खोकना कथा- शृंखला १
दुई दशकअघिसम्म पनि अनकन्टार र एक्लो थियो, खोकना।
म त्यो समयको कुरा गर्दैछु, जति बेला हामी बिहानी हिँडाइमा फरक-फरक गन्तव्य खोज्दै निस्कन्थ्यौं। एकदिन चक्रपथ नाघेर भैंसेपाटी आवास क्षेत्र हुँदै अगाडि बढ्यौं। आवास क्षेत्रबाट दक्षिणतर्फ झरेको ओरालो समात्दै बढ्दा हामीलाई अनौठो संसारमा पुगेको भान भयो।
पर–परसम्म फैलिएका खेतमा तोरी झुल्दै थिए। ओरालो सकिएपछि झनै ठूलो फाँट आइपुग्यो। अझ फराकिलो पहेँलपुर धर्ती। त्यहाँबाट पनि अगाडि बढेपछि उकालोमा एउटा प्राचीन बस्ती देखियो।
त्यो थियो, खोकना।
सुरूमा तत्कालीन ९ नम्बर वडा, अर्थात् थोरै घरहरू भएको ‘सानो खोकना’। अझै दक्षिण लागेपछि ठूलै बस्ती, जसमा १ देखि ८ वटा वडा समेटिएका थिए। त्यसलाई भनिन्थ्यो ‘ठूलो खोकना’।
नामअनुसार यो खोकना ठूलो थियो। तल सर्वत्र तोरीबारी र माथि उकालोमा रमाइलो बस्ती। बस्तीकै महत्त्वपूर्ण रुद्रायणी मन्दिर टुचुक्क उठेर बाँकी चारैतिर पुराना छानै छाना। माथि विशेषतः कृषक जातिहरू महर्जन र डंगोलको बसोबास। तल उनीहरूकै खेत।
सिंगो ललितपुर जिल्लामै भोर्लेकुलो सिँचाइ आयोजनाले समेटेको क्षेत्रपछि यो दोस्रो सर्वाधिक कृषियोग्य फाँट हो, जसको क्षेत्रफल १२१ हेक्टर छ।
कुनै समय यही फराकिलो फाँटमा उब्जेको तोरी कोल्हुमा पेलेर यस पुरानो बस्तीले उपत्यकावासीलाई तेल उपलब्ध गराउँथ्यो।
समय फेरियो। विश्व बजारसँग काठमाडौं जोडिएपछि खोकनाको ‘तेल उत्पादक’ पहिचान पनि मासिँदै गयो। बच्यो त केवल चिसा भित्ता, साँघुरा गल्ली अनि हाँसका बथानले गिजोलेका हिलाम्मे बाटाहरू। तिनै गल्लीमा उज्यालो पर्न थालेसँगै अँध्यारा घरहरूबाट फुत्तफुत्त निस्कँदै गरेका ‘प्राचीन’ मानिसहरू देखापर्न थाले।
कुनै समयको यो बेग्लै गाउँ विकास समितिलाई पछिल्लो समय ललितपुर महानगरपालिकाको वडा नम्बर २१ बनाइएको छ। तर, कहाँनिर गएर यो महानगर हुन्छ र कहाँनिर उही पुरानै गाउँ रहिरहन्छ भनेर खोजी गर्ने हो भने जताततै विडम्बनापूर्ण प्रश्न उभिन्छन्। ललितपुर महानगरकै केवल डेढ प्रतिशत जनसंख्या ओगटेको यो कृषक बस्तीले सिंगो महानगरको झन्डै ९ प्रतिशत भूभाग ओगट्छ। पछिल्लो समय पनि जब जब म खोकनाका सामान्य किसानलाई उनीहरूको घर कता पर्छ भनेर सोध्छु, बहुसंख्यकले टोलको नाम भन्नुभन्दा तत्कालीन खोकना गाविसकै वडानम्बर भन्न सजिलो मान्छन्।
यो हाम्रो सहरीकरणको रित नै हो, यस्ता झिना बस्तीहरू तबसम्म हाम्रो स्मरणमा रहन्छन्, जबसम्म हामीलाई उनीहरूको आवश्यकताको बोध रहन्छ। जुन दिन आवश्यकता निख्रियो, या त ती आफ्नै दुनियाँमा अलग्गै बाँच्छन् या सहरीकरणको डोजरले तिनलाई पनि खर्लप्पै निल्छ।
काठमाडौंसँग त्यसैगरी बाँच्दै आएको थियो, केही समयअघिसम्मको खोकना। न खोकनातर्फ कसैको ध्यान थियो, न खोकनालाई कसैको मतलब। बाँकीको संसार आफ्नो ठाउँमा, खोकना आफ्नै ठाउँमा।
त्यसो हुञ्जेलसम्म सबै ठिकठाक चलिरहेको थियो। तर, केही वर्षयता खोकनामा खलबली मच्चिन थाल्यो। किनकि, काठमाडौंलाई फेरि खोकनाको आवश्यकता पर्न थाल्यो। फैँलिदै गएको काठमाडौंको आवश्यकतामा खोकनाका चाहनाहरू बन्धक बने। द्वन्द्व सुरू भयो। पछिल्लो समय त्यो द्वन्द्वमा स्वयं नेपाली सेना एउटा पक्ष बनेर उभियो। त्यसपछि खोकनातिरबाट आउने आवाज झनै चर्कियो। आवाजसँगै समाचारका स्वर पनि चर्किंदै गए।
यसबीच धेरैपटक मुख्यसडक भएरै खोकना आवतजावत गरेको मैले यो साता भने दुई दशकअघि बिहानी हिँडाइकै क्रममा छिचोलेको भैंसेपाटी आवास क्षेत्रको बाटो समातेँ।
आवास क्षेत्रबाट दक्षिणतर्फ झरेको त्यही ओरालै ओरालो अघि बढ्दा एकदमै बेग्लै दृश्य देखियो। उबेलाका हिलाम्मे आलीहरू अहिले पक्की बाटोमा रूपान्तर भइसकेका रहेछन्। बाटोका दायाँबायाँ पनि पक्की सडक फिँजिदै गएका देखिन्थे। अनि जुन खेतका गराहरूमा उतिबेला तोरी झुलिरहेका देखिन्थे, अहिले डिजाइन डिजाइनका घर बनिसकेका रहेछन्। यो क्रम अलिक परसम्मै देखियो।
अर्थात्, काठमाडौंका तोरी फुल्ने गराहरूले घरहरू फलाउन थालेछन्। ढिलोचाँडो यसले खोकनालाई आफ्नो चपेटमा पार्ने नै थियो। तर, त्योभन्दा अगावै खोकनालाई अझ बेस्सरी तर्साउन अरू थोक आइदियो।
त्यो थियो, आधुनिक काठमाडौंको विस्तारलाई आवश्यक पर्ने बाह्य चक्रपथ, फराकिला फाँटहरूमा उभ्याइने स्मार्ट सिटी, बागमती करिडोर (बागमती रिभर बेसिन इम्प्रुभमेन्ट प्रोजेक्ट), थानकोटतिरबाट आएर भक्तपुरतिर जाने उच्च भोल्टेजको विद्युत (१३२ केभिए) कुद्ने प्रसारण लाइन अनि पछिल्लो समय काठमाडौंबाट निजगढलाई एक घन्टामै जोडिदिने महत्त्वाकांक्षी सडक ‘फास्ट ट्रयाक’। साढे ७२ किलोमिटर लामो यो सडकलाई सरकारले ‘राष्ट्रिय गौरवको आयोजना’ मा राखेको छ।
यो फास्ट ट्रयाकको चर्चा धेरै पहिलेदेखि थियो। तर, सन् २००६ सेप्टेम्बरमा एसियाली विकास बैंकले उपलब्ध गराएको सम्भाव्यता अध्ययनपछि काठमाडौंलाई छोटो यात्रामै मधेससँग जोड्ने र निजगढमा प्रस्तावित भावी अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधारका रूपमा यो बाटोको चर्चा चुलियो। त्यसको पाँच वर्षमै यो सडक आयोजनाको ‘वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन’ तयार भयो, जसले प्रस्थान विन्दुबाट झन्डै छ किलोमिटरको दुरी तय गर्दा उपत्यकाको नेवार समुदायका सामाजिक, आर्थिक, धार्मिक महत्त्वका भूभागहरू पर्ने भनेर परामर्शदाताले उल्लेख गरेको बताइन्छ। त्यो प्रतिवेदन आफूहरूले धेरैपटक माग गर्दा पनि सरकारले नदिएको स्थानीयको गुनासो छ।
यसरी निर्माणको दिशामा बढेको फास्ट ट्रयाक सडक सुरूमा सरकारले चाहेअनुसार ‘बुट मोडल’ (तयार पार्नेले नै निश्चित अवधिसम्म यसबाट कर उठाएर चलाउने र त्यसपछि सरकारलाई फिर्ता गर्ने) बाट अघि बढ्न सकेन। त्यसपछि सरकार स्वयं यसलाई बनाउन कस्सियो।
सुरूमा भारतीय कम्पनीले ठेक्का पाएको थियो। तर, त्यति बेलै भुइँचालोदेखि संविधान घोषणा हुँदै नाकाबन्दीसम्म भइदियो। काम अघि बढेन। बरू विवाद चर्कियो। पूर्वाधारदेखि लिएर विकासविद्सम्मले यो सडक निर्माणमा भारतीय संलग्नतालाई लिएर भविष्यमा ठूलो आर्थिक जोखिम औंल्याउँदै आपत्ति जनाए। लगत्तै सर्वोच्च अदालतले त्यो ठेक्कामै विराम लगाइदियो।
त्यसपछि सरकारले २०७३ को अन्त्यतिर आफैंले यो परियोजना अघि बढाउने निधो गर्यो, जसलाई योजना आयोगले पनि सम्भव छ भनेर रिपोर्ट दियो। त्यसको तीन महिनापछि २०७४ वैशाख २१ गते नेपाल सरकारले यो बाटो निर्माणको जिम्मेवारी नेपाली सेनालाई सुम्पने निर्णय गर्यो।
भारतीय निर्माण कतिसम्म खर्चिलो थियो भने, उसले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत सेनाले प्रयोग गर्न खोज्दा त्यसको मूल्य ६१ करोड रुपैयाँ माग गरिएको थियो। पछि सेनाले दक्षिण कोरियाको सुसुंग कम्पनीसँग १० करोड १५ लाख रुपैयाँ लागतमा प्रतिवेदन तयार पार्न लगायो। कोरियाली प्रतिवेदनअनुसार सुरुङको लम्बाइ बढ्नुका साथै बाटोको कुल लम्बाइ करिब तीन किलोमिटर घटेको छ।
सुरूमा चार वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको सेनाले डिपिआर नहुँदै एसियाली विकास बैंकले तयार पारेको प्रारम्भिक सम्भाव्यता अध्ययनकै आधारमा क्याम्पहरू बनाउने, रूख काट्ने र पहरा फोड्ने काम धमाधम अघि बढाइसकेको थियो।
यता आफ्नै थातथलोमा थुप्रै परियोजना लाद्न खोजिएको अवस्थालाई रोक्दै आएका खोकनावासी फास्ट ट्रयाकका निम्ति स्वयं सेना युद्धस्तरमा अगाडि बढेपछि अब आफूहरू कमजोर हुने देखेर भयभीत र सतर्क भए। सेनाले खोकनामै क्याम्प राखिसकेपछि त दोहोरो द्वन्द्व नै सुरू भयो।
उपत्यकाका विभिन्न भेगमा यी सबै परियोजनाको प्रभाव कतै न कतै पर्थ्यो। तर, खोकना यस्तो केन्द्र भइदियो, जहाँ यी सबै परियोजना एकैठाउँ गुज्मुजिन आइपुग्थ्यो।
यसले खोकनाको भविष्य कता लैजाला? यो श्रृंखलामा हामी यसको उत्तर खोज्ने प्रयास गर्नेछौं।
सेनाद्वारा फास्ट ट्रयाक निर्माण अघि बढेपछि बाँकीका परियोजना पनि आफूहरूले थाम्न नसक्ने र त्यसले परम्परादेखिको कृषि कर्म, रितिथिति मासिने र आफ्नो उठिवास हुने भयले खोकनावासीका आँखीभौं चौडा भए।
फास्ट ट्रयाकभन्दा अगावै करिब डेढ दशकअघि यो ठाउँमा पहिलो परियोजना आएको थियो- विद्युत ट्रान्समिसन लाइन। कुलेखानीबाट थानकोट हुँदै हरिसिद्धितर्फ बढेको त्यो अत्यन्त बढी भोल्टेजको लाइन खोकना तलका खेतहरू हुँदै जान्थे। त्यसरी लगिएको लाइनको दुवैतर्फ २५–२५ मिटर दायाँबायाँ घर बनाउन नपाइने नियम थियो।
गाउँलेहरूलाई त्यो मञ्जुर भएन। उनीहरूले गाउँतर्फ आउँदै गरेको टावरै भत्काइदिए। प्रसारण लाइनको काम त्यति बेलैदेखि बन्द भयो। त्यो भत्काइएको एउटा टावरलाई भने हालसालै फेरि उभ्याइएको छ। तर, अधुरै रूपमा।
म त्यो अधुरै उभ्याइएको टावर हेर्दै अघि बढेँ। बाटोमा फाट्टफुट्ट मानिसहरूको चहलपहल देखिन्थ्यो। तीमध्ये अधिकांश त्यस क्षेत्रमा डेरा गरेर बस्ने रहेछन्। टहराजस्ता घरमा सस्तो भाडा तिरेर बस्न पाइने आकर्षणले उनीहरूलाई त्यता तानेको थियो।
उनीहरूमध्ये एक जना मुगुको रारातिरबाट केही महिनाअघि मात्र उपचार गराउन आएकी महिला थिइन्। आफ्नो बच्चासँगै हिँड्दै गरेकी उनलाई यस भेगमा अहिले भइरहेको उथलपुथलको कुनै जानकारी थिएन।
बरू यी फराकिला फाँटमा गोडमेल गरेर माथि खोकनातर्फ उक्लँदै गरेका कृषक भने परिस्थितिसँग जानकार थिए।
नहुन् पनि किन? एक त पुस्तौंदेखि खेती गर्दै आइरहेको जग्गाको अस्तित्वसँग जोडिएका परियोजना, अर्कातिर त्यो जग्गाको सांस्कृतिक महत्त्व।
खोकनाको उकालो र बागमती नदीबीच फैलिएको यो फराकिलो फाँटमा कुनै समय उपत्यकाकै पहिलो बस्ती बसेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार त्यस बस्तीको नाम थियो ‘कु-देश’।
इतिहासको कुन कालखण्डमा त्यहाँ बसोबास थियो भन्ने यकिन जानकारी कसैलाई छैन। करिब १० हजार वर्षअघिसम्म काठमाडौं उपत्यका दहका रूपमा रहेको थियो। यहाँ जमेको पानी कटुवाल दहबाट बगेपछि उपत्यकामै पहिलो बसोबास यसै स्थानमा भएको स्थानीयहरूको विश्वास छ। खोकनाको यो भेग चोभार र कटुवाल दहको बीचमा पर्छ। त्यसलाई पुष्टि गर्ने पुरातात्त्विक महत्त्वका सामग्री अहिले पनि यो क्षेत्र उत्खनन् गर्दा फेला पर्ने गरेको उनीहरू बताउँछन्।
त्यसरी फेला परेका सामग्रीको केही समयअघि उनीहरूले प्रदर्शनी पनि गरेका थिए। स्थानीयको यो दाबीलाई पुरातत्व विभागले भने निकैअघि अस्वीकार गरिसकेको छ, जसका बारेमा हामी पछि चर्चा गर्नेछौं।
त्यसै भेगमा चैत्यदेखि लिएर अनेक मन्दिर, घाट हुँदै थुप्रै परम्परा चल्ने स्थान छन्। यीमध्ये कतिपय किराँतकालीन संरचना रहेको गाउँलेको दाबी छ। बागमती सभ्यता बोकेको उपत्यकाको यस बसोबासमा नदी र बस्तीबीच यी सबै पूजाआजादेखि जात्रापर्व हुँदै जन्मदेखि मृत्युसम्मका परम्परा जोडिनु स्वाभाविक देखिन्छ।
खोकनाबाट आएको एउटा कच्ची बाटो यो फाँट भएरै उत्तरतर्फ अर्को ढिस्कातिर जान्छ। ‘दे लँ’ नाम दिइएको यो बाटो पनि १७ सय वर्ष पुरानो रहेको स्थानीय दाबी गर्छन्। दे लँ अर्थात् देश जाने बाटो।
यो ‘दे लँ’ उत्तरतर्फको जुन ढिस्कासँग जोडिन्छ, त्यो हो सिकाली। ढिस्काको माथि फराकिलो चउर र चउरको बीचमा मन्दिर रहेको यो सिकाली डाँडो जति सुन्दर छ, त्यति नै यसले परको खोकना गाउँसँग आफ्नो धार्मिक र सांस्कृतिक सम्बन्ध गाँसेको छ। नेपाली सिनेमादेखि पछिल्लो समयका म्यूजिक भिडिओ हेर्नेहरूले राम्ररी चिनिरहेको सुन्दर स्थान हो यो। काठमाडौंका महत्त्वपूर्ण जात्राहरूको भिडिओमा पनि सिकालीका दृश्य देखिन्छन्।
खोकनाकै मुख्य मन्दिर रुद्रायणीलाई सिद्धिकाली पनि भन्ने गरिन्छ। स्थानीयका अनुसार त्यसै सिद्धिकालीबाट सिकाली भनिएको हो। यस ढिस्कामा असोज शुक्लपक्षका बेला बर्सेनि नौ दिनसम्म नाचगानका साथै जात्रा मनाइने परम्परा चल्दै आएको छ।
अब हामी एकैछिन यो सिकाली डाँडोमा उभिउँ।
यो डाँडोको ठिक पश्चिमतिर बागमती बगेको छ। उत्तरतर्फबाट आएर दक्षिणतर्फ जाँदै गरेको। डाँडोको दक्षिणतर्फ ओरालोमा रहेको फराकिलो फाँट अघि चर्चा गरिएको ‘कु-देश’ हो। पुरातात्त्विक हिसाबले दाबी गरिएको कु-देश आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले पनि खोकनावासीका लागि महत्त्वपूर्ण छ। उनीहरू बागमती नदी र आफ्नो बस्तीबीचको यही फराकिलो फाँटमा कृषि कर्म गर्छन्।
अब सिकाली डाँडोको उत्तरतर्फ हेरौं। उत्तरतर्फको ओरालोमा पनि त्यस्तै अर्को फराकिलो फाँट छ, खुडोल। यो भैंसेपाटी आवास क्षेत्रबाट पश्चिमतर्फ बागमतीको किनारमा अवस्थित छ।
खुडोलको त्यो फाँटलाई नै प्रस्तावित ‘फास्ट ट्रयाक’ को प्रस्थान विन्दु अर्थात् जिरो किलोमिटर तय गरिएको छ। नेपाली सेनाले निकै पहिलेदेखि त्यहाँ प्यारासुट जम्प गराउँदै आएको थियो। त्यो भेगको अधिकांश जग्गामा कसैको हकदाबी नरहेको सेनाको भनाइ छ। गाउँलेहरू भने त्यसलाई स्विकार्दैनन्।
त्यो छाडेर बाँकी बचेका जग्गाको हकमा पनि केहीको मुआब्जा दिइसकिएको छ भने केहीको दिइएको छैन। पछिल्लो समय त्यहाँ सेनाले यो सडक निर्माणका लागि आफ्नो क्याम्पसमेत बसालिसकेको छ।
त्यसै स्थानमा गएको शनिबार स्थानीयहरूले बाजागाजाका साथ रोपाइँ गर्न खोज्दा प्रहरीसँग मुठभेड भएको थियो।
तर, विवाद त्यहाँ मात्र छैन।
त्यो जिरो किलोमिटर अर्थात् प्रस्थान विन्दुबाट गुडेको मोटर अगाडि बढ्नेबित्तिकै सिकाली डाँडो आइपुग्छ। डाँडो छिचोलेपछि पुरातात्त्विक महत्वको दाबी गरिने ‘कु-देश’ वा खोकनावासीले कृषि तथा विभिन्न कर्म गर्दै आएको फराकिलो फाँट पर्छ। यो फाँट नाघेपछि बल्ल बुंगमति हुँदै फर्सीडोलको अर्को यस्तै फराकिलो फाँट आइपुग्छ।
यसरी अघि बढेको बाटोले दनुवारहरूको डुकुछाप गाउँ पार गरेपछि मानव बसोबास लगभग शून्य देखिन थाल्छ। कटुवाल दह पार गरेपछि यो बाटोले उपत्यका छिचोल्न सुरू गर्छ।
यसरी फास्ट ट्रयाकले आफ्नो प्रस्थान विन्दुदेखि झन्डै आठ किलोमिटर यात्रा ललितपुर जिल्ला भएर गर्छ। त्यसैगरी नैखनीबाट बागमती तरेपछि करिब चार किलोमिटर काठमाडौं जिल्ला भएर पनि गुज्रन्छ। यसले सबभन्दा बढी अर्थात् झन्डै ५४ किलोमिटर मकवानपुरको यात्रा गर्नेछ। त्यसपछि अन्त्यमा ६.७ किलोमिटर बारा जिल्लाको यात्रा गरेपछि यो महेन्द्र राजमार्गसँग जोडिन्छ।
यति लामो बाटोमा अन्यत्र कतै विवाद नभए पनि प्रस्थान विन्दु खोकनामा भने यो परियोजना अल्झिन थालेको छ।
घाम डुब्दै गएका बेला म अब खोकनातर्फ उक्लन थालेको छु। पर एउटा कृषक परिवार देखेँ। खर्पन बोकेका वृद्ध र दुई वृद्धा गाउँले लयमै कुरा गर्दै हिँडिरहेका थिए। उनीहरू भर्खर धानखेत गोडेर माथि घरतिर फर्केका हुन्। मलाई उनीहरूसँग केही प्रश्न गर्नुछ। म हतार हतार अघि बढेँ।
यो कृषक परिवारसँगको कुराकानी, खोकनाका सरोकार, स्थानीय बासिन्दाका भनाइदेखि समस्या समाधानका लागि भइरहेका प्रयास यो शृंखलाको आगामी अंकमा।