सम्पादकीय नोट: राष्ट्रकवि माधवप्रसाद घिमिरे आज मंगलबारबाट १०१ वर्ष पुगेका छन्। उनलाई जन्मोत्सवका अवसरमा सेतोपाटीका तर्फबाट हार्दिक शुभकामना। यही अवसरमा गत वर्षको यो सामग्री पुन: प्रकाशन गरेका छौं।
अघिल्लो दिन व्यंग्यचित्र पत्रकार राजेश केसीले फेसबुकमा दिएको बधाइ पढेको थिएँ।
‘साँच्चै, माधव घिमिरे त सय वर्ष पो पुग्नुभयो!’
राष्ट्रकविको यो उत्सव त राष्ट्रकै उत्सव हो भन्ने लाग्यो।
अघिल्ला भेटघाटहरुभन्दा बेग्लै, म यसपालि समय नलिएरै बुधबार लैनचौर निवासमा पुगेँ।
‘शुभकामना दिन पनि के समय लिइरहनु भन्ने लाग्यो र सोझै आएँ,’ मैले हाँस्दै भनेँ।
मसँगै हाँसे राष्ट्रकवि।
त्यहाँ मभन्दा अघि नेपाली शिक्षा परिषद्की सदस्य-सचिव रमा शर्माको उपस्थिति थियो।
‘परिषद्बाटै हजुरको सबै जानकारी समेटेर एउटा ब्रोसर बनाउन लागेको,’ शर्माले आउनुको कारण खुलाइन्, ‘त्यो छापिनुअघि कतै गल्ती भएको छ कि भनेर सुनाउन आएकी।’
‘लौ सुनाउनुस्,’ घिमिरे तयार भए।
त्यसपछि यसरी बढ्यो दुईबीचको संवाद–
– हजुरले हिजो मात्र अर्को विभूषण राष्ट्रपतिबाट पाउनुभएको रहेछ। यसमा त्यो पनि थपिदिएकी छु।
– हो। महाउज्ज्वल राष्ट्रदीप भनेर पहिलो वर्ष पनि दिएका थिए। त्यो नै ठूलो हो भनेर मैले ग्रहण गरेँ। प्रथम श्रेणी त्यही नै होला भन्ने मलाई लागेको थियो। पछि त त्यो द्वितीय श्रेणी पो रहेछ। हिजो दिएको चाहिँ प्रथम श्रेणी हो रे!
– हजुरको जन्म १९७६ आश्विन ७ गते भन्ने त थाहै छ। तर, तिथिमा पनि राख्न के गर्ने?
– चतुर्थी सिद्धिएर औंसीमा हो। तर, त्यो नलेख्नुस्। फेरि मलाई तिथिको राम्रो सम्झना पनि छैन। त्यतापट्टि नलागौं। दसवटा चिजमा लागेर फाइदा छैन।
– महाकालीसँग बिहे भएको कहिले हो?
– पाँच साल माघ पाँच गते।
– गौरी बित्नुभएको नि?
– चार साल असार २२ गते।
– यो ब्रोसरमा हजुरका छ जना छोरी र दुई भाइ छोराका नाम पनि राखेका छौं।
– अति उत्तम।
– हजुरको प्रथम प्रकाशित रचना?
– नवमञ्जरी। १९९४ सालमा। त्यो नौवटा कविताको संग्रह हो।
– पहिलो कृति त गोरखापत्रमा पो छापिएको थियो क्यारे?
– हो। त्यो चाहिँ ‘ज्ञानपुष्प’ हो। १९९२ सालमा।
– सबैभन्दा पछिल्लो?
– बिजुला र बिजुली। त्यो बच्चाहरुको किताब हो। २०६३ सालमा आएको।
‘सय वर्ष भनेको त धेरै पो भयो,’ अचानक राष्ट्रकविले शर्मातर्फको ध्यान हटाएर मतिर हेरे र हाँस्दै थपे, ‘धेरै कुरा त मैले पनि बिर्सि सकेँ!’
कुराकानीकै क्रममा शर्माले सय वर्ष पुगेकै बेला घिमिरेको घर भएर गुज्रने बाटोको नामाकरण हुने भएको जानकारी गराइन्।
– नाम चाहिँ के राख्ने रे?
– राष्ट्रकवि माधव घिमिरे मार्ग भनेर हामीले दिएका थियौं। नगरपालिकाले त्यही नै स्वीकृत गरेको छ।
– मेरो नामबाट राखिने त्यो बाटो कतै गएर निकास निस्के हुन्थ्यो जस्तो लाग्थ्यो। त्यो चाहिँ भएनछ। कपुरधारामै अन्त्य हुने भयो। अँ, बरु लेखनाथ मार्ग चाहिँ कहाँबाट सुरु भएर कहाँसम्म अन्त्य हुन्छ?
– लेखनाथ मार्ग त लैनचौरदेखि सोह्रखुट्टेसम्म हो।
– ए सोह्रखुट्टेसम्म नै? त्यसले त निकास पाउने रहेछ।
– हजुरको पनि पछि बढाउँदै लैजालान् नि!
कुराकानी सकिएपछि शर्मा विदा भइन्। पालो मेरो आयो।
‘तपाईंको कविता प्रगतिशिल भएनन् र परिवर्तनको कार्यसूची समेटेनन् भन्छन्...’ मैले प्रसंग उप्काएँ।
उनका रचनामा माया पिरती, देशभक्ति र प्रकृति छ, समाजको संघर्ष छैन भन्ने आलोचना एकथरीले लगाउने गरेका छन्। म त्यतैबाट सुरु हुन चाहेँ।
‘भएको कुरा स्वीकार्नुपर्छ,’ घिमिरेले हाकाहाकी जवाफ दिए, ‘म त्यस किसिमको कवि नै होइन। प्रगतिशिल भनेको केही समय चल्ने कुरा हो। त्यो चिन्तन कुनै विन्दुमा गएर सकिन्छ र त्यसरी लेखिएका कविता पनि खतम हुन्छन्।’
त्यसपछि उनी एकछिन थामिए। त्यो शक्तिशाली ‘स्पेस’ थियो।
‘म त एभरग्रिन चिज चाहिन्छ भन्छु,’ उनी फेरि बोले, ‘राजनीतिबाट प्रेरित भएको साहित्य सधैंभरि बाँच्दैन। म त्यतातिरको हुँदै होइन।’
प्रगतिशिल र अप्रगतिशिलको कुरा भन्दा पनि कवितामा मानवतावाद चाहिँ आवश्यक पर्नेमा उनले जोड दिए।
‘मैले सबैभन्दा तल्लो, अछुतभन्दा पनि तल राखेर बेचबिखनै हुने दासहरुको पीडालाई लिएर त्यत्रो ओपेरा नै लेखेँ, छोरीलाई बाख्राको पाठाजस्तो मन्दिरमा चढाउने देवकी प्रथाका बारेमा लेखेँ,’ उनले सोधे, ‘मैले लेखेँ कि लेखिन?’
आफूले सधैंभरि बाँच्ने सिर्जनामा मात्र जोड दिएको उनले प्रस्ट पारे।
‘अहिले जो परिवर्तन भएका छन्, यो ल्याउनेलाई पनि म धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘तर, साहित्य स्थायी हुनुपर्छ। यसले मानवताको पक्षमा बोल्नुपर्छ। त्यति भइसकेपछि नाराका कुरा नभए पनि फरक पर्दैन।’
घिमिरेले ‘अश्वत्थामा’ को प्रसंग पनि झिके।
‘अश्वत्थामामा मैले प्रस्ट भनेको छु,’ थपे, ‘त्यस्तो हतियार नबनाऊ जसलाई खिचेर रोक्न सकिँदैन।’
जहिले भेट्दा पनि गीत–संगीत र कविताबारे अनुभव सोध्ने घिमिरेलाई यसपटक मैले सोझै राजनीतिमा तानेको थिएँ। उनी पनि रोकिन तयार भएनन्।
‘ब्रह्मास्त्र खिच्न सकिनेसम्म ठीकै हो, नाश गर्ने, रोक्न नसकिने हतियारले साँच्चैको विनाश ल्याउँछ,’ उनले भने।
अणुअस्त्रको दुरुपयोगविरुद्ध बोल भएको काव्यमा अणुशक्ति सदुपयोग भए यही स्वर्ग हुन्छ भन्ने उनको भाव रहेछ।
उनले आफ्नो काव्यमा रहेको सन्देशलाई ‘परिवर्तनको कार्यसूची’ भनेर जवाफ दिन पाउँदा सन्तोष मानेको अनुहार बनाए।
त्यो काव्य उनलाई नोबेल साहित्य पुरस्कार दिलाउन नेपालले सरकारी तहबाटै अनुवाद गराइवरी जीवनी र रचनावलीसहित स्टकहोम पठाएको थियो।
‘त्यसले पुरस्कार त पाएन, तर त्यहाँसम्म त पुग्यो,’ उनले भने, ‘त्यो नै महत्वपूर्ण हो।’
उनलाई फ्रान्सका निम्ति राजदूतले आएर त्यहाँ निर्णायक मण्डलमा पूर्वीय मिथक बुझ्ने मानिस कोही नभएकाले यस्तो हुने गरेको सुनाएका रहेछन्।
नोबल पाउने उनको धोको बाँकी रह्यो। नोबल कुनै कृतिका लागि भन्दा कृतित्वका लागि दिइन्छ भन्नेमा सायद उनी धेरै विज्ञ थिएनन्। सरकार पनि थिएन। त्यसो हुँदो हो त उनका सबभन्दा मर्मस्पर्शी गीत, कविता, गीतिनाटक, शोक काव्यहरूकै जीवन्त अनुवाद गराइने थियो।
नेपालले नोबेल पुरस्कारका लागि पहल गरेको त्यही एकपल्ट थियो। महाकवि देवकोटा उहिल्यै बिते। अरूका हकमा त्यस्तो प्रयासै भएन। नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको भएन भन्ने सधैंको गुनासोबीच अनुवाद र बाह्य प्रचार तथा प्रभाव विस्तारको नीति पनि थिएन।
‘संसार यस्तरी खुलेको बेला पनि हाम्रा राष्ट्रकविको अन्तर्राष्ट्रिय स्तरमा सम्मान हुन सकेन,’ मैले जिज्ञासाभन्दा मनको कुरा राख्न खोजेँ।
‘हो। त्यो त सकेन,’ उनले स्वीकारे, ‘केदारभक्त माथेमाले भन्नुहुन्थ्यो पेन्गुइन भन्ने राम्रो किताब छपाइ गर्ने ठाउँ छ रे! त्यस्तोलाई खोजेर अश्वत्थामा छपाइ गर्न दिने हो भने आमपाठकसम्म लैजान मद्दत मिल्थ्यो रे! मैले पनि हुन्छ भनेको थिएँ। त्यो अझै गर्न पाएको छैन। कहिले काव्यमा लागेँ, कहिले बिरामी भएँ। यत्तिकै छ...।’
उनले बरु अश्वत्थामालाई हिन्दीमा अनुवाद थालिएको जानकारी गराए।
‘त्यसको फाइनल मैले नै गरिदिनु छ,’ उनले भने, ‘मेरो अबको एक–दुई महिना त्यतै लाग्छ।’
कुराकानी क्रममा नर्वेको स्कुलमा आफ्नो ‘मनचिन्ते झोली’ अनुवाद गरेर केटाकेटीलाई पढाइने गरिएको जानकारी पनि उनले दिए। त्यो युनेस्कोले एसिया प्रशान्त क्षेत्रका बाल कविताहरूको संगालो निकाल्दा तयार पारेको अनुवादहरूको संग्रह रहेछ।
‘तै पनि नेपाली कृतिले अन्तर्राष्ट्रियस्तरमा फैलिने अवसर नपाएको सही हो,’ उनले भने, ‘पत्रकारहरूले यस्ता कुरा उठाएको देख्दा मलाई खुसी लाग्छ। उठाइरहनुपर्छ।’
स्वदेशभित्र यथेष्ट चर्चा, मानसम्मान, पुरस्कार र प्रसिद्धि पाएका कविको दीर्घायूको एउटा रहस्य स्वस्थ जीवनशैली, सधैं सक्रिय रचनाकर्म र सकारात्मक सोचाइ हो भन्ने उनीसँग संगत गर्नेहरू ठान्छन्।
उनी हत्तपत्त अरूका कुरा काट्दैनन्, कसैलाई धारे हात लाउँदैनन्। आफ्ना आलोचकहरूप्रति ‘उनीहरूको दृष्टिकोण’ हो भनेर सह्राउँछन्।
एकपटक उनलाई कसैले ‘नारायणगोपाल त कति अभिमानी’ भनेर सुनाएका थिए। उनको जवाफ थियो, ‘नारायणगोपाल अभिमानी होइनन्, उनी त स्वाभिमानी हुन्।’
बुधबारको हाम्रो संवादमा चाहिँ राष्ट्रकविले पुरानो चित्तदुःखाइ व्यक्त गरे।
‘मदनमणिजी एकेडेमीमा हुँदा अश्वत्थामालाई नोबेल पुरस्कारनिम्ति सारा प्रक्रियासहित पठाएका थिए,’ उनले भने, ‘कस्तो विडम्बना, एकेडेमीकै केही सदस्यले त्यति बेला विरोध गरेर लेखिदिए।’
बाक्ला आँखीभौं उचालेर मस्त हाँसिरहने स्वभावका कविको अनुहार गम्भीर भयो। ‘अर्काको पढ्दै नपढी, बुझ्दै नबुझी पाइहाल्ला कि झैं विरोध गरे,’ उनले थपे, ‘अन्तर्राष्ट्रिय संस्थामा एउटा नेपालीको किताब पठाउँदा पनि खुट्टा तानिदिने कमजोर मानिसबारे त के टिप्पणी गर्नु?’
त्यो प्रकरणले ‘यो कस्तो देश भयो!’ भनेर आफूलाई दिग्दारी लागेको उनले सुनाए।
त्यसो त प्रज्ञा प्रतिष्ठानको जन्मकालदेखि प्राज्ञ रहेका उनलाई पञ्चायत व्यवस्थाविरूद्धको बहुदलीय आन्दोलन सफल भएपछि दलगत कर्मचारीहरूले एकेडेमी परिसरमै हातपात गरे, झ्याङ्गलझुङ्गल गरे। जसलाई देख्ने केही साहित्यकार अझै अमिलो मुख गर्छन्, दुःखमनाउ गर्छन्।
उनले कसैप्रति कुनै तूष राखेनन्। उनीहरूको कमजोरी भनी टारिदिए।
मैले प्रसंग अर्कैतिर मोड्न चाहेँ।
‘कोही चिन्तन र व्यवहारले कविजस्ता देखिन्छन्, कोही लेख्यालेख्यै गर्छन् तै पनि कविजस्ता लाग्दैनन्,’ मैले सोधेँ, ‘कवि को हो?’
उनले दायाँ हात टाउको र छातीमा राख्दै देखाए। ‘यहाँको चेतना र यहाँको हृदय मिलाउन सक्ने व्यक्ति,’ भने, ‘यसको मिश्रण गर्ने स्रष्टा।’
यति हुँदाहुँदै काव्यका सर्तहरु त्यसले पूरा गरेकै हुनुपर्ने उनले सुनाए।
‘कोही कोही एक-दुईवटा सामान्य लेखनमै पनि ‘कविजी’ भनेर पुकारिन्छन्,’ उनले भने, ‘त्यो कुरा अर्कै हो।’
उनले कुरैकुरामा लेखनाथ पौड्यालको बेलामा सुक्तिसुधाको प्रसंग झिके। त्यसमा श्रृंगारिक कविताहरू लेखिएका थिए।
‘त्यहाँ २५–३० जना कविहरूको सिर्जना थियो,’ थपे, ‘तर अन्ततः लेखनाथ र सोमनाथ सिग्द्यालको गरेर दुईवटा मात्र बाँकी रहे।’
यसले दिएको पाठ पनि उनले आफ्नै ढंगबाट प्रस्ट्याए।
‘कवि नभन्ने हो भने सबै कवि हुन्। कवि हो भन्ने हो भने सबै कवि रहेनन्।’
माधव घिमिरेलाई ‘ह्याप्पी बर्थ डे’ भन्न म पहिलोपटक उनको निवासमा पुगेको पक्कै थिइनँ।
घिमिरेको जन्मदिनमा केक बोकेर पुग्ने गरेका व्यंग्यचित्र पत्रकार राजेश केसीको साथ लागेर एकाधपटक पहिले पनि जाने मौका पाएको छु। केसी कविवरकै छिमेकमा उनलाई देख्दै हुर्केका हुन्।
केही वर्षअघि दुई किलोको ब्ल्याक फरेस्ट केकका साथमा हाम्रो टोली नै लैनचौर निवास पुगेको थियो। साथमा थिए नेपथ्यका गायक अमृत गुरुङ, गीत–संगीतको ‘पलेँटी’ शृंखला चलाउने संगीतकार आभाष, नेपथ्य तथा पलेँटी व्यवस्थापन गर्ने नेपालयका किरणकृष्ण श्रेष्ठ अनि कान्तिपुरका प्रधानसम्पादक नारायण वाग्ले।
पाहुनाहरू पर्खिने पूर्वी कोठामा घाम झलमल्ल पस्दा हपहप गर्मी थियो। झ्याल खोल्न लाग्दा ख्याल भयो चुकुल निकै पुरानो जमानाका रहेछन्।
घरमा साइँसुइँ आवाज थिएन। हामी आपसमा साउती मार्न थाल्यौं।
कविवर केही बेरमा भर्याङ ओर्लिए। सरासर हामी बसेको कोठामा पसे। हामी जर्याकजुरुक उठ्यौं।
‘ओहो’ उनले सबै जनातिर आँखा घुमाउँदै हाँस्दै भने, ‘केक लिएर छिमेकी भाइ आउँदै हुनुहुन्छ भन्ने पो सुनेको थिएँ, तपाईंहरू सबै जना आउनुभएछ।’
त्यति बेलै गायक अमृतले निहुरी परेर खुट्टा ढोगे। टाउकोमा हात थापेर आशिष दिँदै उनले भने, ‘तपाईंले त मेरो कविता ‘ऐना झ्यालको पुतली’ संसारभरि पुर्याइदिनुभयो।’
नेपथ्यले लन्डनको विम्ब्ले एरेनामा होस् वा देशदेशावरका एकसेएक कन्सर्टमा त्यो गीत गाउँदै आएको समाचारले उनी फुरूंग रहेछन्।
‘राजा महेन्द्रको कालमा लेखेको हुँ,’ उनले रचनागर्भ सुनाए, ‘प्रजातन्त्र भन्ने तर स्वतन्त्रता नदिने, छली कुरा हो भन्ने देखाउन।’
त्यो गीतको शब्दले भन्थ्यो– ‘ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन। भूल पार्यो उज्यालाले, अँध्याराले होइन।’
सायद हामी बसेकै कोठाको झ्यालतिर हेरेरै उनले यी शब्द रचना गरेका थिए।
त्यो पञ्चायत सुरुआतको समय थियो। यसमा राजनीतिक अर्थ छैन भन्ने सम्झाउन उति बेला रचना मिति दस वर्ष पुरानो देखाउनुपरेको थियो रे!
कविवरको शब्द सबैभन्दा प्रभावकारी रूपमा चाहि ‘गौरी’ मै आएको धेरैले ठान्छन्। बाल्यकालमै बिहे भएका पत्नी गौरीको २००४ सालमा निधन भएपछि दुई टुहुरा छोरीहरु शान्ति र कान्तिलाई सम्झँदै उनले लेखेका थिए–
यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे नि आमा भनी
यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी।
गौरीको निधनको एघार वर्षपछि २०१५ सालमा मात्रै प्रकाशित हुने मौका पाएको त्यो कृति अहिले पनि बिक्रीमा समेत महाकविको ‘मुनामदन’लाई पछ्याउने रचनाका रूपमा परिचित छ।
राष्ट्रकविको त्यो पाहुना कोठामा हामी पलेँटी कसेर बस्यौं। केसीले टेबलमा केक राख्दै ९५ लेखिएको देखाए। त्यो अंग्रेजी अक्षर थियो। जे कुरालाई पनि रमाइलो बनाइदिने केसीको बानी। उनले नौ अक्षर उल्टो पारे। त्यो छ बन्यो। त्यसपछि अगाडि पाँच र पछाडि छ राखेर कविवरलाई देखाए - ५६।
त्यहाँ हाँसोको फोहरा छुट्यो।
मैले त्यो क्षण गुमाउन चाहिनँ र तत्काल मोबाइलले खिचिहालेँ। केसीले बर्सेनिजस्तो फेसबुकमा त्यो तस्बिर पुनर्प्रकाशित गरेर हामी सबैलाई सम्झना गराउँदै आएका छन्।
त्यो जमघटमै पलेँटीका संयोजक गायक, संगीतकार तथा कवि आभाषले राष्ट्रकविलाई सयौं जन्मदिनका बेला फेरि पलेँटीमा निम्त्याउने बताएका थिए। आभाषले ९५औं वर्षको जन्मदिन मनाइरहँदा आयोजित घिमिरेकै पलेँटी श्रृंखलामा पनि यसको घोषणा गरेका थिए।
त्यो विशेष साँझमा घिमिरेद्वारा रचित गीत गायक सुरज र मीनाले सुनाएका थिए भने कविवरले आफ्ना स्मृति खोतल्दै ती गीतहरूका रचनागर्भ स्मरण गरेका थिए।
माष्टर रत्नदास प्रकाशले 'झमझम पानी पर्याे आषाढको रात...' गाएदेखि उनका रचनाका मकैका पात दशकौंदेखि बज्दै आएका छन्।
यी उनै लोकप्रिय पहाडी भाकाका कवि हुन् जसले झण्डै शताब्दी लामो सुललित जीवनयात्रामा नेपालीका दुःखसुखलाई शब्द र लय दिए, पहाडी पखेराका जीवनलाई प्राण र पखेरु भरे। लाखौंका प्रेम धुकधुकी सजाए र नेपाली राष्ट्रियताका गौरव गाउन लगाए।
गीतका बीचबीचमा प्रस्तोता आभाषसँग उनले सवालजवाफ गर्दा पौंठेजोरी खेल्नेझैं पठ्ठो देखिएका थिए।
उनले त्यो बेला 'मालती मंगले' को रेकर्डिङ चलिरहँदाको एउटा रमाइलो प्रसंग सम्झिए।
गीत रेकर्ड गराउनुपर्ने, नारायणगोपाल आउँदैनन्। ‘अब त भएन’ भनेर एकदिन आफैँ कुलपति घिमिरे नारायणगोपालको महाराजगञ्जस्थित घरतिर पुगेछन्।
घरमा पत्नी पेमला थिइन्।
‘खोइ त, तपाईंकै कुनचाहिँ गीतमा हो दरौंदी खोला मर्स्याङ्दीमा मिसिएको कुरा लेख्नुभएको छ रे!’ पेमलाले बताइछन्, ‘त्यो गीत गाउनुअघि एकपटक त्यो मिसिएको ठाउँको दृश्य र आवाज बुझेर आउँछु भन्दै उतै जानुभएको छ।’
त्यो दिन माधव घिमिरेलाई लागेछ, ‘कवि त हामी हौं भनेको यी गायक पनि हामीजस्तै कवि पो रहेछन्।’
यो सम्झना सुनाउँदै गर्दा हल एकछिनसम्मै नारायणगोपाललाई सम्झेर भावविभोर भएको थियो।
गाउँबाट सुख, दुःखका अनेक रस बोकेर आएको एउटा खोला कुनै नदीमा मिसिएर हराउनुको पीडालाई त्यस गीतमा एउटी पत्नी छाडेर अन्जान ठाउँ जाँदै गरेको दासको भोगाइसँग जोडिएको थियो। गीतको शब्दले भन्थ्यो–
‘गीतैले बोलाई दरौंदीलाई मर्स्याङ्दी मिसियो
म केले बोलाउँ मालतीलाई मुरली खोसियो’
‘म गायक होइन, तर सधैं गुन्गुनाउँदै लेख्छु,’ उनले भने, ‘संगीतमा सुर र बेसुर ठम्याउन सक्छु।’
एकपल्ट आफ्नै गीत रेडियोमा सुनेर आजित हुँदै संगीतकार नातिकाजीलाई गुनासो गरेछन्। ‘यस्तो बेसुरा गाएर मेरो गीत त चौपटै पारिदिएछन् नि, नातिजी?’
उनको प्रश्न भुइँमा झर्न नपाउँदै नातिकाजीले जवाफ दिएछन्, ‘मेरो संगीत पनि त चौपटै पारिदिए नि, कविजी।’
फूलको थुंगा बहेर गयो गीत त फूलको थुंगो रहेछ। थुंगा भएरै दशकौंदेखि नेपाली ओठमा बसिरहेको छ।
त्यसैगरी लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो गीत विदेशमा गाउँ सम्झिने नेपालीको विरहको भाकामा लेखिएको रहेछ। तर संगीतकारले सुखको भावनासहितको धून दिए। त्यही धून लोकप्रिय भयो।
नारायणगोपालले गाएको आजै र राति के देखेँ सपना को रचनागर्भ सुनाउनुअघि उनले बत्तीले झकिझकाउ मञ्चबाट अँध्यारो दर्शकदीर्घातिर आँखा लगाए।
‘खोई कता छिन् मेरी श्रीमती?’ उनले सोधे, ‘श्रीमतीजी, एकपल्ट उठी देऊ त।’
दर्शकमाझबाट कविवरभन्दा १६ वर्ष कान्छी महाकाली उठिन्, दर्शकको भव्य तालीलाई उनले नमस्कार गरेर कृतज्ञता फर्काइन्। उता मञ्चतिर कविवर बोल्न थाले, ‘यिनले मलाई धेरै गीत लेखाएकी छन्।’
एक बिहान चिया लिएर आउँदा महाकालीले भनिछन् ‘कस्तो सपना देखेँ मैले आज राति आफैं मरिगएको।’
झिलिक्क बत्ती बाल्ने गरी त्यो भाव घिमिरेको सिर्जनशिलतामा घुस्यो। उनले केही नभनी चियाको गिलास समातेर हात हल्लाउँदै पन्छाइदिए, ‘जाऊ जाऊ।’
अनि हतारहतार एकान्तमा त्यही पंक्तिबाट गुन्गुनाउन थाले।
अर्को पंक्तिका लागि उनले झ्यालबाहिर पारिजात हेरे, बतासविना हाँगाका फूल भुइँझरी गएको देखे र शब्द टिपे।
यसरी तयार भएको गीत नारायणगोपाललाई गाउन दिएछन्।
उनले गाउन त गाइदिए। तर, अन्तिमको अन्तरा नै गीतबाट गायब थियो। त्यसमा धोबिनी चराको प्रसंग रहेछ।
त्यो अंश हटाउँदा गीतको मर्म पूरै खुल्दैन भनेर नारायणगोपाललाई सुनाएछन्।
‘भो भो,’ नारायणगोपालले ठाडो जवाफ दिएका रहेछन्, ‘सबै मर्म आइसक्यो।’
त्यति बेला नारायणगोपालका अघिल्तिर आफू नाजवाफ भएर फर्किनुपरेको बिलौना उनले सुनाएका थिए।
उनले गीत र कविता सरावरी लेखे। गीत र कविता के लेख्ने भनी पहिल्यै छुट्याउँथेनन्। कुनै भाव फुरेपछि त्यसमा केही थोक छ जसलाई दोहोर्याइरहुँ भन्ने लाग्यो भने गीत बनाइदिन्थे।
‘सुन्दरीले मायाले झुलुक्क हेरी भने त्यो क्षण पक्रेर लेख्छु र अन्तरापिच्छे बारम्बार त्यसमा फर्किन्छु,’ उनले भने, ‘हेराहेर भएको होइन, एकपल्ट हेरेको मात्र हो। त्यहाँभन्दा अन्त जानै मन लाग्दैन।’
दर्शकहरू हाँसे। उनले भने, ‘तर अदभूत सुन्दरीले महात्मालाई भेट्न यात्रा थालेको भए त्यसलाई पहिलो बास ठानेर म कविता लेखिदिन्छु।’
उनले धेरै वर्षअघि अन्तर्वार्ता दिँदा भनेका रहेछन्, ‘गीत एक हाँगाबाट गाउँदै अर्को हाँगामा पुगेर फेरि उही हाँगामा आउने रानीचरी हो।’
त्यसैगरी गीतिकविता ‘एक कुञ्जवनबाट अर्को कुञ्जवनमा गाउँदै डुल्ने कोइली हो।’
पद्यकविता भने ‘पंक्तिबद्ध रूपमा गाउँदै हिमालपारि पुग्ने मालचरी हो र गद्यकविता फूलबारीभरि गुन्गुनाउँदै फैलिने एक हुल मौरी हो।’
उनले गीतिकाव्य, खण्डकाव्य, शोककाव्य रचे। बालकविता फुराए। गीतिनाटक कोरे।
त्यस साँझ नेपालयको आरशालामा कविवरसँगको सांगीतिक समारोह सकिएलगत्तै घिमिरेलाई सहयोग गर्दै माथिसम्म उकालिदिने अवसर मैले पाएको थिएँ। त्यति बेलै हामीबीच पहिलो चिनारी कायम भएको थियो।
‘बाबुले किताब लेख्नुपर्छ,’ नेपालयको रिसेप्सनमा लगेर बसाएपछि अचानक राष्ट्रकविले भनेका थिए। मैले तत्काल त्यसलाई उनको आशिर्वादका रूपमा ग्रहण गरेको थिएँ।
आधुनिक नेपाली गीत र त्यसका फराकिला कथाहरू उत्खनन् गर्ने पलेँटी श्रृंखला केही समययता थामिएको छ।
जतिखेर महाकवि देवकोटाले 'शाकुन्तल' लेख्न पनि थालेका थिएनन्, त्यति बेलै घिमिरे आफूले 'गोविन्द' शीर्षकमा महाकाव्य लेख्न थालेको बताउँछन्। उनको भने सम्पन्न भएन। छरिएर गयो उनको ध्याउन्ना। त्यो त्यत्तिकै ओइलायो।
‘म समाधीस्थ भएर रचना गर्छु, महाकाव्य कहिले सिद्धिन्छ कहिले? कविता ख्यालठट्टा होइन,’ उनले भनेका थिए, ‘खोलो बग्दैछ, पर पुगेपछि समुद्रमा मिसिएस् भन्नै पर्दैन, मिसिइहाल्छ।’
कुनै समय लमजुङस्थित हर्क गुरुङको घर पुगेका बेला छेवैको डाँडो उक्लेपछि पारिको अग्लो पहाड देखाउँदै अग्रज पत्रकार एवं लेखक वसन्त थापाले भनेका थिए, ‘उ त्यही हो बाहुनडाँडा, माधव घिमिरेको गाउँ।’
त्यो मनास्लुको मुनि मर्स्याङ्दीको बायाँ किनारमा देखिन्थ्यो।
दुई भाइ बुवामध्ये घरमा जेठाबाको शासन थियो र उनका आफ्ना बुवा धेरैजसो लेकको गाईगोठमै बस्थे। उनले बालककाल जगराको लेकमा गाई हेरेर बिताए, जहाँ उभौलीमा गाउँका गोठ पुग्थे र उधौली लागेपछि बेसी झर्थे।
छ महिना लेकमा बस्दा केवल तीन ऋतु वसन्त, वर्षा र शरद अनुभव गरे। बीचमा गृष्मऋतुको प्रत्यक्ष अनुभव भएन, खालि हिमाली हिउँको खार बहेर मर्स्याङ्दी धमिलो भएपछि मात्र जेठ लागेको अनुमान हुन्थ्यो।
‘हामी जगरामा फागुनको अन्त्यतिर पुग्थ्यौं, जब गाउँलेहरू काफल पाक्यो टुप्पै कालो भनेर वनमा छरिन्थे। अनि फाँटका धानमा पहेँलो झल्को पर्न लागेपछि र सनईमा नवदुर्गाको मालसिरी धून बज्न लागेपछि हामी बेसी ओर्लिन्थ्यौं।’
घिमिरेलाई बुवाले दुराडाँडा पढ्न पठाउँदा उनी १२ वर्षका थिए। चिठी बाच्न सक्ने र औंशी–पुर्णे छुट्याउन सक्ने भए पुग्ने जमाना थियो। पुरेत्याँई गर्ने भए चण्डी पाठसम्म गर्ने चाहिन्थ्यो। घुँडा धसीधसी पढे। गोरखापत्रमा कविता छपाउन थाले। पछि काठमाडौं आएर रानीपोखरी संस्कृत छात्राबास बसे।
परीक्षा दिन बनारस पुगे।
पत्नी वियोगपछिका केही वर्ष लमजुङ फर्केर प्रधानाध्यापक भए।
राजधानी फर्केर लेख्न र पढाउन जारी राखे।
बालुन (रामकथाको गीतिनाटक) खेल्दा चुड्का गाएको पहाडी परिवेशमा हुर्किएका थिए। भनेका छन्, ‘मेरा गीतहरू कविताजस्तो देखिनुको खास कारण के हुनसक्छ भने म पहाडमा हुर्किएँ, जहाँ सिलोकलाई पनि गीतको भाकामा ढालिन्छ। अनि म गीत र कविता समान रूपले लेख्छु।’
लोकगीतमा अन्तराको विस्तार हुन्न। नेपाली लोकलयमा कविता त लेखिन्थे, तर स्थायी र अन्तरा मिलाएर गीत लेखिँदैनथे।
माष्टर रत्नदासलाई उनले सम्झिनुपर्ने कारण रहेछ। झमझम पानी पर्यो लामो थियो, जसलाई रत्नदासले छोट्याइमागे। त्यसपछि उनले स्थायी र अन्तराको सन्तुलन मिलाएर लेख्न थाले।
कवि शिरोमणि लेखनाथ पौडेल र महाकवि देवकोटाका रचनाबाट प्रभावित भएर लेखन बढाए पनि उनले आफ्नो मौलिकतामा निखार ल्याए। त्यो हो, उनको भाका।
पहाडी लोकसंगीतको भाका लिएर उनी गीत मात्र होइन, कवितामा पनि उदाए। घिमिरेले ठेट पहाडी नेपाली भाका मात्र ल्याएनन्, शब्द पनि ल्याए।
भाषामा परिष्कार गरे।
‘मलाई चिनाएको भाकाले हो,’ उनी भन्छन्।
काठमाडौंमा उनको संगत देवकोटासहित नाटककार बालकृष्ण समसँग भयो। सम चिटिक्क परेका पोशाकमा घोडा चढेर हिँड्थे। त्यस्तैमा एकदिन देवकोटा र समसँगै उनी राजदरबार डाकिए।
राजा महेन्द्रले ती तीन जना साहित्यकारलाई प्रज्ञा प्रतिष्ठान खोल्नेबारे सल्लाह लिन निम्त्याएका रहेछन्।
‘सरकार हाम्रो लोकसंस्कृति ज्यादै सम्पन्न छ, यसको प्रवर्द्धन गर्ने उद्देश्य हुनुपर्छ,’ घिमिरेले भनेछन्।
राजाले मुन्टो हल्लाउँदै सही थापे रे, ‘हो, लोकसंस्कृति रहेन भने दस वर्षमा नेपालै रहने छैन।’
उनी २०१४ सालमा स्थापनाकालकै प्राज्ञ हुन पुगे। राष्ट्रिय गीत लेखे। गाउँछ गीत नेपाली... जस्ता बाल मष्तिष्कमा कल्पनाको शक्ति भर्ने ऊर्जा दिए।
धेरै वर्षपछि उपकुलपति हुँदा कलाकारहरूले आएर भनेछन्, ‘कविज्यू, हामी यहाँ बेकामेजस्तै छौं, कुनै नाटक मञ्चन हुन सकेको छैन।’
त्यही क्षण ‘मालती मंगले’ को विजारोपण भएको थियो।
बुधबार आकासबाट झरी सुरु भइरहेकै क्षण मैले ‘मालती मंगले’ को रचनागर्भ बारे जान्ने इच्छा राखेँ–
‘मालती मंगलेमा उतिबेलाको दासप्रथालाई कसरी ल्याउनुभयो?’
उनका आँखा अचानक चम्किए। भन्न मन लागिरहेकै कुरा सोधिदिएजस्तो गरे। मैले अघिल्ला भेटहरूमा पनि ‘मालती मंगले’ का सन्दर्भ निकाल्दा उनलाई प्रसन्न पाउने गरेको थिएँ।
‘राम्रो,’ उनले आँखीभौं उठाउँदै भने, ‘तपाईंले राम्रो प्रश्न सोध्नुभयो।’
त्यसपछि उनी एकोहोरो बोल्न थाले–
‘यसका दुईवटा कुरा छन्।
चन्द्रशमशेरको पालासम्मै दास प्रथा थियो। विश्वमा यो दास प्रथा त अमेरिकाबाट सुरु भएको सबैलाई थाहै छ। ब्रिटिस इन्डियाले यसलाई रोकेपछि हामीकहाँ राणाहरूले पनि दासप्रथा अन्त्य गरे।
मेरै घरमा पनि दास थिए। दासलाई त मैले देखिनँ। दासी र उसका दुई छोरालाई चाहिँ देखेको हुँ। दासी चाहिँ मैले देखेपछि एक दुई वर्षमात्र बाँचेर गइन्। उनको जेठो छोरो मेरो जेठा बाको भागमा परेका थिए। छुट्टीभिन्न हुँदा उनको कान्छो छोरो मेरो बुवाको भागमा पर्यो।
दासप्रथा उन्मूलन भइसकेपछि पनि उनीहरूको अन्त कतै जाने ठाउँ थिएन। केही उपाय पनि थिएन। त्यसैले हामीसँगै बसेका थिए। साथीजस्तै हुर्किएका उनले घरमा गाली खाँदा म कतिपटक रोएको छु। धेरै वर्ष बाँचेका उनको मृत्यु भीरबाट लडेर भएको थियो।
यस्ता दासहरूलाई बेच्ने बेला रुवावासी चल्ने गरेको कुरा मैले सुन्दै आएको थिएँ। सुन्दा मेरो मन ब्याकुल हुन्थ्यो।
अर्को कुरा, पछि म काठमाडौं पढ्न आएँ। वर्षको एकचोटि घरविदामा जाने गर्थें। विदामा जाँदा बाटोमा गोर्खाको बूढीगण्डकी किनारमा एकपटक बास परेको थियो। बास बसेको बेला त्यहाँ एउटा असाध्यै मन छुने गीत सुन्न पाएँ। मालिकले बेचेपछि विदा हुँदै गरेको घर्ती र घर्तीनी बीचको संवाद त्यसमा थियो।
बेचिएर विदा हुँदै गरेको घर्तीलाई उसकी पत्नीले, ‘तिमी बेचिएर जान थालेका छौं। अब उपरान्त तिमी बाँचेका छौ कि मरिसक्यौ भन्ने पनि मलाई थाहा नहुने भयो। एउटा कुनै चिनो दिएर जाऊ’ भन्छे।
त्यस्तो बेला घर्तीले एउटा फूल चिनो दिन्छ। र, ‘यो फूल नओइलुन्जेल म मर्दिन’ भनेर विदा हुन्छ।
जम्मा तीन चार लाइनको त्यो सानो टुक्रा बडो मार्मिक पाराले उनीहरूले गाएका थिए। त्यसरी गाउँदा गाउँदै त्यसको मर्म मेरो कलेजामा लेखियो। बिर्सने त कुरै आएन। त्यो घुमिरहेको थियो।
यस्तै सिलसिलामा अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले विश्वव्यापी तवरबाट मानवअधिकार संरक्षण हुनुपर्छ भनेर बोले। त्यतिबेलै मलाई लाग्यो, यो पञ्चायत कालको जुन नागरिक अधिकार छ त्यो त राजालाई जुनबेला मन लाग्यो त्यो बेला कुनै दफा रहने त कुनै दफा खारेज हुने चल्थ्यो।
यस्तो अवस्थामा कार्टर आएको बेला यो विश्वब्यापी समस्या मैले लेख्नुपर्छ भन्ने लाग्यो। त्यसपछि केही दस्तावेज छन् कि भनेर खोजी गरेँ। खोज्दाखेरि दुईवटा दस्तावेज पनि पाइयो।
मदन पुरस्कार पुस्तकालयमा गोर्खाका राजा पृथ्वीनारायण शाहबाट एक कमारो र एउटा गाउँका धेरै बाँधालाई कपालमा तेल हालेर मुक्त गरिदिएको भनेर लालमोहर फेला परेको थियो। त्यसैगरी अर्को चाहिँ एकथरि दासहरूलाई मोक्ष गराइदिएको कथा भएको कागज फेला पारेँ।
संसारभर दासप्रथा रहेको बेला नेपालमा एउटै भए पनि दासको मुक्तिको निम्ति लालमोहर निस्कनु महान कार्य हो भन्ने लाग्यो। बाँधाप्रथा त प्रजातान्त्रिक मुलुकहरूमा पनि आजसम्म लुकिछिपी चलिरहेकै छ। गोर्खाको त्यो दासत्वमोचन र बाँधामोचनको प्रथम प्रयासलाई मैले राष्ट्रिय गौरवको हिसाबले लिएँ।
त्यसपछि त म कवि हुँ क्यारे! यति भएपछि गोर्खाकै दासदासीको कथामा बुन्न सजिलो भइहाल्यो।
त्यसबाहेक म गाउँको मान्छे। भाका सुनेरै गाएरै हुर्केको थिएँ। मैले तिनै भाकामा गीत लेखेँ।’
माधव घिमिरेको शब्द, अम्बर गुरुङको संगीत, नारायणगोपाल र तारादेवीको स्वर रहेको ‘मालती मंगले’ एउटा उच्च सांगीतिक सिर्जनाका रूपमा सदैव चिनिने कृति भइसकेको छ।
त्यसको तारतम्य मिलाउन पनि कम्ती मुश्किल परेको चाहिँ थिएन।
त्यति बेला घिमिरे एकेडेमीका उपकुलपति थिए भने अम्बर गुरुङ संगीत विभाग हेर्थे। त्यसैले यी दुईको कुरा मिल्न त त्यति गाह्रो परेन।
‘अम्बर गुरुङले असाध्यै राम्रो संगीत हालिदिएका थिए,’ घिमिरेले बुधबार सम्झिए, ‘तर, उता फेरि नारायणगोपालसँग उनको बोलचालै बन्द भएको रहेछ।’
यस्तोमा अम्बर गुरुङ आफैंले बनाएको संगीतमा आफैं गाउँछु भन्न थालेछन्।
घिमिरेले सम्झाउँदै भनेछन्, ‘हेर्नुस्, यो ओपेराको सबैभन्दा ठूलो एउटा पक्ष तपाईंले रचना गरिसक्नुभएको छ। यसमा तपाईं र मेरो कुरा आइसक्यो। अब अर्को विशेषता भनेको नारायणगोपालको स्वरले मात्र थप्न सक्छ। कृपया उनैलाई गाउन लगाऔं।’
अम्बरले जसोतसो ‘हुन्छ’ भनेर स्वीकार गरेछन्।
यसरी अम्बर त माने। अब नारायणगोपाललाई कसरी गाउन लगाउने?
‘त्यसपछि मैले नै गएर नारायणगोपाललाई फकाएँ,’ घिमिरे सम्झन्छन्, ‘यता अम्बर गुरुङ र नारायणगोपालको समस्या त समाधान भयो, उता फेरि नारायणगोपाल र तारादेवी एकअर्कालाई हेर्नै नचाहने।’
मैले कतै सुनेको कुरा उल्लेख गर्न चाहेँ– ‘त्यसको रेकर्ड त गायक र गायिकाको बीचमा पर्दा लगाएर गरिएको थियो क्यारे...’
‘होइन। त्यसो त होइन,’ उनले भने, ‘बेग्ला बेग्लै रेकर्ड गर्नुपरेको चाहिँ हो।’
घिमिरेका अनुसार त्यतिबेला एकदिन एउटाले गाएर गएपछि अर्को दिन अर्कोलाई बोलाइन्थ्यो।
यसरी अनेक कठिनाइ झेल्दै तयार भएको ‘मालती मंगले’ सँग अनेक संयोगहरू मिल्न पुगेको घिमिरे सुनाउँछन्।
‘ओहो...,’ उनी त्यो क्षण सम्झेर हौसिए, ‘त्यो गीति नाटक त छ महिनै पो चलेको थियो।’
त्यसको नाम ‘मालती मंगले’ कसरी राखियो?
‘मालती फूल यति सुकुमार हुन्छ, यही सुकुमारताले त्यसलाई मानिसले जोगाउँदै ल्याएको छ,’ उनले कारण खोले, ‘अनि प्राकृतिक रूपमा वनपाखामा उम्रने मंगले जति उखेले पनि मर्दैन। सौन्दर्य र शोभा, रूप र प्यार कहिल्यै मर्दैनन्।’
आफूले गीत गाउन नजाने पनि घिमिरे लोकगीतका मधुर कम्पनसँगै बढेका हुन्। उनको परिभाषामा, संगीत र साहित्य एकप्रकारको संस्कार हो। भन्छन्, ‘हामीलाई कोइलीले मीठो गाउँछ भन्ने संस्कार बसेको छ, अनि त्यही मीठो लाग्छ।’
मेरो जिज्ञासा लगभग सकिइसकेको थियो।
तै हिँड्नुअघि राष्ट्रकवि घिमिरेको पछिल्लो महाकाव्य ‘ऋतम्भरा’ बारे जानकारी लिने इच्छा भयो।
‘म बिरामी परेर त्यसलाई अगाडि बढाउन पाइरहेको छैन,’ उनले भने, ‘दुई सर्ग बाँकी छ।’
अब कति समयजति लाग्छ होला?
‘त्यो कविताको कुरा हो,’ उनले भने, ‘एक वर्षभित्र त कसो नसकिएला।’
कविता लेख्नु आफ्नो नियन्त्रणभित्र नरहेको बताउने घिमिरेले संकेतसम्म दिए।
‘अब मौसम परिवर्तन हुँदैछ,’ भने, ‘मलाई हिउँदमा उस्तो कविता आउँदैन। अर्को साल लागेपछि ऋतम्भरा पूरा गर्ने कोशिस गर्छु।’
यति कुरा भइसकेपछि मैले उठ्दा उठ्दै सोधेँ, ‘अहिले स्वास्थ्य कस्तो छ?’
‘ठीकै छ,’ उनले भने, ‘खासै तकलीफ छैन।’
कामेकै स्वरमा फेरि थपे, ‘पर्सि आइतबार कार्यक्रम गर्ने भनेका छन्। त्यसमा हाजिर हुन सक्छु।’
छेउमै उभिएका छोरालाई मैले राष्ट्रकविको स्वास्थबारे थप जिज्ञासा राखेँ।
‘डा. चक्रराज पाण्डे र उहाँको टिमसँग फोनमा नियमित सल्लाह भइरहन्छ,’ उनले भने, ‘आवश्यकता परेको बेला देखाउन पनि जाने गरेका छौं।’
पछिल्लोपटक आन्तरिक रक्तश्रावले जुन खतराको अवस्था देखाएको थियो, त्यसबाट घिमिरे मुक्त भइसकेको जानकारी छोराले दिए।
लैनचौरमा एकछिनसम्म परेको झरी थामिइसकेको थियो।
घरबाट निस्कँदै गर्दा पहाड त देखिँदैन थियो। तै पनि मैले मनमनै दृश्य बनाएँ–
‘झरीको पछि झुल्केको घाममा
निर सर्यो पहाडको...’
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी