लेखक सञ्जीव उप्रेतीसँग अघिल्लो साता मेरो भेट टौदहमा भएको थियो।
यही दहको किनारमा बसेर उनले आफ्नो पछिल्लो उपन्यास 'हंस' का 'प्लट' फुराएका थिए। पहिलो उपन्यास 'घनचक्कर' पछि दोस्रो उपन्यास निकाल्दासम्ममा उनको १३ वर्षे अन्तराल छ। टौदहसँग उनको नाता योभन्दा पुरानो हो। हाम्रो भेटको विषय पनि यही दह थियो।
कोरोना जोखिमका कारण अहिले टौदह भित्र जान बन्देज छ। वडासँग कुरा गरेपछि बल्ल हामीले छिर्ने अनुमति पायौं। सञ्जीव अघिल्लो आइतबार यहाँ आफ्नी श्रीमती अर्चना थापा र छोरी स्वस्तीसँग आएका थिए। घाम अस्ताउने बेलातिर खिचिएका फोटा समाजिक सञ्जालमा राखेका थिए।
'तपाईंहरू भित्र कसरी छिर्नुभएको थियो,' सुरुआतमै मैले सोधेँ।
'मेरी श्रीमती अर्चना मान्छेलाई मनाउन सक्ने खालकी छन्, जुन मेरो चाहिँ स्वभाव होइन। म त जान दिएन भने फर्कने खालको मान्छे हो,' सञ्जीवले अलि रमाइलै पारामा भने, 'मैले किताब हंस पनि लिएर आएको थिएँ। यसको लेखक उहाँ नै हो, छोरी पनि बाहिरबाट आएकी छे, पछि आउन के हुन्छ भन्दै अर्चनाले मनाएपछि छिर्न पायौं।'
लकडाउन खुलेपछि धेरै समयको अन्तरालमा उनी यसरी टौदह आएका रहेछन्। अन्य समयमा पनि उनको यहाँ आउने समय प्रायः जाडो महिनातिर हो जतिबेला साइबेरिया र अन्तबाट उडेर आउने चराहरू प्रशस्त हुन्छन्। हामी पुग्दा त त्यहीँका केही स्थानीय हाँस मात्रै दहमा पौडिरहेका थिए।
सञ्जीवको टौदहसँगको सम्बन्ध २०५१ सालदेखि नै हो, जबदेखि उनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा पढाउन थाले।
विश्वविद्यालयमा पढाउदाताका 'ब्रेक'मा उनको टहल्ने ठाउँमध्ये एक टौदह पनि थियो। २०६५ सालतिर पहिलो उपन्यासको 'रिभाइज' यही किनारमा बसेर गर्दा उनलाई दोस्रो उपन्यासको 'प्लट' फुरेको थियो। त्यसपछि यहाँ आउने क्रम तीव्र भयो।
उपन्यास घनचक्करमै उनले टौदहको एक वास्तविक घटना उतारेका छन्। त्यहाँ राती–राती मन्त्र फुक्दै फेरी (टोलटोलमा चक्कर) लगाउदै हिँड्ने एक पात्र छ। यो पात्र दिलवरनाथ जोगी नामक वास्तविक व्यक्ति हुन्। सञ्जीवले उनै दिलवरनाथसँग एक रात टौदह नजिकैका डाँडा परिक्रमा गरेका रहेछन्।
सञ्जीव र म पनि पोखरीको फेरी लगाउँदै कुरा गरिरहेका थियौं।
घनचक्कर 'म' पात्रमा लेखिएको छ। यो पात्र सञ्जीवको वास्तविक जीवनसँग पनि मेल खाने भएकाले धेरैले उनलाई सोध्छन्, 'आत्मकथा हो सर?'
उनीसँग भने यसको बनिबनाउ जवाफ छ– उपन्यास नै हो नि। किनकि त्यहाँ जुन पात्र छ उसलाई समातेर पागलखाना लगेको हुन्छ। मलाई अहिलेसम्म लगेको छैन, त्यसैले त्यो उपन्यास नै हो।
'तपाईंले बच्ने बाटो राख्नुभएको हो कि?'
'कुनै पनि रचना गर्दा तपाईंले हावामा लेख्नै सक्नुहुन्न। तपाईंले भएकै कुरा विस्तार गर्नुहुन्छ। अरू अनुभवसँग जोड्नु हुन्छ। त्यसमा केही आत्मकथाका तत्व छन् तर त्यो आत्मकथा होइन,' उनी हाँस्दै सुनाउँछन्।
'हंस नि?'
'हंस नितान्त फिक्सन हो। यसबाट म के बताउन चाहन्छु भने इतिहास पनि एक किसिमको फिक्सन हो,' उनले भने, 'एकातिर हाँसको कथा छ, अर्कोतिर मानवको।'
किताबमा उनले टौदह र हाँसकै विभिन्न कथा–किम्बदन्ती जोडेका छन्।
चल्तीको किम्बदन्ती मञ्जुश्री र कर्कोटक नागराजको हो। मञ्जुश्रीले पानी नै पानीले भरिएको डाँडा काटेर काठमाडौं उपत्यका बनाएछन्। त्यसो हुँदा नागराज र जलचरहरू छटपटाए। मञ्जुश्रीले दह बनाएर त्यहीँ राखिदिए। त्यही दहको पिँधमा नागराज र नागरानीले झलमल्ल दरबार बनाएको जनविश्वास छ।
नागरानी र खोकनाको डोब्रे सर्पको कथा पनि छ। कथाअनुसार डोब्रे उड्न सक्ने हुन्छ। यही कारण नागरानीको कर्कोटक नागराजसँग सम्बन्ध भए पनि उनी डोब्रेसँग लुकिछिपी प्रेम गर्छिन्।
अर्को किम्बदन्ती महाभारतसँग जोडिएको छ। भिमसेनले एक कोदालो खन्दा पोखरी बन्यो रे। अनि हुत्याएको माटोले परको पहाड। पहिले त्यो पहाडलाई 'किरात पोल्ने पहाड' भन्थे। अहिले ह्वाइट हाउस पहाड। त्यो पहाड जति अग्लो छ, त्यति नै गहिरो यो दह भएको स्थानीय विश्वास गर्छन्।
त्यसैगरी, अर्को किम्बदन्तीअनुसार दहभित्र इनारै इनार छ। इनारै इनार जाँदा अर्कै संसार पुगिन्छ जहाँ दिन हुँदा यहाँ रात हुन्छ र रात हुँदा दिन।
दहमा नौ कुना रहेको भन्ने पनि छ। कुनै एक ठाउँमा बसेर सबै कुना हेर्छु भन्ने हो भने त्यो असम्भव छ, एक न एक कुना लुकेकै हुन्छ। हंसको एउटा पात्रले त दहलाई नेपालको नक्सा जस्तै पनि भनेका छन्।
'टौदह भौतिक स्पेस हो तर यसको मिथोलोजिकल गहिराई निकै ठूलो छ। यहाँका कति कथा हराएर पनि गइसके,' सञ्जीव भन्छन्, 'ती कथा जोगिन पनि यसको अस्तित्व जोगाउन जरुरी छ।'
जति पटक आए पनि सञ्जीवलाई यो ठाउँ पुरानो लाग्दैन। नयाँ समयसँगै त्यसमा नयाँ स्मृतिका तह थपिँदै जान्छन्। सञ्जीवका दुई छोरी छन्- ठूली छोरी श्रृष्टि र सानी छोरी स्वस्ती।
ठूली छोरी अहिले क्यानडामा छिन् भने सानी छोरीले थाइल्यान्डबाट स्नातक सकिन्। अहिले परिवारसँगै बस्न काठमाडौं आएकी छन्।
त्यही मेसोमा अघिल्लो आइतबार उनीहरू टौदह पुगेका थिए। धेरै समयको अन्तरालमा यहाँ पुग्दा छोरीका पुराना स्मृतिले नयाँसँग बाझ्न थालेछन्– कंक्रिट, वरिपरि बारहरू अनि धेरै रेस्टुरेन्टहरू पहिले थिएनन् त!
त्यो साँझ सञ्जीवको परिवारले त्यहीँको एक रेस्टुरेन्टमा डिनर गर्यो।
त्यस बेला उनले छोरीलाई सम्झाउँदै भने रे, 'हेर छोरी, अरू त ठीकै हो। यहीँको रेस्टुरेन्टमा हामीले डिनर पनि गरिरहेका छौं, रमाइलो पनि भयो। तर हामीले मानवीय दृष्टिकोणबाट मात्रै सोचेको छौं। चरा, जनावर, प्रकृतिलाई कति हामीले असर पुर्याइरहेका छौं, त्यस बारे पनि सचेत हुनुपर्छ।'
सुरूआती दिनमा सञ्जीव यहाँ आउँदा रेस्टुरेन्ट बनेकै थिएनन्। चिया-नास्ता पाइने केही कटेरा थिए। अहिले जस्तो आधुनिकताले छोएको थिएन। कंक्रिटका पर्खाल नभई वरिपरि सिमसार नै थियो। उनी खुबै रमाउँथे। अहिलेका नयाँ संरचनाले दिक्क मान्छन्।
सञ्जीवलाई प्रकृतिसँगको लगाव सानैदेखि भएको हो। पुर्ख्यौली घर झापा हो तर उनी भोजपुर, कैलाली लगायत विभिन्न ठाउँमा हुर्किए। बुवा डाक्टर थिए, राजनीतिमा पनि उत्तिकै सक्रिय। त्यतिबेला राजनीतिक गतिविधि निषेध थिए, त्यसैकारण उनलाई कहिले कता कहिले कता सुदूर ठाउँमा खेदाइरहे।
तीन कक्षासम्म घरमै पढेका उनले चार कक्षादेखि मात्रै स्कुल पढेका हुन्। परिवारको एक्लो सन्तान भएकाले उनी एक्लै घुम्ने, एक्लै जंगलतिर हिँड्थे जसकारण प्रकृति नै साथी बन्यो।
त्यसैको दीर्घकालीन असर हुनुपर्छ, पाँच-छ वर्षयता उनलाई चरा हेर्नमा चासो बढेको छ। उनी 'बर्ड कन्जर्भेसन नेपाल' का सदस्य पनि बनेका छन्। काठमाडौं नजिकैका टौदह, रानीवन, गोदावरी, शिवपुरीदेखि देशबाहिर कार्यक्रमका लागि पुग्दा चरा हेर्न छुटाउँदैनन्।
'बर्ड वाचिङ' का लागि उनी 'बर्ड्स अफ नेपाल' लगायत किताब पनि हेर्छन्। कुनै चरा देख्यो, किताबमा गएर नाम पत्ता लगायो अनि युट्युबमा त्यसको आवाजदेखि अन्य गतिविधि पत्ता लगायो।
यस्तै अवलोकन–अनुभवबाट भन्छन्, 'पछिल्लो पटक श्रीलंका सेमिनार गएको थिएँ। त्यहाँबाट पनि नेपालमा चरा आउँछन्। पश्चिम नेपालमा युरोपबाट चरा आउँछन्, कहिले उत्तरी अफ्रिकाबाट। पूर्व नेपालमा थाइल्यान्ड, क्याम्बोडिया लगायत ठाउँबाट आउँछन्।'
कतिपयले उनलाई 'चराको फोटो खिच्नू, हामी छाप्छौं' पनि भनेका रहेछन्। उनलाई चराको फोटो खिचेर छाप्न चासो छैन।
'हामी जहाँ पनि फाइदै खोज्छौं। मैले यत्तिकै चरा हेरेर रमाए पनि त हुन्छ नि,' उनी गुनासो पोख्छन्, 'सबै कुरामा फाइदा र बेफाइदा खोजेर भएन नि।'
सञ्जीवले टौदहमा देखेका चरा रुडी सेल्डक (चखेवा), पोखरीको छेउ बस्ने किङफिसर (माटीकोरे चरा), श्रीलंकातिर पाइने सानो आकारको किङफिसर, बेल्चा हास, सोभलिङ डक, कर्मोरान्ट लगायत हुन्।
पछिल्लो पटक यहाँ आउने चरा संख्या बर्सेनि घट्दै गएको उनले महशुस गरेका छन्।
एकपटक यहाँ चराका बथानै आएको रहेछ। त्यो साँझ नजिकैको रेस्टुरेन्टमा पार्टी चलेछ। स्पिकरमा ठूलो म्युजिक बजाएपछि त्यो बथान नै तर्सिएर भागेछ।
टौदह बीचमा एउटा 'टापू' छ जहाँ पौडिँदै जाने चरा सजिलै उक्लिन सक्थे। केही वर्षअघि त्यहाँ ढुंगाको पर्खाल लगाइयो। चराहरूलाई उक्लिन गाह्रो भएको उनले अनुभव गरेका छन्।
लकडाउन समयमा सबैझैं सञ्जीव घरबाहिर निस्किएर प्रकृतिसँग रम्न पाएनन्। त्यस समयमा प्रकृतिले भने आफ्नो निम्ति समय पायो। मान्छेको क्षय वातावरणमा कम भयो। उनकै घर मालीगाउँको सानो बगैंचामा पनि चरा आएर खेल्न थालेछन्। जनावर पनि निस्फिक्री भएर बाटोमा हिँडेका खबर आएका थिए।
एक हिसाबले राम्रो भए पनि कोरोनाकाल सक्किएपछि प्रकृतिको दोहन झनै बढ्ने उनले महशुस गरेका छन्।
'यो समयमा धेरैको आर्थिक अवस्था तल परेको छ। त्यसो हुँदा आफ्नो अवस्था सुधार गर्न मान्छेले प्रकृति दोहन गर्ने सम्भावना अझै बढ्न सक्छ,' उनले भने।
पछिल्लो पटक कीर्तिपुर नगरपालिका 'टौदह परिसरमा पर्यटन पूर्वाधार विकास' का लागि परियोजना अगाडि बढाएर त्यस्तै दोहनमा अग्रसर हुने क्रममा छ।
धार्मिक पर्यटन बढाउने उद्देश्यले टौदह परिसरमा पानीको फोहोरा, करकटेश्वर महादेवको मन्दिर, पाटिपौवा, पुल, टौदह प्रतीक चिह्न लगायत पूर्वाधार निर्माण गर्ने प्रस्ताव नगरपालिकाले गरेको हो। यस्ता पूर्वाधारले आफूजस्तै प्रकृति र चरासँग रमाउने मस्तमौलाहरूलाई पक्कै असर पुग्ने उनको निचोड छ।
सञ्जीव आधुनिकता विरोधी होइनन् तर त्यसले चरा र अन्य जनावरलाई असर पुर्याउन नहुनेमा सचेत छन्, 'हामीलाई सडक पनि चाहिन्छ, एयरपोर्ट, रेस्टुरेन्ट पनि चाहिन्छ। तर प्रकृति पनि त चाहिन्छ। एउटा सन्तुलन विन्दु हुनुपर्छ। आफ्नो आर्थिक पाटो मात्रै हेरेर हजारौं वर्षदेखि आइरहेका चरालाई असर त गर्नु भएन नि। एकछिन त उनीहरूका लागि पनि सोचौं न।'
उनलाई लाग्छ– अहिले हामी 'स्टाटस सिम्बोल' बनाउने, नाम, दाम कमाउने दौडमा छौं। हामी कतिपयलाई त किन यस्तो दौडमा कुदिरहेका छौं भन्ने थाहा समेत छैन। 'छेउछाउका कुदिरहेका छन्, त्यसैकारण हामी पनि कुदिरहेका छौं' भनेझैं भइरहेको छ। यसले कालान्तरमा निकै क्षति पुर्याउन सक्ने उनी बताउँछन्।
'त्यस्तो कुदाइले मानिसका कल्पनाका बाटा पनि रोकिन्छन् जस्तो लाग्छ। कल्पनामै भए पनि कमसेकम मान्छेले उड्न सक्नुपर्यो,' उनले भने, 'आफ्नै मनको दहको गहिराइमा त डुबेर मान्छेले आफूलाई चिन्न सक्नुपर्छ।'
चरालाई उड्न भिसा-पासपोर्ट चाहिन्न। मानिससँग भने मेरो सिमाना, मेरो देश, मेरो घर, जग्गा, सम्पत्ति जस्ता 'मेरो' को भावना छ। त्यहीकारण पनि मानिसहरू सजिलै चरा जसरी उड्न सकेका छैनन्, सञ्जीवको ठम्याइ छ।
'हाम्रा दृष्टि मानव केन्द्रित भइरहने हो भने टौदहमा चरा मात्रै होइन, हामी आफैं पनि रमाउन सक्दैनौं,' सञ्जीव भन्छन्, 'त्यसैले मेरोको भावना त्यागेर उनीहरूका बारेमा पनि सोच्ने समय आएको छ। अहिले हामीले टौदह जोगाउन सकेनौं भने पछुताउनुको विकल्प रहन्न।'
अनि प्रकृतिसँग रमाउने उनीजस्तै धेरैको सम्बन्ध पनि टौदहसँग नटुट्ला भन्न सकिन्न!
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी
(सबिना श्रेष्ठका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)