कोरोना भाइरसका कारण अधिकांश अन्तर्राष्ट्रिय ओहोरदोहोर ठप्प भएको छ। यस्तोमा एक अस्ट्रेलियन प्राविधिक कम्पनीले भावी हवाइ यातायात कसरी सहज र सुलभ हुनेछ भनेर झलक दिनेगरी 'स्मार्ट प्यासेन्जर कियोस्क'को अवधारणा बाहिर ल्याएको छ।
कियोस्क एक सानो उपकरण हो जसले आर्टिफिसियल इन्टेलिजेन्स (रोबोट) मा आधारित भएर काम गर्छ। सानो एटिएम मेसिनजस्तो देखिने यो मेसिन गत अप्रिलमा इलिनियम अटोमेसन कम्पनीले सार्वजनिक गरेको थियो।
यो मेसिनअगाडि उभिएपछि यसले यात्रुको स्वास्थ्य अवस्थाको विवरण थाहा पाउनेदेखि लिएर हवाइ सेवाका काउन्टरहरूमा गर्नपर्ने दर्ता र अन्य प्रक्रिया पनि स्वचालित ढंगले फत्ते गरिदिन्छ।
विमानस्थल भएर यात्रा गर्ने मानिसलाई रुघाजन्य लक्षण भए-नभएको पत्ता लगाउने र आर्थिक कारोबारलाई पनि पूर्ववत निरन्तरता दिने उपायको खोजी भइरहेकै बेला यो प्रविधि विकास भएको छ। यसलाई विमानस्थलहरूमा अहिल्यै उपलब्ध स्वचालित दर्ता मेसिनहरूमा सहजै जडान गर्न सकिन्छ।
विमानमा चढ्नुअघि दर्ता गर्ने ठाउँमा जब कुनै यात्री उभिन्छ, त्यही बेला यो उपकरणले आफैं उसमा ज्वरो भए-नभएको, मुटुको चाल र स्वासप्रश्वासको गति जाँच गरिदिन्छ। यसले उक्त यात्रुमा स्वास्थ्य समस्याका कुनै लक्षण भए-नभएको पत्तो लागिहाल्छ।
त्यसैगरी यात्रीहरूले त्यो कियोस्कको स्क्रिनमा हातले नछोइकनै बोलेर वा टाउकोको संकेतबाटै प्रक्रिया पूरा गर्न सक्छन्। यसमा भौतिक सम्पर्क गर्नै पर्दैन। कम्प्युटर पद्धतिमार्फत् आवाजको पहिचान र व्यक्तिको शारीरिक अवस्था पत्ता लगाउँछ जसनिम्ति यसअघि विमानस्थलहरूमा मान्छे कर्मचारी नै परिचालन गर्नु पर्थ्यो।
'कोरोना सुरू भएदेखि नै हामीले अब मानिसबीच परस्पर सम्पर्कबिना विमानस्थलहरूमा यात्रीको प्रक्रिया कसरी अघि बढाउने भन्ने बारेमा सोच्न थालिसकेका थियौं,' कम्पनीका प्रमुख कार्यकारी आरोन हर्नलिमान भन्छन्।
यो उपकरणले हवाइ उद्योगलाई बिमारका लक्षण बोकेका यात्री पहिचान गराउँदै महामारी बेला पनि विमान सेवा सञ्चालन गराउन मद्दत गर्ने उनी बताउँछन्।
इलिनियम अटोमेसनको स्थापना चार वर्षअघि मात्र भएको हो। यात्रीलाई विमानस्थलमा अघि बढ्न, विमान चढ्न सहज र झनै तीव्र सेवामार्फत् हवाइ उडान उद्योगका क्षमता अभिवृद्धि गर्ने उपायको खोजी यसको लक्ष्य थियो।
व्यापक मात्रामा उपलब्ध तथ्यांक प्रयोग गर्दै अब यो उपकरणले केही महिनाभित्रै हवाइ उडानमा सहयोगी सेवा प्रदान गर्नेछ। यो सेवा कम्प्युटरका माध्यमबाट स्वचालित तवरले नै प्राप्त हुने प्रमुख कार्यकारी आरोन बताउँछन्।
उनको समूहले यो उपकरणलाई आवाज चिन्न सक्ने, मानिसको चालढाल बुझ्न सक्ने, प्रयोगकर्ताको व्यवहार चिन्नेजस्ता मामिलामा पारंगत बनाएको छ। यसनिम्ति अमेजन कम्पनीको अमेजन वेब सर्भिस नामक क्लाउड कम्प्युटिङ सर्भिस प्रयोग हुनेछ।
'यस्ता उपकरण र तिनमा भरिएका ज्ञान अहिले निकै भरपर्दा भएका छन्,' आरोन भन्छन्, 'मान्छेको आवाज पहिचान र चालढाल बुझ्न हामीले प्रयोग गर्ने उपकरण अत्यन्तै राम्ररी विकास गरिएका मेसिनबाट परिचालित हुन्छन्।'
यस्ता मेसिनकै कारण आरोनको समूहलाई कियोस्कमार्फत् ज्वरो आए-नआएको जाँच्ने क्षमता पनि विकास गर्न सहज भएको थियो। कुनै यात्रीले दर्ता गरिरहेका बेला उनमा कुनै पनि प्रकारको बिमारको संकेत देखियो भने यो उपकरणले तत्कालै उनको दर्ता प्रक्रिया रोकिदिन पनि सक्ने हिसाबले बनाइएको छ।
यो प्रविधि अहिले नै इतिहाद एयरवेज र अस्ट्रेलियाको एभलोन एयरपोर्टले प्रयोगमा ल्याइसकेको छ। यो सेवा उपभोग गरेर यात्रीहरूले गिलोङ र मेलबर्न सहरको यात्रा गर्न सक्छन्।
आफ्नो कम्पनीसँग यस्तै सेवा उपलब्ध गराइदिन विभिन्न वृद्धाश्रम र सरकारी कार्यालयले पनि अनुरोध गरिरहेको आरोन बताउँछन्। यो प्रविधि भविष्यमा यसरी नै विस्तार हुँदै जानेमा आफू आशावादी रहेको पनि उनले जानकारी दिए।
'आगामी दिनमा कोरोनाका पनि धेरै प्रकार देखिने वा रुघाखोकीको अझ चरम अवस्था आउनसक्ने सम्भावना देखिरहँदा यो प्रविधिले अझ फराकिलो दायरामा सेवा दिन सक्ने एप्स आफूमा अटाएको छ,' उनले भने।
सहरी आवागमन सजिलो बनाउँदैः
एलिनियमले प्रविधि विकासका लागि सहयोग लिँदै आएको अमेजन मेसिन लर्निङ सोलुसन्स ल्याबका टोलीनेता नाथानियल स्ल्याटरका अनुसार स्वास्थ्य परीक्षण गर्ने उपकरणले समाजमा उत्पन्न हुने समस्यालाई कसरी तुरुन्तै समाधान गर्ने भनेर उपाय पनि देखाइदिन सक्छ।
'यो प्रविधिसँग पक्कै पनि सिक्न सक्ने प्रचुर क्षमता छ,' स्ल्याटर भन्छन्, 'कोरोनाभन्दा पहिल्यै पनि विभिन्न औद्योगिक प्रतिष्ठानमा मेसिनको कार्यक्षमता अभिवृद्धि र प्रयोगकर्ताको सहजताका लागि यसको उपयोग भइसकेको छ।'
त्यसै मध्येको एक हो सिंगापुरस्थित अग्रणी यातायात नेटवर्क कम्पनी- ग्र्याब। यो कम्पनीले यही प्रविधि प्रयोग गरेर आफू मातहतका यातायात, खाद्यान्न वितरण र रकम तिर्नेजस्ता काम सहज बनाइरहेको छ।
यो प्रविधि प्रयोग थालेपछि यसले समय बचत गराउनुका साथै आर्थिक गोलमाल हुन नदिने सुनिश्चितता बढेको ग्र्याब कम्पनीका प्राविधिक प्रमुख फु वुइ गियाप बताउँछन्।
दक्षिणपूर्वी एसियाका सिंगापुर, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र थाइल्यान्डजस्ता मुलुकमा सेवारत ग्र्याबले यो प्रविधिमार्फत् काम थालेको पाँच वर्ष भयो। सेवा थप विस्तार गर्न आफू मातहतका अर्बौं कारोबार भित्री तहसम्मै बुझ्ने जमर्को गरेपछि उसले यो उपाय अपनाएको हो।
'यो प्रविधिले भरमार तथ्यांक समेटेको छ। हामी यसको फाइदा उठाएर प्रत्येक सेवाग्राही लाभान्वित होऊन् भन्ने चाहन्छौं,' फु भन्छन्।
उनको मुख्य चाहना भने आर्थिक घोटालाका समस्या कुशलता साथ परास्त कसरी गर्ने भन्ने नै थियो।
'हामीले यो व्यवसाय सुरू गर्दा दक्षिण पूर्वी एसियामा कुनै पनि अनलाइन उद्योगमा २० प्रतिशत हाराहारी आर्थिक बेइमानी चलिरहेको थियो,' उनी भन्छन्।
यो प्रविधिको प्रयोग गर्न उनको समूहले यसलाई कुनै पनि त्यस्तो शंकास्पद गतिविधि तुरून्तै पत्ता लगाउन सक्ने गरी सिपालु बनाइदिएका थिए। त्यसैको प्रतिफलमा अहिले यस्तो आर्थिक गोलमाल एक प्रतिशतभन्दा पनि तल झरेको छ।
यसरी सुरक्षाको उपायबाहेक यो प्रविधिले आफ्नो कम्पनीलाई दक्षिण पूर्वी एसियामा स्मार्ट सिटीको विकास गर्न पनि मद्दत गरिरहेको फु बताउँछन्।
'हामीले हाम्रा प्रणालीको विकास मात्र कहिल्यै चाहेनौं,' उनी भन्छन्, 'हामीले सिंगो दक्षिणपूर्वी एसियालाई नै आफूले कल्पना गरेको स्थानमा पुर्याउने प्रयास गरिरहेका छौं।'
उनको समूहले भियतनाम र इन्डोनेसियाका कतिपय 'लुकेका' गल्ली पत्ता लगाउने काम पनि थालेको छ। यी गल्ली नक्सामा कतै नदेखिए पनि स्थानीय चालकले छोटो बाटोका रूपमा व्यापक प्रयोग गर्दै आइरहेका छन्।
'हाम्रा कतिपय चालक यस्ता अदृश्य छोटा बाटामा पसेर नक्साबाटै बेपत्ता भइदिन्छन्,' उनी भन्छन्।
आफ्ना चालकबाट उनीहरू भएको स्थानको लगातार सूचना राखिरहनुपर्ने अवस्थामा यो प्रविधिले यसरी सूचीकृत नभएका गल्लीको विवरण पनि पत्ता लगाएर विस्तृत जानकारी दिन थालेको छ।
कम्पनीले यस्ता लुकेछिपेका गल्लीको विवरण समेट्ने नक्सा पनि यता आएर खुला रूपमा अनलाइन राखिदिन थालेपछि सिंगो समाज नै यसबाट लाभान्वित हुन थालेको छ।
यो मेसिन लर्निङ प्रविधिलाई गत वर्ष कम्पनीले १५ करोड अमेरिकी डलरको लागतमा थप उन्नत बनाउने घोषणा गरेको थियो। त्यसको प्रयोगले यात्रीको सुरक्षा र ट्राफिक चाप नियन्त्रण गर्न पर्याप्त सघाउ पुर्याउने लक्ष्य लिइएको छ।
'सिंगो दक्षिणपूर्वी एसियाकै व्यापक जीवनचक्रमा हाम्रो कति योगदान हुनसक्छ भन्ने दीर्घकालीन दृष्टिकोण हामीले बोकेका छौं,' उनी भन्छन्, 'र, यो हामीजस्तो कम्पनीको सामाजिक दायित्व पनि हो।'
मेसिनलाई सिकाउने तारतम्य
दुई दशकभन्दा धेरै अवधि सफ्टवेयर इन्जिनियर रहिसकेका स्ल्याटरका अनुसार एलिनियम र ग्र्याबका उदाहरणले फरक-फरक प्रयोजनका उद्योगमा कसरी ज्ञान भरिएका मेसिन उपयोगी हुँदैछन् भन्ने देखाइरहेको छ।
'पछिल्लो समय धेरै स्टार्टअप कम्पनीले विकास गरिरहेका सिर्जनशील उत्पादनहरू यस्ता मेसिनबिना परिकल्पनै गर्न सकिँदैन,' उनी भन्छन्।
आफ्नो क्षमता विस्तार गर्न चाहने कम्पनीले सधैं आफूसँग भएका तथ्यांकको प्रकार, व्यवसाय र प्राविधिक विज्ञबीचको तादात्म्यबारे राम्रो समझ राख्नु जरूरी भएको उनी बताउँछन्।
जस्तो, ग्र्याबकै मामिलामा उक्त कम्पनीले स्पष्टसँग तथ्यांक बुझेको छ जसबाट कम्प्युटरमा ज्ञान भर्न मद्दत मिल्छ। उदाहरणका निम्ति उसले आफ्ना चालकले प्रयोग गर्ने सबैजसो रुट र प्रायः ओहोरदोहोरमा ढिला गराउने रुटबारे स्पष्ट जानकारी राख्छ।
यो प्रविधिलाई तथ्यांककै खाँचो हुने स्ल्याटर बताउँछन्। जति तथ्यांक कम्प्युटरमा हाल्न सक्यो, त्यति नै सही सूचनाको नजिक पुग्न मद्दत गर्छ।
'अहिले धेरै कम्पनीले बेहोरिरहेको चुनौती पनि यही हो,' उनी भन्छन्, 'सही तथ्यांक छैन भने तपाईंले मेसिनलाई प्रभावकारी बनाउन सक्नुहुन्न।'
कम्पनीहरूले आफ्ना व्यावसाय र तथ्यांक विज्ञहरूलाई सँगै बसेर काम गर्न प्रेरित गर्ने हो भने तथ्यांकका प्रवृत्ति बुझ्न र समस्यासँग जुझ्ने उपायबारे धेरै समाधान निस्कने उनी ठहर गर्छन्।
'मेसिनमा ज्ञान भर्नु भनेको एकअर्कासँग सरोकार राख्ने काम हो,' स्ल्याटर भन्छन्, 'यो खासमा व्यवसाय विज्ञ र प्राविधिकविज्ञ बीचको बिहे गराउनु जस्तै हो जसको नतिजा अत्यन्त ज्ञानले भरिएको उपयोगी मेसिन उत्पादनमा मद्दत पुग्छ।'
(साउथ चाइना मर्निङ पोस्टका लागि एरिक चिउङको स्टोरीको भावानुवाद)