आइतबारको आँधीबाट सर्वाधिक प्रभावितमध्ये भलुही गाउँमा मंगलबार बेलुकी सूर्यास्त हुँदै गर्दा सहयोग गर्नेहरूको लश्कर देखिन्थ्यो।
वीरगन्ज-कलैया बाटोबाट गाउँ पस्नेबित्तिकै ब्यानर टाँसेका मोटर र विभिन्न संघ-संस्थाका नाम अंकित टिसर्ट लगाएकाहरूको हुल जताततै देखिन्थे। गाउँ पुगेपछि भने त्यो ताँती एउटा भेगमा केन्द्रित देखिन्थ्यो।
यो गाउँमा आँधीका कारण तीन जनाको मृत्यु भएको थियो भने सयौं घाइते थिए। त्यसमा पनि एउटा बच्चा र दुई वयस्कको अवस्था गम्भीर भएकाले वीरगन्जमा उपचार चलिरहेको छ।
राहत सामग्री वितरण गर्ने र लिनेको भीडभाडभन्दा निकै पर एक महिला टाउकामा हात राख्दै त्यतातिर हेरिरहेकी थिइन्।
उनी थिइन्, निर्मलादेवी दास तत्मा।
उनी दलित समुदायकी हुन्। त्यो भीडमै सेनाले काँधमा बोक्दै चामलका बोरा ओसार्दै गरेको दृश्यले उनलाई लोभ्याइरहेको थियो।
‘हेर्नुस् न सब चामलका बोरा हुन्,’ निर्मलाले भनिन्, ‘केवल त्यति भेगमै सबैलाई थपी थपी बाँड्ने काम भइरहेको छ।’
आफूहरूले भने त्यस्तो सहयोग असाध्यै थोरै पाइरहेको उनको गुनासो थियो। किन यस्तो भयो त?
‘हमनीको ओल्तोरमेँ बानी सन् (हामी छेकिएको स्थानमा छौं),’ उनले भनिन्, ‘छेकइलाके चल्ते केहु आवते नइखे (यसरी छेकिएको ठाउँमा कोही सहयोग दिन आइरहेका छैनन्)।’
निर्मलाको छेउमा स-साना केटाकेटी थिए। उनीहरू सबैको अनुहार अँध्यारो थियो।
निर्मलाका श्रीमान् प्रेमचन्द दास तत्मा रंगरोगनको काम गर्दा रहेछन्। आँधीले घर भत्कँदा खुट्टा किचेपछि उनी काममा जान नसकेको निर्मलाले सुनाइन्।
चार दाजुभाइमध्ये दुई जनाको परिवार ससुराको घरमा र आफूसहित बाँकी दुईको परिवार छेवैको भत्किएको घरमा बस्दै आएको उनले देखाइन्।
त्यो घर ध्वस्तै भएर लडेको थियो। घरको भित्तामा साइकलको चक्का टाँसिएको थियो।
‘त्यो चक्का हुरीले नै उडाएर हाम्रो घरको भित्तामा टाँसिदिएको हो,’ निर्मलाले भनिन्, ‘कसको हो भन्ने पनि थाहा छैन।’
आइतबार बेलुकी घर ढल्नुअघि निर्मलाको परिवार खाना तयार भइसकेपछि पानी ल्याएर चौकीमा बसेका मात्र थिए।
‘त्यतिबेलै वेगले आँधी चल्न थाल्यो,’ उनले थपिन्, ‘त्यसपछि सुख्खामै ठूल्ठूला असिना झर्न थाले।’
आँधी त बेलाबेला आइरहने गर्थ्यो। त्यसैले के नै नोक्सान होला भन्ने निर्मलालाई लाग्यो।
‘एकैछिनमा पानी र चर्को आँधी बग्न थालेपछि हेर्दाहेर्दै घर भत्कियो,’ उनले थपिन्, ‘बसेकै ठाउँमा केटाकेटीसहित हामी च्यापियौं।’
तै परिवारका कसैलाई ठूलो चोटपटक लागेनछ। उनीहरू एक-एक गर्दै विस्तारै बाहिर निस्केछन्।
निर्मलाका अनुसार अहिलेसम्म उनीहरूको परिवारले करिब डेढ किलो चिउरा, पिठो र चाउचाउ पाएका छन्। ‘त्यसले केटाकेटीलाई पेटभर खुवाउन सकिएको छैन,’ उनले भनिन्, ‘जबकि त्यहीँ अगाडि टन्नै चामल बाँडिरहेको देख्दैछौं।’
त्यसरी मनग्गे चामल बाँडिरहेकै ठाउँमा निर्मला पनि लिन किन गइनन् त?
‘पटक-पटक लिन गएका छौं,’ उनले थपिन्, ‘लिस्टमा हाम्रो नामै नभएकाले दिन मिल्दैन भनिरहेका छन्।’
निर्मलाका अनुसार सूचीमा ‘गाँवके बड्का आदमी’ हरूको मात्र नाम लेखिएको छ। त्यसबाहेक चर्को स्वरमा बोल्नेको पनि नाम रहेको उनले सुनाइन्।
कसरी 'बड्का आदमी' को मात्र नाम परिरहेको छ भन्ने जिज्ञासा राख्दा उनले भनिन्, ‘त्यो कुरा उनीहरूलाई नै सोध्नुस्। हामीलाई के थाहा?’
सूची तयार पार्ने काम कसले गरिरहेको छ?
‘वडाध्यक्ष जयप्रकाश तत्माले।’
किन तपाईंहरूको नाम नभएको?
‘खोइ थाहा छैन।’
निर्मलासँगको संवादपछि म वडाध्यक्ष जयप्रकाशलाई खोज्न निस्केँ। उनी राहत वितरणमै अर्को भेगमा व्यस्त भेटिए।
मैले निर्मलाको गुनासो जयप्रकाशसमक्ष राखेँ।
‘हामीले सबैलाई वितरण गरिरहेका छौं,’ जयप्रकाश भन्दै थिए, ‘कसै-कसैले बढी सहयोगको आस गर्दा पाउन नसकेपछि गुनासो गरेका हुन्।’
निर्मलाको परिवारले पर्याप्त सहयोग नपाएको र माग्न जाँदा पनि सूचीमा नामै नभएको भनेर फर्काइएको मैले सुनाएँ।
वडाध्यक्ष जयप्रकाशले त्यो घर देखाइदिन आग्रह गरे। मैले उनलाई निर्मलाको घरतर्फ लगेँ।
जाँदाजाँदै उनले सायद वस्तुस्थितिको भेउ पाए, बाटैमा जवाफ दिन थाले।
‘एउटै परिवारमा बस्दै आएका मानिस पनि बेग्लै बस्दै आएको बताउँदै छुट्टै सहयोग दाबी गरिरहेका छन्,’ उनले भने, ‘त्यसले जटिल बनाइरहेको छ।’
मैले उनको कुरा स्पष्ट पार्न अनुरोध गरेँ।
‘हरेक भत्केको घरलाई एउटा परिवार मानेर एक जनाको नाम टिपेका छौं,’ जयप्रकाशले भने, ‘यो घरमा चार जना दाजुभाइको परिवार बसेको अवस्थामा चारै जनाको नाम कसरी लिस्टमा टिप्न सकिन्छ?’
वडाध्यक्षसँग निर्मलालाई भेट गराइदिएपछि उनले ससुराको नाम मात्र सूचीमा रहेको र बाँकीले कुनै सहयोग पाउन नसकेको बताइन्।
‘ससुराले पनि केवल एउटा त्रिपाल पाउनुभएको छ,’ निर्मलाले भनिन्, ‘यत्रो परिवारमा एउटा त्रिपालले के हुन्छ?’
छेउमै ध्वस्त भएर घर लडेको निर्मलाको परिवार त्यसो भए कहाँ ओत लागेर सुत्दै आएको छ?
‘हाम्रो काका ससुराको घर पल्लो किनारमा पर्छ,’ उनले भनिन्, ‘त्यो घर सद्दे भएकाले त्यहीँ गएर सुत्दै आएका छौं।’
करिब १५ मिनेट हिँडेर जानुपर्ने त्यसै घरमा निर्मलाले आइतबार र सोमबारको रात काटेकी थिइन्। केटाकेटी डोर्याउँदै पर अर्काको घर जानुको साटो आफ्नै घर छेउछाउ ओत लाग्ने ठाउँ भइदिए सजिलो पर्ने उनको भनाइ थियो।
‘आज पनि कुनै व्यवस्था भएको छैन,’ उनले थपिन्, ‘जति गाह्रो भए पनि उतै जानुपर्ला।’
निर्मलाका अनुसार उनको सिंगो परिवारलाई एउटा त्रिपाल दिइएको छ। त्यो त्रिपाल पनि ससुराले पाएका हुन्। यस्तो अवस्थामा सासू, ससुरा र चार भाइ छोराका परिवारले एउटै त्रिपाल कता छोप्ने र कता सुत्ने भेउ पाइरहेको छैन।
निर्मलाका अनुसार पीडित परिवारलाई पर्याप्त त्रिपाल दिएर भत्किएका पर्खाल सफा गर्न सहयोग गरिदिने हो भने पहिले घर भएकै ठाउँमा छोपछाप पारेर सुत्न सजिलो पर्ने थियो।
त्यतिन्जेल छेउमा उभिएका एक युवक हाम्रो संवाद सुनिरहेका थिए। उनी थिए, ३४ वर्षे धनपत साह।
उनी टेन्ट व्यवसायी हुन्। भत्किएको घरछेउमै बिहेबटुलोमा चाहिने सामग्रीहरू थुपारिएको ठाउँ देखिन्थ्यो। त्यो उनकै रहेछ।
यो सम्पूर्ण जमिन आफ्नै भएकाले किनारमा थोरै जग्गा पहिलेदेखि बस्दै आएका दलित परिवारलाई छाडिदिएको धनपतले बताए।
‘यी सबै मेरै जमिनमा बसिरहेका छन्,’ उनले थपे, ‘पहिल्यैदेखि बस्दै आएको परिवार भएकोले पैसा पनि लिने गरेका छैनौं।’
धनपतको घर गाउँकै अर्को कुनामा रहेछ। त्यहाँ छानोका खपडा सबै उडाएर लगे पनि घरका भित्तामा कुनै असर नपरेको उनले बताए।
‘मेरो छानो उजाडिएको भए पनि सहयोग माग्न गएको छैन,’ धनपतले भने, ‘जबकि केही नोक्सान नभएकाहरू एकपछि अर्को सहयोग थुपार्दै छन्।’
मैले धनपतलाई निर्मलाले गरिरहेको गुनासो कत्तिको सही हो भनेर सोधेँ।
‘एकदम सही हो,’ धनपतले भने, ‘यो ओझेलमा परेको भाग भएकाले सहयोग दिनेहरू कसैको ध्यान पुगिरहेको छैन।’
धनपतले अर्को जानकारी पनि दिए।
‘अहिले मात्र होइन, सधैंभर विपत्ति पर्दा गाउँका ठूलाठालु र हल्लाहुर्दुम गर्नेहरूले मात्र सहयोगको ठूलो हिस्सा हात पार्छन्,’ उनले भने, ‘कुनामा बसेका नछुटून् भनेर हेर्ने काम कसैले गरिरहेका छैनन्।’
सहयोग बाँड्न आउनेहरूले सामान छाडेर हिँड्नुभन्दा जिम्मेवारीपूर्वक आफैंले हेर्दै बाँडिदिने हो भने राम्रो हुने धनपतको भनाइ थियो।
उनका अनुसार यो गाउँमा सवा सयजति घर छन्। ‘त्यसमध्ये बीसदेखि पच्चीस घर क्षतिग्रस्त भएका छन्,’ उनले भने, ‘त्यसमा पनि विशेष जरुरी दस-बाह्र घर हुन्, जसको बस्ने ठाउँ छैन, पिउने सफा पानी पाइरहेका छैनन् र खानेकुरा पनि पाइरहेका छैनन्।’
यत्रो सहयोग जुटिरहँदा पनि त्यति थोरै परिवारलाई राम्ररी बन्दोबस्त गर्न किन नसकिरहेको भन्ने धनपतलाई लागिरहेको छ।
‘विडम्बना के छ भने, ती जुन विशेष जरुरी घरहरू देखिँदैछन्, तिनै घरमा सहयोग पुगिरहेको छैन,’ धनपतले भने, ‘जबकि कतिपय नोक्सानीमै नपरेका मानिसले सहयोग सामग्रीको थुप्रो लगाइरहेका छन्।’
त्यतिबेलै वडाध्यक्ष जयप्रकाशसामु जम्मा भएका गाउँलेले 'कसै-कसैले चार बोरासम्म चामल पाइरहेका बेला कुनै परिवारले ठ्याम्मै नपाएको' आक्रोश पोखे।
‘के त्यस्तो भइरहेको छ?’ मैले सोधेँ।
‘त्यस्तो भएको हुनसक्छ,’ वडाध्यक्षले स्वीकारे, ‘सबैलाई समान हिसाबले वितरण गर्न नसकिरहेको अवस्था छ।’
सहयोग सामग्री पर्याप्त भए पनि आफूहरूले अपनाएको विधिमा कसै-कसैको नाम छुटेको हुनसक्ने उनले स्वीकारे।
‘म तुरुन्तै सूची हेरेर यो परिवारको नाम थपिदिन्छु,’ जयप्रकाशले यसो भनेपछि निर्मलाको अनुहार उज्यालो देखियो।
जयप्रकाशले सहयोग सामग्रीबाटै सामूहिक भोजनको व्यवस्था गरिएकामा गाउँलेहरू त्यता नगएर घर-घरमै सामग्री थुपार्ने होडबाजीमा लागेकाले जटिलता थपिएको बताए।
त्यसरी सामूहिक हिसाबले बसोबास बन्दोबस्त गर्न नसकेको र प्रत्येक परिवारलाई कम्तीमा एउटा त्रिपाल दिने काम भइरहेको उनको भनाइ थियो।