स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले गौतम बुद्धको २५६९औं जन्मदिनका अवसरमा सोमबार विशेष कार्यक्रम आयोजना गर्दैछ।
बिहान ९ बजेबाट स्वयम्भू महाचैत्यमा विशेष प्रार्थना र पूजा सुरू हुनेछ, जसको नेतृत्व पुजारी अशोक बुद्धाचार्यले गर्ने आयोजकले जनाएको छ। यो पूजामा भक्तजनलाई प्रसादका रूपमा खिर बाँडिनेछ।
सिद्धार्थ गौतमको बुद्धत्व प्राप्तिसँग खिरको गहिरो सम्बन्ध छ। पाँच वर्ष उपवास बस्दा पनि ज्ञान प्राप्त गर्न असफल भएपछि सिद्धार्थ गौतमले आफूले आफैलाई कष्ट दिएर मात्र बुद्धत्व हासिल हुँदैन भन्ने बुझे।
त्यसै क्रममा एकदिन सुजाता नाम गरेकी गाउँकी बालिकाले सिद्धार्थ गौतमलाई खिर खुवाउन ल्याइन्। सिद्धार्थले त्यो खिर सहर्ष ग्रहण गरे।
उक्त खिर खाएर बोधिवृक्षमुनि ध्यान बसेका सिद्धार्थले वैशाख पूर्णिमाको दिन बुद्धत्व प्राप्त गरेको भनाइ छ। त्यही भएर बुद्ध जयन्तीको दिन स्वयम्भूमा भक्तजनलाई खुवाइने खिरले विशेष अर्थ राख्छ।
व्यवस्थापन समितिका उपाध्यक्ष ओजेश बज्राचार्यका अनुसार यस वर्षबाट स्वयम्भू महाचैत्य परिसरमा प्लास्टिक झोलालाई पूर्ण प्रतिबन्ध लगाउने योजनाअनुसार पूजा गर्न आउनेलाई वातावरणमैत्री कपडाको झोला वितरण गरिनेछ।
भक्तजनका लागि निःशुल्क पानी, जुस स्टेसन, एम्बुलेन्स र स्वास्थ सेवा उपलब्ध गराइने जानकारी पनि उपाध्यक्ष बज्राचार्यले दिए। सार्वजनिक शौचालय पनि नि:शुल्क हुनेछ।
२०७२ वैशाख १२ को भुइँचालोले १० वर्ष पूरा गरेको अवसरमा यसपालि भुइँचालोअघि र पछि स्वयम्भू क्षेत्रमा आएको परिवर्तन झल्काउन फोटो प्रदर्शनी आयोजना गरिनेछ। पछिल्लो दस वर्षमा स्वयम्भू क्षेत्र पुनर्निर्माणमा भएका गतिविधि झल्किने खालका फोटो प्रदर्शनीमा राखिने छन्।
सोमबार बुद्ध जयन्तीको अवसरमा हरेक वर्षझैं यसपालि पनि आनन्दकुटी विहारमा बुद्धका अस्तु प्रदर्शन गरिनेछन्। यो प्रदर्शनी दिनभरि चल्नेछ।
भक्तजनका लागि महाचैत्य परिसरमा लाख बत्ती बाल्न छुट्टै ठाउँ पनि व्यवस्था गरिने उपाध्यक्ष बज्राचार्यले बताए।
उनका अनुसार स्वयम्भू आउजाउ सहज होस् भनेर बाटो फराकिलो पारिनुका साथै वरपरका फोहोर सबै हटाइएका छन्।
बुद्ध जयन्तीले बुद्धको तीनवटा प्रमुख पाटोलाई संकेत गर्छ – जन्म, सम्बोधी र महापरिनिर्वाण। शान्ति मन पराउने र बुद्ध धर्म पछ्याउनेका लागि यो दिनले विशेष महत्त्व राख्छ।