प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन्।
संसदीय सुनुवाइ समितिको सोमवार बसेको बैठकमा बोल्दै उनले समाज अहिले विचारविहीनताको अवस्थामा रहेको बताए। जसले आम नागरिकमा निराशा उत्पन्न भइरहेको उनले बताए।
'राजनीतिक, सामाजिक, न्यायिक क्षेत्रमा हेरे पनि एउटा विचलनको अवस्था छ । विचार विहिनताको अवस्था रहेको छ । यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको छ । हाम्रा प्रगतिशिल दिशाहरुबाट पछि हट्ने गरी घटनाहरु भइरहेका देखिन्छन् । एउटा सुसूचित समाज निर्माण गर्ने दायित्व सबैसँग छ,' उनले भने।
लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु नहुने उनले बताए।
'लोकतन्त्र सबै वर्ग, जाती र लिङ्गको समावेशितामा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेर त्यसको पक्षमा लडेको र अहिले पनि आवाज उठाइरहेको सन्दर्भमा समावेशी अर्थमा तपाईंको सिफारिस भएको छ। खुशी व्यक्त गर्न चाहन्छु,' उनल भने।
सांसद शर्माले न्यायाधीशले गल्ती गर्न नहुने तर कसैसँग बोल्नै नहुने भन्ने नरहेको उनले बताए। —न्युज एजेन्सी नेपाल