कोरोना भाइरसले पुरुषको प्रजनन प्रणालीमा असर पार्ने प्रारम्भिक संकेत देखिएपछि चीनको मध्यवर्ती सहर वुहानका वैज्ञानिक विस्तृत अनुसन्धानमा लागेका छन्। प्रारम्भिक अध्ययनले कोरोनाका कारण पुरुषको यौन हर्मोन स्तरमा असर पार्ने संकेत देखिएको उनीहरूले बताएका छन्।
मान्छेको प्रजनन प्रणाली र कोरोना भाइरससँग जोडेर गरिएको यो पहिलो अध्ययन हो। प्रारम्भिक अध्ययन निष्कर्षमा विश्लेषकहरूको मत आइसकेको छैन।
यो अध्ययन कोरोना संक्रमणपछि बिरामी परेका तन्नेरी युवकको प्रजनन प्रणालीमा केन्द्रित छ। वुहान विश्वविद्यालयको सिहोंगनान अस्पताल र हुबेई क्लिनिकल रिसर्च सेन्टरका अनुसन्धाताले जनवरीमा २० देखि ५४ वर्ष उमेरका ८१ जना संक्रमित पुरुषको रगतको नमूना विश्लेषण गरेका थिए।
उक्त नमूनाबाट ‘टेस्टोस्टेरोन’ देखि ‘ल्युटेनाइजिङ’ भनिने हर्मोन परीक्षण गरिएको थियो। ‘टेस्टोस्टेरोन’ भनेको पुरुषको यौन हर्मोन हो, जसले उनीहरूमा यौन उत्तेजना विकास गर्नुका साथै अण्डकोष, मांसपेसी र शरीरका रौंहरूसँग तादात्म्य राख्छ।
‘ल्युटेनाइजिङ’ हर्मोन भने पुरुष र महिला दुवैमा भेटिन्छ। विशेषगरी महिलाहरूमा डिम्ब उत्सर्जन गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ।
परीक्षण बेला कोरोना भाइरस संक्रमित पुरुषमा यस्तो हर्मोनको मात्रा ०.७४ देखिएको थियो। यो सामान्य अवस्थाका पुरुषको दाँजोमा आधा हो। सन् १९९७ को प्राज्ञिक जर्नल ‘आर्काइभ्स अफ सेक्सुअल बिहेभियर’ का अनुसार यो दर ०.८७ भन्दा कम भयो भने यौन समस्याहरू आउँछन्।
खासगरी पुरुषमा यौन हर्मोन समस्याले स्तनको आकार बढ्नुका साथै यौनाङ्ग सोझो नहुने समस्या देखिन्छ। यसको उपचार भने गर्न सकिन्छ।
‘आधाभन्दा बढी संक्रमित व्यक्ति सक्रिय प्रजनन उमेर समूहका छन्, यसले उनीहरूको सन्तान उत्पादन प्रणालीमा असर पार्नेबारे सचेतना जरुरी छ,’ वुहानका अध्येताहरूले भनेका छन्।
उनीहरूका अनुसार, कतिपय अवस्थामा बिरामीलाई दिइएका औषधि र रोग प्रतिरोधात्मक प्रणालीमा परेको असरले पनि हर्मोनहरूमा परिवर्तन आउन सक्छ। अध्येताहरूले यस विषयमा दीर्घकालीन अध्ययन गर्ने बताएका छन्। त्यस क्रममा वीर्यको नमूना परीक्षण र संक्रमितहरूसँग अन्तर्वार्ता पनि गरिनेछ।
यसअघि वुहानको टोङ्ग्जी अस्पतालका प्रजनन् स्वास्थ्य प्राध्यापक ली युफेङले कोरोना भाइरसको मुख्य आक्रमण पुरुषको प्रजनन् क्षमतामा पर्ने अनुमान लगाएका थिए। कोरोना भाइरससँग मिल्दोजुल्दो सार्ससम्बन्धी अध्ययनमा पनि यही नतिजा देखिएको थियो।
‘धेरैजसो भाइरसले सन्तान उत्पादन क्षमतामा असर पार्न सक्छ, तर प्रत्येक भाइरसले महामारी चाहिँ फैलाउँदैन,’ नाम उल्लेख गर्न नचाहने एक अनुसन्धाताले भने, ‘यसको असर लामो समयसम्म रहे वास्तवमै समस्या बन्न सक्छ।’