डोटीबाट निर्वाचन जितेका एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले पछिल्लो राजनीतिक परिदृश्यमा देखिएका छैनन्।
उनी न त माधवकुमार नेपाल सहित नेपाली कम्युनिष्ट पार्टीको एकतामा सहभागी भए न त उनी रामकुमारी झाक्री सहित नेकपा एमालेमा घर फर्किए। आले कतै दृश्यमा छैनन्।
डोटीमा राम्रो पकड भएका आलेलाई राजनीतिक दलका नेताहरूले पनि खोजिरहेका छन्।
आलेनिकट एक नेताका अनुसार उनलाई यस बीचमा नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका थिए। तर आलेले दुबै नेतालाई कुनै वचन दिएनन्। न त पार्टीमा आउँछु नै भने।
‘प्रेम आलेजीले कतै जान्छु वा जाँदिनँ केही भन्नुभएको छैन,’ ती नेताले भने, ‘उहाँ र एकीकृत समाजवादी पार्टीबाट सांसद निर्वाचित डोल्पाका सांसद धनबहादुर बुढा अहिले राजनीतिक रूपमा कतै खुल्नुभएको छैन।’
सेतोपाटीका सम्पर्कमा आएका आलेले भने आफू अहिले काठमाडौं बाहिर रहेको बताए।
‘म त प्रोस्टेटको अपरेसन गराएर आराम गरिरहेको छु’, आलेले भने, ‘केही समयपछि काठमाडौं फर्कन्छु।’
उनले राजनीति धेरै फोहोर भएकाले आफ्नो मनमा राजनीति नगर्ने सोच आएको समेत बताए।
त्यसो त आले नेपाली कांग्रेसमा जाने चर्चा समेत चलेको छ।
सेतोपाटीले ‘कतै तपाईं कांग्रेस जाने त होइन?’ भनेर आलेलाई प्रश्न गरेको थियो।
जबाफमा आलेले छोटो जबाफ दिए – त्यस्तो त नहोला।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आलेको काठमाडौंस्थित निवास पनि आगजनी भएको थियो। त्यसपछि उनी धनगढीमा बसिरहेका छन्।
तर आले राजनीतिबाट टाढा हुने मूडमा नरहेको उनीनिकट नेता बताउँछन्।
‘उहाँ डोटी नभए कैलाली–५ बाट पनि चुनाव उठ्न सक्नुहुन्छ,’ ती नेताले भने, ‘राजनीतिक सम्पर्क सम्बन्धका कारण उहाँको ती क्षेत्रमा बलियो पकड छ।’
नेकपा एकीकृत समाजवादीमा रहँदा प्रेम आले, किसान श्रेष्ठ लगायतका नेता अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट थिए। त्यसैले उनीहरू माधव नेपालसँगै नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतामा नजाने चर्चा थियो। चर्चा अनुरूपमै किसान श्रेष्ठ नेकपा एमाले फर्किएका छन्। तर आले भने कतै देखिएका छैनन्।
२०५४ सालमा डोटी जिल्ला विकासको सदस्यमा निर्वाचित भएका आले २०७० सालमा डोटी निर्वाचन क्षेत्र नं. २ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालमा फेरी डोटीबाट निर्वाचन जितेका आले वन तथा वातावरण मन्त्री र २०७८ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए। उनी २०७९ सालमा पनि डोटी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।