थाइल्याण्डमा सम्पन्न आम निर्वाचनमा सत्तारूढ भूमजैथाइ पार्टीले जित सुनिश्चित भएको छ।
सोमबार भएको मतदानपछि ९० देखि ९५ प्रतिशत मतगणना सम्पन्न हुँदा सत्तारूढ भूमजैथाइ पार्टीको जित सुनिश्चित भएको बिबिसीले जनाएको छ।
थाइल्याण्डको ५०० सदस्यीय प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४०० सिटका लागि भएको निर्वाचनमा कन्जरभेटिभ दल भूमजैथाइ पार्टीले १९२ देखि १९४ सिट ल्याउने निश्चित भएको हो।
योसँगै प्रधानमन्त्री अनुतिन चार्नभिराकुल सत्तामै रहने निश्चित भएको हो। यद्यपि सरकार गठनका एकल बहुमत नपुगेका कारण उनले अन्य दलसँग गठबन्धन गर्नुपर्नेछ।
प्रगतिशील दल पीपुल्स पार्टी ११६–११७ सिटसहित दोस्रो स्थानमा रहने निश्चित भएको छ।
अघिल्लो निर्वाचनबाट प्रमुख शक्ति बनेको पपुलिस्ट दल प्यू थाइ पार्टी यसपालि खुम्चिएको छ। उसले ७४ देखि ८६ सिट मात्रै पाउने देखिएको छ। बाँकी सिट अन्य साना दलहरूले बाँड्नेछन्।
भूमजईथाइ पार्टीले भने अघिल्लो निर्वाचनको तुलनामा व्यापक सुधार गरेको छ। उसले यसपालि दोब्बर बढी सिट जितेको छ। सन् २०२३ मा उसले ७१ सिट प्राप्त गरी तेस्रो भएको थियो।
२०२३ मा प्रगतिशील दल पिपुल्स पार्टी मुभ फर्वार्ड पार्टीको नाम राखेर चुनाव लडेको थियो। त्यतिबेला उसले १५१ सिट जित्दै पहिलो बनेको थियो।
अघिल्लो सरकार प्यू थाई पार्टीको नेतृत्वमै बनेको थियो। प्रधानमन्त्री पेइटोङटार्न सिनावात्रा सरकारमा रहँदा कम्बोडियासँग सीमा विवाद भएको थियो।
विवादकै क्रममा गत सेप्टेम्बर महिनामा सिनावात्राले कम्बोडियाका प्रधानमन्त्रीसँगको टेलिफोन संवाद बाहिरिएपछि उनी नेतृत्वको सरकार ढलेको थियो।
त्यसपछि भूमजइथाई पार्टीबाट अनुतिनले चुनावी सरकारको नेतृत्व गरेको थिए।
राजनीतिक धारका हिसाबले भूमजैथाई पार्टी कन्जरभेटिभ र राष्ट्रवादी लाइनमा उभिएको दल हो। यसले राजसंस्था र सेनाजस्ता परम्परागत संस्थाको संरक्षण, कडा राष्ट्रवाद र उपभोक्तालाई लक्षित आर्थिक सहायता कार्यक्रमलाई मुख्य चुनावी नारा बनाएको थियो।
पीपुल्स पार्टी भने संरचनागत सुधार, ठूला व्यवसाय र सेनाको शक्ति नियन्त्रण, प्रशासनिक सुधार तथा शिक्षा प्रणाली आधुनिकीकरणको एजेन्डासहित प्रगतिशील धारमा उभिएको थियो।
प्यू थाई पार्टीले अघिल्ला निर्वाचनहरूमा जस्तै पपुलिस्ट आर्थिक कार्यक्रम र सामाजिक सहायता योजनालाई जोड दिएको थियो।
थाइल्याण्डमा निर्वाचनसँगै भएको जनमत संग्रहमा मतदाताहरूले सन् २०१७ को सैन्य शासनकालमा बनेको संविधान सुधार गर्ने पक्षमा स्पष्ट समर्थन जनाएका छन्।
प्रारम्भिक नतिजाअनुसार करिब ६५ प्रतिशत मत संविधान संशोधनको पक्षमा परेको छ।
आलोचकहरूका अनुसार उक्त संविधानले निर्वाचित नभएका संस्था, विशेषगरी अदालत र सिनेटलाई अत्यधिक शक्ति दिएको छ।
विश्लेषकहरूका अनुसार कम्बोडियासँग भएका सीमित सीमा संघर्षपछि बढेको राष्ट्रवादी भावना, स्थानीय शक्ति केन्द्रलाई आफ्नो पक्षमा पार्ने रणनीति र प्राविधिक विज्ञहरूलाई अघि सारेर विश्वास जगाउने भूमजैथाईको अभियान निर्णायक बन्यो।
उता, युवा मतदातामाझ लोकप्रिय रहे पनि पीपुल्स पार्टी ग्रामीण क्षेत्र र ज्येष्ठ मतदातामा अपेक्षित समर्थन जुटाउन असफल भयो।
थाइल्यान्डले सन् १९३२ मा निरङ्कुश राजतन्त्र अन्त्य गरेयता २० वटा संविधान फेरिसकेको छ, जसको धेरैजसो परिवर्तन सैनिक कूपछि भएका छन्। पछिल्लो निर्वाचन परिणाम र संविधान सुधारको समर्थनलाई देशको दीर्घकालीन राजनीतिक स्थिरताका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।