दाङ जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र तीन जना वडाध्यक्षसहित आठ जनालाई जथाभावी रूख काटेको आरोपमा दोषी ठहर गर्दै कैद सजाए सुनाएको छ।
जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले पुस २ गते राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नम्बर १ का वडाध्यक्ष गेमे खड्का, वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र मिलमा लगेर काठ चिराउने केशरबहादुर चौधरीलाई कैद सजायको फैसला सुनाएको हो।
अदालतका सूचना अधिकारी गोकर्ण वलीका अनुसार वडा नम्बर ४ का वडाध्यक्षलाई एक महिना कैद र एक लाख ४१ हजार दुई सय रूपैयाँ बिगो भराउने आदेश भएको छ भने गाउँपालिका अध्यक्ष विष्ट, दुई वडाध्यक्षसहित रूख खरिद गर्ने र मिलमा लगेर चिराउने अन्य सात जनालाई १५-१५ दिनको कैद फैसला सुनाएको छ।
अदालतले तत्कालिन सडक डिभिजन कार्यालय दाङका प्रमुख इञ्जिनियर रामपुकार जैसवाललाई भने सफाइ दिएको उनले बताए।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लुम्बिनी प्रदेशको राजधानीको केन्द्रमा पर्ने राप्ती गाउँपालिका भित्रको सडक खण्डका रूखहरू काटी हिनामिना गरेको आरोपसहित डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत छोटेलाल चौधरीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित नौ जनाविरूद्ध मुद्दा दायर गरेका थिए।
चौधरीले ८१ लाख ३७ हजार नौ सय बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेका थिए तर अदालतले एक लाख ४१ हजार दुई सय २६ रूपैयाँ मात्रै बिगो कायम गर्दै उक्त बिगो रकम राप्ती–४ का वडाध्यक्ष चौधरीबाट भराउन आदेश दिएको छ। सोही मुद्दामा एक इञ्जिनियरले सफाइ पाएका छन् भने अन्यलाई दोषी ठहर गर्दै कैदसहित बिगो रकम भराउन आदेश दिएको छ।
अदालतका सूचना अधिकारी वलीका अनुसार डिभिजन वनका सहायक वन अधिकृत चौधरीले जथाभावी सडक खण्डका रूखहरू काटेर हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो।
अहिले फैसला पूर्णपाठ तयार पार्ने काम भइरहेको वलीले बताए। फैसला चित्त नबुझे उनीहरू पुनरावेदनमा जान सक्ने प्रावधान छ। त्यसैले सोही बमोजिम राप्ती गाउँपालिका –४ का वडाध्यक्ष वीरबहादुर चौधरी पुनरावेदनका लागि जाने तयारीमा रहेको उनले बताए।
'हामीहरू फैसला पुनरावेदनका लागि उच्च अदालत जान्छौं,' उनले भने।
२०७९ साल असोजमा अध्यक्ष चौधरीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यकामा राजधानी स्थान्तरण गर्ने क्रममा राजधानी क्षेत्रको पूर्व-पश्चिम राजमार्गको सरफाइ गर्न, रङरोगन गर्न तथा आसपासका झाडी तथा रूख बिरूवा काटेर सफा गरेका थिए।