मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
सहायक निर्वाचन अधिकृत एवं जिल्ला अदालत सिरहाका स्रेस्तेदार भेषराज भट्टराईले तीन दिनभित्र जबाफ बुझाउने गरी स्पष्टीकरण सोधिएको जानकारी दिए।
‘निर्वाचन आयोगले उनीसँग स्पष्टीकरण सोधेको छ,’ उनले भने।
अशेश्वर सहित ५ जनालाई गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो।
उनीहरू पाँचै जनालाई ३ दिनभित्र चित्तबुझ्दो जबाफ बुझाउन आयोगले निर्देशन दिएको छ।
त्यस्तै, बरामद रकम र गाडी सहितका सामग्री तत्काललाई 'सिज' गरिएको छ।
प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कार्पियो गाडीबाट राति करिब साढे १२ बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा उम्मेदवार यादवसहित विष्णुपुर ५ लक्ष्मीपुरका ३२ वर्षीय श्याम कुमार यादव, ३५ वर्षीय राम प्रवेश यादव, ४० वर्षीय बप्रेन्द्र कुमार यादव र सवारी चालक नरहा ३ का २८ को जितेन्द्र कुमार महतो पक्राउ परेका थिए।