कोरोना भाइरस खोप बनाउन संसारभरका वैज्ञानिकबीच प्रतिस्पर्धा छ। भाइरसको उद्गम मुलुक चीनले पनि द्रुत गतिले काम गरिरहेको छ।
यसै क्रममा चीनका एक उच्च सैन्य अधिकारी तथा भाइरल वैज्ञानिकले विकास गरेको सम्भावित खोपले सकारात्मक नतिजा देखाएको छ। सय जनाभन्दा बढी स्वस्थ व्यक्तिमा गरिएको प्रारम्भिक क्लिनिकल परीक्षणमा यो खोप भाइरससँग लड्ने क्षमता बढाउन सफल भएको अनुसन्धाताहरूले बताएका छन्।
‘ल्यान्सेट’ जर्नलमा शुक्रबार प्रकाशित क्लिनिकल परीक्षण रिपोर्टमा भनिएको छ, ‘पहिलो चरणको परीक्षण सकारात्मक र सुरक्षित रह्यो।’
चीनको एकेडेमी अफ मिलिट्री मेडिकल साइन्स तथा क्यान–सिनो बायोलोजिक्सले संयुक्त रूपमा यो सम्भावित खोप विकास गरेका हुन्। अनुसन्धान टोलीको नेतृत्व गरेका मेजर जनरल छेन वेईले भनेका छन्, ‘अहिलेसम्मको नतिजाबाट यो खोप महत्वपूर्ण कोशेढुंगा सावित हुनसक्छ।’
यो एकचोटि मात्र दिइने खोप हो। एक डोज दिएको १४ दिनबाट कोरोना भाइरससँग लड्ने एन्टिबडी विकास भएको रिपोर्टमा भनिएको छ।
क्लिनिकल परीक्षण नतिजा सावधानीपूर्वक विश्लेषण गर्नुपर्ने वैज्ञानिकहरूले औंल्याएका छन्। उनीहरूका अनुसार भाइरससँग लड्ने एन्टिबडी विकास हुँदैमा मान्छे कोभिड–१९ बाट सुरक्षित रहन्छ भन्ने ग्यारेन्टी हुँदैन। यसका लागि थप अनुसन्धान जरुरी छ। सम्भावनाको ढोका भने खुलेको उनीहरू बताउँछन्।
यसको मानवीय परीक्षण गत मार्चबाट सुरू भएको हो। वुहान सहरका १०८ जना स्वस्थ व्यक्तिमा परीक्षण गरिएको थियो। उनीहरू १८ देखि ६० वर्ष उमेरका थिए।
क्लिनिकल परीक्षण क्रममा ती स्वयंसेवकलाई थोरै, मध्यम र उच्च डोज दिइएको थियो। त्यसपछि चार सातासम्म उनीहरूको रोग प्रतिरोधक प्रणालीमा आउने परिवर्तन अनुगमन गरियो। तीमध्ये १०५ जनामा खोप लगाइएको २८ दिनभित्र कोरोनासँग लड्ने एन्डिबडी विकास भएको पाइयो। उनीहरू कसैलाई पनि गम्भीर खालको नकारात्मक असर नदेखिएको रिपोर्टमा छ।
अनुसन्धानमा सहभागी ९७ जनामा भने अर्को खालको प्रतिरोधक क्षमता पनि विकास भएको थियो, जसले २८ दिनपछि एन्टिबडीको प्रभाव हटाउने काम गर्छ।
अनुसन्धान टोली प्रमुख छेन वेईका अनुसार सहभागीमध्ये ५० जनालाई ज्वरो आएको थियो भने ४७ जनाले शारीरिक कमजोरी महशुस गरेका थिए। त्यस्तै, ४२ जनाले टाउको दुखेको र १८ जनाले जीउ दुखेको बताएका थिए।
वैज्ञानिकहरूले यो अनुसन्धानमा केही समस्या औंल्याएका छन्।
पहिलो, यो खोप बनाउन ‘एडेनोभाइरस टाइप–५’ (एडी–५) प्रयोग गरिएको थियो। यो सामान्य रुघाखोकी लाग्ने भाइरस हो। परीक्षणमा सहभागीमध्ये करिब आधा व्यक्तिमा पहिले नै यो भाइरसको प्रतिरोधक क्षमता थियो। खोप लगाइसकेपछि त्यो क्षमता शिथिल भएको रिपोर्टमा छ।
दोस्रो, यो परीक्षणले खोप लगाएको २८ दिनसम्मको अवस्था मात्र हेरेको छ। कोरोनाविरुद्ध लड्न सक्ने एन्डिबडीले त्यसपछि काम गर्छ कि गर्दैन भन्ने यकिन छैन।
तेस्रो, यो खोपले मान्छेमा एन्टिबडीप्रति निर्भरता बढाउन सक्छ कि सक्दैन भन्ने पनि हेरिएको छैन। खोपले यस्तो निर्भरता बढाइदिएको खण्डमा एन्टिबडी कमजोर हुनेबित्तिकै संक्रमणको सम्भावना बढ्छ। कोभिड–१९ विरुद्ध खोप बनाइरहेका वैज्ञानिकको मुख्य चासो नै यही हो। विगतमा अन्य कोरोना भाइरसविरुद्ध खोप बनाउँदा यस्तै समस्या देखिएको थियो।
चौथो, यो खोप वयस्क व्यक्तिहरूलाई कोरोना भाइरसबाट जोगाउन कति प्रभावकारी हुन्छ भन्ने प्रस्ट छैन। संसारभरिको ट्रेन्ड हेर्दा कोरोना भाइरसबाट युवाभन्दा वयस्क व्यक्तिहरू बढी जोखिमपूर्ण देखिएका छन्। यो यकिन गर्न अर्को चरणको परीक्षणमा ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने अनुसन्धाताहरूले बताएका छन्।
पाँचौं, केही वैज्ञानिकहरू एडी–५ भाइरस हालेर बनाइएको खोपले एचआइभी संक्रमणको जोखिम बढ्न सक्ने शंका गर्छन्। सन् २००७ मा यही समस्या देखिएपछि एचआइभी खोपको अनुसन्धान रोकिएको उनीहरूले बताए।
‘यस्ता समस्याका कारण यो खोप कोरोना भाइरसविरुद्ध लड्न समर्थ छ कि छैन भनेर अहिले नै भन्न सकिने अवस्थामा हामी पुगेका छैनौं,’ अनुसन्धाताहरू भन्छन्, ‘प्रारम्भिक चरणको परीक्षणबाट सकारात्मक नतिजा आएको छ। कुनै गम्भीर खालको हानी देखिएको छैन।’
दोस्रो र तेस्रो चरणको अनुसन्धान क्रममा यी समस्यामा थप विश्लेषण हुने उनीहरूले बताए।
अनुसन्धान टोलीले करिब पाँच सय जना व्यक्तिमा दोस्रो चरणको परीक्षण गर्दैछ। यसमा खोपको सुरक्षा र प्रभावकारिता दुवै हेरिनेछ।
कोरोना भाइरसविरुद्ध खोप बनाउने विश्व्यापी होडमा चीनले मेजर जनरल छेन वेईको टोलीबाट धेरै आशा राखेको छ। यो अनुसन्धानको व्यापार साझेदार क्यान–सिनोले क्यानडामा खोप परीक्षण गर्न त्यहाँका स्वास्थ्य अधिकारीहरूसँग अनुमति लिइसकेको छ।
उता, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेका कोरोना खोप बनाउनमा अरूभन्दा अगाडि छ। बेलायती परियोजनाको यो खोप आउँदो सेप्टेम्बरसम्म उपलब्ध हुने दाबी गरिएको छ। अमेरिकाले यो परियोजनाप्रति विश्वास देखाउँदै १ अर्ब २० करोड डलर लगानी गरेको छ।
यो लगानीको बदलामा अमेरिकाले दुईवटा सर्त राखेको छ। पहिलो, उक्त खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण अमेरिकामा गर्नुपर्नेछ। दोस्रो, यसनिम्ति आस्ट्राजेनेकाले कम्तिमा ३० करोड वटा खोप अमेरिकालाई उपलब्ध गराउनेछ। आउँदो अक्टोबरसम्म पहिलो खेप उपलब्ध हुनेछ।
यो एक किसिमले भन्दा परीक्षण सफल हुनेबित्तिकै ३० करोड वटा खोप बुक गर्न अमेरिकाले गरेको लगानी हो। यही गृष्म याममा अमेरिकाका करिब ३० हजार स्वयंसेवीमा यसको क्लिनिकल परीक्षण गर्ने सम्झौता भएको छ।
अक्सफोर्डका वैज्ञानिकले गत महिना पहिलो चरणको क्लिनिकल परीक्षण सुरू गरेका थिए। बेलायतका १ हजार १ सय जनालाई खोप लगाइएको थियो। दोस्रो र तेस्रो चरणको परीक्षण यो महिना अन्त्यसम्म बेलायतमा सुरू हुनेछ। यसपालि पाँच हजार जनाले भाग लिनेछन्।
परीक्षण सफल भयो भने संसारभरि आकस्मिक प्रयोगका लागि सेप्टेम्बरसम्म अनुमति प्राप्त हुने वैज्ञानिकहरूले अपेक्षा गरेका छन्।
यो परियोजनाले गरिब मुलुकहरूलाई पनि सहज उपलब्ध हुने गरी सस्तो मूल्यको खोप विकास गरिरहेको छ। यसले अहिलेसम्म बाँदरमा सफल परीक्षण गरिसकेको छ। मान्छेमा परीक्षण सफल हुनुअघि नै १० लाख वटा खोप निर्माणको काम अघि बढाइसकेको आस्ट्राजेनेकाले जनाएको छ।
विश्वभरि सस्तो र सहज रूपमा खोप उपलब्ध होस् भनेर आस्ट्राजेनकाले संसारका सात देशबाट एकैचोटि उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि विभिन्न देशका औषधि उत्पादक कम्पनीहरूसँग सम्झौता प्रक्रिया अघि बढेको छ। यसमा भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया पनि एक हो। उक्त कम्पनीले गरिब तथा विकासोन्मुख देशहरूमा खोप उपलब्ध गराउनेछ।
त्यस्तै, अमेरिकी बायो-टेक कम्पनी 'मोर्डना' ले निर्माण गरेको खोप पनि मानिसमा परीक्षण गरिएको छ, जसले रोग प्रतिरोधक क्षमता वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ।
पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा गत सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’
कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो। परीक्षण क्रममा आठ जना स्वस्थ स्वयंसेवीलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ। यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो। उक्त एन्टिबडीको प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ।
यो कम्पनीले पनि आफ्नो परीक्षण र उत्पादनलाई तीव्रता दिँदै छिटोभन्दा छिटो खोप प्रचलनमा ल्याउन राष्ट्रिय एलर्जी तथा सरुवा रोग संस्था र स्वीस कम्पनी ‘लोन्जा’ सँग सहकार्य गरेको छ। कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ।
दोस्रो चरणमा छ सय जनामा खोप परीक्षण गरिने छ। त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइने छ। अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ।
यी तीनै परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ।