किराले तरकारी खेती नष्ट गरेपछि किसान चिन्तित


झुसिलकिराले आफूले लगाएको तरकारी खेतीमा क्षति गरेको तुलसीपुर क्षेत्रका किसानले  गुनासो गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जसपुर क्षेत्रका किसान झुसिलकिराकै कारण आजिद बनेको बताएका छन्। सम्वन्धित निकायमा त्यसबारे जानकारी दिँदापनि कसैले कुनै चासो नदिएको र आफूहरूको तरकारी किराले नाश गरेको स्थानीय किसानले सेतोपाटीसँग गुनासो गरेका छन् ।

स्थानीय किसान प्रेमकुमार खड्काले आफूले खेतमा लगाएको तरकारी खेती झुसिलकिराले नाश पारेको बताए। गोभी र आलु झुसिलकिराकै कारण स्वाहा भएको उनले बताए । ‘दैनिक ४/५ सय झुसिलकिरा मार्दापनि सकिँदैन र म आजिद छु’ खड्काले भने। स्थानीय किसान दामोदर बस्नेतले पनि झुसिल किराको कारण यसपटक आफूले लगाएको तरकारी खेतीबाट ठूलो घाटा बेहोर्नुपर्ने स्थिति आएको बताए। ‘मेरो सबै खेती झुसिलकिराले स्वाहा पारिसकेको छ, यसपालिको लगानी र मेहनत खेर गयो’–बस्नेतले भने।

उनले आफ्नो परिवारका सदस्य मिलेर हालसम्म ५ हजार बढी झुसिलकिरा मारेको अनुमान लागाउँदै, त्यसले समास्या समाधान नभएको बताए। यस्तै, गुनासो स्थानीय राधा डाँगीले पनि गरिन्। उनले आफ्नो २ कठ्ठा क्षेत्रफलमा लगाएको आलुखेती झुसिलकिराकै कारण स्वाहा भएको बताइन् । ‘आलुको पातनै छैन, डाँठ मात्रै छ , मुलाको जराको बोक्रा समेत झुसिल किराले खाएको छ’ डाँगीले भनिन्।

उनले जति खबर गर्दापनि जेटिए नआउँदा आफूहरू मर्कामा परेको बताइन्। ‘हामी आजिद छौं, झुसिलकिरा कसरी मार्न सकिन्छ। त्यसको जानकारी पाएमा आभारी हुने थियौं’ डाँगीले भनिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.