वन्यजन्तुमाथि तीव्र मानव हस्तक्षेपले भाइरस संक्रमणको जोखिम बढ्दै गएको र यसले कोभिड–१९ जस्ता महामारी बढाएको एक वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ।
अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धाता टोलीले जनावरका विभिन्न प्रजाति र तिनमा मानव हस्तक्षेपमाथि अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको हो। उनीहरूको अध्ययन प्रतिवेदन बुधबार प्रकाशित भएको छ।
कुनै पनि भाइरस जनावरबाट मानिसमा सर्न जेनेटिक बनोट मिल्नुपर्छ। अनुसन्धाताहरूले अहिलेसम्म १५ लाख मानिसलाई प्रभावित पारिसकेको कोरोना भाइरस उत्पन्न हुनुमा मानव हस्तक्षेपको के-कस्तो भूमिका रह्यो भन्ने अध्ययन गरेका थिए।
उनीहरूका अनुसार, प्राकृतिक वासस्थानमा बढ्दो अतिक्रमणले धेरै पशुपंक्षी लोप हुने खतरामा छन्। चोरीशिकारी र वन्यजन्तुको व्यापारकै कारण खतरामा परेका पशुपन्छीबाट भाइरस फैलिने सम्भावना दुई गुणा बढी भएको उनीहरूले बताएका छन्।
‘वन्यजन्तुको वासस्थानमा गरिने अतिक्रमण नै भाइरस सर्नुको मुख्य कारण देखिएको छ,’ अध्ययनमा संलग्न क्रिस्टिन क्रिउडर जोन्सन भन्छन्, ‘हाम्रो गतिविधिले जति ती प्रजातिलाई लोपोन्मुख बनाएको छ, त्यति नै रोग सार्ने जोखिम बढाइरहेको छ।’
अध्ययन क्रममा मानिसमा सरेका करिब १ सय ४० थरि भाइरस परीक्षण गरिएको थियो। ती सबै भाइरसका जननी पशुपन्छी नै थिए। लोपोन्मुख प्राणीको तथ्यांकका आधारमा यो अध्ययन गरिएको हो।
पछिल्लो दशकमा संक्रामक रोगहरू बढ्न थालेपछि वैज्ञानिक तथा जनस्वास्थ्य संगठनहरूले पशुपन्छीको प्राकृतिक वासस्थानमाथि अतिक्रमण बन्द गर्न आह्वान गर्दै आएका थिए।
सन् १९६१ यता मानव जनसंख्या दोब्बर वृद्धि भएसँगै वनजंगल विनाश, सहरीकरण र कृषि क्षेत्र विस्तार भएको थियो। यसले पशुपन्छीका विभिन्न प्रजाति मानव बसोबाससँग नजिकिँदै गएका थिए। यसले भाइरस संक्रमणको जोखिम बढेको थियो।
यो अध्ययन प्रतिवेदनअनुसार निकैअघि घरपालुवा बनाइएका जनावरले नै ठूलो संख्यामा भाइरस संक्रमण गराउने जोखिम छ। मासु, अन्डा र दूधका निम्ति पालिने पशुपन्छीले पनि स्तनधारी वन्यजन्तुभन्दा आठ गुणा बढी ‘जुनोटिक भाइरस’ संक्रमण गराउँछ। त्यसमध्ये बर्ड फ्लू, हन्ता भाइरस, रेबिज लगायत छन्।
घर र कृषि क्षेत्र आसपास रहने मुसाका प्रजाति, चमेरा र बाँदरजस्ता जनावरले पनि भाइरस संक्रमणको खतरा बढाइरहेकै छन्।
यो अध्ययनले मुसा, चमेरा र बाँदरजस्ता जनावरबाट सरेका भाइरसको अध्ययन गरेको थियो। तीमध्ये चमेराबाट धेरै भाइरस संक्रमण भएको अनुमान छ। त्यसमा सार्स, ‘निपाह’ भाइरस संक्रमणदेखि अहिलेको कोभिड–१९ पनि पर्छ।
मानिस र जनावरबीच बढ्दो सम्पर्कले रोग सर्ने जोखिम बढेको भेटरिनरी रोग विशेषज्ञ डिर्क पाइफर बताउँछन्।
‘जनसंख्या वृद्धिले विभिन्न प्राणीहरूसँगको सम्पर्क बढ्दै गएको छ,’ उनी भन्छन्, ‘यसले नकारात्मक परिणाम निम्त्याउँदै जान्छ।’