'ब्लू एप्रोन लगाएका गुरुङ सर घन्टी बजेपछि गितार बोकी क्लासरूमबाट जानुभयो। र, फर्केर कहिल्यै आउनुभएन।'
लेखक कुमार नगरकोटीले केही साताअघि छ कक्षा पढ्दाका आफ्ना अंग्रेजी गुरुबारे भावुक हुँदै 'कान्तिपुर कोसेली' मा यी हरफ कोरेका थिए।
नगरकोटीका गुरु थिए विक्रम गुरुङ, जोसँग मैले काठमाडौं र हङकङका कोठा, बार्दली, रेल–बसका सिट, मान्छे हराउने सडक र कन्सर्टका भव्य हलहरूसम्म साथै बसेर नजिकिने मौका पाएको थिएँ।
रेडियो नेपालका तमाम श्रोताजस्तै अरुण थापाका 'आँखाको निँद खोसी लाने', 'भुलुँभुलुँ लाग्यो मलाई सपनीमै' र 'कतै टाढा' जस्ता गीतका गीतकार एवं संगीतकारका रूपमा गुरुङलाई चिन्नु त झन् आम कुरा नै थियो।
विक्रम दाइ यसपालिको पलेँटी श्रृंखलामा गाउन नेपाल आउँदै हुनुहुन्छ- यो अलि पहिलेको समाचार थियो।
विक्रम दाइ आइपुग्नुभयो- यो गत साताको समाचार।
समाचार सुन्नेबित्तिकै मेरो मनमा फेरि नगरकोटीका त्यही लेखका यी हरफ खेल्न थाले–
'मलाई अंग्रेजी क्लास नरमाइलो लाग्न थाल्यो। गुरुङ सरको अभाव खट्किन थाल्यो। कानमा उहाँको आवाज गुञ्जिन थाल्योः 'इफ यू मिस द ट्रेन आई एम अन, यू विल नो द्याट आई एम गन...यू क्यान हियर अ ह्विसल ब्लो अ हन्ड्रेड माइल्स...'
मेरो बालमनको एकान्त प्रदेशमा बजेको ह्विसल म सुन्थेँ र कल्पना गर्थेँ...त्यो ट्रेनको कुनै डिब्बामा गुरुङ सर बस्नुभएको छ। उहाँले ब्लू एप्रोन लगाउनुभएको छ। र, उहाँको हातमा गितार छ।
यसरी गुरुङ सर मेरो जीवनबाट जानुभएको थियो। सदासदाका निम्ति। साह्रै न्यास्रो लाग्दा मेरी गुरुङसेनी आमालाई चिठ्ठी लेख्ने गर्थेँ- मेरो फेभरेट टिचरले मलाई छाडेर जानुभयो। ट्रेनमा, ह्विसल बजाउँदै। झ्यालखाना (होस्टल) मा म एक्लो छु। आमा, उहाँ पनि तपाईंजस्तै गुरुङ हुनुहुन्थ्यो। उहाँले झैं तपाईंले चैं मलाई कहिल्यै नछाड्नु होला।'
हरफहरू सम्झिसकेपछि मैले नगरकोटीलाई फोन गरेँ।
'के तपाईंले अझैसम्म आफ्नो फेभरेट टिचरलाई भेट्ने मौका पाउनुभएको छैन?'
'छैन,' नगरकोटीले सहज उत्तर दिए।
मैले नगरकोटीलाई त्यस दिन केही समय आफूलाई दिन अनुरोध गरेँ। उनी तयार भए।
हामी कालिकास्थानस्थित 'नेपालय' पुग्यौं। केही मिनेट भए पनि 'रिहर्सल' हेर्न पाइयोस् भन्ने कामना थियो। त्यो त छुटिसकेछ। पलेँटी आयोजना हुने हल 'आर शाला' बाट रिहर्सल सिध्याएर माथि उक्लिनासाथ विक्रम गुरुङ, गायक एवं संगीतकार आभास र अर्का संगीतकर्मी अमर गुरुङ एकसाथ देखिए।
मभन्दा अगाडिका विक्रम गुरुङले मेरो पछाडि रहेका नगरकोटीलाई चिनिहाले। आफ्ना लेखक विद्यार्थी, जसले गुरुलाई सम्झेर त्यति मिठो लेख लेखेका छन्। आजको इन्टरनेट युगमा किन नचिन्नु?
'के छ कुमार? सञ्चै छौ?'
पछाडिबाट कुमारले भने, 'सञ्चै छु सर।'
अक्षरहरूमा लेख्दा यो अति औपचारिक संवाद हो। तर, ठीक त्यति बेला त्यहाँको वायुमा जुन सघनता महशुस भएको थियो, आज 'मल्टिमिडिया जर्नालिज्म' का बेला पनि त्यसलाई प्रस्तुत गर्न नपाउनुले मलाई लज्जित बनाइरहेको छ।
'लामो समयपछि तिमीसँग भेट भयो है,' गुरुङले थपे, '१९८७ भनेपछि त ३१ वर्षै पो हुन थालेछ। ८९ को जनवरीमा त म हङकङ नै पुगिसकेको थिएँ।'
यति भनिसकेपछि गुरुङले आफ्ना पूर्वविद्यार्थीलाई सोधे, 'एसएलसी त्यहीँबाट गर्यौ?'
'हजुर,' नगरकोटीले नरम स्वर निकाले, 'सर गइहाल्नुभयो।'
त्यति बेलै नगरकोटीले पोखराका प्रख्यात् शिक्षासेवी जर्ज जोन सरका प्रसंग निकाले, जो त्यो बेला नगरकोटी र गुरुङको साँगास्थित स्कुलका प्रधानाध्यापक थिए। आफ्नो लेखमा नगरकोटीले जर्ज जोनको उल्लेख यसरी गरेका छन्:
'अंग्रेजी पिरियडमा जर्ज जोन नयाँ गुरुलाई लिएर हाम्रो क्लासरुममा छिर्नुभयो। र, नवागन्तुकको परिचय दिँदै प्रिन्सिपलले भन्नुभयो, 'अब तिमीहरूलाई उहाँले नै अंग्रेजी पढाउनुहुनेछ।'
हामीमध्ये कसैले सोध्यो, 'गुरुङ सरले हामीलाई छाड्नुभा'हो?'
उहाँले तिमीहरूलाई होइन, स्कुल छाड्नुभा'हो।
गुरुङ सर काँ जानु'भो?
उहाँ हङकङ जानु'भो।'
'पोखराकै जर्ज जोन सर र रत्नमान सर गरेर त्यो स्कुलमा मेरा दुइटा कनेक्सन हुनुहुन्थ्यो,' विक्रम गुरुङले सम्झे, 'रत्नमान, मेरो साथी, जसलाई भेट्न भनेरै घुम्दै साँगाको स्कुल पुग्दा म त्यहीँको शिक्षक बन्ने अवसर जुरेको थियो।'
साथी पढाउने स्कुल घुम्दै पुगेका गुरुङलाई त्यो ठाउँ असाध्यै मनपरेछ। प्रधानाध्यापक पनि जर्ज जोन।
जर्ज सरले उत्तिखेरै 'मेरै विद्यार्थी हो तपाईं त। ह्वाइ नट। आउनुस्' भनेछन्। र, गुरुङ त्यहाँको शिक्षक बनेका रहेछन्।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिसकेपछि सुरूमा पोखराकै एक स्कुलमा पढाएको र त्यसपछि साँगाको त्यो स्कुलमा आइपुगेको गुरुङले सम्झे।
'साँगाको प्रहरी स्कुलमा दुई वर्ष रहँदा तिमीहरूको ब्याचलाई पढाएँ,' गुरुङले भने, 'त्यति बेलै हङकङ गएर पढाउने अवसर पाएपछि स्कुल विदाकै बेला पारेर म पनि विदा भएँ।'
यस्तो अवस्थामा विदापछि स्कुल फर्कँदा आफ्ना सर्वाधिक प्रिय गुरुङ सरलाई नदेख्दा कहालिएको बारेमा त नगरकोटीले लेखमा उल्लेखै गरेका छन्।
'मलाई भित्री मनमा सधैं सरको याद आइरहन्थ्यो,' नगरकोटीले भने, 'त्यही सम्झनामा मैले अस्ति तपाईंबारे लेखेको लेखबाट दुई-तीन वर्षयताकै सबभन्दा धेरै पाठक प्रतिक्रिया पाएँ।'
त्यो लेख आफूलाई पनि मनपरेको गुरुङले सुनाए।
'पढ्दै गर्दा मलाई पनि 'इट्स टु गुड टु बी मी' भनेजस्तो लागेको थियो,' गुरुले लेखक चेलालाई भने।
यतिञ्जेल कालो चिया आइसकेको थियो।
सुरुप्प पार्दै नगरकोटीले भने– 'त्यो शिक्षकप्रतिको एउटा इम्प्रेसन हो सर। अरू शिक्षकभन्दा बेग्लै अजिब खालको। गितार बोकेर हिँड्ने सर। कक्षामा गीत गाएर सुनाउने सर।'
नगरकोटीले पूर्णकालीन लेखकको चोला पहिरिनुअघि काठमाडौंमा १६ वर्ष शिक्षकै भएका थिए।
'सरले जस्तै अंग्रेजी नै पढाएँ। म पनि सरले जस्तै गीत गाएर विद्यार्थीलाई सुनाउँथेँ। त्यो बेलाको एउटा विद्यार्थी त अहिले गायकै भइसकेको छ। त्यो बेला हामीले सरलाई मानेजस्तै मेरा कक्षाका विद्यार्थीले पनि सबभन्दा मनपर्ने शिक्षक भनेर मलाई मान्थे,' नगरकोटीले चियाको कप टेबलमा राखे र सोधे, 'साँच्चै, हामीलाई पढाउँदाताका सरका गीतहरू रेकर्ड भइसकेका थिए र?'
'मेरो 'भुलुँभुलुँ लाग्यो मलाई' रेकर्ड भइसकेको थियो,' गुरुङले भने, 'त्यो 'आँखाको निँद खोसी लाने' त झन् त्योभन्दा अगाडि रेकर्ड भएको।'
नगरकोटी अचम्म मान्न थाले। किनभने त्यस्ता लोकप्रिय गीत आफैंले सिर्जना गरेका गुरुङ सरले कक्षाका प्रिय विद्यार्थीलाई त्यसको भनकसमेत कहिल्यै दिएनछन्। जहिल्यै गितार बजाएर अंग्रेजी गीत मात्र सुनाएका रहेछन्।
'सरले हाम्रामाझ आफूलाई संगीत मनपराउने सामान्य शिक्षककै रूपमा मात्र चिनाउनुभयो,' नगरकोटीले थपे, 'सरलाई थाहा छ? हाम्रो ब्याचका सबै साथीहरू तपाईंलाई प्रेम गर्थे।'
नगरकोटीले आफूलाई त गुरुङबाट झनै बढी प्रभाव परेको बताए।
'म रुकुमबाट दाङ हुँदै साँगाको होस्टलमा आइपुग्दा यो संसारै विचित्रको लागिरहेको थियो र जसको बानी पार्न संघर्ष गरिरहेको थिएँ,' उनले गुरुङतर्फ एकोहोरो टोलाउँदै थपे, 'त्यस्तो बेला तपाईंजस्तो गुरु भेटेर धेरै सजिलो भएको थियो।'
'थ्यांक यू कुमार,' गुरुङले भने, 'स्कुले जीवनमा मेरो पनि एक जना त्यस्तै सर हुनुहुन्थ्यो। यसैगरी गितार बजाउने र झ्याउरे लयमै मुनामदन वाचन गरेर सुनाउने। सायद उहाँकै प्रभाव ममा पनि आएको थियो।'
हाम्रा कुराकानी अन्त-अन्ततिर पनि गइरहेका थिए। उस्तै-उस्तै 'मुडी' र 'जोगी' का रूपमा मैले पाएका यी दुई हस्तीलाई बग्न दिनुमै 'खैरियत छ' भन्नेमा म प्रस्ट थिएँ।
'सरले छाडेर गइसकेपछि म गायक बन्छु भनेरै हिँडेको समेत थिएँ,' नगरकोटीले भने, 'स्टेजहरूमा गीत गाएँ र एउटा फिल्मकै निम्ति गीत लेख्नेदेखि संगीतसम्म दिने काम पनि गरेँ।'
यसबीच नगरकोटीलाई संगीतको बाटोमा यसरी सतही पाराले लागेर हुँदैन भन्ने भएछ। उनी शास्त्रीय संगीत सिक्न पुल्चोकका एक गुरुको घर पुगेछन्।
'एक महिनासम्म हार्मोनियम समातेर शास्त्रीय संगीत सिकेँ,' नगरकोटीले भने, 'एकदिन गुरुले साथै लिएर बाहिरतिर लैजानुभयो।'
त्यसरी घुम्दै हिँडेका गुरुचेला कुनै मठतिर पुगेछन्। त्यहाँ मान्छेहरू समूहमा भजन गाएर बसिरहेका थिए। ती भजन गाउनेहरू 'श्री रामकृष्ण श्री रामकृष्ण' भन्दै एकोहोरो अलापिरहेका थिए।
नगरकोटीले आफ्ना संगीत गुरुतिर हेरेछन्। गुरुले पनि उनलाई हेर्दै सम्झाउने कोशिस गरेछन्, 'भोलिपर्सि पोख्त भइसकेपछि तपाईं पनि यस्तै बन्न सक्नुहुन्छ।'
गुरु आफ्नै धूनमा भएका बेला यता नगरकोटीलाई भने तोप पड्काएजस्तो भएछ।
'म त झसंग भएँ,' उनले भने, 'ओहो! संगीत सिकेर निपूर्ण भइसकेपछि मेरो गन्तव्य त यस्तो भजन पो रहेछ।'
त्यही दिनदेखि संगीतसँगको नाता टुटेर साधुसन्त र साहित्यतिर लहसिन थालेको नगरकोटीले सुनाए।
'तर, सरको प्रभावमा मभित्र जुन संगीत बजेको थियो,' नगरकोटीले वाक्य पूरा गर्दै भने, 'त्यो सदैव मेरो मन-मस्तिष्कमा बसिरहेकै छ।'
नगरकोटीले त्यो बेला स्कुल पढ्दा पनि गुरुङबाहेक त्यहाँका अरू कुनै सम्झना आफ्नो दिमागमा नबसेको सुनाए।
'पछि म कलेज र विश्वविद्यालयतिर पनि गइनँ। ती मेरा ठाउँ हैनन् जस्तो लाग्यो। जोगी-साधुसन्तहरूको संगतमै रमाइलो लाग्न थाल्यो,' नगरकोटीले भने, 'अचानक मैले उतिबेलैदेखि गुनगुनाउँदै आएका गीत पनि सरकै हुन् भन्ने हिजोअस्ति मात्र थाहा पाएँ। म झनै रोमाञ्चित भएको छु।'
हङकङ बसाइ क्रममा नेपालसँग जोडिएका सीमित सम्झनाबाहेक सबैथोक बिर्सँदै गएका विक्रम गुरुङलाई यी प्रिय शिष्यसँग जोडिदिने काम 'नेपथ्य' का गायक अमृत गुरुङले गरिदिएका रहेछन्।
'मलाई हङकङमै तपाईंको किताब 'फोसिल' दिएर तपाईंबारे अमृतले नै सुनाएको थियो,' विक्रम गुरुङले भने, 'मैले त सबै बिर्सिसकेको थिएँ।'
आफूले पढाएको मान्छेलाई यस रूपमा पाउँदा असाध्यै खुसी लागेको गुरुङले सुनाए।
'अहिले ६२ वर्ष भएँ। तपाईंको सम्झना भनेको मेरो जीवनकै आधा समय अर्थात् ३१ वर्ष पहिलेको कुरो,' उनले भने, 'आई एम भेरी प्राउड अफ यू।'
आफूजस्तै अन्य शिष्यहरूसँग पनि भेट भयो कि भनेर नगरकोटीले जिज्ञासा राखे।
'एक जना हङकङमै र अर्का एक जना लन्डनमा भेटेको थिएँ,' गुरुङले सम्झे, 'त्यसैगरी अर्को एक जना छिरिङलाई पुतलीसडकमा देखेको थिएँ।'
'छिरिङ तोब्ला उक्याब!' नगरकोटीले अचम्म मान्दै सुरूमा गुरुङ त्यसपछि हामीतिर हेर्न थाले, 'डाक्टर संदुक रुइतको आफन्त हो। ऊ हाम्रो कक्षाकै फस्ट ब्वाइ थियो। अहिले डाक्टर भइसकेको छ।'
नगरकोटीको लेख निस्केपछि एक-दुई जना अरू विद्यार्थीले फेसबुकबाट पनि आफूलाई सम्पर्क गरेको गुरुङले सम्झे।
मलाई यी गुरुचेलाबीच पत्रकारका रूपमा आफ्नो उपस्थिति जनाउन पनि खसखस भइरहेको थियो।
'तपाईंकै सिर्जनामा अरुण थापासँगका गीतहरू एक किसिमका छन्। पछि फेरि कीर्तिपुर बस्दा सरुभक्तसँगको 'कुरुप अनुहार हो' बेग्लै गीत छ,' मैले गुरुङलाई प्रश्न गरेँ, 'कसरी यो फरक भयो?'
'मेरा शब्दहरूमा मेरै पाराका संगीत छन्,' लेखक सरुभक्तको संगतमा कक्षा छदेखि स्नातकोत्तरसम्म सँगसँगै बिताएका गुरुङले भने, 'कीर्तिपुरमा सँगै पढ्दा उसले जस्तो शब्दहरू राखेर गीत बनायो, त्यसलाई त्यस्तै पारामा संगीत गर्न खोज्दा एकदमै फरक बन्यो।'
त्यो गीतलाई 'म्युजिक' गर्न असाध्यै गाह्रो भएको पनि उनले सुनाए।
'त्यसमा एक लाइन मात्र थियो 'कुरुप अनुहार हो यहाँ कोही साथी छैन'। त्यसपछि दुई-दुई लाइन। गीतकारले नै संगीतकारलाई गाइड गर्ने हो। यसमा असाध्यै बेग्लै शब्द भएकाले धेरै गाह्रो भएको थियो। यो एकदमै एक्सपेरिमेन्टल गीत हो।'
गुरुसमक्ष जिज्ञासा राख्न फेरि नगरकोटी उत्साहित भए।
'यत्रो अन्तरालमा सरलाई यो गीत-संगीत मेरो क्षेत्र हो, यतैतिर आऊँ भन्ने भएन?' उनले सोधे, 'फेरि अर्को अरुण थापा जन्माऊँ भन्ने भएन?'
'संगीत मेरो निम्ति एउटा सोख मात्र थियो,' गुरुङले भने, 'आजसम्म पनि सोखकै रूपमा अघि बढाइरहँदा मेरा काम मान्छेले मनपराइदिएकोमा धन्यवाद दिन चाहन्छु।'
आफूले व्यवसायका रूपमा शिक्षण पेसा नै रोजेको र नेपालदेखि हङकङसम्म शिक्षककै रूपमा जीवन बिताएकामा सन्तुष्ट रहेको उनले स्पष्ट पारे।
'बाँकी रह्यो अर्को अरुण थापा जन्माउने कुरा,' गुरुङले अगाडि थपे, 'गीतकार र संगीतकार उही भए भन्दैमा उस्तै गायक जन्मँदैन।'
उनले उदाहरणका निम्ति नारायण गोपाललाई अघि सारे।
'नारायण गोपालको मृत्युपछि पनि उनका गीतकार-संगीतकारहरू र उनीजस्तै मिल्दाजुल्दा स्वरहरू थिए,' उनले थपे, 'खै त त्यस्तै गीत?'
गुरुङले त्यति बेला आफ्नो शब्द–संगीत र अरुण थापाको स्वरभन्दा महत्वपूर्ण भूमिका आफूहरू बीचको संगतले खेलेको उल्लेख गरे।
'संगीत भनेको संगत हो,' उनले थपे, 'नारायण गोपाल र गोपाल योञ्जनको संगत, ओमविक्रम विष्ट र प्रकाश गुरुङको संगत, मेरो र अरुण थापाको संगत।'
त्यसमा पनि गायक अझ मुख्य हुने गुरुङको ठहर छ।
'किनभने अन्तिममा डेलिभरी त उसैले दिने हो,' उनले भने, 'त्यसैले आखिरी निर्णायक गायक नै भइदिन्छन्।'
गुरुङका अनुसार 'आँखाको निँद' पोखरामै घनिष्ट संगतका बेला बनेको गीत हो। त्यसैगरी कीर्तिपुरमा पढ्न आएपछि झम्सिखेलतिर फेरि भेटघाट चलिरहँदा 'भुलुँभुलुँ लाग्यो मलाई' बनेको थियो।
शिक्षण पेसामा लागेपछि आफू उतैतिर एकाग्र भएको र त्यो संगतले फेरि निरन्तरता नपाएको गुरुङले सुनाए। त्यसमा पनि हङकङ बसेपछि भेटघाट ठप्पै भएको उनले बताए।
वि'हङकङको स्कुलमा विभिन्न कार्यक्रम निम्ति केटाकेटीलाई गीत सिकाउनुपर्ने अवस्था आयो,' उनले भने, 'त्यहाँ लेख्ने, धुन भर्ने र बजाउने काममा पोख्त शिक्षकको समूह भेटेपछि फेरि मिलेर काम गर्ने अवसर जुरेको थियो।'
यस्तो अवस्थामा केही गीत तयार भएपछि त्यसमा अरुण थापाकै स्वर भर्ने इच्छा गुरुङलाई भएछ।
'हङकङमै तयार पारेर आएको मसँग नौवटा ट्रयाक थिए,' उनले भने, 'तर, अरुण गाउनै नसक्ने अवस्थामा पुगिसकेको थियो।'
त्यो ताका अरुण थापाले गाउने इच्छा देखाउँदै आफूलाई भेट्न काठमाडौंको एउटा स्टुडियोमा दिनदिनै आउने गरेको गुरुङले सम्झे।
'साथै मिलेर काम गर्नु त परको कुरा, उसलाई देख्नेबित्तिकै मान्छे स्तब्ध हुने स्थिति थियो,' गुरुङले साथीको अवस्था वर्णन गरे, 'मायालाग्दो गरी एकोहोरो टोलाएर हेर्थ्यो। र, गाउने बेला स्वर तान्न पनि मुश्किल पर्थ्यो।'
यसरी अरुण थापाको स्वरमा आफ्ना गीत रेकर्ड गर्ने प्रयास असफल भएपछि गुरुङ हङकङ फर्केछन्।
'त्यसलगत्तै उसको निधनको समाचार सुनेँ,' गुरुङले भने, 'त्यसरी अरुणका निम्ति तयार पारेका गीत यो पलेँटीमा सुनाउने भएको छु।'
'सबै आफ्नै गीत मात्र गाउनुहुन्छ?' शिष्य नगरकोटीले जिज्ञासा राखे, 'के-कस्ता गीत हुनेछन्?'
जवाफमा गुरुङले अरुण थापाले गाएका तीनवटा र उनले गाउन नसकेका दुइटा गरेर पाँचवटा गीत र बाँकी पनि आफ्नै सिर्जनाका हुने जानकारी दिए।
'अधिकांश मेरै शब्द र संगीतका गाउँदै छु,' गुरुङले भने, 'कुनै शब्द मात्र मेरो वा संगीत मात्र मेरो पनि छन्।'
हामी विदा हुने तरखरमा पुगिसकेका थियौं। तै पनि गुरुङलाई अन्तिम प्रश्न सोधियो।
'यसलाई नेपाली संगीतको मूलधारमा फेरि प्रवेशको विन्दु मान्दा हुन्छ?'
'थाहा छैन,' गुरुङले अप्ठ्यारो मान्दै भने, 'मलाई यस्तो प्रश्नको जवाफै दिन आउँदैन।'
उनले आफ्ना कुरा अझ प्रस्ट पार्दै भने, 'मसँग भएका गीत सेयर गर्नुपर्ने थियो। त्यस निम्ति अवसर खोजिरहेको थिएँ। त्यो अवसरका रूपमा यो मौका पाएको छु। त्यति मात्र हो।'
गुरुङले शुक्रबार, शनिबार र आइतबार गरी तीन साँझ पलेँटीमा गाउँदैछन्।