प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरूजु फर्छ्यौटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीलाई सम्मान गरेका छन्।
प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनले प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका हुन्।
पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिटी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की तथा मदन कुमार थापा, प्रहरी निरीक्षकहरू मातृका प्रसाद गुरागाईं, सुमन कुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल रहेका छन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा इज्जत र प्रतिष्ठा बढ्ने चर्चा गर्दै संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेक लगाई अझ बढी उर्जाका साथ काम गर्नुपर्ने बताए।
उत्कृष्ट कामको उच्च कदर हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा पनि त्रुटीरहित तरिकाले काम गर्नुपर्नेमा जोड दिए।
आ.व. २०७३/०७४ सम्म नेपाल प्रहरीमा कायम कूल बेरूजुमध्ये समग्रमा ८५.१४ प्रतिशत बेरूजु फर्छ्यौट गरिएको र गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरूमध्ये बेरूजु फर्छ्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार उनीहरूलाई पुरस्कृत गरिएको हो।
यसअघि वैशाख ५ गते गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरूजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भए अनुरूप नगद ८ हजार रुपैयाँ सहित प्रशंसापत्र प्रदान गरेका थिए।