पर्सा क्षेत्र नं २ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ४६ वर्षीय मनोज चौधरी प्रहरी नियन्त्रणमा छन्।
प्रहरीले उनी सहित चार जनालाई पर्साको पर्सागढी नगरपालिका वडा नं ३ बढनियार बजारबाट फागुन १९ गते राति सवा १० बजेतिर पक्राउ गरेको हो।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बल समेतको संयुक्त चेकिङ टोलीले बढनियार बजारमा चेकजाँच गरिरहेको थियो। हरपुरबाट बढनियारतर्फ आउँदै गरेको बा १० च १२५० नम्बरको गाडी पनि चेकिङमा पर्यो। गाडी पछाडिको डिक्कीमा टिनको बक्साभित्र पहेँलो टेपले बेरिएको चौपाटे आकारको शंकास्पद वस्तु भेटियो।
प्रहरीले उम्मेदवार मनोज सहित गाडीमा सवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ९ बस्ने ३० वर्षीय सुरज कार्की, पर्सागढी नगरपालिका वडा नं ३ बस्ने ६८ वर्षीय सत्यनारायण दास थारू र बाराको प्रसौनी गाउँपालिका वडा नं ४ बस्ने २६ वर्षीय सहाब आलम अन्सारीलाई प्रहरीले हिरासतमा राखेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार बिहान आयोजित पत्रकार सम्मेलन प्रहरी उपरीक्षक सुदीपराज पाठकले उनीहरू चढेको गाडीमा ‘होक्स’ ( विष्फोटक पदार्थ जस्तो शंकास्पद वस्तु) फेला परेकोले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
‘ब्याट्री छ, तार छ, बक्समा राखिएको छ,’ उनले भने, ‘होक्स’ नै हो भनेर भन्न सकिन्छ।’
निर्वाचन मात्रै नभएर अन्य समयमा समेत आतंक फैलाउने नियतले ‘होक्स’ तयार गरेर विभिन्न ठाउँमा राखिन्छ।
सेनाको बम डिस्पोजल टोलीले गर्यो निष्क्रिय
उम्मेदवार मनोजको गाडीमा प्रहरीले फेला पारेको शंकास्पद वस्तु आज बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
साँच्चिकै बम थियो वा होक्स मात्रै हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकको भनाइ छ।
‘त्यसको रेसिड्युलाई हेरेर परीक्षणमा पठाएर त्यो पियोर बम थियो कि होक्स मात्रै हो भनेर पत्ता लगाउँछौं,’ उनले भने।
नेपाली सेनाले नेकपाका उम्मेदवारको गाडीमा भेटिएको शंकास्पद वस्तु हेरेर पहिचान गर्न नसक्ने खालको रहेको प्रतिक्रिया दिएको छ। डिस्पोजमा खटिएका प्राविधिक टोलीले परीक्षण आवश्यक रहेको जानकारी उच्च अधिकारीलाई दिएका छन्।
‘प्राविधिक टोलीले प्रारम्भिक परीक्षण गर्दैछन्, आवश्यक पर्छ भने थप परीक्षणका लागि ल्याब पठाउँछन्,’ नाम उल्लेख नगर्ने सर्तमा सेनाका एक अधिकारीले भने।
तीन वटा मुद्दा लगाउने तयारी
पत्रकार सम्मेलनमा वीरगञ्जबाट बरामद भएको ९ थान सुतली बमको बारेमा समेत जानकारी गराइएको थियो। वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वा गाउँबाट सुँगुरको टाउको, वाइरिङ तार १० मिटर र सुतली बम सहित तीन जनालाई पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा नेपाली सेनाका उपसेनानी विकास मरहठ्ठा सहितको निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोलीले बिहान २ः४५ बजेतिर अपरेसन गर्दा उनीहरू पक्राउ परेका थिए।
उम्मेदवार मनोज सहित पक्राउ परेका ७ जना विरूद्ध प्रहरीले तीन वटा कसुरमा मुद्दा चलाउने तयारी गरेको छ।
उनीहरू विरूद्ध विष्फोटक पदार्थ सम्बन्धी कसुर, सार्वजनिक शान्ति विरूद्धको कसुर र निर्वाचन सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
निर्वाचन ऐन २०७३ बमोजिम २ देखि ३ वर्ष कैद तथा जरिवाना, मुलुकी अपराध संहिता अनुसार विष्फोटक पदार्थ सम्बन्धी कसूरमा ३ देखि १० वर्षसम्म कैद, ३० हजारदेखि १ लाखसम्म जरिवाना र सार्वजनिक शान्ति विरूद्धको कसुरमा १ वर्षसम्म कैद र १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ।
षड्यन्त्र भएको नेकपाको दाबी
नेपाली कम्युनिस्ट पार्टीले भने आफ्नो उम्मेदवार विरूद्ध षड्यन्त्र भएको दाबी गरेको छ। केन्द्रीय सदस्य नागेन्द्र निर्वाचनको बेला घरतिर फर्किरहेको समयमा षड्यन्त्रपूर्वक फसाउन खोजिएको दाबी नेकपाको छ।
नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले बिहान पत्रकार सम्मेलन गर्दै निर्वाचन जित्ने संभावना देखेपछि उम्मेदवार मनोज कुमार चौधरीलाई षड्यन्त्र गरेर फसाइएको बताए।
‘गाडीको पछाडिको डिक्की बिग्रिएको रहेछ, षड्यन्त्रपूर्वक सामग्री राखेर फसाउन खोजिएको छ,’ केन्द्रीय सदस्य नागेन्द्रले भने, ‘निर्वाचन बिथोल्नेहरूले ठाउँ ठाउँमा षड्यन्त्र गरिरहेका छन्, यहाँ हामी जित्ने अवस्थामा छौं, उम्मेदवारलाई फसाउन सकियो भने सिंगो पार्टीमाथि षड्यन्त्रको योजना सफल हुन्छ भनेर षड्यन्त्र गरिएको हो।’
उम्मेदवार स्वयं आफू चढेको गाडीमा विष्फोटक शंकास्पद वस्तु वा बम राखेर नहिँड्ने दाबी उनले गरे।