जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएका विध्वंशात्मक घटनामा आक्रमणकारीहरूको निसानामा परेको युलेन्स स्कुलका पूर्वाधारको पुनर्निर्माण सम्पन्न भई पूर्ण क्षमताका साथ सञ्चालनमा आएको युलेन्स एजुकेसन फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक (प्रिन्सिपल) पनि परिवर्तन गरेको छ।
यसअघिका व्यवस्थापन समिति अध्यक्ष डा. आरजु राणा देउवाको कार्यकाल पूरा भएकाले उनको ठाउँमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. भोला थापालाई नियुक्त गरिएको छ। त्यस्तै, युलेन्सकै शिक्षक एकता राणालाई नयाँ प्रिन्सिपल नियुक्त गरिएको फाउन्डेसनले जनाएको छ।
भदौ २४ गते आक्रमणकारीहरूले काठमाडौंको बाँसबारी, ललितपुरको खुमलटार र काभ्रेको नालास्थित युलेन्स स्कुलका भौतिक संरचनामा आगजनी र तोडफोड गरेका थिए। फाउन्डेसनका अनुसार खुमलटारका पाँचवटा भवन, बाँसबारीका तीनवटा भवन र नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर ध्वस्त पार्दा करिब १ अर्ब २५ करोड रूपैयाँ बराबरको क्षति भएको थियो।
उक्त घटना भएको करिब ६ महिनामा युलेन्स स्कुल काठमाडौंमा जलाइएका भौतिक पूर्वाधारको पुनर्निर्माण सम्पन्न भई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याइएको फाउन्डेसनले जनाएको छ।
त्यस्तै, युलेन्स स्कुल ललितपुरको भौतिक पुनर्निर्माण आंशिक भए पनि सम्पन्न भएको र केही भवनमा भौतिक कक्षा सञ्चालन गर्न सकिने फाउन्डेसनले जानकारी दिएको छ।
'केही भवनको पुनर्निर्माण प्रक्रिया जारी छ,' फाउन्डेनसले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विध्वंसमा खरानी बनाइएका हाम्रा सवारी साधनलाई वातावरणमैत्री विद्युतीय बसद्वारा प्रतिस्थापन गर्दै आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरूको परिवहन सुविधा व्यवस्थित गर्न प्रक्रिया अघि बढाइएको छ।'
युलेन्स कलेज, ग्याप इयर कार्यक्रम र शिक्षक तालिम केन्द्र जस्ता कार्यक्रम पनि भौतिक रूपमा पुन: सञ्चालनको क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार युलेन्स एजुकेसन फाउन्डसनको 'बोर्ड अफ ट्रस्टिज' का नवनियुक्त सदस्यहरूमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. थापा, नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी अनुभव संगालेका वरिष्ठ बैंकिङ विज्ञ प्रद्युम्न कुमार खनाल र हाल युलेन्स स्कुलका अभिभावक समेत रहेका शैक्षिक तथा सुरक्षा विज्ञ डा. मनिष थापा छन्।
डा. भोला थापा

युलेन्स स्कुलका प्रिन्सिपल नियुक्त गरिएका एकता राणा २० वर्षअघि युलेन्स स्कुल ललितपुरमा शिक्षकका रूपमा प्रवेश गरेकी हुन्।
बैंक स्ट्रिट कलेज अफ एजुकेसनबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेकी राणाले युलेन्समा इकाई संयोजक र उप–प्रधानाध्यापकका रूपमा शैक्षिक नेतृत्व र व्यवस्थापनको अनुभव हासिल गरेको विज्ञप्तिमा उल्लेख छ।
पूर्वप्रिन्सिपल मेदिनबहादुर लामिछाने अब युलेन्स एजुकेसन फाउन्डेसनको प्रमुख प्राज्ञिक अधिकारीको भूमिकामा रहने छन्।
फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरूले नवनियुक्त प्रिन्सिपल राणाको लामो सेवा अनुभव र नेतृत्वले युलेन्स स्कुल ललितपुरलाई अर्को चरणमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, लामिछानेको प्रगतिशील शिक्षाशास्त्र र शैक्षिक नेतृत्वको अनुभवले संस्थाको शैक्षिक दिशालाई मजबुत बनाउने उनले बताए।
यो पनि पढ्नुहोस्: