कास्की–२ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव बास्तोला 'मधु' को हात भाँचिएको अस्पतालले जनाएको छ।
चुनावी भेटघाटका क्रममा पोखराको फुलबारीमा आइतबार साँझ सिँढीबाट चिप्लिएर लडेका बास्तोला उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना भएका थिए।
अस्पतालका निर्देशक प्रा. डा. अभिषेक मास्केले सोमबार विज्ञप्ति जारी गर्दै बास्तोलाको हात भाँचिएको र शल्यक्रिया गरिएको जानकारी दिएका छन्।
उनका अनुसार बास्तोलाको बाँया हातको नाडीमाथि हड्डी भाँचिएको छ। शल्यक्रिया पश्चात बास्तोलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
हातको शल्यक्रिया पश्चात उम्मेदवार बास्तोलाले चिकित्सकको सल्लाह अनुसार अहिले आराम गरिरहेको बताएका छन्।
स्वास्थ्यमा अरू कुनै समस्या नभएको भन्दै उनले आफू विश्रामको अवस्थामा रहे पनि चुनावी अभियान नरोकिने बताएका छन्।
'चिकित्सकको सल्लाहअनुसार आवश्यक उपचार र विश्रामपछि निर्वाचन अभियानमा सक्रिय हुने नै छु,' उनले भने।
बास्तोला यसअघि कांग्रेसको १२ औं महाधिवेशनमा सहभागी भएर फर्किने बेला पनि दुर्घटनामा परेका थिए।
काठमाडौंबाट पोखरा आउँदै गरेको उनी सवार गाडी मुग्लिनमा दुर्घटना हुँदा गाडीमा रहेका अन्य ३ जनाको मृत्यु भएको थियो भने बास्तोला र मदन केसी बाँच्न सफल भएका थिए।
दुर्घटनामा परेर करङ भाँचिएपछि बास्तोलाले एक वर्षभन्दा बढी आराम गर्नुपरेको थियो।
सिँढीबाट लडेर हात भाँचिएपछि उनका प्रतिस्पर्धी उम्मेदवारहरूले बास्तोलाको स्वास्थ्यलाभको कामना गरेका छन्।
कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तम पौडेल र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण थापा 'आमोद' ले बास्तोलाको स्वास्थ्यलाभको कामना गरेका हुन्।