रौतहटको प्रहरी हिरासतमा मृत्यु भएका विजयराम चमारमाथि सोधपुछ गर्ने तीन जना प्रहरी निलम्बनमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौटहटले एक प्रहरी निरीक्षक र दुई जना हवल्दारमाथि अनुसन्धान गर्न निलम्बन गरेको प्रवक्ता, डिएसपी भरत श्रेष्ठले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी निरीक्षक नविनकुमार सिंह, प्रहरी हवल्दार हिरोज मिया धुनियाँ र मुन्ना सिंह निलम्बनमा परेका हुन्। भदौ ४ गते बिहीबार बिहान हिरासतमा रहेका गरुडा नगरपालिका ८ का विजयराम चमारको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो।
उनको मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको थियो। उनी सोही ठाउँमा निरञ्जन रामको हत्याको आशंकामा पक्राउ परेका थिए। प्रहरीले यस घटनामा सात जनालाई पक्राउ गरेको थियो।
यस घटनामा प्रहरीले सोधपुछ गर्नेक्रममा यातना दिएका कारण चमारको मृत्यु भएको भन्दै परिवार तथा स्थानीयले विरोध गरेका थिए। त्यसपछि गरूडाका डिएसपी ज्ञानकुमार महतो विवादमा तानिएका थिए।
यस घटनापछि उनलाई प्रहरी प्रदेश कार्यालय तानिएको थियो। यद्यपी उनको मृत्यु यातनाका कारण भएको हो वा होइन भन्ने कुरा अहिले नै एकीन भइ नसकेको डिएसपी श्रेष्ठले बताए।
‘उनको पोष्टमार्टम रिपोर्ट पनि आएको छैन, यस विषयमा छानविन गर्न तीन सदस्यीय समिति समेत गठन भएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अनुसन्धान भइरहेको छ। छानविन सकिएपछि हामी सार्वजनिक गर्छौं।’
यस घटनामा उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानविन समित गठन भएको थियो।