चिसो छिचोल्दै दाउराको जोहो


हिउँदयामको चिसो छिचोल्दै मुस्ताङका किसान दाउराको जोहो गर्न जुटेका छन् ।वर्षभरी चाहिने दाउरा संङ्कलनका लागि गाउँलेलाई निश्चित समय अवधि तोकेर स्थानीय गाउँसमाजले दाउरा फुकुवा गर्ने हिमालपारीको सदियौ देखिको चलनचल्ती मानिन्छ । गाउँ/गाउँका मुखिया टोली र बन उपभोक्ता समितिको समन्वय मार्फत स्थानीयवासीलाई जंगलका दाउरा फुकुवा गरिन्छ।

मुस्ताङको ३ स्थानीय तहमा स्थानीय गाउँलेले यो समयमा जंगलमा पुगेर सुकेका दाउरा संङ्कलन गर्न भ्याईनभ्याई छ।बाह्रगाउँ मुक्तिक्षेत्रदेखि थासाङ गाउँपालिकामा बसोबास गरेका गाउँलेले चिसो मौसम छिचोल्दै जंगलका दाउरा खोज्ने गर्छन्।

वर्षायाममा यहाँका किसान कृषि र अन्य व्यवसायमा व्यस्त हुने र जाडो मौसमको फुर्सदिलो समयमा उनीहरुले दैनिक प्रयोग हुने दाउराको जोरजाम गर्ने गर्छन् ।जाडो महिनामा दाउरा फुकुवा गरिने मुस्ताङको परम्परा बसेको हो। अन्य समय जंगलको दाउरा टिप्न गाउसमाज र बनउपभोक्ता समितिले मनाही गर्दछ ।जिल्लाको तल्लोक्षेत्रका गाउँ/गाउँमा दाउरा फुकुवा गरिएपछि स्थानीय किसान समूदाय आफ्नो मातहतका लेकमा पुगेर दाउरा संङ्कलन गर्न लागि पर्छन् ।हिउँ पर्ने र चिसो सिरेटो चल्ने मौसम भएपनि यहाँका किसानले यसको परवाह नगरि दाउँरा टिप्न लेकमै धाउछन्। तोकिएको दिनसम्म बिहानैको झिसमिसे उज्यालोमा उठेर उनीहरु ३ घण्टा उकालो चढ्दै लेकको जंगल पुगेर दाउरा टिप्छन् ।

स्थानीयले कृषि प्रयोजनका लागि  पालन गरिएका गोरु,झोपा,घोडा र खच्चड जस्ता घरपालुवा चौपाया लिएर जंगल पुग्छन्।जंगल पुगेका उनीहरुले दाउरा खोजेर तिनै चौपायाको सहयोगमा भारी बोकाई घर फर्कन्छन् ।चौपाया नहुनेले  भने आफै बोकेर घर ल्याउछन् ।

यतिखेर मुस्ताङका एक दर्जन लेकमा दाउरा टप्ने चटारो चलेको छ ।दाउरा टिप्दा काँचो काट्न पाईदैन र काँचो दाउरा काटेको प्रमाणित भएमा हर्जाना व्यवहोर्नु पर्ने हुन्छ । यसअघि सुनसान हुने लेकका बनपाखामा दाउरा संङ्कलन गर्नेहरुको भीडले रौनक थपेको छ ।यसप्रकारको रौनक वर्षेनी यार्सा गुम्बाको सिजन सुरु हुदा पनि हुने गर्छ ।घरपझोङ गाउँपालिको जोमसोम,ठिनी,ढुम्बा,स्याङ,मार्फा,छैरो र चिवाङका अधिकाँश मानिस नीलगीरी र धौलागिरी हिमाली फेदको जंगल पुगेर दाउरा संङ्कलन गर्न जान्छन् ।यस्तै थासाङका गाउँले पनि आफ्ना मातहतका जंगलमा दाउरा खोज्ने गरेको थासाङ २ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए ।‘मुखिया र बनउपभोक्ता समितिले निर्णय गरेर १ हप्ताको लागि दाउरा फुकुवा गरेको छ’हिराचनले भने‘प्रत्येक घरघुरीले क्षमताले सकेजती दाउरा संङ्कलन गर्न दिईन्छ।’

जोमसोमका किसान लेख बहादुर थकालीका एकजोडी झोपा छन् ।खेत जोत्ने,मल ओसार्ने र दाउरा संङ्कलन गर्ने प्रयोजनमा पालन गरेका तिनै झोपा मार्फत उनले दैनिक चार भारी दाउरा संङ्कलन  गर्छन् ।उनी बिहानै ४ बजे उठेर झोपा खेद्दै नीलगीरी लेकको जंगलमा पुग्छन् ।‘चिसो मौसम छ,चिसोको महशुस हुदैन’उनले भने‘गाउँ भन्दा जंगलमा दाउरा टिप्नेको रमाईलो छ,अहिले टिपेको दाउराले वर्षदिन पु¥याउनु पर्ने हुन्छ ।’त्यस्तै अर्का किसान मनोज गोतामेले पनि झोपाकै सहयोगमा दाउरा संङ्कलन गरेका छन् ।अघिपछि खेती किसान र अरानमा व्यस्त रहने मनोज ति सबै काम थाँती राखेर दाउरा खोज्न जुटेका हुन् ।‘मुखिया र बनउपभोक्ता समितिले १० दिन जंगल खुल्ला गरेको छ’उनले भने‘बस्तुभाउ र परिवारले आगो ताप्न दाउरा चाहिन्छ,खोजिएका दाउराले १ वर्ष धान्नुपर्छ ।’

जोमसोम र अन्य गाउँमा कुरिया दर्ता भएका र खेतवारी कमाई बसेकालाई मात्र दाउरा संङ्कलन गर्न अनुमती दिईन्छ ।स्थानीय किसानले दाउराका साथसाथै सल्लो र धुपीको पात ओसार्ने गर्छन ।यो उनीहरुले अर्गानिक मलको रुपमा प्रयोग गर्न मलखातमा बिच्छ्याउछन् ।जसलाई स्थानीयले सन भन्ने गर्छन् ।कतिपयले दाउरा खोज्न आफु संग भएका चौपाया अधिया दिएर दाउरा बराबरी भाग लगाउने चलन पनि छ ।२ वर्षअघि जोमसोममा स्थानीय बाहेक अन्य कसैलाई पनि दाउरा टिप्ने अनुमति थिएन ।पछिल्लो समय जिल्ला बाहिरबाट आएर खेती किसान गरेकालाई अनुमति दिईएको हो ।मुस्ताङका प्रत्येक गाउँमा छत माथि दाउरा पाज्ने चलन छ ।घरको अगाडी दाउरा पाज्ने चलनले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने स्थानीयको भनाई छ ।छत माथि धेरै दाउरा पाज्दा त्यो घर संम्पन्नको उदाहरण बन्ने गरेको उनीहरुले बताए।मुस्ताङमा यातायात संञ्जाल नजोडिदा यहाँका स्थानीयले घरको संम्पूर्ण कार्य दाउराबाट हल गर्थे ।पछिल्लो समय यातायात बिस्तार हुदा ६० प्रतिशतले खाना पकाउने एल्पी ग्याँस प्रयोग गरेका छन् ।चिसो मौसममा आगो ताप्ने र बस्तुभाउका लागि कुडो पकाउने काम बाहेक अन्य प्रयोजनमा दाउराको प्रयोग कम हुदै गएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.