काठमाडौं निर्वाचन क्षेत्र शृंखला
२०६४ को निर्वाचनअघि काठमाडौं क्षेत्र नम्बर ४ वामपन्थीहरूको 'अभेद्य किल्ला' जस्तै थियो।
२०४३ सालमा जनपक्षीय उम्मेदवार पद्मरत्न तुलाधरलाई जिताउन मात्र होइन, त्यसअघि २०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा काँठका विद्रोही नेता नानीमैया दाहाललाई जिताउन पनि यही भूगोलका मतदाताले अहम् भूमिका खेलेका थिए।
२०४६ सालको राजनीतिक परिवर्तनपछि पनि काठमाडौंको उत्तरपूर्वमा पर्ने यो काँठ क्षेत्र चर्चामा रह्यो।
२०४८ सालको आमनिर्वाचनमा यही क्षेत्रका केही भाग समेटिएको काठमाडौं–१ बाट नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी उम्मेदवार बनेका थिए। उनी त्यति बेला अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईविरूद्ध चुनाव लडेका थिए।
नेपाली कांग्रेसका प्रभावशाली नेता भट्टराईलाई हराएका भण्डारीले यस भेगको जनप्रतिनिधिका रूपमा लामो समय काम गर्न पाएनन्।
२०५० जेठ ३ गतेको दासढुंगा दुर्घटनामा उनको निधन भयो।
मदन भण्डारीको निधनपछि भएको उपनिर्वाचनमा दोहोर्याएर उम्मेदवार बनेका भट्टराईलाई पराजित गरेर मदनपत्नी विद्या भण्डारी राजनीतिको मूल प्रवाहमा आइन्।
उनले भट्टराईलाई मात्र होइन, २०५१ सालको मध्यावधि निर्वाचनमा पूर्वसभामुख समेत रहेका दमननाथ ढुंगानालाई पनि पराजित गरेर आफ्नो राजनीतिक यात्रा चहकिलो तुल्याएकी थिइन्।
२०४८ सालको निर्वाचनमा उक्त क्षेत्र काठमाडौं–१ मा पर्थ्यो। त्यति बेला काठमाडौं पाँच क्षेत्रमा बाँडिएको थियो। २०५१ को मध्यावधि निर्वाचनसम्म आइपुग्दा काठमाडौंमा निर्वाचन क्षेत्र बढाएर सात पुर्याइयो। उक्त निर्वाचनमा भण्डारीले दमननाथलाई हराएको क्षेत्र काठमाडौं–२ थियो।
२०५६ को चुनावमा पनि भण्डारी यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। त्यति बेला उनले कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गरेकी थिइन्।
२०६४ मा आएर काठमाडौं १० निर्वाचन क्षेत्रमा बाँडियो। काठमाडौंका तत्कालीन विष्णु बूढानीनलकण्ठ, चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महांकाल, काठमाडौं महानगरपालिकाका ७, ८ लगायत केही वडा समेटेर काठमाडौं–४ बनाइयो।
त्यसै वर्ष पहिलो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट विद्या भण्डारी तेस्रो पटक उम्मेदवार बनिन्। तर उनी पूर्वप्राध्यापक समेत रहेकी कांग्रेसकी सुप्रभा घिमिरेबाट पराजित भइन्।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि घिमिरेको राजनीतिक यात्रा अघि बढ्न सकेन। कांग्रेस नै परित्याग गरेको घोषणा गर्दै उनी राजनीतिबाट क्रमशः ओझेल परिन्।
२०७० को दशकबाट यो क्षेत्रमा गगन थापा उदीयमान व्यक्तिका रूपमा प्रकाशमा आए।
सुप्रभाले भत्काएको वामपन्थी गढमा गगनले यसरी जरा गाडे, २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा यहाँका अधिकांश वडा र नगरप्रमुख-उपप्रमुख एमालेले जित्दा पनि उनी धेरै मतान्तरले निर्वाचित भए।
पछिल्लो स्थानीय तह संरचना बाँडफाँट अनुसार यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नम्बर वडा पर्छन्। त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ नम्बर वडा समेटिएका छन्।
यी १२ मध्ये ९ वटा वडा एमालेले जितेको छ। तीनवटा वडा मात्र कांग्रेसले जितेको छ।
एमालेले काठमाडौं महानगरपालिकाको १ नम्बर (नक्साल) वडा जितेको छ भने कांग्रेसले ७ (चाबहिल), ८ (जयबागेश्वरी), ३० (रातोपुल) वडा जितेको छ।
बुढानीलकण्ठको भने नगर प्रमुख (मीठाराम अधिकारी), उपप्रमुख (अनीता लामा) सहित काठमाडौं–४ भित्र पर्ने सबै वडा एमालेले नै जितेको छ।
२०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेस र एमालेले काठमाडौं–४ का एक/एक सिट जितेको थियो। २०७४ मा काठमाडौं– ४ (१) बाट कांग्रेसका नरोत्तम वैद्य र (२) बाट एमालेका कुसुमकुमार कार्की निर्वाचित भएका थिए।
२०७९ को निर्वाचनमा काठमाडौं– ४ (१) मा कांग्रेसका श्रीराम लामिछाने र (२) मा एमालेका जयराज थापा निर्वाचित भएका थिए।
त्यस्तै, २०७० को संविधानसभा चुनावमा गगन थापाले एमालेका निर्मल कुइँकेल र तत्कालीन एकीकृत माओवादीका नन्दकिशोर पुनलाई पराजित गरेका थिए। २०७४ र २०७९ को निर्वाचनमा गगनले एमालेका प्रत्यासी राजन भट्टराईलाई पराजित गरेका थिए।
२०७४ को निर्वाचन तुलनात्मक रूपमा गगनलाई कठिन थियो। एमाले र माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लडेका थिए।
उक्त निर्वाचनमा २१ हजार ५५८ मतसहित गगन सहजै निर्वाचित भए। बलियो ठानिएका राजनले १८ हजार १४० मत पाएका थिए।
२०७९ को निर्वाचनमा गगन २१ हजार ३०२ मत ल्याएर निर्वाचित भएका थिए भने प्रतिद्वन्द्वी राजनले १३ हजार ८५५ मत ल्याएका थिए।
अहिले गगन यस क्षेत्रबाट उम्मेदवार छैनन्। दोस्रो विशेष महाधिवेशनबाट पार्टी सभापति निर्वाचित उनी सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। आफूलाई एक भूगोलमा मात्र सीमित नराखी देशकै नेताको सन्देश दिन उनी मधेस झरेका हुन्।
अहिले काठमाडौं–४ मा गगनको विरासत कायम राख्ने जिम्मेवारी सचिन तिमल्सेनाले पाएका छन्।
३३ वर्षका सचिनले यस क्षेत्रका मतदाताले गगनप्रति गर्दै आएको विश्वास कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने अहम् प्रश्न छ। उनी राजनीतिक रूपमा गगन थापाकै 'स्कुलिङ' मा हुर्किएका हुन्। निर्वाचन क्षेत्रको विकास, नीति निर्माणमा उनले गगनलाई सघाउँदै आएका थिए।
युथ कांग्रेसको संस्थापक सभापति रहेका सचिन खेल विधामा पनि उत्तिकै चासो राख्छन्। उनी नेपाल क्रिकेट संघका स्वतन्त्र टिप्पणीकार अर्थात् कमेन्टेटर समेत हुन्। बलियो शैक्षिक पृष्ठभूमि भएका उनलाई गगनको पथिकका रूपमा त्यहाँका मतदाताले स्वीकार गर्छन् कि गर्दैनन्, त्यो आगामी मतपरिणामले नै तय गर्ने छ।
सचिनसँग एमालेका चिरपरिचित प्रतिस्पर्धी छन्। गत महाधिवेशनबाट सचिवमा निर्वाचित राजन भट्टराई यस क्षेत्रबाट तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन्।
त्यसो त उनी यसपटक चुनाव लड्ने मनसायमा थिएनन्। प्रतिस्पर्धी गगन थापाले निर्वाचन क्षेत्र परिवर्तन गरेपछि परिणाम आफ्नो पक्षमा पर्छ कि भनेर उनी अन्तिममा उम्मेदवार बन्न राजी भएका हुन्।
काठमाडौं–४ मा पुराना दललाई नयाँले चुनौती दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहाँ पुकार बमलाई उम्मेदवार बनाएको छ।
उम्मेदवारका रूपमा बम चौथो पटक परीक्षा दिइरहेका छन्। सौम्य र भद्र आन्दोलनको परिचय पाएको विवेकशील अभियानमार्फत् राजनीतिमा पाइला राखेका बम त्यसका संस्थापक उज्ज्वल थापाकै पथिक हुन्।
सामाजिक मुद्दाहरूमा मुखर हुँदै आएका पुकार २०६४ सालमा कुकुर चुनाव चिह्न लिएर पहिलो पटक काठमाडौं–८ बाट उम्मेदवार बनेका थिए।
उक्त निर्वाचनमा उल्लेख्य मत ल्याउन नसकेका बमले २०७४ को निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेर तेस्रो मत (४ हजार ४१४) ल्याएका थिए। तत्कालीन एमालेका जीवनराम श्रेष्ठ १३ हजार ३९७ मत ल्याएर विजयी भए।
२०७९ को निर्वाचनमा क्षेत्र फेरेर काठमाडौं–१ बाट प्रतिस्पर्धी बनेका पुकार हेभिवेटको घानमा परेका थिए।
उक्त निर्वाचनमा काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र, रास्वपाका पुकार बम, एमालेका किरण पौडेल, नेपाल सुशासन पार्टीबाट रमेश खरेल प्रतिस्पर्धामा थिए।
सिंह झिनो मत (७ हजार १४३) ले सांसद निर्वाचित भए भने मिश्रले ७ हजार १८ र तेस्रो भएका बमले ४ हजार ११५ मत ल्याए। एमालेका पौडेलले ३ हजार ५३२ मत ल्याएका थिए।
काठमाडौं–४ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट इन्द्र भुसाल प्रतिस्पर्धामा छन्। नेविसंघबाट अखिल क्रान्तिकारी प्रवेश गरेका भुसाल पशुपति क्याम्पसका विद्यार्थी नेता हुन्। त्यहाँको स्ववियुमा पनि उनी निर्वाचित भएका थिए।
नेकपाको छनोटमा युवा उम्मेदवार परे पनि त्यहाँ पार्टीको मताधार कमजोर देखिन्छ। अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत १८ दल मिलेर नेकपा बनेको छ।
काठमाडौं–४ को समानुपातिकतर्फ अघिल्लो निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले एकीकृत समाजवादीभन्दा कम अर्थात् १ हजार ५६४ मत ल्याएको थियो। एकीकृत समाजवादीले १ हजार ७१३ मत ल्याएको थियो।
त्यसबाहेक काठमाडौं–४ मा राप्रपाले सुरेन्द्रराज भण्डारीलाई उम्मेदवार बनाएको छ। कानुनवेत्ताको छवि बनाएका भण्डारी अभियन्ता पनि हुन्। उनी जनसरोकारका विषयमा बहस, पैरवी गर्न रूचाउँछन्।
यस क्षेत्रमा मुख्य रूपले नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपाकै बीचमा प्रतिस्पर्धा हुने मतदाताको आकलन छ। काठमाडौं–४ मा ३३ मतदान स्थल र ८८ केन्द्र छन् भने ७६ हजार १४१ मतदाता छन्।
बुढानीलकण्ठको शिरदेखि रूद्रमतीको दायाँबायाँ हुँदै नक्सालसम्म उत्तरदक्षिण फैलिएको यस क्षेत्रमा सचिन तिमल्सेनाले गगन थापाप्रतिको स्थानीय विश्वास बचाउँछन् कि, एमालेका राजन भट्टराईले तेस्रो प्रयासमा जित निकाल्छन्, वा उज्ज्वल थापाप्रेरित पुकार बमको राजनीतिक यात्रा जनअनुमोदित हुन्छ, काठमाडौं–४ बाहेकका मतदातालाई पनि यसको चासो छ।
***
यी पनि पढ्नुहोस्: