दाङमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेहरूको संख्या २३ पुगेको छ।
शनिबार बिहान उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा थप एक जना घाइतेको मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. १ निवासी १९ वर्षीय वीरेन्द्र कन्डाराको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। घटनास्थलमा २१ जनाको शव फेला परेको थियो भने थप एकजनाको दाङको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा शुक्रबार राति नै मृत्यु भएको थियो ।
बस दुर्घटनामा परी दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थी र शिक्षकको मृत्यु भएको छ ।
जसमा घोराही उपमहानगरपालिका वडा नं.१४ निवासी विद्यार्थीहरू १७ वर्षीय विजय जीएम, दाङको दंगिशरण गाउँपालिका वडा नं. १ निवासी ३० वर्षीय सञ्जित रत्गैया, शिक्षकहरू दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नं. ६ निवासी २८ वर्षीय नरेश वलीको सनाखत भएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, पछिल्लो जानकारी अनुसार विद्यार्थीहरू जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ बुर्थावाङ निवासी १७ वर्षीय हिकमत बोहोरा, जाजरकोट जिल्लाको खलंगा नगरपालिका वडा नं. ४ निवासी १७ वर्षीय आतिस नेपाली, कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ५ गुलरिया निवासी १७ वर्षीय खेमराज भट्ट, जम्लाको चन्दननाथ गाउँपालिका वडा नं. ६ निवासी १६ वर्षीया कुसुम रावल, दाङको बबई गाउँपालिका वडा नं. ५ निवासी २१ वर्षीया कविता खत्री, जुम्ला जिल्लाको हिमागाउँपालिका वडा नं. ५ निवासी १७ वर्षीया सैलजा शाही, जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. १ निवासी १७ वर्षीय अर्जुन शाही र डोल्पा जिल्लाको गजदुल्ला गाउँपालिका वडा नं. ६ निवासी १६ वर्षीय गजेन्द्र एैडीको शनिबार बिहान साढे १० बजेसम्म सनाखत पछि शव आफन्तले बुझेर लगेको ईप्रका तुलसीपुरका प्रमुख शाहीले सेतोपाटीलाई जानकारी दिए ।
त्यस्तै बसका चालक दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३२ वर्षीय मदन केसी र सहचालक दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर निवासी २१ वर्षीय गणेश विकको शव पनि आफन्तले बुझेर लगेको प्रहरीले जानकारी दिएको छ। राप्ती अञ्चल अस्पतालको शव गृहमा राखिएका अझैं ८ जनाको शव सनाखद हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
अभिभावक आइनपुग्दा सनाखतमा ढिलाइ
दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले अधिकांश विद्यार्थी जुम्लाका रहेको र अभिभावक आइ नपुगेको हुँदा सनाखत गर्न ढिलाइ भइरहेको सेतोपाटीलाई बताए।
‘अझै कतिपय मृतक जुम्ला जिल्लाको हुन् भन्ने छ।तर, अभिभावकले पहिचान नगर्दासम्म भन्ने सक्ने अवस्था छैन,’ एसपी पाण्डेले भने । कतिपय अभिभावकलाई फोन सम्पर्क समेत हुन नसकेको र कतिपयलाई खबर गर्दा बेलुकासम्म आइपुग्छौं भन्ने खबर प्राप्त भएको एसपी पाण्डेले जानकारी दिए।
सनाखत भएका शवहरू आफन्तले बुझेर लग्ने क्रम जारी रहेको उनले बताए। रुकुम र जुम्लाका लागि केही शव एम्वुलेन्समार्फत् पठाइएको प्रहरीले जानकारी दिएको छ । तर उनले जिल्लामा सञ्चालनमा आएका कतिपय एम्वुलेन्सहरू लुकेर बसेको हुँदा खोज्नुपर्ने अवस्था आएको बताए।
आँशुमा आफन्त र सर्वसाधारण
तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालको शव गृह आसपासमा मृतकका आफन्त र सर्वसाधारण शोकमा डुबेको देखिए।
अधिकांश १६ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीको निधन भएका देख्दा आफन्त तथा त्यहाँ पुगेका सर्वसाधारण भावविह्वलमा थिए। सुन्दर भविष्यको सपना सजाएर अध्ययन भ्रमणमा गएका यति धेरै बालबालिकाको दुर्घटनामा मृत्यु भएका देख्दा धेरैले आँशु थाम्नै नसकेको बताए।
‘बाबु तिमी जानु भन्दा म जान तयार थिए, मलाई छोडेर तिमी किन अल्पायू मै गयौं,’भावविह्वल एकजना अभिभावक भक्कानिँदै थिए। राप्ती अञ्चल अस्पतालमा ठूलो संख्यामा उपस्थित सर्वसाधारणले पनि घटन अत्यन्तै पीडा भएको भन्दै आँसु पुछिरहेका देखिन्थे। ‘हे राम, यस्तो के लिला गर्यौं,बरु हामी जस्ता प्रौढलाई लगेको भए हुने,’ अस्पताल परिसरमा पुगेकी एकजना वृद्धाले सुस्केरा हाल्दै भनिन् ।
एक जना विद्यार्थी सल्यानस्थित घरमै बस्दा जोगिए
२३ जना मृतकमध्ये ४ महिला र १९ पुरुष रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका घाइतेमध्ये कोहलपुरमा उपचाररत थप दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
बसमा शिक्षालयका ३१ जना विद्यार्थी, २ जना शिक्षक र २ जना गाडीका स्टाप र एकजना लिफ्ट मागेर चढेकी महिला समेत गरी ३७ जना सवार रहेको प्रहरीले बताएको छ। सल्यानको कपुरकोट घर भएको एक जना विद्यार्थी चुडामणि वली भने आफ्नो घर जान भनि कपुरकोटमै झरेको हुँदा जोगिएका छन्।
१४ जना घाइतेको कोहलपुरमा उपचार हुँदै
सल्यानको अवलोकन भ्रमण सकेर दाङतर्फ आउँदै गरेको विद्यार्थी र शिक्षक सवार बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार दिउँसो साढे ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्री र हर्नेटीको बीचभागमा पर्ने भिरबाट खसेर दुर्घटनामा परेको थियो।
दुर्घटनाका घाइते सबैलाई गएराति नै राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारक पछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
कोहलपुरमा उपचाररत १४ जना घाइतेहरुको नाम र ठेगाना
बस दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये अब ९ जना पुरुष र ५ जना महिला बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत रहेको प्रहरीले जानकारी दिएको छ ।
१) जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ वर्षीया छात्रा मिहाली हमाल
२) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ निवासी १६ वर्षीय कुसेन्द्र खत्री
३) दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी १७ वर्षीया समिक्षा रोकाया
४) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. १८ निवासी विक्रम भण्डारी
५) रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी १६ वर्षीय प्रेमबहादुर खड्का
६) दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ स्यूजा निवासी १७ वर्षीया मुनुका रिजाल
७) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. २ निवासी १७ वर्षीय जीवन भण्डारी
८) जुम्लाको जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ४ निवासी १६ वर्षीया पर्शा रोकाया
९) अछाम जिल्लाको मंगलसेन नगरपालिका निवासी १९ वर्षीय युवराज ढुँगाना
१०) रुकुम जिल्लाको सानोभेरी गाउँपालिका वडा नं. ३ निवासी १६ वर्षीया रोजिना पुन
११) दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी १८ वर्षीय संजय खनाल
१२) रुकुम जिल्लाको अर्मा निवासी १९ वर्षीय राजन डाँगी
१३) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ निवासी १६ वर्षीय भद्र विष्ट
१४) रोल्पा जिल्ला निवासी १७ बर्षीय प्रकाश वली हाल कोहलपुरमा उपचाररत रहेको जानकारी दिइएको छ ।
दुर्घटनाको कारण तीव्र गतिको आशंका
दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक शुक्रवार विहान ७ बजे अध्यन भ्रमणको लागि सल्यान गएका थिए।
वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रवार गएर फर्कदै गर्दा दुर्घटनामा परेका हुन्। यही वर्षदेखि सञ्चालनमा आएको बहुप्राविधिक शिक्षालयका विद्यार्थीको प्रयोगत्मक कक्षाको लागि नेमस्ते राप्ती प्रालीको बस भाडामा विद्यालयले लगेको थियो ।
झन्डै ७ सय मिटर तल खसको बस क्षतविक्षत अवस्थामा फेला परेको छ। दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
‘आफ्ना लेन तिर भित्ता छ, तर बस पश्चिम तर्फको लेनबाट सोझै भिरवाट झरेको देखिन्छ,’ एसपी पाण्डेले भने। उक्त स्थानमा मोड समेत भएको हुँदा तीव्र गतिको गाडी चालकले मोड्न नसक्दा दुर्घटना भएको प्रहरीले आशंका गरेको छ। यसैबीच सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल यादव सुवेदीले घाइतेको उपचारको लागि लाग्ने सम्पूर्ण खर्च सिटिइभिटीले बेहोर्ने जानकारी दिएका छन्।
गम्भीर घाइतेलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं लैजानेबारे छलफल चलिरहेको जानकारी दिइएको छ। प्रिन्सिपल सुवेदीले सल्यानको कपुरकोट घर भएको एक जना विद्यार्थी चुडामणि वली भने सल्यानमै झरेको हुँदा दुर्घटनाबाट जोगिएको जानकारी दिएका छन्। उनका अनुसार बसमा ३१ विद्यार्थी र २ जना शिक्षक विद्यालयबाट अवलोकन भ्रमणका लागि गएका थिए।