खोकना कथा- शृंखला २
पूर्वको उकालोमा बसेको खोकना पश्चिममा अस्ताउँदै गरेको घामको प्रभावले हल्का रन्किएको थियो। यस्तोलाई रन्किएको भन्ने कि लालिमा चढेको भन्ने? कहिलेकाहीँ उपमा दिन पनि गाह्रो हुन्छ।
म उँभो हेर्दै अगाडि बढिरहेको थिएँ। उकालो सुरू हुने ठाउँनिरै देखिए एउटा कृषक समूह। त्यहाँ थिए, काँधमा नोल राखेर दुईतिर भारी बोकेका एक वृद्ध र उनका साथमा दुई वृद्धा। उनीहरू दिनभरि खेतको काम सकेर घरतर्फ उक्लँदै थिए।
मलाई उनीहरूसँग कुरा गर्न मन लाग्यो। त्यसैले फटाफट पाइला चालेँ।
द्वारिकानाथ डंगोल, उमेर ६७ वर्ष, खोकनाको साबिक एक नम्बर वडाका वासिन्दा।
‘अस्ति त यतातिर पुलिस र किसानहरूको भिडन्त भयो रे नि?’ मैले साथसाथै पाइला चाल्दै उनलाई सोधेँ, ‘के भएको रहेछ?’
अपरिचितलाई देखेपछि एकछिन त उनी बडो संदिग्ध नजरले मलाई हेर्न थाले। सुरूमा पन्छिन खोजे। नेवार भाषामा श्रीमान्-श्रीमती खासखुस गरे। वास्ता गरेनन्। मैले पनि पछ्याइरहेँ। त्यसपछि बल्ल विस्तारै बोले।
‘मैले हेर्दा त यहाँ काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो भइरहेको छ,’ उनले थपे, ‘पुलिससँग किन भिडन्त भइरहेको हो मलाई पनि थाहा छैन।’
उनले कुरै कुरामा अर्को उदाहरण पनि दिए।
‘अस्ति त्यहाँ बुंगमती (छेवैको अर्को प्राचीन बस्ती) मा जन्डिस लागेको मान्छे रक्सी खाएर मरेको थियो,’ अगाडि थपे, ‘त्यो मान्छे भाइरसले मर्यो भनेर पूरै नेपालभर फेसबुकमा राखिदिए। अहिले मान्छेहरू बुंगमती भन्यो कि बाबा रे बाबा गर्न थालेका छन्। यो सब यस्तै भइरहेको छ आजकल।’
त्यसो भए के उनी खोकनाबारे सत्यतथ्यभन्दा गलत अफवाह फैलिरहेको ठान्छन्? के प्रस्तावित फास्ट ट्रयाक लगायत थुप्रै 'विकास' आयोजनाबाट आफूहरू प्रभावित हुनेमा उनी अनभिज्ञ छन्?
‘होइन नि,’ उनले प्रस्ट पारे, ‘बाहिरबाट हेर्दा खोकनाका सबै मानिस लड्न-भिड्न तयार बसेजस्तो देखिएको छ। ‘हरामी दादा’ भनेजस्तो। हामी त्यस्तो हो त? यो सब फेसबुकले गरिरहेको छ। मैले त्यो चाहिँ होइन भनेको। यहाँ हाम्रो कथा कसैले सुनेको छैन, कसैले बुझेको छैन।’
उकालो लाग्दै गर्दा मैले त्यही कथा उधिन्न उनलाई सक्दो सहज पार्ने कोशिस गरेँ। उनी पनि खुल्दै गए।
‘उ... त्यो सिधा अगाडिको जग्गा मेरो हो,’ उनले ओरालोतिर फर्केर पर औंल्याए, ‘त्यहाँ हाम्रो सगोलको पाँच रोपनी जग्गा फ्याक्टाइस (फास्ट ट्रयाक) मा परेको छ, त्यसमा ३९ आना मेरो एक्लो जमिन हो।’
उतिबेलै गोरखापत्रमा सूचना छापिएपछि आफू मुआब्जा लिन एकपटक गएको पनि उनले सम्झना गरे।
‘बाउको नाममा जग्गा छ। नामसारी गर्न सकिएन। मालपोतमा कहिले हो कहिले? त्यसैले एक सुका पनि नलिएरै फर्किएँ,’ उनले भने।
उनले कुरै कुरामा अर्को जानकारी पनि दिए।
‘यहाँ हामीजस्तो आफ्नै जग्गा नभई गुठीको जग्गामा वर्षौंदेखि कमाउँदै आइरहेका थुप्रै किसान र मोही परिवार पनि छन्। सरकारले त्यो जग्गामा बाटो बनायो भने ती किसानले वर्षौंदेखि हातमुख जोर्दै आएको आधार पनि सकिन्छ।’
द्वारिकानाथले यी कुरा भनिरहँदा मेरो दिमागमा पोहोर खोकनाका भूकम्प पीडितहरूको रिपोर्टिङ गर्दाका सम्झना बग्न थाले।
मुलुकभरि अधिकांश स्थानमा धमाधम भत्केका घर बन्न सुरू भइसके पनि खोकनामा भने चार वर्षसम्मै लडेका घर जस्ताका तस्तै देखिन्थे। अनि त्यहाँका पीडितजति टेन्ट लगाइएको शिविरमा बस्दै आएका थिए।
‘यो गाउँभर आजसम्म एउटा पनि घरको लालपूर्जा बनेकै छैन,’ त्यतिबेला ललितपुर महानगरपालिका–२१ अर्थात् खोकनाका वडाध्यक्ष रविन्द्र महर्जनले भनेका थिए, ‘त्यसैले सरकारी प्रणाली पछ्याएर पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराउने अनुदान यहाँका गाउँलेहरूले पाउनै सकेका छैनन्।’
यसरी गाउँभरि कसैको कागज नभएपछि त्यतिबेला वडाध्यक्षले सरकार गुहारे। अन्तको हिसाबले बनाइएको नियमबाट खोकनावासीलाई मर्का पर्ने आवाज उठाए। बल्लतल्ल खोकनाका हकमा बेग्लै नियम बनाइयो। त्यो थियो, छिमेकीको सर्जमिनका आधारमा पहिलो किस्ता रकम दिने।
पहिलो किस्तामा पुनर्निर्माण प्राधिकरणले प्रत्येक घरलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो। त्यो पनि ८ सय ३७ पीडित परिवारमध्ये केवल ४ सय २० परिवारले पाए। बाँकीका हकमा अंशबण्डा नभएकाले त्यो पनि पाएनन्।
यतिबेलासम्म मुलुकभर भूकम्पले भत्केका घर बनाउन पीडितहरूले तीन किस्तामा सरकारले तोकेको सम्पूर्ण रकम पाइसकेका छन्। खोकनामा भने गाउँलेले उही पहिलो किस्ताबाहेक आजसम्म एक पैसा पाएका छैनन्। ‘कोर एरिया’ बाहिर घर बनाएकाहरूको हकमा भने उनीहरूका कागजपत्र दुरुस्त भएकाले अवस्था फेरि बेग्लै छ।
यसरी एउटा–दुइटा कुराले मात्र होइन, अनेक कारणले खोकना बाँकीको नेपालभन्दा बेग्लै छ भन्ने ज्वलन्त उदाहरण थियो यो।
त्यसैले त मैले यसपालि उनै वडाध्यक्ष रविन्द्रलाई फेरि भेटघाट गर्दा खोकनाका जग्गा-जमिनको कागजातकै बारेमा अलिक विस्तारमा बुझ्न चाहेँ।
के वास्तवमै खोकनाका कुनै पनि घरधनीको लालपूर्जै छैन?
‘हो छैन,’ वडाध्यक्ष रविन्द्रले भने, ‘खोकना भनेर जुन बस्ती तपाईं देखिरहनुभएको छ, वा हामी अहिले जुन बस्तीमा बसिरहेका छौं, यो बस्तीमा कसैको लालपूर्जा छैन।’
रविन्द्रका अनुसार आजसम्म खोकनाको नापी नै गरिएको छैन। त्यसैले नापी नभएको जग्गाको लालपूर्जा हुने कुरै भएन।
‘परम्परागत हिसाबले हामी जसरी बसोबास गर्दै आएका थियौं, आज पनि त्यसरी नै बस्दै आएका छौं,’ उनले भने, ‘आधुनिक प्रणालीसँग हाम्रो नातै जोडिएको छैन।’
यो कुरा अझ प्रमाणित रूपमा बुझ्न म लगनखेलस्थित ललितपुर जिल्ला मालपोत कार्यालय पुगेँ।
मालपोतका नायब सुब्बा चक्रप्रसाद श्रेष्ठले खोकनाका जग्गा-जमिनको हरहिसाब राख्दा रहेछन्। ललितपुरका अन्य गाउँभन्दा बेग्लै सिंगो खोकनावासीका जग्गा त्यहाँ केवल ४७ वटा ठेलीमै अटाएको भेटियो। नौवटा ठेली भने गुठीका नाममा भएका जग्गाको विवरणले भरिएको थियो।
यसलाई तुलना गर्न चक्रप्रसादले नै हेर्ने गरेको अर्को स्थान अर्थात् ललितपुरकै सानागाउँको विवरण मागेँ। सानागाउँमा भने त्यहाँका जग्गा-जमिनको लगत ९७ वटा ठेलीमा अटाएका रहेछन्। गुठीको ६ वटा ठेलीसमेत गरेर त्यो संख्या १ सय ३ पुग्दो रहेछ। जबकि, सानागाउँले जम्मा ४ हजार ७ सय ८६ रोपनी जग्गा समेटेको छ भने खोकनाले ६ हजार २ सय ३० रोपनीभन्दा बढी (३.१६९६ वर्ग किमी)।
यसले अन्तर प्रस्ट पार्थ्यो। तै पनि खोकनावासीले लालपूर्जा निकालेको ४७ ठेली त मालपोतमा रहेछ नि? यो विरोधाभाष किन? उनै वडाध्यक्षलाई सोधियो।
‘खोकना गाउँको कुनै पनि घरको लालपूर्जा छैन भनेको हुँ,’ उनले स्पष्ट पारे, ‘तल किसानले खेतीपाती गर्ने जग्गाको त नापी भएर लालपूर्जा पाएकै छन्।’
त्यसैगरी खोकनाको ‘कोर एरिया’ बाहेक बाहिर-बाहिर नयाँ बसोबास गर्नेहरूको परिस्थिति पनि बेग्लै हुने नै भयो।
वडाध्यक्ष रविन्द्रका अनुसार तल लालपूर्जा भएको खेती गरिने जग्गामा पनि सबै जग्गा व्यक्तिगत सम्पत्ति होइनन्। त्यसमध्ये कतिपय गुठीका जग्गा छन्, जुन यहीँका वासिन्दालाई कमाउन दिइएको छ।
‘कूल खेती गरिने जग्गामध्ये झन्डै १० प्रतिशत रुद्रायणी लगायत विभिन्न गुठीका छन्,’ उनले भने, ‘त्यसरी गुठीका जग्गा परम्परादेखि हकभोग गर्ने किसानले त्यहाँ कुनै पनि निर्माण गरियो र त्यो खेतबाट उनीहरूलाई विमुख पारियो भने एक पैसा क्षतिपूर्ति पाउँदैनन्।’
खोकनामा यस्ता अनेक गुठी छन्। जस्तो, वर्षोवा गुठी। यो गुठीको कामै साताकोे एकपटक रुद्रायणी मन्दिरकै अगाडि पूजापाठ गर्नु हो। त्यस गुठीको पनि जग्गा छ। त्यसबाहेक विष्णुनारायण गुठीहरू पनि छन्।
‘निजी जग्गाका हकमा पनि थुप्रैमा त अंशबन्डा नगरेर सगोलमै खेती गरेर खाने हिसाबले हकभोग हुँदै आएको अवस्था छ,’ वडाध्यक्ष भन्छन्, ‘त्यसैगरी कतिपय त अंशबन्डा भएर पनि दर्ता नभएका, पूर्जा लिन बाँकी जस्ता धेरै किसिमका जमिन छन्।’
यी थुप्रै प्रकारका परिचय बोकेका जग्गा भए पनि खोकनावासीलाई बस्ती तलको फाँटमा गएर आफूले पहिलेदेखि हकभोग गर्दै आएको खेतमा बाली लगाएर जीविकोपार्जन गर्न खासै फरक परेको थिएन। त्यसैले उनीहरूले कागजपत्रको झमेला पनि उठाएका थिएनन्। अहिले भने त्यही जमिनबाट प्रस्तावित फास्ट ट्रयाक गुज्रने भएको छ।
पछिल्लो समय कतिपय गाउँलेले 'सरकारलाई दिने हो भने छिनोफानोको झमेलामा लाग्नुको साटो यथाअवस्थामै जे पर्ला टर्ला भन्दै खेती गरेरै बसिरहनु श्रेयस्कर ठानेको' वडाध्यक्ष रविन्द्रले बताए।
अहिले सायद यस्तै अवस्थामा पुगेका छन्, मसँगै खोकनाको उकालो लाग्दै गरेका ६७ वर्षीय द्वारिकानाथ डंगोल।
‘उतिबेला गोरखापत्र पढेर के रहेछ भन्दै बुझ्न जाँदा मेरो मनमा पैसो पाएदेखि छिनोफानो गरेरै फर्किन्छु भन्ने थियो,’ उनले भने, ‘अहिले चाहिँ गाउँमा अरूले पनि मुआब्जा नलिइरहेका बेला मलाई पनि गाउँलेजस्तै पर्खेर हेरौं भन्ने लाग्न थालेको छ।’
अर्थात्, अब भने उनी मुआब्जा लिएर जग्गा सुम्पने सोचमा छैनन्। त्यसो हुनुका पछाडि द्वारिकानाथको अर्को कारण पनि रहेछ।
‘मेरो जग्गाको नक्सामै चारैतिर बाटो छ। तै पनि रोपनीको जम्मा ४८ लाख मात्रै दिने भनिरहेका छन्। त्यतिमा दिँदा त केही फाइदै भएन। बच्चाहरूले मोबाइलमा हेर्दा फ्याक्टाइस (फास्ट ट्रयाक) मा दिएपछि वरिपरि जग्गा बाँकी हुन्छ भन्दैछन्। बीचमा बाटो गएर दुईतिर बाँकी हुने जग्गा के गर्ने?’ उनले सोधे।
त्यसो भए अब के होला त?
यतिबेला भने उनी विनम्र पाराले हाँस्न थाले। हाँसोकै बीच ढाकाटोपी र कानको बीचमा कोट्याउँदै बोले।
‘के गर्ने हजुर? सिटी समारट (स्मार्ट सिटी) ले एउटा बाटो, हाइट्रो संघ (हाइटेन्सन) ले एउटा बाटो, उतातिर रिंगरोड, यता फ्याक्टाइस (फास्ट ट्रयाक) भनेको छ। त्यो सबै हेर्दा हामी त खत्तमै हुने भयौं। हो कि होइन हजुर? हामी नेपालीहरूलाई यस्तो आपत् किन परेको? अब बीचको जग्गा ल्याऊ भन्छ। दुईतिरको जग्गा के गर्ने? ... अब सबैको सल्लाहअनुसारले नेपाल सरकारको के विचार छ? सबैलाई उ गर्यो भने आफू एक जनाले भनेर मात्रै पनि हुँदैन।’
उनका मूर्त–अमूर्त कुराभित्र पुस्तौंदेखि खेतीपाती गर्दै आएको जग्गाको माया, भविष्यलाई लिएर अन्यौल, सोझो गाउँलेपन र विनम्रता सब एकसाथ झल्किँदै थिए।
यतिन्जेल हामी उकालो सकेर खोकनाको परिचित चौतारोमा पुगिसकेका थियौं।
यो चौताराको एकातिर गाउँकै ठूलो ‘रुद्रायणी माध्यमिक विद्यालय’ छ भने अर्कोतिर अहिले पनि बचेखुचेका टेन्ट र टहरा देखिन्छन्। भुइँचालोबाट विस्थापित खोकनावासीलाई राख्न उतिबेला यस्ता छ सयवटा टहरा बनेको वडाध्यक्ष रविन्द्रले बताएका थिए।
पोहोरसम्म पनि यस स्थानमा २७ वटा टहरा थिए, जसमा उल्लेख्य संख्यामा पीडितहरूको बसोबास देखिन्थ्यो। अहिले भने यो चौताराको छेउमा केवल पाँच–सातवटा सग्ला टहरा देखिन्थे र बसोबास पनि अत्यन्तै थोरै मानिसमा सीमित भइसकेको रहेछ।
गाउँतर्फ बढ्दै जाँदा बाटाका दुवैतिर अहिले धेरै नयाँ घर बनिसकेको देखियो। ती घरका भित्तामा रातो इँटाको बीचमा थोरै सेतो देखिने सुर्खी चुनाको टिपकारीले मौलिकता दर्शाइरहेको थियो। त्यसमा अझ काठका टोन सीं (टुँडाल), मौलिक झ्यालढोका र झिंगटीजस्तै देखिने डिजाइनले नेवार शैलीको मोडलमा थप योगदान दिइरहेका थिए।
‘त्यो बेला भत्केका घरमध्ये अहिले ६० प्रतिशतभन्दा बढी तयार भइसकेका छन्,’ बाटोछेउमै भेटिएका एक युवकले भने। यी घरहरू पुननिर्माण प्राधिकरणको अनुदानभन्दा गाउँलेको आफ्नै प्रयासबाट उभिएको उनको दाबी थियो।
यहाँबाट अझ अगाडि बढेपछि कोयलाक्षी मोड आइपुग्छ। त्यो मोडमा एउटा पाटी छ। तीनतर्फ खुला, एकातिर बन्द संरचनाको पाटी। यसलाई ‘जितापुर मण्डप’ भनिन्छ। त्यसैबाट जितापुर बनेको स्थानीयको विश्वास छ। जितापुर अर्थात् खोकनाको पुरानो नाम।
भूकम्पले यो परम्परागत नेवार शैलीको कलात्मक जितापुर मण्डप पूरै ढालिदिएको थियो। त्यसको पुनर्निर्माण भने तत्कालै सुरू गरियो। केही भागमा अहिलेसम्म पुनर्निर्माण चलिरहेकै छ।
यसरी कोयलाक्षीको घुम्ती नाघेपछि बल्ल विशाल मन्दिर उभिएको चोयलाक्षी देखिन सुरू हुन्छ। नेवार भाषामा कोय भनेको तल, चोय भनेको माथि र लाक्षी भनेको चोक। यस हिसाबले अघिको तल्लो चोक थियो भने अब आउँदै गरेको माथिल्लो चोक।
यो खोकनाकै मुख्य केन्द्र पनि हो।
यसै चोकमा गाउँकै आस्थाको केन्द्र रुद्रायणीको विशाल मन्दिर एकातिर छ भने अर्कातिर ‘दे पुखु’ अर्थात् धार्मिक महत्व बोकेको ‘गाउँको पोखरी’ छ। मन्दिरको छेउमा एउटा चैत्य पनि छ। चारैतिर कतै नयाँ त कतै अझै पनि उभिइरहेका पुराना घर छन्, जसका झ्यालबाट फूलको माला उनेजस्ता रातो लाम्चे खुर्सानीका लहरा तलैसम्म झुलिरहेका देखिन्छन्।
प्यागोडा शैलीको त्रिखण्डी छानोसहित विशाल रुद्रायणी मन्दिरको निर्माण १५ औं शताब्दीमा राजा अमर मल्लले गराएका थिए। त्यतिबेला उपत्यकामा फैलिएको महामारी नियन्त्रण गर्न यो मन्दिर बनाइएको मान्यता छ।
खोकनाका कृषक मूलवासी डंगोल र महर्जन निकैअघि उपत्यकाकै पचली भैरवबाट बसाइँ सरेर आएपछि यो स्थानमा बसोबास सुरू भएको भनाइ छ। खोकनाको उत्पत्ति र बसोबासलाई लिएर अन्य किम्बदन्तीहरू पनि छन्।
मन्दिर छेउबाट गुज्रिएको सोझो मुख्य बाटो उपत्यकाका यस्ता पुराना बसोबासमा विरलै देखिने गरी फराकिलो छ। त्यो बाटोबाहेक पोखरीका छेउछाउदेखि विपरित दिशामा पनि बाटोहरू छुट्टिएका छन्। यो खोकनाको माथिल्लो चोक (चोयलाक्षी) मात्र नभई बस्तीकै ठूलो चोक हो भन्ने पनि स्पष्ट देखिन्छ। यसै चोकमा हरेक समय विभिन्न गतिविधि भइरहेकै हुन्छन्।
अलिक वर्ष अघिसम्म यो स्थानले मध्यकालीन नेपालको झल्को दिन्थ्यो। त्यसैले पनि सरकारले सन् १९९६ मे २३ तारिखमा यो सिंगो बस्तीलाई विश्व सम्पदा सूचीमा राख्न युनेस्कोलाई अनुरोध गरेको थियो। युनेस्कोले यसलाई ‘टेन्टेटिभ लिस्ट’ मा अहिले पनि राखेको छ। यद्यपि यो सुनसान बस्तीमा पछिल्लो समय असाध्यै तीव्र परिवर्तन देखिन थालिसकेका छन्।
जस्तो, यतिबेलै यो चोकमा फास्ट ट्रयाकलाई लिएर विरोध सभा आयोजना भइरहेको छ। छेउछाउका भित्तामा टाँसिएको पोस्टरमा ‘पम्फा भूषाल निषेधित क्षेत्र’ लेखिएको छ। भूषाल यसै स्थानबाट निर्वाचित सांसद हुन्। केही साँझअघि मात्र उनी लगायत थुप्रै नेताहरूको यसै चोकमा पुतलासमेत जलाइएको थियो। यसबारे म पछि चर्चा गर्नेछु।
विरोध सभाका लागि मन्दिरछेउ माइक लगाइएको छ। केही प्लास्टिकका कुर्सी राखिएका छन्। फास्ट ट्रयाकमा खोकनावासीका तर्फबाट विद्रोहको नेतृत्व गर्दै आएका नेपाल डंगोल बोल्न तम्तयार छन्। अर्का नेतृत्वकर्ता असोज महर्जन खोइ किन हो यता कतै देखिएका छैनन्।
ठिक यतिबेलै पर कुनामा मैले एउटा परिचित अनुहार देखेँ। मझौलो कदको ज्यानमा लामो कपाल झुलिरहेको। ओहो, उनी त खोकनाकै ४६ जना जीवित देवतामध्येका एक पो हुन्! ७७ वर्षीय माइलाकाजी महर्जन।
भूकम्प पीडित भएर शिविरमा बसिरहेका बेला पोहोर मैले उनको अन्तर्वार्ता लिएको थिएँ। त्यति बेला अन्तवार्ता दिँदादिँदै यी देवता रोएका थिए।
म माइलाकाजीलाई भेट्न चाहन्थेँ। त्यही बेला मेरा सामुन्ने विद्रोहको नेतृत्वकर्ता नेपाल डंगोल उपस्थित भए। डंगोलसँग एकैछिन कुराकानी गरेर अघिकै ठाउँ पुग्दा माइलाकाजी त्यहाँबाट हराइसकेका थिए।
मेरा नजरले एकछिनसम्मै ती अचानक हराएका खोकनाका जीवित देउतालाई खोजिरहे। साँझ विस्तारै अँध्यारोमा परिणत हुँदै गयो।
शृंखलाको अर्को भागमा म नेपाल डंगोलसँगको कुराकानी र खोकनाको जीवित देवताको परम्परासँगै धार्मिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्नेछु।