रूखै रूखबीचमा बौद्ध ध्यानकेन्द्रजस्तो संरचना देखियो। कता कता अधुरो। मानौं कसैले राम्रो परिकल्पनाका साथ बनाउँदा-बनाउँदै सदाका लागि बीचैमा त्यागिदिए।
लटरम्मै फलेका कटहरलगायत अनेक फलफूल र थुप्रै उपयोगी रूखहरूका बीचमा वास्तुशिल्पयुक्त संरचना, जसमा चारतिर फर्केका बुद्धका चार विशाल मूर्ति छन्। मानिसलाई टहलिन मिल्ने दुरीमा उभिएका दुई भवन छन्।
एसिया-प्रशान्त क्षेत्रका थेरावादी बौद्ध स्मारकहरूसँग मिल्दाजुल्दा संरचनामा उभिएको मूल भवन एकातिर छ भने अर्कातिर बोधिवृक्षलाई नै घेरेर तयार पारिएको ध्यानकक्ष।
तर, ती सबै लगभग खण्डहर बनिसकेका।
भित्री सहरको कोलाहलभन्दा मुश्किलले चार किलोमिटर मात्र पर वीरगन्जमा यस्तो शान्त ठाउँ पनि छ भन्ने स्वयं यहाँका रैथानेहरूलाई थाहा छैन।
म पनि प्रातकालीन यात्रा क्रममा नेसनल मेडिकल कलेजतिर पुग्दा परैबाट अनौठो संरचना देखेपछि जिज्ञासा राख्दै पसेको थिएँ। मेडिकल कलेज बन्नुअघि अर्थात् अलिक वर्षअघिसम्म पनि हामीले 'भेडियाही' भनेर चिन्ने यो भेग निकै परको गाउँ मानिन्थ्यो।
कता के सामञ्जस्य नमिलेजस्तो त्यो ठाउँबारे जान्ने जिज्ञासा भयो।
बगैंचा छेउमा उभिएको एक्लो घर थियो। म त्यतै पुगेँ। मुन्नीदेवी सोनारले आफूहरू आठ वर्षयता यहाँ घर बनाएर बस्दै आएको बताइन्।
‘एक जना वीरहर्ष भन्ने छन्,’ उनले वीरगन्जवासीका निम्ति शिक्षणदेखि सुनचाँदीको कारोबारसम्म परिचित नाम लिइन् र थपिन्, ‘उनैले रूख रोपेर मन्दिर बनाएका हुन्।’
मुन्नीका अनुसार निकै वर्षअघि यो बगैंचालाई 'राम्रो बनाउने योजना' वीरहर्षले थालनी गरेका थिए। बीचैमा उनलाई अपहरण गरेर ठूलै फिरौतीका साथ मुक्त गरेपछि यो योजना सदाका लागि स्थगित भयो।
‘कुनै डाँकुले यहीँबाट उठाएर लगेपछि तीस लाख रुपैयाँ मागेको चर्चा सुनेकी हुँ,’ मुन्नीले भनिन्, ‘त्यति बेला पैसा तिरेर मुक्त भएपछि भगवानको काम गर्दागर्दै यस्तो आइपरेको गुनासोका साथ वीरहर्षले बगैंचा त्यत्तिकै छाडिदिए।’
वीरहर्षको अपहरण कसले गरेको थियो?
यो प्रश्न सोधुन्जेल उनका पति बाहिर आइसकेका थिए।
‘हामीलाई के थाहा? यस्तो कुरा हामीसँग किन सोधिरहनुभएको?’ यति भनेर उनले आफ्नी श्रीमतीलाई पनि थप बोल्नबाट रोके।
त्यसपछि म वीरहर्षको खोजीमा लागेँ।
वीरगन्जमा यतिबेला भारतबाट आएका सुनारहरूको एकछत्र प्रभाव विस्तार हुँदैछ। यहाँका अधिकांश टोल र बस्तीमा पछिल्लो समय नागरिकता लिएका सुनार परिवारको बाक्लो उपस्थिति बढ्दैछ। यी ठाउँमा पहिले मुश्किलले सुनारहरू भेटिन्थे। उनीहरू पैसा खर्च गर्नेदेखि सम्पत्ति जोड्ने मामलामा सबैभन्दा अगाडि छन्। पसल कोठादेखि घरजग्गामा समेत अरूले भन्दा बढी मूल्य तिर्न तयार हुन्छन्।
जबकि, यही सहरको सुनचाँदी कारोबारमा अलिक पहिले पहाडिया समुदायकै वर्चस्व थियो। सहरकै जग मानिने माइस्थान मन्दिर पछाडिका अग्ला घर अहिले पनि सुनचाँदी ग्राहकले उत्तिकै व्यस्त देखिन्छन्। दुवै घर राणाकालमै काठमाडौंबाट आएर सुनचाँदी कारोबार थालेका शाक्य परिवारका हुन्।
त्यहीँ भेटिए, ८० वर्षीय वीरहर्ष शाक्य।
‘वीरशमशेर प्रधानमन्त्री छँदै मेरो बुबा १४ वर्षको उमेरमा रोजगारीको अवसर खोज्दै यो ठाउँ आइपुग्नुभएको थियो,’ वीरहर्षले भने, ‘काठमाडौं यंगाल टोलबाट आएका हामी त्यसै बेलादेखि माइस्थानका बासिन्दा भयौं।’
त्यति बेला धेरै राणा परिवारका दरबार तराईमा सरेको थियो। त्यस्ता परिवारलाई सुनचाँदीको काम गर्ने विश्वासिला मानिसको खोजी छ भन्ने सुनेरै वीरहर्षका पिता यता आएका रहेछन्। सहरको केन्द्र थियो यही माइस्थान। उनीहरूले त्यसैको आडमा घरजग्गा जोडे।
‘हिरण्यशमशेर (कांग्रेस नेता सुवर्णशमशेका पिता) बडाहाकिम भएर आएपछि सहरको चहलपहल झनै बढ्यो,’ वीरहर्षले भने, ‘त्यतिन्जेल मेरो बुबाले आफ्नो कारोबार पनि निकै जमाइसक्नुभएको थियो।’
त्यसपछि शाक्य परिवारले पछाडि फर्केर हेर्नुपरेन।
वीरहर्षले शिक्षण पेसा अंगालेपछि उनी ‘मास्टरसाहेब’ भनेर पनि चिनिए। समाजसेवामा रुचि छँदै थियो।
यसरी यो परिवारले सहरमा धन, दौलत, ख्याति र प्रतिष्ठा कमाउँदै गयो।
‘हामी शाक्यहरू यसै पनि बौद्धमार्गी,’ उनले भने, ‘मभित्र पनि यो धर्मको विकास र विस्तारमा केही योगदान गरौं भन्ने भावना पलाएको थियो।’
त्यसै क्रममा करिब ३५ वर्षअघि वीरगन्जमा विपश्यना ध्यान शिविर चल्यो। सहरकै मुख्य सडकमा रहेको धर्मशालामा त्यस्तो शिविर चलेको थाहा पाएपछि वीरहर्ष पनि त्यसमा सरिक भएछन्।
‘त्यो शिविरबाट मैले ध्यानसँगै धेरै कुरा सिकेँ,’ वीरहर्ष भन्छन्, ‘अब आफूले पनि केही गर्छु भन्ने भावना भित्रभित्रै विकास भयो।’
मानिसलाई कुनै पनि सम्प्रदायको सीमाभित्र नबाँधेर ध्यान गराउने यो कामलाई कसरी स्थायी रूपले निरन्तरता दिन सकिन्छ भनेर उनी सोच्न थाले।
‘यो विपश्यना ध्यान शिविर चलाउनकै निम्ति कतै जग्गा किनेर ध्यान केन्द्र बनाउँछु भन्ने सोचाइ मनमा आयो,’ वीरहर्ष भन्छन्, ‘त्यसपछि शिविरबाट फर्कनासाथ पैसा जम्मा गर्दै गएँ र भेडियाहीमा जग्गा-जमिन पनि थप्दै गएँ।’
यसरी थप्दै गएको जग्गा करिब दुई विघा पुगिसकेपछि वीरहर्षले त्यसमा वृक्षरोपण गरे।
‘मसला, कटहर, आँप सबै मिलाएर रोपेको थिएँ,’ उनले भने, ‘रूखहरू हुर्कँदै गएपछि आफूले कल्पना गरेअनुसारको ध्यानकेन्द्र पनि उभ्याउँदै लगेँ।’
वीरगन्जवासीहरू वीरहर्षलाई सिद्धहस्त वास्तुशिल्पिका रूपमा पनि चिन्छन्।
नेपाल र भारतको सिमानामा रहेको प्रसिद्ध शंकराचार्य द्वारको मुख्य डिजाइनर नै आफू रहेको उनको दाबी छ। वीरगन्जकै प्रसिद्ध गीता मन्दिर पनि उनैले बनाएका हुन्।
‘यो शंकराचार्य द्वार मैले एक पैसा नलिएर डिजाइन गरेको थिएँ,’ उनले भने, ‘त्यो बेला शंकराचार्य आउँदा स्वागत समारोहको महासचिव मै थिएँ।’
राजाको निम्तोमा काँचीपिठका शंकराचार्य नेपाल आउँदै थिए। त्यसैको स्वागत समितिका अध्यक्ष चन्द्रविक्रम साहेबज्यू, अञ्चलाधीश नन्दबहादुर मल्ल, माननीय भूपेन्द्रलाल नेपाली र आफू लगायतको समूहले त्यो द्वारको योजना अघि बढाएको उनले जानकारी दिए।
‘शंकराचार्यलाई हामीले स्वागत गरेर अमलेखगन्जसम्म पुर्याएका थियौं,’ उनले सम्झना गरे, ‘फिर्ता जाने बेला उहाँबाटै द्वार शिलान्यास गराएका हौं।’
वीरहर्षका अनुसार उक्त द्वार निर्माण बेला गिरिधारीलाल लाठको अध्यक्षतामा अर्को समिति बनाइएको थियो, जसमा फेरि पनि महासचिव उनैलाई राखियो। सर्वेसर्वा अञ्चलाधीश हुने नै भए।
उद्योग वाणिज्य संघले प्रत्येक बोरा सिमेन्टमा एक रुपैयाँ वृद्धि गरेर उठेको जम्मै पैसा द्वार निर्माणमा दिने सहमतिअनुसार काम अघि बढ्यो।
यस्तो द्वार बन्ने भएपछि वीरहर्ष आफैंले तयार पारेको डिजाइन अञ्चलाधीश नन्दबहादुर मल्ललाई देखाएछन्।
वीरहर्षले कोरेर देखाएको डिजाइनमा दुई कुनामा एकातिर पशुपति, अर्कातिर कृष्ण मन्दिर र बीचमा बौद्ध गुम्बज थियो। डिजाइन देखेर अञ्चलाधीश अचम्म परेछन्।
‘यस्तो राम्रो डिजाइन कसरी बनाउनुभयो?’ वीरहर्षलाई भनेछन्, ‘तपाईं त कलाकार पनि हुनुहुँदो रहेछ।’
लगत्तै त्यो डिजाइन बंगाली इञ्जिनियर एके सेनलाई देखाइयो। सहरमा महत्वपूर्ण संरचनाहरू उभ्याउने सेन वीरगन्जका अर्को चर्चित पुरानो नाम हो। उनले घन्टाघरको समेत डिजाइन गरेका थिए।
त्यसपछि आफ्नो डिजाइनअनुसारै धमाधम शंकराचार्य द्वारको संरचना उभ्याउने तयारी अघि बढेको वीरहर्ष सुनाउँछन्।
काम अघि बढ्दै गर्दा अचानक भूपेन्द्रलाल नेपालीले डिजाइनप्रति आपत्ति जनाएको वीरहर्षले नमिठो अनुहार लगाएर सुनाए।
‘शंकराचार्यको नाममा बन्ने यस्तो महत्वको द्वारमा यो बौद्धमागी शाक्यले गुम्बज पो राख्न थालेछ,’ उतिबेला माननीय नेपालीको भनाइ उल्लेख गर्दै वीरहर्षले सुनाए, ‘यसरी हुँदैन। दुईतिर कृष्ण मन्दिर राखेर बीचमा पशुपतिनाथको मन्दिर राख्नु उपयुक्त हुन्छ।’
नेपालीले यति भनेपछि अरू पनि उनैको कुरातिर लागेर आफ्नो डिजाइनबाट गुम्बजै उडाइदिएको वीरहर्ष गुनासो गर्छन्।
वीरहर्ष भवन र संरचनाको वास्तु डिजाइन मात्र नगरेर मूर्ति पनि आफैँ बनाउँदा रहेछन्। वीरगन्जको गीता मन्दिर आफूले तयार पारेको उनले सुनाए।
‘पसलको काम सकिएपछि आफैंले छेनी चलाउँदै मूर्ति तयार पारेको हुँ,’ उनले भने, ‘इँटा र सिमेन्ट–बालुवा प्रयोग गरेर संरचना तयार पारेपछि अन्तिममा छेनी चलाउँदै आकार दिने गरेको छु भने टाउकाका हकमा बेग्लै ढलान गरेर अन्तिममा लगेर जोड्ने गरेको छु।’
यसरी देउताको टाउको बनाउन साँचो बनाएरै ढलान गर्नुपर्ने उनले बताए।
‘मैले आफ्नो जग्गामा पनि यसरी नै दिनरात लगाएर भवन र बुद्धका मूर्ति बनाएको थिएँ,’ उनले भने, ‘परिसरमा प्रवेश गर्ने मूलगेट र पानीको फोहोरा राख्न इनारजस्तो संरचना पनि तयार पारिसकेको थिएँ।’
वीरहर्षको ध्यानकेन्द्र एउटा चरणमा पुगिसकेका बेला वरपर गाउँमा यसले चर्चा पाउँदै गयो।
‘त्यति बेलै कल्पनै नगरेको दुःखद घटना बेहोर्नुपर्यो,’ यति भन्दै गर्दा यी ८० वर्षे एकछिन थामिए। आँखा रसाए। अनि भने, ‘मलाई त्यसै ठाउँबाट अनाहक अपहरण गरेर लगिदिए।’
०६३ साल, पुस १५ गते।
त्यस दिन गया दर्शन गर्न गएका दुई बस यात्रीहरू काठमाडौं फर्कने क्रममा बास बस्न वीरगन्ज आउँदै थिए।
उनीहरूले वीरगन्जमा बास बस्न कुनै विहार छ कि भन्ने जिज्ञासा राखेर पत्राचार गरे। पवित्रस्थल भइदिए खुला स्थानमा टेन्ट लगाएर पनि बस्छौं भनेपछि निर्माणाधीन उक्त ध्यानकेन्द्रमा बस्दै आएका भिक्षु धर्मले वीरहर्षको अनुमति लिँदै स्वीकृति जनाए।
भिक्षुले ती तीर्थयात्रीहरूलाई गलत तवरले ‘डिल’ गरिदिएका कारण उनीहरू आइसकेपछि त्यहाँ बस्न रुचि देखाएनन्।
रात परिसकेको थियो। यस्तो अवस्थामा ती भिक्षुहरूका निम्ति होटल बन्दोबस्त गरिदिने भन्दै वीरहर्ष ध्यानकेन्द्रबाट निस्केर केही पर मात्र पुगेका थिए, अचानक एउटा अस्वाभाविक परिस्थिति उनको सामुन्ने आइपुग्यो।
‘मोटरसाइकल चढेर बाहिर निस्केको मात्र थिएँ, ध्यानकेन्द्रबाहिरै उभिएर बसेका छ-सात जना मानिसको समूहले मलाई घेरे,’ उनले भने, ‘एकछिन त हामी दुवैथरिबीच संघर्ष चल्यो। पछि पिस्तोलै देखाएपछि म थामिएँ र अपहरण गरेर घचेट्दै लगे।’
रातको बखत भएकाले उनले कसैको अनुहार चिन्न सकेनन्। पेस्तोलले टाउकामै हिर्काउँदा वृद्ध वीरहर्षको तर्तरी रगत बगिरहेको थियो।
आफ्नो कसैसँग दुश्मनी नभएको अवस्थामा कसैले पैसाकै निम्ति अपहरण गरेको उनले थाहा पाए।
त्यो जाडोमा रातारात खेतैखेत कता लगे भेउ पाएनन्। नेपाल-भारत सीमाको समानान्तर बग्ने गण्डक नहरभन्दा दक्षिण अर्थात् सिमानै सिमाना लगेको भने उनलाई थाहा थियो। त्यसपछि अन्तिममा भारतीय सीमापारि लगेको उनी अनुमान लगाउँछन्।
‘लगेको पहिलो रात त मेरा दुईतिर दुई जनाले पेस्तोल तेर्स्याएरै रात कटाए,’ उनले भने, ‘रातभर सुत्न पनि पाइनँ।’
एक त सुकुलमाथि बसाएको र अर्कातिर तेर्स्याएको पेस्तोलले लगातार घोच्ने गरिरहेकाले उनी हलचलधरि गर्न सकिरहेका थिएनन्।
‘त्यसपछि पनि एक ठाउँबाट अर्को ठाउँ गर्दै मलाई अज्ञात स्थलहरूमा सार्दै लगे,’ उनले भने, ‘यिनीहरूले मार्छन् नै भन्ने मनमा पक्का भइसकेको थियो।’
पन्ध्र दिनसम्म त्यसरी राख्दा उनीहरूले आफूलाई धेरै कुरा बोल्न लगाएर टेपमा रेकर्ड गरेको उनी सम्झन्छन्।
‘त्यो रेकर्ड ल्याएर यता मेरा घरका मानिसलाई सुनाउँदै पैसा माग्दा रहेछन्,’ उनले भने, ‘घरका मानिसलाई पनि उत्तिकै परेशानी भएको थियो।’
त्यो बेला वीरगन्जका जिम्मेवार प्रहरीहरूले समेत आफ्नो घर आएर ‘यो केसलाई सकभर लेनदेन गरेरै मिलाए बेस हुन्छ’ भनिदिएपछि परिवारको समेत सातोपुत्लो उडेको वीरहर्ष सम्झन्छन्।
अर्कोतर्फ वीरगन्ज उद्योग वाणिज्य संघ लगायतले वीरहर्षको अपहरणलाई लिएर जुलुस प्रदर्शन गरिरहेका थिए। त्यो बेला हालका मेयर विजय सरावगी नै उद्योग वाणिज्य संघका अध्यक्ष रहेको वीरहर्षले सुनाए।
उता अपहरणकारीले खुरुक्क मागेको पैसा नदिएकामा वीरहर्षलाई उल्टो ‘तेरो मानिस यस्तो’ भन्दै शिकायत गर्न थाले।
‘मैले के गर्ने?’ वीरहर्षले सोधे, ‘गर्न सक्ने केही थिएन।’
यसरी समयमा पैसा नपाएको आक्रोश पनि अपहरणकारीले वीरहर्षमाथि नै पोख्न थाले।
सहरमा तनाव बढ्दै थियो। दुई सातासम्म दोहोरो तनावबीच अन्ततः वीरहर्षको परिवार पैसा तिर्न तयार भयो।
‘यति उति त भन्दिनँ,’ वीरहर्ष भन्छन्, ‘मेरो ढाडै भाँच्ने गरी मेरो परिवारसँग धेरै नै पैसा लिएर गए।’
पैसा पाएपछि ०६३ माघ २ गते अपहरणकारीले वीरहर्षलाई मुक्त गरिदिए।
त्यसरी अपहरणमा परुन्जेल राम्ररी खोजबिन नगर्ने र उल्टो ‘पैसा तिरेर मिलाउने’ सल्लाह दिएका प्रहरीले नै वीरहर्ष अपहरणमुक्त भएपछि भने अञ्चल कार्यालयमै लगेर पत्रकार सम्मेलन गराएछन्।
त्यसपछि आफू बचेर बस्न सुरू गरेको वीरहर्षले बताए।
‘त्यो ठाउँ अहिले पनि एकान्त र एकलास छ,’ ध्यानकेन्द्र सम्झँदै उनले भने, ‘म त जसोतसो हिम्मत जुटाउँछु र कहिलेकाहीँ जान्छु तर मेरा सहयोगीहरू जानै मान्दैनन्।’
यस्तो अवस्थामा बनाउँदा बनाउँदैको संरचना अधुरै रहन गएको उनले सुनाए।
‘एकपटक यो ठाउँमा यस्तो हुन्छ भन्ने भइसकेपछि मानिसको मनमा त्यस ठाउँप्रति त्रास भइरहँदो रहेछ,’ उनले भने, ‘त्यसैले त्यत्तिकै छाडेको छाड्यै अवस्थामा छ।’
आफूले शान्ति खोज्न रुचाउने आममानिसको निम्ति तयार पार्न खोजेको ठाउँ उल्टो आतंक र त्रासको पर्याय भएपछि त्यतातिर मनै मरेको उनले सुनाए।
वीरहर्षलाई त्यो स्थान विशेषगरी स्कुल पढ्ने केटाकेटीलाई ध्यान र शान्ति केन्द्रका रूपमा विकास गर्ने इच्छा रहेछ।
‘भगवान बुद्धको शिक्षामा सबैभन्दा धेरै नैतिकता र आचरण शुद्धीकरणमै जोड दिइएको छ,’ उनी भन्छन्, ‘त्यो सन्देश हामीले कलिला विद्यार्थीहरूलाई दिन पाएको भए समाजको चित्र बेग्लै हुन्थ्यो।’
त्यस्तो सोचका साथ खडा गरेको स्थान अहिले भने दिन-प्रतिदिन खण्डहरजस्तै बन्दै गइरहेको छ। उल्टो पछिल्लो समय रात परेपछि अनैतिक क्रियाकलाप गर्नेहरूका गतिविधि बढ्ने गरेको सुन्दा वीरहर्षलाई झनै चित्त दुःख्न थालेको छ।
पछिल्लो समय ओशोमा लागेका एक जना साथी आएर सुत्ने र धुपबत्ती देखाउने काम गरिदिन्छु भनेपछि वीरहर्षले अनुमति दिएका रहेछन्। तर, त्यस स्थानलाई अड्डा बनाएर बदमासी गर्नेहरूले ती ओशोमार्गीलाई पनि लखेटिदिएपछि त्यत्तिकै अलपत्र रहेको उनले सुनाए।
‘कस्तो ठाउँ भइदियो भने, सामान राख्नेबित्तिकै चोरी भइहाल्ने,’ उनले भने, ‘चोरहरूले झ्यालसमेत उखेलेर लगिदिएपछि फेरि झ्याल राख्नुको साटो इँटा-सिमेन्टले जोडेरै पर्खाल प्लास्टर गरिदिएको छु।’
त्यही भएर उनका भवन अहिले झ्याल-ढोकारहित भित्ता मात्र बन्न पुगेको छ।
‘एकपटक त कतिसम्म भयो भने,’ उनले विडम्बनाको हद सुनाए, ‘हराएको झ्याल खोज्दै जाँदा त्यहीँका स्थानीय जसलाई चौकिदार राखेको थिएँ, उसैको घरमा फेला पर्यो।’
ती झ्याल बोधिवृक्ष वरिपरि साधना गर्नेहरूका लागि तयार पारिएको कक्षका थिए।
‘रोपेका रूखहरूसमेत काटेर लगिदिए,’ वीरहर्षले भने, ‘चारैतिरबाट लुटपाटमा परेपछि शान्तिको निम्ति सजाएको मेरो त्यत्रो ठूलो सपना ध्वस्त भएको छ।’
वीरहर्ष अपहरणबाट फर्केपछि उनको धार्मिक आस्था देखेरै उनलाई वीरगन्ज बौद्ध समितिको अध्यक्ष बनाइएको छ। आफू हिजोआज त्यसैमा सक्रिय रहेको उनले सुनाए।