस सर्ने सम्भावना उच्च रहन्छ।
कोरोना महामारीसँगै गरिएका अनेक अध्ययनले अधिकांश केसहरू रेस्टुरेन्ट, घरहरू, कारखाना, कार्यालय, सभा–सम्मेलन, रेलको यात्रा वा विमानको यात्राका बेलामा संक्रमित भएको पाइएको थियो।
अप्रिलमा प्रकाशित एक अध्ययनअनुसार यो जानकारी हासिल गर्न चीनमा सात हजारभन्दा बढी संक्रमितको केस खोजी गरिएको थियो। यसमा एउटा केसबाहेक सबै संक्रमण बन्द ठाउँमै फैलिएको पाइयो। चीनका दुई गाउँलेबीचको संक्रमण मात्र त्यस्तो घटना बन्यो जसमा उनीहरू खुला स्थानमा रहेकै बेला फैलिएको थियो।
त्यसैगरी २५ हजार जनामा गरिएको अर्को एक अध्ययनले केबल छ प्रतिशत मानिसमा मात्र बाहिरी वातावरणमै, जस्तै खेलकुद वा सांगीतिक समारोहमा सहभागी भएका बेलामा एकबाट अर्कोमा सरेको भेटिएको थियो।
तर यो अध्ययनको स्वतन्त्र ढंगले समीक्षा भइसकेको छैन। खेलकुद वा सांगीतिक समारोह हुने यस्ता ठाउँ खुला स्थानमा भए पनि सानो घेराभित्र थिए। त्यसमा सामाजिक दुरीको याद कसैले गरेका थिएनन् वा मानिसहरू ढुक्कैसँग यताउता हिँड्ने, एकआपससँग धेरैबेर नजिक रहेर भेटघाट गर्ने, चर्को आवाजमा कुरा गर्ने वा गीत गाउने गरेका थिए। यस्तोमा भाइरस सर्ने सम्भावना हुने नै भयो।
'वास्तवमा भन्ने हो भने दैनिक जीवनमा हामी जसरी बाहिरफेर निस्किरहन्छौं, त्यस्तै क्षणमा संक्रमित बन्न पुगेको कुनै केस थिएन,' अध्ययनमा संलग्न माइक विड भन्छन्। विड बेलायतस्थित 'क्यान्टरबरी क्राइस्ट चर्च युनिभर्सिटी'का प्राध्यापक एवं अनुसन्धाता हुन्।
यो अध्ययनको तथ्यांकले प्रस्तुत गरेको निष्कर्ष छ- मानौं तपाईं कुनै बन्द हल वा कोठा भित्र कुनै संक्रमितको सम्पर्कमा हुनुहुन्छ भने तपाईंलाई भाइरस सर्ने सम्भावना एकदमै धेरै हुन्छ। तर त्यही मानिससँग कोठाभित्रकै जति दुरीमा उही गतिविधि चल्दा पनि संक्रमण सर्ने सम्भावना कम हुन्छ।
कोठा भित्र हुनु र बाहिर खुला स्थानमा हुनुले संक्रमण सर्ने-नसर्नेमा ठूलो अन्तर गराएको अध्ययनले देखाएको छ। अमेरिका, बेलायत र जर्मनीका प्राध्यापकसहित केही वैज्ञानिक र इन्जिनियरहरू सम्मिलित अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो।
'बाहिरी वातावरणको हावामा फैलिनेबित्तिकै भाइरस सजिलै र तीव्र गतिमा मत्थर भइदिन्छ। त्यसैले कोठा भित्रभन्दा बाहिरको बसाइमा संक्रमण जोखिम एकदमै कम हुन्छ,' उक्त अध्येता समूहले भनेको छ।
यो जानकारी दिने बेलामा अध्येता समूहले हावामा भाइरस कसरी मत्थर हुन्छ भन्ने देखाउन चुरोटको धुँवासँग तुलना गरेका थिए। जसरी चुरोटको धुँवा कोठाभित्र रूमलिरहन्छ, भाइरस पनि बन्द कोठामा कब्जा जमाएर बस्छ। तर बाहिरी हावामा धुँवा तितरवितर भएझैं भाइरस कमजोर हुन्छ।
गत फेब्रुअरीदेखि नै धेरै अध्ययन तथा स्वास्थ्य सम्बन्धी निकायहरू हामीले सास फेर्दा, बोल्दा वा गीत गाउँदा निस्कने थुकका सुक्ष्म थोपाले हावामा कसरी यात्रा गर्छन् भन्नेबारे मिहीन अध्ययन गरिरहेका छन्। त्यस्तै भाइरस संक्रमण भएका मान्छेका नाक-मुखबाट निस्कने थुकका छिटाहरू हाछ्युँ गर्दा वा खोक्दा कसरी बाहिर आउँछन् भन्ने पनि अध्ययन भइरहेको छ।
अध्ययनका अनुसार यसरी सास फेर्दा, बोल्दा, गाउँदा, हाछ्युँ गर्दा वा खोक्दा यदि कोही मानिस दुई मिटरभन्दा कम दुरीमा अगाडि छ भने तिनको अनुहारमै सोझै छिटाहरू पर्न सक्छन्।
हावा सजिलैसँग नबहिरहेको बन्द कोठा छ भने बाहिर निस्केका छिटाको सानो अंश पनि त्यहाँको हावामा केही मिनेटदेखि घन्टौंसम्म तैरिएरै बसिरहन सक्छ। तर बन्द कोठामा मात्रै यस्तो हुन्छ भन्ने पनि छैन। चारैतिर घरैघर भएको वा अग्ला भित्तैभित्ताले घेरिएको स्थान पनि जोखिमपूर्ण हुन सक्छ। सजिलै हावा नचलिरहेका स्थानमा यदि कुनै संक्रमितले खोक्छ र उसको छेउबाट कोही हिँडिरहेको भने उसले तान्ने सासबाट पनि संक्रमित हुन सक्छ।
'भाइरसको कति कणले अरूलाई संक्रमित पार्न सक्छ भन्ने अहिलेसम्म खुलेको छैन,' अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित हार्वड विश्वविद्यालयका जेनेटिसिस्ट एवं भाइरस विज्ञ स्टिभ एलेज भन्छन्, 'तर जति बढी मात्रामा त्यस्ता कण भयो, त्यति नै धेरै संक्रमणको खतरा बढाउने चाहिँ पक्का छ।'
संक्रमितको छेउमा कुनै पनि स्वस्थ मानिस कति समयसम्म बसेको छ भन्नेले पनि ठूलो फरक पार्छ। जस्तो, संक्रमित छेउबाट हिँड्दा सेकेन्ड भरमै खासै फरक पार्ने देखिँदैन। केही मिनेट नजिकै बस्ने हो भने भाइरस सर्ने सम्भावना धेरै नै हुन्छ।
'मानिसहरू सडकमा हिँड्दा हिँड्दै नजिकैबाट जाँदा एकबाट अर्कोमा संक्रमण सरेको अहिलेसम्म कुनै उदाहरण भेटिएको छैन,' अध्येता टोलीले भनेको छ, 'तर त्यसरी हिँड्दा सर्दैसर्दैन भनेर ठोकुवा गर्न अहिले सकिन्न। सम्भावना एकदमै कम हुने मात्र हो।'
हावामार्फत् हुने भाइरस संक्रमणबारेका विज्ञ लिन्से मार सकभर भीडभाडमा निस्किँदा मास्क लगाएरै हिँड्ने सल्लाह दिन्छिन्। उनी अमेरिकाको 'भर्जिनिया पोलिटेक्निक इन्स्टिच्यूट एण्ड स्टेट युनिभर्सिटी इन ब्ल्याक्सबर्ग' कार्यरत छिन्।
'हामी कुनै संक्रमितको छेउबाट हिँडेका बेला उसले छाडिरहेको सासको लहरलाई हाम्रो सासले ठीक त्यतिबेलै तानिदिन पनि सक्छ,' उनी भन्छिन्, 'झट्ट एकैछिनमा छेउबाट हिँड्दा त त्यति जोखिम हुन्न। तै पनि त्यसले संक्रमण सम्भावना बोक्छ।'
त्यसैले आफूले मास्क लगाउने सल्लाह दिएको उनी बताउँछिन्।
'कमै खतरा भए पनि सकभर किन जोखिम लिने?,' उनी भन्छिन्, 'जबकि मास्क लगाउने हो भने ढुक्कै हुन्छ। मास्क लगाउँदा केही बिग्रने पनि होइन।'
रेस्टुरेन्टका खुला आँगनमा राखिएका टेबल-कुर्सीमा बसेर खानेका निम्ति पनि वैज्ञानिकहरूले सुझाव दिएका छन्।
'बाहिरै भए पनि टेबुलहरू बीच दुरी हुनुपर्छ,' सुझावमा भनिएको छ, 'र नखाइ बसेका बेला मास्क लगाएरै बस्नु उचित हुन्छ।'
सडकमा हिँड्दा वा बगैंचामा डुल्दा कोरोना संक्रमण खतरा कति हुन्छ भन्ने यकिन बताउन मुश्किलै छ। धेरै कुराले जोखिम बढाइरहेको वा घटाइरहेको हुन्छ। त्यस्ता स्थानमा मानिसको संख्यादेखि लिएर हावाको वेग कत्तिको छ भन्नेले प्रभाव पार्छ। अझर सूर्यको ताप कति छ भन्नेले पनि असर गरिरहेकै हुन्छ।
घाममा हुने परावैजनी किरणले पनि भाइरस निस्तेज पारिदिने क्षमता राख्छ। तर, यो पनि सूर्यको ताप कति छ भन्नेमा आधारित हुन्छ। तापका आधारमा केही मिनेटदेखि एक घन्टासम्मै पनि लाग्न सक्छ।
वैज्ञानिकहरूले यो भाइरसका बारेमा सबैजसो परीक्षण ल्याबका बन्द कोठामा गरिरहेका छन्। यस्तो अवस्थामा किटान गर्न सक्ने गरी बाहिरको वातावरणमा भाइरसको उपस्थिति कस्तो हुन्छ भन्ने पर्याप्त जानकारी पत्तो लाग्न सकेको छैन।
त्यसैले धेरै सोचविचार गरिरहनुभन्दा सजिलै अपनाउन सकिने सावधानी उपाय पालना गरिदिए टन्टै साफ हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन्।
'निरन्तर मास्क लगाउनु सबभन्दा सजिलो र सुरक्षित उपाय हो भन्ने त अब विश्वव्यापी रूपमै प्रमाणित भइसकेको छ,' अमेरिकाको कनेक्टिकटस्थित येल विश्वविद्यालयमा महामारी विज्ञान तथा वातावरण इन्जिनियरिङका प्राध्यापक क्रिस्टल पोलिट् भन्छिन्, 'बाटोमा हिँड्दाहिँड्दै छेवैमा कसैले नखोक्ला वा हाछ्युँ नगर्ला भन्ने छैन नि!'