ज्ञानेश्वरको हिमाल अस्पतालमा बिहीबार बिहानै एउटा प्राणविहीन बुढो शरीर देखेर मेरा आँखा डबडबाए।
के म मदनमणि दीक्षितका साहित्यको गहिरो पाठक थिएँ? होइन।
के म मदनमणि दीक्षितका पञ्चायतकालीन पत्रकारिताको कठोर संघर्ष नजिकबाट बुझ्ने पत्रकार थिएँ? त्यो पनि होइन।
त्यो शवको छेउमा उभिइरहँदा म स्कुल पढ्दाको समयतिर पुगेको रहेछु। वीरगञ्जमा अहिले पनि धेरैले 'तिर जूद' भन्ने गरेका मुलुककै दोश्रो हाइस्कुल 'त्रि–जुद्ध'का दिनहरूतिर।
अहिले 'समाजवाद उन्मुख' भनिए पनि नेपालमा हरेक भावी कर्णधारलाई आमाको काखपछि स्कुलको दैलो टेक्नासाथ वर्ग बुझाइने गरिन्छ।
महिनाको पचासौं हजार तिर्नेदेखि निम्न वर्गीयका सन्तानले पढ्ने निःशुल्क भनिएका छुट्टाछुट्टै विद्यालयका अनेक वर्ग छन्।
तर, हामीले पढ्ने त्रि–जुद्धले तयार पारेको अवस्था त्यस्तो थिएन। मेरै कक्षामा पनि अञ्चलकै सबभन्दा शक्तिशाली मानिने अञ्चलाधीशदेखि लिएर सहरकै सबभन्दा धनी व्यापारी हुँदै जुत्ताचप्पल सिलाउनेसम्म, अनि नियमित तलब नपाउने पत्रकारका सन्तान हामी लहरै एउटै बेञ्चमा बसेर पढ्थ्यौं।
यसरी सबैलाई आकर्षित गर्नसक्ने सरकारी स्कुल त्रि–जुद्धका धेरै खुबी थिए। त्यसमध्ये प्रमुख थियो–अनुशासन।
त्रि–जुद्धले अरुथोक बर्दाश्त गरे पनि अनुशासनहीन विद्यार्थी कदापी सहँदैन थियो। शिक्षकहरू पनि सब एक–से–एक आदर्शवान्।
हामीले यदाकदा बिराउन खोज्दा गुरुहरू भन्थे– 'यो मदनमणि सरले अनुशासन कायम गराएको स्कुल हो। खबरदार!'
शिक्षकका मात्र के कुरा? त्यसै स्कुलबाट एसएलसीमा बोर्ड प्रथम भएका अहिले वीरगञ्जकै अग्रज बाबुलाल चाचानसमेत घरिघरि मदनमणि सरकै नाम लिन्थे।
यी मदनमणि चाहिँ को रहेछन्? हामीबीच सदैव जिज्ञासा रहन्थ्यो।
हामी स्कुल पढ्दाकै बेला त्रि–जुद्धले ५० वर्ष पूरा गरेको थियो। त्यसको मुख्य समारोहमा मदनमणि सरको उपस्थिति हुन्छ भन्ने व्यापक चर्चा थियो। हामीले पछिसम्मै टाउको तन्काएर त्यो नामका मान्छे हेर्न खोजेका थियौं। तर, सायद कुनै अर्कै कामले उनलाई काठमाडौंमै रोक्यो। उनी वीरगञ्ज आइपुगेनन्। हामी विद्यार्थीहरूको मनोकांक्षा त्यत्तिकै रह्यो।
त्यसको केहीपछि वीरगञ्ज घरमा आउन थालेका बुवाका पत्रकार साथी विनोदमणि दीक्षित उनै मदनमणि सरका छोरा हुन् भन्ने थाहा पाएपछि रोमाञ्चित भएको थिएँ।
काठमाडौं आएर पत्रकारिता गर्न थालेपछि मदनमणि सरलाई धेरैपटक भेट्ने मौका पाएँ। हरेकपटक त्रि–जुद्धको त्यही सम्झनाले सरप्रति श्रद्धा जाग्थ्यो।
आजभन्दा करिब ७३ वर्षअघि दीक्षितले बनारस हिन्दु विश्वविद्यालयमा स्नातकोत्तर सकेका थिए। त्यसपछि विद्यावारिधि तयारी गर्दाकै क्रममा उनी वीरगञ्ज छेउकै बारास्थित घर फर्के। त्यतिबेलै अर्थात् २००३ सालमा उनी त्रि–जुद्धमा प्रधानाध्यापक नियुक्त भएका थिए।
मैले मेरो सहरको कथामा आधारित 'वीरगञ्ज' किताब लेख्ने बेलामा उनै मदनमणि सरसँग स्कुलबारे विस्तारमा कुराकानी गरेको थिएँ। जीवनको अन्तिम कालसम्म पनि पुराना कुरा ठ्याक्क-ठ्याक्क मिति र समय उल्लेख गर्दै भन्न सक्ने वरिष्ठ पत्रकार एवम् विद्वान दीक्षितलाई भेट्न त्यस दिन म कालिकास्थानस्थित उनको घर पुगेको थिएँ।
त्यो दिन वीरगञ्जको सन्दर्भ निकाल्नेबित्तिकै उनी पुराना दिनको 'नोस्टाल्जिया' मा डुबे। हल्का मुस्कान छुट्यो र धाराप्रवाह बोल्न थाले।
'मलाई यो माड्साब भन्ने उपाधि नै वीरगञ्जले दिएको हो,' उनले भनेका थिए, 'त्यही त्रि–जुद्ध स्कुलको हेडमास्टर भएकाले।'
उनले माड्साबसँग जोडिएको रमाइलो सन्दर्भ पनि झिके।
त्यति बेला वीरगञ्ज 'सहर' बनिसकेकै थिएन। बनारसबाट उच्च शिक्षा लिएर आइपुग्दा त्यस बस्तीमा उनको चमकदमक नै अर्को थियो। दिनको चार पटक त लुगा मात्रै फेर्नुपर्ने। सानो छिटा पनि नलागेको टल्किने सेतो र सफा कुर्तामा गह्रौं आइरनले धारिलो किनारा बनाएकै हुनुपर्थ्यो। यस्ता कपडा अझ कडा देखिन माड हालेर धुन लगाइन्थ्यो।
'मास्टर भएर मात्रै होइन,' उनी ठट्यौलो बन्दै भनिरहेका थिए, 'माड लगाएर आइरन घसेको पहिरनले पनि मलाई त्यो बेलाको वीरगञ्जमा माड्साब बनाएको थियो।'
दीक्षितको परिवार सुरूदेखि नै बाराका वासिन्दा थिएनन्। उनीहरू काठमाडौंबाट निकालामा परेका थिए।
राणाकालमा शासकको चित्त नबुझ्नेबित्तिकै जो पनि काठमाडौंबाट निकालामा पर्थे। सुरूमा त भीमशमशेरले दीक्षितका प्रशासक पितालाई ११ महिना डिल्लीबजार खोरमा थुनिदिए। त्यसपछि उनीहरूलाई काठमाडौं त्याग्न बाध्य बनाइयो।
१९९१ सालदेखि बनारसको मावलमा बसोबास भयो। त्यति बेला दीक्षित बाह्र वर्षका थिए।
परिवारको बनारस बसोबास लामो रहेन। बारा जिल्लाको मौजा हेर्न त्यो परिवार नेपाल फर्कियो। पढ्दै गरेका दीक्षितको पढाइ छुट्यो।
फर्केको अढाई वर्षमै दीक्षितका बाजे काशीवासका निम्ति बनारस जाने भए। बाजे चेस खेलका सोखिन, कतिसम्म भने भारतीय सय रूपैयाँ तलब दिएर एक जना खेल्ने मान्छे साथै राखेका थिए। यस्तो बेला आफ्नै नाति मदनमणिलाई बनारस लैजाने हो भने उनले चेस पनि खेल्ने र बनारसमा पढाइ पनि गर्ने सुझाव दिइयो। नाति लैजान बाजे तयार भए।
यसरी चेसकै कारण दीक्षितको पढाइले बनारसमा निरन्तरता पायो। त्यसको केही वर्षपछि बनारस हिन्दु विश्वविद्यालयमा स्नातकोत्तर सकियो। उता भर्खर पढाइ सकिएको थियो, यता वीरगञ्जस्थित त्रि–जुद्ध हाइस्कुलमा प्रधानाध्यापक खोजी हुन थाल्यो। उक्त हाइस्कुलका प्रथम प्रधानाध्यापक अमृतप्रसाद प्रधान (अमृत साइन्स कलेजका संस्थापक) काठमाडौं फर्किएपछि रिक्त रहेको पद थियो त्यो।
मदनमणिलाई घर फिर्ता बोलाइयो। आएपछि बाबु–छोराको कुरा बाझिएछ। बाबु हेडमास्टरी गरोस् भन्ने, छोरा विद्यावारिधि गर्न फर्कन्छु भन्ने। परिवारको परिस्थितिबीच छोराले आत्मसमर्पण गरेछन्।
त्यसपछि त्रि–जुद्धमा प्रधानाध्यापक बन्न गाह्रो भएन।
तर बनेकै दिनदेखि एक जना साहेबज्यूका कारण आफ्ना निम्ति समस्याको पहाड उठ्न सुरू भएको मदनमणिले बताएका थिए।
त्यो राणाकालीन समय थियो। राजपरिवार र राणा गरेर दुवैतिर पारिवारिक सम्बन्ध रहेका ती साहेबज्यू असाध्यै चाकरी खोज्थे। यता भर्खर बनारसबाट पढेर आएका दीक्षित कसैलाई चाकरी गर्न नचाहने। साहेबज्यूले दरबारमै बसेर यस किसिमका ठस्सा देखाएको भए खासै फरक पर्नेवाला थिएन। तर बिडम्बना, ती साहेबज्यू त्रि–जुद्ध स्कुलकै सेक्रेटरी थिए।
उनले दीक्षितलाई पढाइरहेको कोठामै आएर निरीक्षण गर्न थाले। यो कुरो हकी स्वभावका मदनमणिलाई ठ्याम्मै मन परेन।
'म यहाँको हेडमास्टर हुँ र यहाँ मैले चाहेको कुरा चल्छ,' उनले ती साहेबज्यूलाई ठाडै भनिदिएछन्, 'आइन्दा मेरो अनुमति नलिई यो स्कुलको कम्पाउन्डभित्र पस्न पाइँदैन।'
जहानियाँ शासनका बेला बजारभरिका सारा ठूलाबडाले चाकरी गर्ने मान्छेलाई एक मास्टरले यसरी थर्काएपछि साहेबज्यूको आत्मसम्मानमा ठूलै धक्का लाग्यो। तर, गर्ने के? त्यो बेला गाउँमा यत्तिको पढेलेखेको अर्को मान्छे कहाँबाट ल्याउने? दीक्षितलाई एकपछि अर्को अप्ठ्यारोमा पारिरहनुबाहेक अर्को कुनै उपाय थिएन।
एकातिर विद्यार्थी उचाल्ने काम सुरू भयो। अर्कोतिर शिक्षकहरू गुटबन्दी हुन थाले। एघार जना शिक्षकमध्ये तीन जनाले साहेबज्यूको पक्षमा आफूलाई उभ्याए।
त्यसपछि प्रधानाध्यापकको प्रत्येक निर्णय रोक्का गर्न सुरू भयो। त्यति बेला विद्यालयका अध्यक्ष पनि राणाजी नै थिए। दोहोरो तानातान चल्दै गयो। विद्यार्थीलाई अनेक हिसाबले उचालेर प्रधानाध्यापकविरुद्ध लगाइयो।
बनारस हिन्दु विश्वविद्यालयमा त्यति बेलाको उच्च अनुशासन देखे-भोगेर आएकाले एकातिर त्यस्तै अवस्था तयार पार्ने कौशल दीक्षितमा थियो भने अर्कोतिर काशीमै स्वतन्त्रता संग्राममा लडेका कारण सामन्तीहरूका झिनामसिना अवरोध सामना गर्ने आँट उनमा भरिएको थियो।
कसैको सह पाएर राति ९ बजे जसले पुस्तकालयको ढोका फोरेर किताब चोरेको हुन्थ्यो, त्यसैबाट दीक्षितले गल्ती आभास गराउँदै चोरिएको किताब फिर्ता गराइदिन्थे। सह दिने मानिस धर्मसंकटमा पर्थे। यसरी एउटै स्कुलका प्रधानाध्यापक अनुशासन कायम गर्ने प्रयासमा लागेका हुन्थे भने त्यसैका सेक्रेटरी रहेका साहेबज्यू बिगार्ने जुक्तिमा।
त्यो बेला भद्रभलादमी जति आफ्नै साथमा रहेको दीक्षितले बताएका थिए।
आफ्नै हिसाबले लडिरहेका दीक्षितलाई एकपटक अर्को तनाव आइलाग्यो। एक दिन कक्षामा पढाइ सकेर कार्यालयतर्फ जाँदा मदनमणिले आफ्नो कुर्सीमा उनकै पिताजी विराजमान देखे। हेडमास्टरको कुर्सीमा बसेर पिताजी शिक्षकहरूसँग वार्तालाप गरिरहेका थिए। दीक्षितलाई असह्य भयो।
'यो तपाईं बस्ने ठाउँ होइन,' दीक्षितले भनेछन्, 'कृपया त्यहाँबाट उठिदिनुस्।'
पिता उठेर गए, तर त्यस दिन बेलुकी घर फर्केपछि दीक्षितका निम्ति परिस्थिति सहज भएन। पिताजी र आमा त रिसाएकै थिए, खुद पत्नी पनि उतैतिर लागेर दीक्षितलाई एक्ल्याए। तै पनि उनी गलेनन्। आफ्नो मान्यताका निम्ति परिवार भित्रै पनि लडे।
त्यति बेलाको त्रि–जुद्ध स्कुल अहिलेका आम माध्यमिक विद्यालयभन्दा बेग्लै शक्ति केन्द्रका रूपमा रहेको दीक्षितले सुनाएका थिए। उनका अनुसार त्यो बेला सिङ्गो तराईमै अर्को कुनै हाइस्कुल थिएन। विराटनगर लगायत एकाध अन्य स्थानमा आठ कक्षासम्म पढाइ हुन्थ्यो। सिंगो तराईका विद्यार्थी एसएलसी दिन वीरगञ्ज आउनुपर्थ्यो। यस्तो महत्वको त्रि–जुद्ध सुरूमा पटना विश्वविद्यालयको बोर्डबाट परिचालित हुन्थ्यो। पछि काठमाडौंसँग जोडियो। काठमाडौंसँग जोडिए पनि प्रश्नपत्र भने पटनाबाटै आउँथ्यो।
त्रि–जुद्धमा पढाइरहेकै बेला एकपटक दीक्षितको कार्यालयमा कसैले महात्मा गान्धी र सुभाषचन्द्र बोसको फोटो झुन्ड्याइदिएछन्।
'यी नेतालाई सम्मान गर्नु बेग्लै कुरा हो,' उनले भनेछन्, 'तर, भारतीय नेताको तस्बिर मेरो कार्यालयमा किन?'
उनले तत्कालै ती तस्बिर त्यहाँबाट हटाएर इज्जतसाथ कुनै अर्को ठाउँमा राख्न आदेश दिए।
जबकि, यिनै दीक्षितले महात्मा गान्धीको अवसानको भोलिपल्टै वीरगञ्जमा शोकसभा गरेका थिए। विशाल जुलुस निस्केको थियो। आफूसँग अझै त्यो क्षणका तस्बिर रहेको उनी बताउँथे।
निकैअघि बनारसमा रहँदै एकपटक सुभाषचन्द्र बोसको भेला मैदागिन मन्दिर छेवैमा भएको थियो। त्यहीँ विश्वविद्यालयमा अध्ययनरत दीक्षित पनि पुगेका थिए। त्यहाँ उपस्थितले बोसलाई सयौं मालाले पुरिदिए। बोसले पार्टीलाई आर्थिक सहयोगको खाँचो परेकाले त्यो माला तत्काल त्यहीँ लिलामी गर्ने घोषणा गरे। धेरैले त्यो माला महँगोमा किने।
दीक्षितसँग त्यति धेरै पैसा थिएन। हातमा बिहेको बेला ससुरालीबाट पाएको औंठी थियो। त्यति बेलै सात सय मूल्य पर्ने औंठी निकालेर उनले बोसलाई दिँदै एउटा माला बोकेर घर आएका थिए। घर पुग्दा दुई आना पनि नपर्ने मालाका निम्ति त्यत्रो महँगो औंठी दिएकोमा पिताजीको आक्रोश बेहोर्नुपरेको थियो।
यस्ता मान्छेलाई कुनै बेला आफ्नो कार्यकक्षबाट तिनै नेताको तस्बिर हटाउने अप्रिय निर्णय लिनुपरेको थियो।
यी सब तनाव त छँदै थिए।
ठूलो तनाव त साहेबज्यूकै थियो।
अप्ठ्यारोमाथि झनै गाह्रो भनेजस्तै केही दिनमै वीरगञ्जका बडाहाकिम भएर सोमशमशेर आए। उनी स्कुलकै कमिटी चेयरम्यानसमेत थिए।
दीक्षित सोमशमशेरलाई 'राणाको रगत, त्यसमाथि फटाहा मान्छे' भन्थे।
उनका अनुसार उनै सोमशमशेरले सर्लक्कै साहेबज्यूका पक्षमा लागेर आफूविरूद्ध षडयन्त्र गर्न थालेपछि प्रतिरोधी अस्त्रले पनि भ्याउन मुश्किल पर्दै गयो।
विद्यालयभित्रकै अतिरिक्त आम्दानी रुचाउने केही गुरुवर पनि उतै मिसिए। त्यस्ता गुरुहरूको ध्याउन्न नै आफूसँग ट्युसन पढ्ने विद्यार्थीका लागि अनुकूल हुनेगरी प्रश्नपत्र तयार पार्ने हुन्थ्यो।
यही कुरा लिएर ठूलै विवाद मच्चियो। षडयन्त्रका अनेक तानाबाना बुनिए। पूरै गोलमाल भयो।
यो कुराको उजुरी काठमाडौंमा मृगेन्द्रशमशेरकहाँ पुग्यो। उनी त्यति बेला शिक्षाका निर्देशक थिए। उनले पनि साहेबज्यूलाई नै सोधे। कमिटीको बैठक बस्यो।
दीक्षित झुक्नेवाला थिएनन्। बैठकमा दीक्षितका तयारी अगाडि साहेबज्यूदेखि लिएर बडाहाकिम सोमशमशेरसम्म सबै गले।
अन्तिममा शिक्षा निर्देशक मृगेन्द्रशमशेरले चिफ इन्स्पेक्टर नेत्रबहादुर थापालाई वीरगञ्जको समस्या हेर्न खटाए। थापाले दीक्षितलाई निर्देशक मृगेन्द्रशमशेर उनीसँग असाध्यै रिसाएको जानकारी पनि दिए। त्यतिबेलै दीक्षितलाई वीरगञ्ज छाड्ने हो भने काठमाडौंको महावीर स्कुलमा झनै बढी तलब दिने भन्दै लोभ्याइयो। हठी दीक्षित मानेनन्।
आफूसँग अन्तरंग सम्बन्ध विकास गरेका थापाले 'तपाईंले छाड्नुभएन भने पनि सबै भएर ननिकाली छाड्दैनन्' भनेर सुनाएपछि दीक्षितले बल्ल आफूलाई नरम बनाए। अढाई वर्षको संघर्षपूर्ण समय बिताएका उनले २००६ साल, शिवरात्रिकै दिन त्रि–जुद्ध स्कुलको जागिरबाट राजीनामा दिए।
तर, वीरगञ्ज छाडेनन्।
सात वटा मौजाका जमिन्दार, बनारस पढेर आएका, आधुनिक सोचका युवक, मुलुकभरमै स्नातकोत्तर गर्ने २३ औं व्यक्ति।
यस्ता दीक्षित अचानक बेरोजगार भए।
फुर्सदले दीक्षितलाई राजनीतिक चिन्तनको बाटो देखायो। उनी कम्युनिस्ट भए।
त्यो बेला सबैजसो नेता ओहोरदोहोर गर्दा वीरगञ्जमा उनकै घर बस्थे। मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको त नियमितै आउजाउ हुन्थ्यो।
कम्युनिस्ट भएदेखि पिताजीसँगको सम्बन्ध नराम्रोसँग बिग्रियो। आम्दानीको बाटो बन्द थियो। पिताजीले मौजाको आम्दानी पनि नदिने।
यस्तोमा आत्मसम्मानको लडाइँ कतिसम्म गाह्रो भएको थियो भने एकपटक साउन महिनामा छाता नभएकैले कलैयादेखि वीरगञ्जसम्म १२ किलोमिटर झरीमा रुझ्दै आइपुगेका थिए। असिना परेपछि पीपलमुनि ओत लागे। पानीले ढाडिएर जुत्ता च्यातिएपछि बाटैमा फ्याँकिदिए। खाली खुट्टा उनी वीरगञ्ज आइपुगे।
हेडमास्टर रहँदा त्यत्रो शानले बसेका 'माड्साब' यसरी वीरगञ्जमा बिहानबेलुकै जुत्ता नलगाई हिँड्न थाल्दा शिक्षकहरू अचम्म मानेर हेर्थे।
यसरी दुःख पाएको देखेपछि त्रि–जुद्ध स्कुलका हस्तीहरू फेरि एकपटक उनको घरमा आए। त्यसमा वीरगञ्जका संस्थापकको रुपमा श्रद्धा गरिने नामहरू रघुवीररामजी, भगवान द्विवेदी, भैरवनाथ चालिसे र जीवनेश्वर मिश्र थिए।
उनीहरूले नयाँ खुल्न लागेको कलेजमा प्रिन्सिपल भइदिन अनुरोध गरे। तर, दीक्षितले अब आफू कहिल्यै कुनै जागिर नखाने अडान राखिदिए। बिदा भएर हिँड्ने बेला त्यो टोलीले ढोकामा पुगिसकेपछि फेरि एकपटक सोचिदिन अनुरोध गरेका थिए। दीक्षित मानेनन्।
'स्वीकारेको भए मेरो परिवारलाई धेरै सुविस्ता हुने थियो,' भन्छन्, 'तर, जीवनको बाटोले अर्कै मोड समात्नु रहेछ।'
परिवारले काठमाडौं छाडेको झण्डै अढाई दशकपछि २०१३ सालमा उनी फेरि सपरिवार राजधानी फर्किए।
फर्किएकै साल उनी 'हाल खबर' पत्रिकाका प्रधानसम्पादक बने। त्यसको दुई वर्षमै आफैंले 'समीक्षा' प्रकाशन थालेपछि दीक्षितको पहिचान पत्रकारिताले नै अघि बढायो। साहित्यमा पनि उनी उत्तिकै अग्रणी स्थानमा रहे।
जेसुकै गरे पनि, जहाँ रहे पनि उनका प्रारम्भिक दिनमा वीरगञ्जले जुराइदिएको एउटा पदवी कहिल्यै छुटेन।
उनी सदा सर्वदा 'माड्साब' भनेरै चिनिए।
माड्साब अब यस दुनियाँमा रहेनन्। तर, उनले माड हालेर लुगा लगाएको वीरगञ्ज त्यहीँ छ। उनले खाली खुट्टा हिँड्नु परेको वीरगञ्ज पनि त्यहीँ छ। अनि यो सब गर्न लगाउने उनको मूल्य र मान्यतामा आधारित कडा अनुशासनको प्रतीक 'तिर जुद' स्कुल पनि त्यहीँ रहिरहनेछ।
त्यसैले भौतिक उपस्थितिबिना पनि माड्साब अमर रहने छन्।